‘विकास नायक २०८२’ को खोजी
विकास मिडियाद्वारा प्रकाशित Bikashnews.com र देशविकास पत्रिकाले विगतमा झैं यस वर्ष पनि विकास नायकको खोजी गर्ने, उनीहरूले गरेको कार्यहरूको रिपोर्ट बनाउने, विकासन्युज (डिजिटल पत्रिका) र देशविकास म्यागेजिनमा प्रकाशन गर्ने तयारीमा रहेका छौं । यस वर्षदेखि विकास नायकहरुलाई सम्मानसमेत गर्ने तयारी भइरहेको छ । विकास नायक मनोनयन फारम भर्न यहाँ क्लिक गर्नुहोस् । देशविकासका लागि बहुआयामिक सूचकाङ्क हुन्छन् । पर्याप्त अवसरसहित उच्चस्तरकोे आम्दानी र गुणस्तरीय जीवनशैली आधुनिक विकासको प्रमुख सूचक हुन् । त्यसको लागि लगानी वृद्धि र उच्चदरको आर्थिक वृद्धि पहिलो आधार हो । प्रभावकारी नीति निर्माण, प्रशासनिक सुधार, विश्वासिलो सुरक्षा तथा न्याय प्रणालीको विकास राज्यस्तरबाट अनिवार्य हुनैपर्छ । आधुनिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा हरेक मानिसको लागि गाँस, बास र कपास जत्तिकै आधारभूत आवश्यकता हुन् । नवीन प्रविधिको विकास र प्रयोगले सबै मानिसको जीवनशैली सरल बन्दै गएको छ । अवसरहरू सिर्जना गर्नका लागि पूर्वाधार निर्माण, उद्योग, व्यापार, कृषि, पर्यटन, यातायात तथा विविध सेवा क्षेत्रमा लगानी वृद्धि हुनैपर्छ । बैंकिङ, बीमा, पुँजीबजार लगायत वित्तीय सेवाको क्षेत्रले अर्थतन्त्रमा रक्तसञ्चारको काम गरिरहेको छ । खेलकुद, कला, संस्कृति र समाजसेवाका कार्यले समाजलाई सुन्दर र सन्तुष्ट बनाउन मद्दत गर्छ । हरेक क्षेत्रमा उल्लेखनीय र दीर्घकालीन विकासमा उल्लेख्य योगदान गर्ने व्यक्ति (प्राकृतिक व्यक्ति तथा संस्था) नै विकास नायक हुन् । विकास नायकहरूले नै हो देश समृद्ध बनाउने । देश विकासको कार्य निरन्तर चलिरहन्छ । समाजमा विकास नायकको जन्म पनि भइरहन्छ । यही मान्यतामा आधारित रहेर विकास मिडियाले हरेक वर्ष १० विकास नायकको खोजी गर्ने र उनीहरूले गरेका अनुकरणीय कार्य रिपोर्टिङि गर्ने, देशविकास पत्रिका र विकासन्युज अनलाइनमा प्रकाशित गर्ने कार्य गर्दै आएको छ । हामी यस वर्षदेखि विकास नायकहरूलाई सम्मान कार्यक्रमको समेत तयारीमा रहेका छौं । जसले देश विकासमा साहसिक काम गरेको छ, उदाहरणीय काम गरेको छ र अरुलाई उत्प्रेरित गरेको छ–उसको खोजी गर्नु र कुनै एक स्थानमा भएको अनुकरणीय कार्यको सन्देश समाजका अन्य स्थानका समूदायसम्म पुर्याउनु, सफलताका कार्याअनुभव अरूलाई पनि सुनाउनु र मानिसहरूमा सकारात्मक सन्देशसहित उत्प्रेरणा जगाउनु यस अभियानको लक्ष्य हो । तपाईंको सिफारिस, तपाईंले दिएको सूचना, सम्बद्ध स्रोतहरूबाट प्राप्त सूचनाहरू, हाम्रा सहकर्मीहरूले संकलन गरेको सूचनाहरूको आधारमा हामी सम्भावित पात्रहरूको सूची बनाउँछौं । उनीहरूले गरेको कार्यले अर्थतन्त्र र समाजमा परेको प्रभाव, त्यसमा अपनाइएको नवप्रवर्तन, सहभागिता, समावेशीता, पारदर्शिता, नैतिकता, त्यस कार्यको स्थायित्व र त्यसले दिने प्रेरणादायी सन्देशलगायत मानकका आधारमा छनौट समितिले लिएको निर्णयका आधारमा हामी आन्तरिक रूपमा फरक–फरक विधाबाट १० विकास नायक सूची बनाउँछौं । उनीहरूको काम र प्रभावबारे रिपोर्ट बनाउँछौं, प्रकाशित गर्छौं । प्रबुद्ध वर्गको उपस्थितिमा विकास नायक घोषणा गर्छौ र सम्मान गर्दछौं । विकास नायक घोषणा र सम्मान विकास मिडियाको वार्षिक उत्सवका दिन अर्थात् जनवरी पहिलो आइतबार अर्थात् २०८२ पुस २० गते गरिनेछ । आउनूहोस्, विकास नायक छनौटमा सहभागी हुनूहोस् । मनोनयन फारम २०८२ मंसिर १८ गतेसम्म भरिसक्नुपर्नेछ । (मंसिर ८ गते अपडेट गरिएको-सम्पादक) यो पनि पढ्नुहोस् ‘विकास नायक’ मनोनयन समय थप्ने निर्णायक समितिको निर्णय सिधा सम्पर्क: [email protected], whatsapp 9801130454 विकास नायक श्रृङ्खला
हलमा स्वदेशी चलचित्रको वर्चस्व : ‘जेरी अन टप’ले करिब १२ करोड कमाउँदा अन्यको कति?
