मल्टिमिडिया अवार्ड जितेर श्रृंखला खतिवडा मिस वर्ल्डको फाइनलमा

काठमाडौं। मिस वर्ल्डको यात्रामा रहिरहेकी मिस नेपाल श्रृंखला खतिवडा टप ३० मा पर्न सफल भएकी छिन्। मिस मल्टिमिडिया अवार्ड जितेर उनी उत्कृष्ट ३० मा परेकी हुन्। यस् अघि उनी हेड टु हेड च्यालेन्जको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेहसँग पराजित भएकी थिईन्। पराजित भएसङै खतिवडा अन्तिम ३० मा पुग्न असफल बनेको भनेर धेरै नेपालीहरु निरास बनेका थिए। तर श्रृंखलाले सबैलाई आँफु उत्कृष्ट ३० मा पर्ने सम्भावना रहेको अाफ्नो सोसल मिडिया मार्फत जानकारी गराएकी थिईन्।

अंधेरी नगरी चौपटी राजा : नेपालको वास्तविकता

काठमाडौं। प्रसिद्द भारतीय साहित्यकार भारतेदु हरिचन्दको सर्वाधिक लोकप्रिय नाटक “अंधेरी नगरी चौपटी राजा” को नेपाली अनुवाद मंसिर ७ गते देखी अनामनगरको मण्डला थिएटरमा मञ्चन भईरहेको छ। उक्त भारतीय नाटकलाई पूर्ण रुपमा नेपाली परिवेशमा भावनुवाद गरिएको छ । नाटकका नेपाली अनुवाद निर्देशन भने संगित सापकोटा र आसिस घिमिरेले गरेका हुन्। नाटकको पहिलो मञ्चन दर्शकद्धारा एकदमै रुचाईेएकोले उक्त नाटक यो दोस्रोपटक मञ्चन गरिएको हो। नाटकलाई दुई भागमा बाँडिएको छ। पहिलो भागमा ‘अँधेरी नगरी’ का  जनताको दिनचर्या देखाइएको छ  भने दोस्रो भागमा चाहिँ ‘चौपट राजा’ को शासन शैलीमाथि व्यङ्ग्य हानिएको छ। नाटकले नेपालको हरेक क्षेत्रेको जातजातीलाई समेटेको छ। सुमधुर संगितबाट शुरु हुने नाटकले १ घण्टासम्म लगातार तपाईंलाई बेस्सरी हसाउँछ र बिस्तारै गम्भिर बनाउँदै लैजान्छ। १ घण्टा ३० मिनेटको उक्त नाटकले हास्य शैलीमा गम्भीर सन्देश बोकेको छ। गम्भीर बिषयलाई पनि हास्यशैलीमा प्रस्तुत गर्नसक्नु नाटकको सबल पक्ष रहेको छ।  अल्छिपन र मुर्खताले निम्ताउने नतिजा र सासक कमजोर हुँदा जनताले खेप्नुपर्ने दु:खलाई नाटकले मुख्य बिषयको रुपमा उठाएको छ। नाटकले पदको लागि जे पनि गर्ने हाम्रा विवेकहीन नेताहरुलाई व्याङ्ग्यात्मक चोटीलो प्रहार गर्दै जुन जोगी आए पनि कानै चिरेको वास्तविकतालाई ठ्याक्कै उतारेको छ।  नाटकको सबैभन्दा बलियो पक्ष उसको संगित रहेको छ। कथामा परिस्थिती अनुसार बज्ने समय प्रतिकुल धुनले हरेक भावनालाई उर्जागर गरेको छ। धुनले तपाईंलाई एकैछिनमा हसाउँछ भने  एकैछिन मै तपाईंको मनलाई अमिलो बनाउँछ। संगितिक पाटोले नाटकलाई उच्च स्तरमा पुर्याउन मद्त गरेको छ र यस कुरालाई तपाईंले बुझ्न नाटक हेर्न जानै पर्छ। नाटकको अर्को सबल पक्ष भनेको कलाकारहरुको अभिनय रहेको छ। कलाकारहरुको अभिनय क्षमताले नाटकलाई पूर्ण रुपमा न्याय दिएको छ। क्याप मोसन पिक्चर्स र कलाशी प्रोडक्सनको प्रस्तुति रहेको यो नाटक मंसिर २२ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५ः३० बजे मञ्चन हुनेछ । अतिरिक्त शो शनिबार १ बजे पनि राखीएको छ । नाटकमा जीवन भट्टराई, श्रवण राना, सञ्जित प्रताप मल्ल, स्लिम जीवन, आरजेश रेग्मी, सागर दाहाल,बारात लिम्बू, दीपेन्द्र शाही, पुष्कर कार्की, प्रकु पाण्डेलगायतको अभिनय हेर्न सकिन्छ ।

