‘दोलखा फिल्म सिटी’ लाई पत्याउलान् त विदेशी लगानीकर्ताले ?
काठमाडौं । नेपालमा लगानी सम्मेलन चलिरहँदा चलचित्र क्षेत्रबाट एक मात्र परियोजना ‘दोलखा फिल्म सिटी’ लाई प्रस्तुत गरिंदैछ । भौगोलिक दृष्टी सुन्दर एवम् पर्यटकीय जिल्लाको रुपमा चिनिने दोलखा काठमाडौंबाट १ सय किमि दुरीमा रहेको छ । भीमेश्वर नगरपालिका ९ स्थित डाङडुङेडाँडाको कम्तीमा १८९ वर्गमिटरदेखि ३१४ वर्गमिटर क्षेत्रफलमा फिल्म सिटी बनाउने परियोजना प्रस्तावमा उल्लेख छ । लगानी सम्मेलनमा सरकारी स्तरबाट पारित ५० वटा परियोजनामा ‘दोलखा फिल्म सिटी’ पनि परेको हो । पर्यटकीय क्षेत्र बनाउन ८ वर्षयता ३५ करोड खर्च गरिसकेको सो क्षेत्रमा पर्यटन सँगसँगै फिल्म सिटीको रुपमा दोलखा जिल्लालाई स्थापित गराउन गरिएको छ । लगानी बोर्डले फिल्मसिटी परियोजना प्रस्तावमा दोलखा युनेस्कोको पुरानो सहरहरुको सूचीमा परेको, विभिन्न जातजाति बीचको फरक फरक संस्कृति, परम्पराका साथ भिन्न खालको गाँउ वस्ती रहेको कारण फिल्म सिटी बनाउन सकिने उल्लेख गरिएको छ । फिल्म सिटी क्षेत्रमा पाँचतारे होटेल, क्यासिनो, स्थानीय होटल, पार्क, क्याफे, बार, गिफ्ट सप र रंगमञ्च बनाउने कुरा लगानी बोर्डको प्रस्तावमा उल्लेख छ । प्रस्तावित स्थानमा फिल्म उत्पादन र प्रशोधनका लागि सुविधा सम्पन्न स्टुडियो बनाउन सकिने, सुटिङका लागि आवश्यक सामाग्री उपलब्ध गराउने देखि चलचित्र सम्बन्धी तथ्यांक केन्द्र निर्माण गर्ने कुरा समावेश छ । फिल्म सिटी परियोजनामा ७० लाख डलर बराबरको बैंकिङ्ग ग्यारेन्टी भएको र निजी क्षेत्रका लगानीकर्ताहरुमा अन्तर्राष्ट्रिय स्तरको पर्यटन विकास तथा पूर्वाधारको क्षेत्रबाट ५ वर्षमा काम सक्नेले मात्र आवेदन गर्न सक्ने उल्लेख गरिएको छ ।
आफु हिड्ने बाटोमा छोरीलाई छोड्दै छु, अब तपाईहरुको जिम्मा: निर्देशक झरना थापा
काठमाडौं । अभिनेत्री तथा नव निर्देशक झरना थापाले आफ्नी छोरीलाई चलचित्र क्षेत्रमा ल्याउन सफल भएकी छन् । लामो समय अभिनयपछि निर्देशकका रुपमा दर्शक सामु आएकी झरनाले छोरी सुहाना थापालाई ‘ए मेरो हजुर ३ ’ मा मेगा स्टार अभिनेता अनमोल केसीको जोडी रुपमा पर्दामा उतारेकी छिन् । ४ वर्षको उमेरमा ‘ए मेरो हजुर’ मा बाल कलाकारको रुपमा देखिएकी सुहानालाई हाल नायिकाको रुपमा देखिएको छ । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर ३’ को दुई गीतबाटै सुहानालाई चलचित्र क्षेत्रले सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरेको छ । ‘फिल्मी ब्लड’ भएका कारण उनको काम राम्रो हुने विश्वास धेरैको छ । बुधवार चलचित्रको ट्रेलर रिलिज र आफ्नो बर्थडे केक काट्दै अभिनेत्री तथा निर्देशक झरनाले छोरी सुहानाको चलचित्र हेरेपछि जो कोहीले तारिफ गर्ने दाबी समेत गरिन् । उनले भनिन्, ‘जसरी म विगतमा यहाँहरुको मन मस्तिष्कमा बस्न सफल भएँ, त्यसरी नै छोरी पनि सफल हुने छिन् । उनले अगाडि भनिन्, ‘म आफू हिँडेको बाटोमा छोरीलाई पनि लिएर आएको छु । आजबाट तपाईंहरु माझ मेरी छोरी सुहानालाई सुम्पिएको छु ।’ चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा अभिनेता अनमोल, सलोन बस्नेत, सरोज खनाल, रेअर राईलगायत उपस्थित थिए । ट्रेलरमा अनमोललाई सुपरस्टार गायक र एक साधारण युवक गरि दुई अवतारमा देख्न सकिन्छ । चलचित्रले एक स्टार र फ्यानबीचको प्रेमकथा बोकेको निर्देशक झरनाले जानकारी दिइन् ।
अन्तर्राष्ट्रिय नाट्य महोत्सव सम्पन्न
काठमाडौं । विश्व रंगमञ्च दिवस थिएटर मल कीर्तिपुरमा मनाईएको छ । मार्च २७ दिवसको अवसरमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ ले थिएटर मल कीर्तिपुरमा संक्षिप्त कार्यक्रम गरेर मनाएको हो । महोत्सव आयोजक सात संस्थाहरु एक्टर्स स्टुडियो, कथा घेरा, मण्डला थिएटर, वन वल्र्ड थिएटर, शिल्पी थिएटर, थिएटर मल र थिएटर भिलेजले कार्यक्रमको आयोजना गरेको हो । रंगकर्मी, कलाकर्मीको जमघटका माझ छोटो नाट्य प्रस्तुतिका र विश्व दिवसको सन्देश वाचन गर्दै दिवस मनाइएको हो । सबिर चुरौटे र सञ्जिता पराजुलीले तयार पारेको नाट्य प्रस्तुति ‘फादर करिअरः एन एक्सपेरिमेन्ट’बाट सुरु भएको कार्यक्रममा सम्पन्न नाट्य महोत्सको संक्षिप्त समिक्षा पनि गरिएको थियो । प्रमुख अतिथि संस्कृति तथा पर्यटन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले रंगमञ्चसम्बन्धी सरकारी निकाय भएपनि उल्लेखनीय कामहरु हुन नसकेको स्वीकार्दै आगामी दिनमा नेपाली रंगमञ्च बारे योजनाहरु तय गर्न छलफल गर्न तयार रहेको बताए । कवि विप्लव प्रतीकले नेपाली रंगमञ्चको एकताको विम्वको रुपमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सफल रुपमा सम्पन्न भएको उल्लेख गरे । त्यस्तै सन् १९६५ पछि विश्व रंगमञ्च दिवस मनाउन थालिएको विश्व परिप्रेक्षमा बोल्दै डा. अभि सुवेदीले वर्तमान नेपाली रंगमञ्चलाई युवा पुस्ताले सक्रिय बनाइरहेको उल्लेख गरे । महोत्सव निर्देशक राजन खतिवडाले महोत्सव सफलतापूर्वक सम्पन्न गर्दै विश्व रंगमञ्च दिवस समेत एकवद्ध भई मनाउन पाउनु नेपालको रंगमञ्च क्षेत्रका लागि सकारात्मक पाटो भएको बताए । रंगकर्मी सरिता गिरीले विश्व रंगमञ्च दिवसको सन्दर्भमा आएको विश्व सन्देश वाचन गरेकाे थिइन् । यस वर्ष क्युवाका रंगकर्मी कार्लोस सेल्ड्रानले विश्व सन्देश प्रेषित गरेका थिए । कार्यक्रममा रंगकर्मी केदार श्रेष्ठले नाटकघर खोलेकै महिना कीर्तिपुर रंगमञ्चमा विश्व रंगमञ्च दिवस पाउनु सुखद रहेको बताए । रंगकर्मी आकांक्षा कार्कीले उद्घोषणको क्रममा रंगमञ्च दिवसलाई आफ्नो जन्मदिन जस्तो लाग्ने बताइन् । कीर्तिपुरस्थित राराहिल मेमोरियल स्कुलको सहकार्यमा गत महिना नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ ले थिएटर मल, कीर्तिपुर रंगमञ्चको उद्घाटन गरेको थियो ।