‘हिमाल मेरो देश’ कविता संङ्ग्रह लिएर आए युवाकवि दिनेश घिमिरे
काठमाडौं । युवा साहित्यकार दिनेश घिमिरेको तेस्रो कविता कविता संङ्ग्रह ‘हिमाल मेरो देश’ को विमोचन गरिएको छ । बहुभाषिक कविगोष्ठी, रक्तदान कार्यक्रम, वातावरण तथा विज्ञान प्रदर्शनी एवम् साँस्कृतिक कार्यक्रममा उक्त कविता संङ्ग्रहको पूर्वमन्त्री कृपासुर शेर्पा र प्रदेशसभा– ३ का सांसद् रामेश्वर फुयाँल र साहित्यकार जगन्नथा देवकोटाले संयुक्त रूपमा गरेका हुन् । उक्त संङ्ग्रहमा ४८ वटा कविताहरू छन् । संङ्ग्रहको समीक्षा गर्दे साहित्यकार प्रयागराज भट्टराई ‘वाशिष्ठ’ ले संङ्ग्रहको शीर्षकले, साजसज्जाले कविताहरूको गाम्भीर्यतालाई प्रस्ट्याएको बताए । संङ्ग्रहभित्र शिक्षा, समाज सेवा, समाजका विभिन्न अङ्गहरूको वर्णन, विश्लेषण र राजनीतिका सकारात्मक र नकारात्मक पक्षप्रति व्यङ्ग्य गरिएका कविताहरू रहेको उनले बताए । उनले भने, ‘कृतिभित्र शिक्षा छ । राजनीतिको सकारात्मक पक्ष र नकारात्मक पक्षप्रति व्यङ्य छ । समाज सेवा र समाजका विभिन्न अङ्गहरूको पनि यसमा वर्णन, विश्लेषण रहेको छ ।’ कविताहरू शास्त्रीय छन्दमा रहेको बताउँदै भट्टराईले नेपाली साहित्यमा लोकप्रिय गजलको लयमा पनि कविता आधारित रहेको बताए । उनले भने, ‘संङ्ग्रहमा शास्त्रीय छन्दमा कविताहरू रहेका छन् । नेपाली साहित्यमा लोकप्रिय बनेको गजलका जुन लय छ, त्यसमा आधारित पनि छ ।’ कवितामार्फत् कविले असल बनेर देशको सेवा गर्न उत्प्रेरित गरेको उनको भनाई छ । ‘शिक्षा लिनका लागि जो लालाहित छन्, देश निर्माणका लागि अगाडि जुटेका छन्, समाजसेवामा जुटेका छन्, धर्मसंस्कृतिको सेवामा जुटेका छन्, यि सबैलाई लेखकले असल बनेर नेपाल देशको सेवा गर्न उत्प्रेरित गर्नुभएको छ ।’ साहित्यकार भट्टराईले भने । कविताहरूमा भावनाको निखार छ । भावनाको तिखार छ । भावनाको मश्रिल अनुभूति भएको बताउँदै भट्टराईले कविको कलमले, अनुभूतिले देशलाई, उँचो बनाउन मद्दत पुगेको बताए । त्यस्तै अर्का समीक्षक रमेश शुभेच्छुले फरक शैलीका कविताहरूले कविले क्षमता प्रदर्शन गरेको बताए । उनले भने, १४ वटा बाल कविताहरू छन् । ४ वटा प्रौढ कविताहरू छन् । २८ वटा गीति कविताहरू छन् । यि तिनवटै शैलीका कवितामा कविले क्षमता प्रदर्शन गर्नुभएको छ ।’ कवि प्राध्यापक भएकाले बालकविताहरूमा बालकालिकाहरूलाई नैतिक उपदेशको पक्षलाई बढी महत्त्व दिएको समीक्षक शुभेच्छुले बताए । घिमिरेका भोजपरे खिचडी (कवितासंङ्ग्रह) २०६७, मेरा जीवनका चरणहरू, भाग–१ (खण्डकाव्य) २०७०, फूल र म (कवितासंङ्ग्रह) २०७०, शालीकराम (शोककाव्य) २०७० प्रकाशित भएका छन् । उनका कृतिमा हिमाल मेरो देश (कवितासंङ्ग्रह) २०७६ पनि थपिएको छ । उक्त कविता संङ्ग्रहलाई उर्वर साहित्य समाजले प्रकाशनमा ल्याएको हो ।
नेपाल आईडलका विजेता ओडको पहिलो गीत ‘मिठो बोली’ सार्वजनिक
काठमाडौं । नेपाल आईडल सिजन २ का विजेता सुदुरपश्चिमका रवि ओडको पहिलो गीत ‘मिठो बोली’ बजार आएको छ । सांगीतिक जीवन औपचारिक शुरुवात भएसँगै अभिनयमा रवि ओडलाई एलिशा राईसँग देख्न सकिन्छ । कृष्ण के.सीको शब्दमा रहेको उक्त गीतमा संगीतकार हरी लम्सालले संगीत गरेका हुन् । शिव विकेको कोरियोग्राफी तथा निर्देशनमा उक्त म्युजिक भिडियो तयार भएको हो । नेपाल आईडलका विजेता ओडको यो पहिलो गीतका साथै अभिनय रहेको नयाँ गीत ‘मिठो बोली’ सार्वजनिक भएको छ । भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते बुढामगर दम्पतिले नाचघरमा गर्ने भए ‘युगल साँझ’