“नेताजीको भरपर्दो बात छैन, यिनको पनि गतिलो छाँट छैन”

“नेताजीको भरपर्दो बात छैन यिनको पनि गतिलो छाँट छैन । पर्छ रात अवश्य दिन बितेसी जनताको के वास्ता चुनाव जितेसी ।” गुल्मीको वडागाउँ घर बताउने ४६ वर्षीय शेरबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा धेरैले मन लगाएर सुने । २०४५ सालमा १६ वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका दुई छोरी, एक छोरा र एक श्रीमती छन् । परिवारको हातमुख जोड्न सारङ्गी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर बगरफाँटबासीले पैसा र चामल दिँदा गन्धर्वको अनुहार खुसीले भरियो । देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने चार दशक अघिकै जस्तो भएको बताउँदै शेरबहादुर गन्धर्वले खाने गाँस र बस्ने बासको अभावकै कारण कतिपय गन्धर्वहरू आफ्नो पुख्र्यौली पेशाबाट विस्थापित भई वैकल्पिक पेशा अपनाएको जानकारी दिए । कुनै दिन मुम्बई, गोरखपुर र कोलकाताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासुले बुहारी मारेको अनि फोकल्याण्डको टापुमा लड्दा लड्दै वीरगति प्राप्त गरेका खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइ हिजोआज फाट्टफुट्ट देखिन थालेका छन् । देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मङ्गला, बार्हमासा, सन्देश, धनसिरी, मल्लार, सरुमैरानी, कलाखलेनी, असारे लगायतका भाखामा खबर दिँदै घुम्ने गन्धर्वहरू अहिले गरीबीकै कारण पेशा परिवर्तन गर्न बाध्य भएको उनको भनाइ थियो । ‘सारङगीको धुनमा घटनाक्रमहरूलाई सिलसिलेवार कलात्मक ढङ्गबाट प्रस्तुत गरिरहँदा सबैको आँखा रसाउँथे’ बगरफाँटका ७४ वर्षीय टेकबहादुर कार्कीले भने, ‘गीत सङ्गीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गाइने दाइका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् ।’ सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रहरूमा समेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्वहरू हिजोआज विकास निर्माण, जनप्रतिनिधि प्रतिको निराशा र सामाजिक वेथितिका गीतहरू समेत गाउन थालेका छन् । बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत सङ्गीतमा झुम्न थालेपछि हो वा पुख्र्यौली पेशाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गन्धर्वहरू क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वहरूले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरूपलाई पनि परिवर्तन गरेका छन् । धेरै समयपछि बेनपा-२ बगरफाँटमा भेटिएका शेरबहादुरले पनि अरु कुनै सीप नभएकाले पुख्र्यौली पेशालाई अपनाउनु आफ्नो बाध्यता भएको दुखेसो पोखेका छन् । उनले सारङ्गीको धुनमा जनतामा व्याप्त निराशा र जनप्रतिनिधिहरूप्रतिको अपेक्षाका बारेमा र्याइँर्याइँ सारङ्गी रेट्दै तीतो यथार्थ व्यक्त गरे। गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको बरङ्जा आइपुगेका गन्धर्वले गीतमा संविधान निर्माणका कुराहरूदेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्तता, तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थालाई सरल शब्दमा जनताले बुझ्नेगरी व्यक्त गरेका थिए । सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोबाइल जस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँघरमा गाइने खबरमुलक मर्मस्पर्शी हृदय विदारक गीत गुञ्जन छाडेका छन् । रासस