काठमाडौं । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रहरूले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ को तथ्याङ्क सार्वजनिक गरिएको छ, जहाँ नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ । गएको शनिबार अर्थात् कात्तिक २२ गतेसम्मको सार्वजनिक तथ्याङ्कअनुसार सगरमाथाको विषयमा निर्माण गरिएको चलचित्र ‘जेरी अन टप’ ले सबैभन्दा बढी कमाई गरेको छ । उक्त चलचित्रलाई तीन लाख ७५ हजार ८१ दर्शकले हेर्दा रु ११ करोड ७१ लाख ४१ हजार ४९८ कमाई (ग्रस कलेक्सन) गरेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको विषयमा विदेशमा धेरै चलचित्र बने तापनि नेपालमा कमै बनेका छन् । उक्त चलचित्रमा सगरमाथा आरोहण र त्यस क्रमको प्रेमकथालाई देखाइएको छ । नेपालमा सुन्दर दृश्यलाई कैद गरिएको उक्त चलचित्रले पर्यटनमा समेत टेवा पु¥याउने विश्वास निर्माता सरोज न्यौपानेको छ । उक्त चलचित्रमा अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । गत असोज ३१ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् । यस्तै भाइटीकाका अवसर पारेर गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ ले सोही अवधि (शनिबार बेलुकी) सम्म रु दुई करोड ५६ लाख ५७ हजार ९२९ कमाएको छ । उक्त चलचित्रलाई ८५ हजार ३५६ दर्शकले हेरेका छन् । दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । यस्तै, कात्तिक ६ मै प्रदर्शन भएको चलचित्र ‘सोल्टिनी’ले भने अपेक्षाभन्दा निकै कमजोर कमाइ गरेको छ । उक्त चलचित्रलाई आठ हजार ९४५ दर्शकले हेर्दा रु २९ लाख पाँच हजार ९५६ मात्र कमाइ गरेको छ । प्रकाश सपूत, परीक्षा लिम्बू लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । निर्देशक सुवेदीले यसअघि निर्देशन गरेको ‘रङ्गेली’ पनि घरेलु बजारमा असफल भएको थियो । ‘तक्मे बुढा’ को उपनामले परिचित अभिनेता विल्सनविक्रम राईले निर्देशन गरेको ‘मैझारो’ ले पनि घरेलु बजारमा सफलता प्राप्त गर्न सकेन । अभिनेता राईको पहिलो निर्देशकीय चलचित्र नै असफल भयो । अभिनेता धिरज मगर, मिरुना मगर, दयाहाङ राई लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रले रु एक करोड चार लाख २९ हजार २८८ कमाएको छ । ३५ हजार १७६ दर्शकले मात्र उक्त चलचित्रलाई हेरेका थिए । यस्तै कात्तिक १४ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘परान’ ले दर्शकको राम्रो साथ पाएको छ । नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रमा बाउछोराको कथालाई देखाइएको छ । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्र दर्शकबाट प्राप्त प्रतिक्रिया कै कारण घरेलु बजारमा राम्रो कमाई गरिरहेको छ । उक्त चलचित्रले तीन करोड ७१ लाख ३६ हजार ५५३ कमाई गरेको छ । उक्त चलचित्रलाई एक लाख २८ हजार ६७९ जनाले हेरेका छन् । सुरुआती व्यापार कमजोर भए तापनि चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा दर्शकको चाप चलचित्र भवनमा बढेको निर्देशक आचार्यले बताए । उक्त चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै कात्तिक २१ मा प्रदर्शन भएका दुई चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन विनाको धन’ लाई दर्शकले प्रारम्भिक रूपमा साथ दिएका छन् । यद्यपि, यी दुईको व्यावसायिक रिपोर्ट अझै सार्वजनिक भइसकेको छैन । समग्रमा चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति बलियो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रप्रतिको आकर्षण बढेको देखिँदैछ । घरेलु बजारमा नेपाली चलचित्रले गरिरहेको कमाइले समग्र चलचित्र क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठले बताए। उनले दर्शकको विश्वास जित्ने चलचित्र आगामी दिनमा पनि तयार गर्न निर्माता तथा निर्देशकलाई आग्रह गरे । अघिल्लो वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ ले ऐतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रमा दर्शकको आकर्षण बढेको पाइन्छ । दशैं-तिहार, शिवरात्रि, नयाँवर्ष जस्ता बिदाको समयमा नेपाली चलचित्रको व्यापार उच्च हुने गरेको तथ्याङ्क बक्सअफिसमा देखिएको छ ।
