एनपीएल दोस्रो संस्करणका सबै खेल अब डिशहोम गोमा मात्र हेर्न सकिने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) बाट प्राप्त अनलाइन प्रसारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका सबै ३२ खेल डिशहोम गो एपमार्फत प्रत्यक्ष प्रसारण गर्ने तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता कीर्तिपुरस्थित ट्यु क्रिकेट मैदानमा मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ । डिश मिडियाका अनुसार एनपीएल–२ का सबै खेल केवल डिशहोम गो एप र वेबसाइटमार्फत हेर्न सकिनेछन् । युट्युबमार्फत प्रसारण नहुने जनाउँदै कम्पनीले सम्पूर्ण खेल ‘स्वच्छ प्रसारण’ (क्लिन फिड – विज्ञापनरहित) हुने बताएको छ, जसले दर्शकलाई उच्च गुणस्तरको अनुभव प्रदान गर्नेछ । दर्शकले इसेवा, खल्ती, भिसा तथा मास्टरकार्डमार्फत सजिलै भुक्तानी गरी ‘सिजन पास’ खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । मोबाइल, ल्यापटप वा टेलिभिजनमार्फत सुरक्षित रूपमा भुक्तानी गरी, विश्वका जुनसुकै स्थानबाट खेल हेर्न सकिने सुविधा उपलब्ध छ । सदस्यता शुल्क नेपालभित्रका दर्शकका लागि ३०० रुपैयाँ, मध्यपूर्वका दर्शकका लागि ५०० रुपैयाँ तथा अन्य मुलुकका लागि १० अमेरिकी डलर निर्धारण गरिएको छ । एकपटक सदस्यता लिएपछि सम्पूर्ण प्रतियोगिताका प्रत्यक्ष प्रसारण, पुनःप्रसारण तथा अन्य सामग्री हेर्न सकिनेछ । डिशहोम गो सेवा मोबाइल एप (एन्ड्रोइड, आइओएस), एन्ड्रोइड टिभी तथा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिन्छ। एप गुगल प्ले स्टोर तथा एप स्टोरमा उपलब्ध छ । कम्पनीका अनुसार एपमा सजिलो दर्ता प्रक्रिया, विज्ञापनरहित प्रसारण तथा खेल सामग्रीमा २४ घण्टा पहुँच सुनिश्चित गरिएको छ । उच्च गुणस्तरको प्रसारणका लागि डिशहोम गोले अन्तर्राष्ट्रिय अनलाइन समाधान प्रदायक ‘मोबायोटिक्स’ तथा विश्वप्रसिद्ध सामग्री वितरण प्रदायक ‘अकामाई’सँग सहकार्य गरेको छ । यी संस्थाहरूले आईसीसी च्याम्पियन्स ट्रफी र आइपिएल जस्ता ठूलो दर्शकसंख्या भएका प्रतियोगितामा आफ्ना प्राविधिक क्षमता प्रमाणित गरिसकेका छन् । डिश मिडिया नेटवर्कका प्रतिनिधिले एनपीएल दोस्रो संस्करणलाई डिजिटल माध्यममार्फत विश्वभर पुर्‍याउने लक्ष्य राखिएको बताउँदै, लोकप्रिय डिजिटल भुक्तानी माध्यम उपलब्ध गराइएकोले दर्शकका लागि पहुँच अझ सहज बनेको बताएका छन् । अघिल्लो संस्करणमा पनि देश–विदेशबाट उल्लेखनीय चासो प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीले एनपीएल–२ हेर्नका लागि डिशहोम गो नै एक मात्र आधिकारिक डिजिटल प्रसारण माध्यम भएको उल्लेख गर्दै, अन्य कुनै पनि माध्यममार्फत प्रसारण नहुने स्पष्ट गरेको छ ।

‘परान’ मा थपिँदै एकपछि अर्को कर्पोरेट शो

काठमाडौं : नेपाली कथानक चलचित्र ‘परान’ ले हलहलमा दर्शकको मन जितिरहेको छ । दुई साता बितिसक्दा समेत चलचित्रमा दर्शकको भीड र उत्साह लगातार बढ्दै गइरहेको छ । रिलिज भएको पहिलो तीन दिनपछि मात्र गति समातेको थियो । चलचित्रप्रति बढ्दो आकर्षणसँगै विभिन्न कर्पोरेट हाउसहरूले पनि ‘परान’ प्रति समर्थन जनाउन थालेका छन् ।  यही क्रममा किरण शुज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शुज परिवारले चाबहिलस्थित केएल टावरको एफक्यूव सिनेमा हलमा आफ्ना कर्मचारीहरूको संयुक्त उपस्थितिमा विशेष कर्पोरेट शो आयोजना गरी चलचित्रको सामूहिक प्रदर्शन गरेको छ।  उक्त अवशरमा एफक्यूव सिनेमा परिवारले परान चलचित्रका कलाकारहरुलाई फूलमाला र शंखध्वनिद्वारा स्वागत गरेको थियो भने कम्पनीका तर्फबाट गोल्डस्टार शुज परिवारले कलाकारहरूलाई उपहार स्वरूप गोल्डस्टार शुज प्रदान गरेका थिए । 

एनपीएलका सबै खेल ‘डिशहोम गो’ एपमार्फत प्रत्यक्ष हेर्न सकिने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब ‘डिशहोम गो’ मोबाइल एपमार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ । आगामी मङ्सिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू सो एपमार्फत लाइभ प्रशारण गरिने भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ओटीटी प्रसारण अधिकार ‘डिश मिडिया नेटवर्क’ लाई प्रदान गरेको हो । क्यानका अनुसार दर्शकहरूले खेल हेर्नका लागि छुट्टै शुल्क तिर्नुपर्नेछ । नेपालभित्रका दर्शकले ३०० रुपैयाँ, मिडल इस्ट क्षेत्रका दर्शकले ५०० रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ । एप र वेबसाइटमार्फत खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिने व्यवस्था गरिएको छ । यसपटक दोस्रो संस्करणको एनपीएलका खेलहरू युट्युबमा प्रत्यक्ष प्रशारण नहुने पनि क्यानले जनाएको छ । ‘डिशहोम गो’ एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरी सजिलै सब्स्क्रिप्सन लिन सक्नेछन् । कम्पनीका अनुसार नयाँ संस्करणको एप अहिले गुगल प्ले स्टोरमा उपलब्ध छ भने आईओएस प्रयोगकर्ताका लागि एप केही दिनभित्र सार्वजनिक हुनेछ । उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न ‘डिशहोम’ ले मोबायोटिक्स र अकामाईसँग प्रविधिक सहकार्य गरेको छ । मोबायोटिक्स बहुप्रयोगकर्ता–मैत्री अनलाइन स्ट्रिमिङ प्रणाली निर्माण गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो । यसले तयार पारेको प्लेटफर्ममार्फत बंगलादेश र भारतबीचको आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को खेल एकैपटक २३ लाखभन्दा बढी दर्शकले सहज रूपमा हेरेका थिए । त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा ‘हटस्टार’ सँग सहकार्य गर्दै आइपिएलको डिजिटल प्रसारण सम्भव बनाउँदै आएको छ । अकामाईले विश्वभरका सर्भरमार्फत सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्‍याउने काम गर्छ ।