प्रधानमन्त्रीको अभिव्यक्तिबारे एकै ठाउँमा विपक्षी दल, माफी नमागेसम्म संसद चल्न नदिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा दिएको भूमिसम्बन्धी अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने विषयमा विपक्षी दलहरू एकमत भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई संसद्को अभिलेखबाट हटाउन औपचारिक माग गर्ने निर्णय गरेका हुन्। यस विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक आइतबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा जारी छ।  बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले राष्ट्रिय हित र संवेदनशील विषयलाई अनावश्यक रूपमा विवादमा तानेको निष्कर्ष निकालिएको स्रोतले जनाएको छ। बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली तथा श्रम संस्कृति पार्टीका आरेन राईलगायतका नेताहरू सहभागी छन् । त्यसैगरी, एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल, एमालेका प्रमुख सचेतक ऐन महर, कांग्रेसकी प्रमुख सचेतक बासना थापा, कांग्रेसका सचेतक निश्कल राईसहित अन्य नेताहरू पनि बैठकमा उपस्थित छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को नियम, परम्परा र राष्ट्रिय संवेदनशीलतासँग जोडिएको विषय भन्दै त्यसबारे सदनमै संयुक्त रूपमा धारणा राख्ने तयारी गरेका छन् । बैठकपछि विपक्षी दलहरूको साझा रणनीति सार्वजनिक हुने बताइएको छ ।

भारत हिँडे रवि दम्पती, को-को गए साथमा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने दम्पती पाँचदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी भारत प्रस्थान गरेका हुन् । सभापति लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा र प्रदीप आचार्य भारत गएका हुन् ।  रविले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नेछन् । त्यसक्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । उनी अयोध्या जाने पनि कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।   

कांग्रेसले आङ्देम्बेको नेतृत्वमा गठन गर्‍यो १२ सदस्यीय संसदीय दल कार्यसमिति गठन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति गठन गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा कार्यसमिति गठन गरिएको हो ।  कार्यसमितिको उपप्रमुखमा अभिषेक प्रताप शाह, कोषाध्यक्षमा डा. शाहजान खातुन तथा सदस्य सचिवमा मदन कृष्ण श्रेष्ठ मनोनीत भएको संसदीय दलका उपनेता शाहले जानकारी दिए । दलको १२ सदस्यीय कार्यसमितिमा हालसम्म ४ जना पदाधिकारी र ६ जना सदस्य सहित १० जना मनोनीत गरिएको शाहले बताए । बाँकी २ सदस्यको मनोनयन भने अझै हुन बाँकी रहेको छ । संसदीय दलको गतिविधिलाई व्यवस्थित, प्रभावकारी र समन्वयात्मक बनाउन कार्यसमिति गठन गरिएको उपनेता शाहले जानकारी दिए ।  कार्यसमितिले संसदभित्र दलको रणनीति, नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पु‍र्‍याउने उपनेता शाहको दावी छ ।