चुनाव मुस्ताङमा, प्रचार पोखरा, बागलुङ र काठमाडौंमा
काठमाडौं । फागुन २१ मा हुने निर्वाचनको माहोल देशभर उत्कर्षमा पुगेको भए पनि हिमाली जिल्ला मुस्ताङमा भने चुनावी सरगर्मी लगभग शून्यजस्तै देखिएको छ । निर्वाचन मुस्ताङमा हुने भएपनि मुस्ताङको चुनावी चहलपहल भने जिल्ला बाहिर रहेको छ । माथिल्लो मुस्ताङ त हिमपातका कारण अहिले करिब जनसंख्याविहीनजस्तै रहेको छ भने तल्लो मुस्ताङमा पनि पछिल्लो समय हिमपातले गर्दा निर्वाचन चहलपहल रोकिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । जिल्लामा ८ राजनीतिक दलले उम्मेदवारी दिएपनि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच हुने स्थानीयहरू बताउँछन् । यस निर्वाचनमा नेकपा एमालेले इन्द्रधरा विष्ट र नेपाली कांग्रेसले योगेश गौचन थकालीलाई मैदानमा उतारेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ङुटुक गुरुङ र अधितिय चन्द्र थकालीलाई उम्मेदवार बनाउँदा कमला लालचनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवार बनाएको छ । अजय विक आम जनता पार्टी, सुरेन्द्र नेपाल उज्यालो नेपाल पार्टी र यमबहादुर गुरुङ मंगोल नेशनल अर्गनाइजेसनबाट उम्मेदवार बनेका छन् । जिल्लामा आठ दलका उम्मेदवार रहेपनि निर्वाचन माहोल भने सुस्त रहेको छ । जिल्लाको निर्वाचन प्रचार अहिले जिल्ला बाहिर भइरहेको छ । नेपाली कांग्रेसका उम्मेदवार थकाली काठमाडौंमा रहेका छन् । थकाली मुस्ताङमा अझै निर्वाचन सुरु नभएको बताउँछन् । ‘यो समय माथिका मानिस तल झर्ने सदियौंदेखिको नियमित प्रक्रिया हो । अहिले जिल्लामा हिउँ परिरहेको छ । त्यसैले आफन्त सबै तल रहेकाले भेटघाट पनि तलतिरै हुनु स्वाभाविक हो,’ थकालीले भने । एमाले उम्मेदवार इन्द्रधारा विष्ट अहिले पोखरामा रहेका छन् । विष्ट भन्छन्, ‘हामी उम्मेदवारभन्दा पहिले आफन्त हौं । आफन्त जहाँ हामी त्यहाँ हुनु स्वभाविक हो । हामीलाई अझै निर्वाचन लागेको छैन ।’ भौगोलिक रूपमा विकट र धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले अन्य जिल्लाभन्दा फरक पहिचान बोकेको मुस्ताङमा चुनावी माहोल हत्तपत्त सिर्जना नहुने स्थानीयहरू बताउँछन् । कम जनसंख्या, पर्यटनमुखी जीवनशैली र समुदायको आफ्नै व्यस्तताका कारण यहाँ निर्वाचनलाई अन्य जिल्लाजस्तो ठूलो महत्त्व नदिने प्रवृत्ति रहेको बताउँछन् लोमाङथान गाउँपालिकाका अध्यक्ष टासी नोर्वु गुरुङ । नेपाली कांग्रेसका उम्मेदवार गौचनका अनुसार मुस्ताङमा एउटै प्रकृतिको समुदाय, पृथक भूगोल, न्यून जनसंख्यासँगै यहाँको मौसमले चुनावी चहलपहल हुन नसकेको हो । लोमाङथाङका अध्यक्ष टासी पनि गौचनसँग सहमत छन् । उनी भन्छन्, ‘दलभित्र आन्तरिक खिचातानी कम र विवादरहित वातावरण भएका कारण चुनावी माहोल सिर्जना हुन नसकेको हो । हाम्रो भूगोल र प्रकृतिले पनि अहिले भूगोलमै गएर चुनाव प्रचार गर्ने वातावरण नबनेको हो ।’ यता नेकपा एमालेका उम्मेदवार विष्टले पार्टी अहिले आन्तरिक तयारीमै केन्द्रित रहेको जानकारी दिए । उनले भने, ‘हामीले आन्तरिक छलफल गरिरहेका छौं । तत्काल औपचारिक चुनावी कार्यक्रम छैन ।’ निर्वाचन मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय, मुस्ताङले भने आवश्यक प्रशासनिक तयारी तीव्र पारेको जनाएको छ । कार्यालय प्रमुख ज्ञवालीका अनुसार मतदान केन्द्रको अनुगमन तथा सुपरिवेक्षणका साथै मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी गरिएको छ । फागुन लागेपछि उक्लने उपल्लो मुस्ताङको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका करिब ८० प्रतिशत स्थानीय बासिन्दा कडा जाडोका कारण बेंसी झरेका छन् । छोसेरका छेप्टेङ गुरुङ, वङ्दी गुरुङ र टस्सी गुरुङजस्ता स्थानीयहरू जाडो छल्न जिल्लाबाहिर गएका भए पनि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न गाउँ फर्किने तयारीमा छन् । स्थानीयवासीहरूले यस निर्वाचनलाई भविष्य निर्माणसँग जोडेर हेरेका छन् । स्थानीय वङ्दी गुरुङ भन्छन्, ‘उम्मेदवारको विगतको कामको मूल्याङ्कन गरेर मात्र भोट हाल्ने हो । थोरै मतदाता भएकाले उम्मेदवारहरू स्वयं मतदाता खोज्दै आउन थालेका छन् ।’ निर्वाचन नजिकिँदै जाँदा जाडो छल्न गएकासँग राजनीतिक दलका नेताहरू अनौपचारिक भेटघाटमा सक्रिय हुने तयारीमा रहेका छन् । कांग्रेसका गौचन र एमालेका विष्ट दुवैले अव भेटघाटमा औपचारिक रूपमा लाग्ने तयारीमा रहेको बताएका छन् । निर्वाचन २०७९ लाई फर्केर हेर्दा विसं २०७९ सालमा प्रत्यक्ष निर्वाचनतर्फ नेपाली कांग्रेसका योगेश गौचनले ३ हजार ९९२ मत ल्याई चुनाव जितेका थिए । पाँच दलीय गठबन्धनका गौचनलाई एमालेका प्रेमप्रकाश तुलाचनले ३ हजार ७४ मत प्राप्त गरी पछ्याएका थिए भने रास्वपाका उम्मेदवार सुदेश गुरुङले ८७ मत ल्याएका थिए । समानुपातिकतर्फ भने एमालेले पहिलो र कांग्रेसले दोस्रो लोकप्रिय महत पाएको थियो । एमालेले ३ हजार ४०४ मत ल्याउँदा कांग्रेसले २ हजार ४८६ मत ल्याएको थियो । रास्वपाले समानुपातिकतर्फ २९९ मत प्राप्त गरेको थियो । जिल्लामा ३९ मतदान केन्द्र रहेका छन् भने कुल १० हजार ९ सय ५७ जना मतदाता रहेका छन् । मुस्ताङमा स्थानीय तह निर्वाचनका लागि २ सय ३२ जना म्यादी प्रहरी तथा सोही अनुपातमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गर्न नपाइने, हेलिकप्टरको प्रयोग गर्न अनुमति माग्नुपर्ने
काठमाडौं । राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि हेलिकप्टरको प्रयोग गर्न निर्वाचन आयोगसँग अनुमति लिनुपर्ने भएको छ । आयोगका अनुसार हेलिकप्टरमा चढेर अब २ जनाले मात्र निर्वाचनको प्रचारप्रसार गर्न पाउने छन् । यसका लागि राजनीतिक दलले प्रचारप्रसारको लागि दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्नेछ । आयोगले अनुमति दिएमा मात्र मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न पाउने छन् । यसैगरी, स्थानीय तहका प्रमुख वा मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाउने भएका छन् । निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न पाउने आयोगले उल्लेख गरेको छ । नेपाल सरकारका मन्त्रीले आयोगको सहमति लिएर सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउने छन् । प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालयमार्फत आयोगको सहमति लिएर त्यसरी सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउने आयोगले जनाएको छ । त्यस्तै, स्थानीय तहका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा दलको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउने छैनन् । त्यसैगरी, निर्वाचन प्रसारको क्रममा नेपाल सरकारका मन्त्री तथा स्थानीय तहका पदाधिकारीले सरकारी सवारीसाधनको प्रयोग गर्न नपाउने भएका छन् । आयोगले निर्वाचन प्रचारप्रसार गर्न सरकारी स्रोतको प्रयोग गर्न नपाइने जनाएको हो ।
मधेशी मैदानमा पूर्वप्रधानमन्त्रीदेखि भावी प्रधानमन्त्रीसम्म, कसकसका लागि खुल्ला सिंहदरबारको ढोका ?
काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचनमा मधेश क्षेत्र राजनीतिको केन्द्रबिन्दु बनेको छ । यहाँ पुराना राजनीतिक हस्ती, युवा नेता, दलका शीर्ष नेताहरू र भावी प्रधानमन्त्रीका दाबेदार आमनेसामने छन् । सर्लाही, सप्तरी, धनुषा र रौतहट लगायतका जिल्ला निर्वाचन २०८२ को इपिसेन्टर जस्तै भएका छन् । यी जिल्लाको निर्वाचन परिणामले केवल एक नेताको हारजितको मात्रै अर्थ राख्दैनन् । ती जिल्लाको परिणामले देशको आगामी राजनीतिक समीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने आँकलनसमेत गरिएको छ । यस प्रदेशबाट देशकै राजनीतिक खेलाडी माधवकुमार नेपाल, काठमाडौंबाट मधेश झरेका गगनकुमार थापा र अहिलेसम्म प्रतिनिधि सभाको मुखसम्म देख्न नपाएका नारायणकाजी श्रेष्ठ समेतले मधेशमा आफ्नो भाग्य खोजिरहेका छन् । मधेशका रैथाने नेता अनिल झा, महिन्द्रराय यादव, राजेन्द्र महतो , उपेन्द्र यादव समेतले प्रतिनिधि सभा प्रवेशका लागि मधेशका जनतासँग भोट मागिरहेका छन् । महाभीडन्तमा पूर्वसहकर्मी सर्लाही ४ मा कांग्रेस सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अमरेशकुमार सिंह आमनेसामने छन् । लामो समयका सहकर्मी थापा र सिंह ह यसपटक एकले अर्कोको बाटो छेक्नेगरी लागेका छन्। यसकारण सर्लाही ४ यसपालि चुनावी हटसिटको रूपमा चिनिएको छ । लामो समयदेखि कांग्रेसवाटै निर्वाचन जित्दै आफ्नो सिंहदरवार यात्रा सहज बनाउँदै आएका सिंह २०७९ को आम निर्वाचनपछि कांग्रेसबाट बिरक्तिएका नेता हुन् । विद्यार्थी राजनितिबाट उदाएका थापा र २०६३ मा सम्पन्न सरकार र माओवादी शान्ति प्रक्रियासँगै राजनीतिक रजतपटमा उदाएका सिंहको संसदीय अनुभव उस्तैउस्तै देखिन्छ । थापाजस्तै सिंहको संसद यात्रा २०६४ को पहिलो संविधान सभाबाटै भएको हो । दुवै समानुपातिक सांसदको रूमा सिंहदरबार प्रवेश गरेका हुन् । २०७० को आमचुनावमा सिंह सर्लाहीबाट र थापा काठमाडौबाट प्रत्यक्ष निर्वाचित भए । दुवैजना तीन÷तीन पटक प्रत्यक्षबाट र एकएक पटक समानुपातिकबाट सिंहदरवारको यात्रा तय गरिसकेका छन् । २०७९ को आम निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि सिंह स्वतन्त्र उम्मेदवार भएर प्रतिस्पर्धामा उत्रिएका थिए । उनले नेपाली कांग्रेसका नागेन्द्र कुमारलाई १ हजार ७६४ मतले पराजित गरेका थिए । उक्त निर्वाचनमा सिंहले २० हजार १७ मत ल्याएका थिए भने नागेन्द्रले १८ हजार २५३ मत ल्याएका थिए । उक्त निर्वाचनको समानुपातिकतर्फ १६ हजार २३ मत ल्याएर कांग्रेस पहिलो भएको थियो । जनमत पार्टी १२ हजार ५९५ मतसहित दोस्रो हुँदा ९ हजार ४७१ मतसहित एमाले तेस्रो भएको थियो । थापा र यादवबाहेक यस क्षेत्रमा अन्य दलका पनि उम्मेदवार मैदानमा छन् । यस निर्वाचनमा एमालेले उम्मेदवारको रूपमा अमनिष यादवलाई अघि सारेको छ । यादव पूर्वसांसद शिवपुजन यादवका छोरा हुन् । यादवको यस क्षेत्रमा आफ्नै पकेट मत रहेको मधेशका जानकार धिरेन्द्र साहले बताए । यसरी पुराना नेता र शीर्ष दलका सभापतिबीचको आमनेसामने प्रतिस्पर्धाले सर्लाही ४ मा मतदाताको उच्च