प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते बस्ने भएको छ । बिहीबार बसेको नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा सभामुख अर्जुननरसिंह केसीले २२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।  उक्त दिन प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुनेछ । त्यसका लागि मनोनयन दर्ता भने २० गतेका लागि तोकिएको छ ।  निर्वाचनकै दिन पदवहाली हुने जनाइएको छ ।  

गृहमन्त्री गुरुङले पेस गरे दुई अध्यादेश

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बिहीबारको प्रतिनिधि सभामा दुई अध्यादेश प्रस्ताव पेस गरेका छन् ।  उनले मतदाता नियमावली ऐन, २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्ने अध्यादेश पेस गरेका हुन् ।  उक्त संशोधनमार्फत मतदाता नामावली व्यवस्थापन प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र समयानुकूल बनाउने लक्ष्य लिइएको गुरुङले बताए । यसैगरी, गृहमन्त्री गुरुङले नेपाल विशेष सेवा ऐन संशोधन गर्नेसम्बन्धी अर्को अध्यादेश पनि बैठकमा पेस गरेका छन् ।  राष्ट्रिय सुरक्षासँग सम्बन्धित कानुनी व्यवस्थालाई अद्यावधिक गर्न उक्त संशोधन आवश्यक रहेको सरकारको दाबी छ ।  दुवै अध्यादेशमाथि संसदमा थप छलफलपछि अघि बढाइनेछ ।

म नेता होइन, शिक्षा सुधार्न आएको समाजसेवी हुँ : सांसद महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफू कुनै पनि राजनीतिक गुटबन्दीमा नफस्ने बताएका छन् । सांसद पुनले आफ्नो राजनीतिक यात्रा परम्परागत शैलीको नहुने संकेत दिएका हुन् । ‘म अचम्मको मान्छे हुँ, म कसैसँग मिल्दिनँ,’ उनले भने, ‘संसदमा मेरो उपस्थिति पक्ष वा विपक्षमा भन्दा पनि सधैं निष्पक्ष आवाजका रूपमा रहनेछ । ’  उनले आफूलाई नेता भन्दा पनि समाजसेवीका रूपमा चिन्न आग्रह गरे ।  लामो समयदेखि प्रविधि र अनुसन्धानमा सक्रिय पुनले आफू राजनीतिमा आउनुको मुख्य उद्देश्य शिक्षा क्षेत्रको आमूल परिवर्तन रहेको बताए ।  चुनावमा होमिनुको मुख्य कारण नै शिक्षा सुधार रहेको उल्लेख गर्दै उनले भने, ‘म नेता बन्न आएको होइन, शिक्षामा सुधार गर्न आएको हुँ । मेरो सम्पूर्ण ध्यान र प्रयास देशको शिक्षा प्रणालीलाई उत्कृष्ट बनाउनेतर्फ केन्द्रित हुनेछ ।’