काठमाडौं । चैत्र २९ गते लोक गायक बुढामगरका दम्पत्तिले नाचघरमा ‘युगल साँझ’ को आयोजना गरेका छन् । चर्चित लोक गायक एवम् वरिष्ठ बाद्यवादक खर्कबहादुर बुढा मगर र उनकी धर्मपत्नी लिलावती बुढामगरले यही २९ गते काठमाडौंको जमलस्थित् राष्ट्रिय नाचघरमा ‘युगल साँझ’ को आयोजना गर्ने भएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा हुने उक्त कार्याक्रममा साँझ सम्म तयारी हुने बुढामगरले बताए । उनका अनुसार दिउँसो २ बजेदेखि शुरु हुनेछ । त्यस दिन साँझ सभ्य र भव्य रुपमा सम्पन्न हुने दम्पत्तिले विश्वास दिलाए । उक्त कार्यक्रममा कम्तिमा १२ वटा गीत प्रस्तुत गर्ने पनि गायक बुढामगरले जानकारी दिए । उनले भने,‘विशेषगरि सल्यानमा नाचिने पैंसेरुँ, सोरठी र टप्पा नाँच पनि हामी प्रस्तुत गर्छौं । यी पौराणिक, मौलिक नाचको प्रस्तुतीका लागि सल्यानबाटै स्थानीय कलाकारहरु आउनु हुनेछ । यसबाट सल्यानकोमात्र नभई सम्पूर्ण कर्णालीको संस्कृतिको एउटा पाटोलाई झल्काउने छ ।’ आफ्नो सांगितिक यात्राको दौरानमा करिब २०० वटा लोकगीतहरु यो जोडिले रेकर्ड गरिसकेको छ । उनीहरुका व्यवसायिकभन्दा मौलिक र स्थानीय लोकगीतहरु रहेका छन् । खर्क बहादुर बुढा मगर गायकमात्र नभएर नेपालकै अब्बल बाद्यवादक हुन् । उनको ३१ वर्षे सांगितिक यात्रामा करिब २५००० (पच्चिस हजार) भन्दा बढी नेपाली लोकगीत तथा संगीतमा मादलका तालहरु रेकर्ड गराएका छन् । उक्त युगल साँझको दिन मादलको मात्रै एउटा सोलो प्रदर्शन उनीलगायतको समुहले गर्नेछ । मादल वादकको इतिहास हेर्ने हो भने खर्क बहादुर बुढालाई “मादल सम्राट” को उपाधिले विभुषित गर्दा उनको यसप्रतिको साधना र लगावको सम्मान हुने सल्यान सरोकार समाजको भनाई छ । उक्त ‘युगल साँझ’ कार्यक्रमलाई सम्पन्न गर्नको लागि सल्यानका १० वटै स्थानिय सरकार, कर्णाली प्रदेशको पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, बैंकहरुको विशेष आर्थिक सहयोग रहेको पनि समाजले स्पष्ट पारेको छ । त्यस्तै, अन्य गैर–सरकारी संघ–संस्था र थुप्रै शुभचिन्तकहरुले साथ सहयोगको आश्वासन दिएको पनि समाजले जनाएको छ । कार्यक्रमबाट बचत भएको रकम संस्थाको अक्षयकोष निर्माणको लागि जम्मा हुने सल्यान सरोकार समाज परिवार अध्यक्ष संघर्ष सदिक्षा घर्तीले जानकारी दिईन् । उक्त कोषबाट आउने वार्षिक ब्याजले सल्यानबाट आउने विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई विगतमाझैं आउने दिनमा पनि सक्दो आर्थिक सहयोग गरिने उनले बताईन् । कार्यक्रम समाजका महासचिव फौद बहादुर बस्नेत, सचिव तुलसी भण्डारी, पर्यटन व्यवसायी भीम भारती र सल्यान युवा सञ्जाल काठमाडौंका सुदर्शन बुढाथोथकीको पनि सहभागिता रहेको थियो । उक्त युगल साँझमा सहभागी हुनेहरुको लागि पाँच सय र हजार रुपैयाँको टिकट शुल्क निर्धारण गरिएको पनि समाजले जनाएको छ । उक्त युगल साँझको आयोजक नै सल्यान सरोकार समाज रहेको छ ।