अभिनय यात्राको १७ वर्षपछि मुख्य भूमिकामा चौरासिया
काठमाडौं । अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गरेको झण्डै १७ वर्षपछि मुख्य भूमिकामा देखिने भएका छन् । कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौं आएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाए । उक्त चलचित्रमा हरिया पात्रले उनको लोकप्रियता आम दर्शकसम्म पुर्यायो । उनै अभिनेता चौरासियाले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ आगामी मङ्सिर १८ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ । ‘मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो । यो मेरो सङ्घर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छुे,’ अभिनेता चौरासियाले भने । पहिलोपटक आफूले कथालाई अगाडि बढाउने अवसर पाउँदा अभिनेता चौरासियाले बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गरेका छन् । तर, उनी कलाकारिताको यात्रा त्यति सहज भने थिएन । ‘अभिनय गर्ने लक्ष्य राखेपछि पढाइलाई मैले प्राथमिकतामा राखिन । काठमाडौं आएपछि भोकमरी र बेरोजगारीको कठोर अनुभव सहेँ । अभिनयप्रतिको मोहका कारण विदेश जाने दबाबका बीच आफ्नो शैक्षिक प्रमाणपत्र नष्ट गरेर नेपालमै बस्ने निर्णय गरे । त्यसपछि परिवारसँगको सम्बन्ध पनि टाढियो,’ उनले भने । अभिनय सिक्ने जोशमा उनले भारतको दिल्लीसम्म पुगेर प्रयास गर्नुभयो, तर सफल हुन सकेनन् । फलतः नेपालमै ‘एक्टर्स स्टुडियो’ बाट अभिनय सिक्ने र रङ्गमञ्चमा प्रस्तुती दिँदै कलाकारिता यात्राको सुरुआत गरे । ‘रेशम फिलिली’ मा ‘हरिया’ पात्रमार्फत दर्शकको ध्यान तान्न सफल भएपछि निर्देशकले उनलाई खोज्न थाले । तर, उनको सपना झै मुख्य भूमिका नभई सहायक र ‘हरिया’ जस्ता भूमिका प्रस्ताव भए । ‘म मुख्य भूमिकामा केही फरक गर्न चाहन्थेँ । त्यसकारण मैले केही प्रस्ताव स्वीकार गरिन । जब मैले केही प्रस्ताव अस्वीकार गरेँ, त्यसको असर मेरो करियरमा पर्यो, मलाई चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउनै छाड्यो,’ अभिनेता चौरासियाले भने । आफूले सोचे जस्तो चलचित्रमा भूमिका नपाएपछि उनले केही समय अभिनयदेखि टाढा रहँदै माछा बेच्ने काम गरे । तर, कोरोना महामारीका कारण त्यो सफल हुन सकेन । अभिनयबाहेकका काममा निरन्तर असफल भइरहँदा उनलाई चलचित्र ‘फेरि रेशम फिलिली’ मा अभिनय गर्ने प्रस्ताव आयो । पाँच वर्षपछि आफ्नै कर्ममा फर्किएका अभिनेता चौरासियालाई एकदिन निर्माता विनोद पौडेलले मुख्य अभिनेताको प्रस्ताव गरे । ‘मैले जीवनभर जसका लागि सङ्घर्ष गरेँ, त्यो मौका अब पाएको छु । त्यो क्षण शब्दमा वर्णन गर्न सक्दिन । यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ,’ उनले भने । चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ मा उनले परिवारप्रति जिम्मेवार र सुरक्षात्मक पात्रको भूमिका निर्वाह गरेका छन् । मधेसको पृष्ठभूमिमा आधारित उक्त चलचित्रमा उनीसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रमा सुशान्त गौतमले निर्देशन, मुकेश खनालले लेखन, शरद महतोले छायाङ्कन र मदन घिमिरेले सम्पादन गरेका हुन् ।