उत्साह सिर्जना गरेको साहले जानकारी दिए । उनका अनुसार यहाँको मत वितरणले मधेशको आगामी राजनीतिक दिशा निर्धारण गर्न सक्छ । सप्तरी २ : सहकर्मीलाई चुनौती सप्तरी निर्वाचन क्षेत्र नम्वर २ ले यसपालि राजनीतिक प्रतिस्पर्धाको अर्को रूप देखाउने पक्का भएको छ । यस क्षेत्रका प्रमुख उम्मेदवारहरू जनमत पार्टीका अध्यक्ष सिके राउत र स्वाभिमान पार्टीका सतिशकुमार सिंह हुन् । राउत र सिंह निर्वाचन पहिलेसम्म एउटै दलका नेता थिए । राउत जनमत पार्टीका अध्यक्ष र सिंह सोही पार्टीबाटै मधेश प्रदेशको मुख्यमन्त्री थिए । जसपा नेपालका उमेशकुमार यादव र कांग्रेसका रामकुमार यादवसहित एमालेका मोहम्मद जियाउल रहमान पनि यसै क्षेत्रका उम्मेदवार हुन् । यस क्षेत्रमा जनमुक्तिका राउतलाई आफ्नै सहकर्मीले चुनौती दिएका कारण सप्तरी २ को निर्वाचन रोचक मोडमा प्रवेश गरेको छ । गत निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएका राउतका लागि यो निर्वाचन व्यक्तिगत र पार्टी दुवै दृष्टिले चुनौतीपूर्ण हुनेछ । साहका अनुसार दुई पूर्वसहकर्मीको प्रतिस्पर्धाका कारण मतदाता विभाजित हुन सक्ने सम्भावना छ । जसले अन्तिम नतिजामा अप्रत्याशित मोड ल्याउन सक्ने मधेशका जानकार साहले बताए। धनुषा ३ : निवर्तमान सांसद र पार्टी प्रभाव धनुषा ३ मा तीनैजना निवर्तमान सांसद आमनेसामने छन् । यहाँ उम्मेदवारहरू कांग्रेसका पूर्वउपसभापति तथा पूर्वमन्त्री विमलेन्द्र निधि, एमालेका पूर्वमन्त्री जुली महतो र रास्वपाका प्रवक्ता मनीष झा मैदानमा छन् । विधायक र सांसदको अनुभव भएका निधि, महतो र झा तीनैजनाको परिचय यहाँका मतदातामाझ व्यापक छ । विघटित संसदमा निधि र झा समानुपातिकतर्फबाट सांसद थिए भने महतो प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसपालि रास्वपाको प्रवेशले धनुषा ३ मा मधेशको राजनीतिमा थप उत्साह थपेको छ । गत आम निर्वाचनलाई फर्केर हेर्दा यस निर्वाचन क्षेत्रमा कांग्रेस बलियो शक्तिको रूपमा रहेको देखिन्छ । गत निर्वाचनमा प्रत्यक्षमा एमालेकी महतोले जित निकालेपनि समानुपातिक मतमा कांग्रेसको प्रभावशाली लिड रहेको देखिन्छ । यस क्षेत्रमा समानुपातिक तर्फ कांग्रेसले २५ हजार १९५ मत प्राप्त गरेको थियो । एमालेले दोस्रो हुँदै १७ हजार ८७४ मत ल्याएको थियो । रास्वपाले १ हजार ८२९ मत ल्याएर आठौं स्थान प्राप्त गरेको थियो । स्थानीय मतदातासमेत रहेका विश्लेषक साहका अनुसार यहाँको निर्वाचन मतदाताको विवेकशील निर्णयमा आधारित हुने अपेक्षा छ । पुराना सांसद र युवा नेताबीचको प्रतिस्पर्धाले यहाँको राजनीति मतदाता केन्द्रित रहने साहले बताए । रौतहटमा नेपाल र झाको भीडन्त रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपाल र कांग्रेसका अनिल झाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका पूर्वमहासचिव समेत रहेका र एमालेबाटै प्रधानमन्त्री समेत भएका नेपाल पछिल्लो समय नेकपा माओवादी केन्द्रसँग एकता गर्दै रौतहटबाट सिंहदरबारको टिकट पक्का गर्ने दाउमा छन् । उनी यसभन्दा अगाडि नेपाललाई काउन्टर गर्ने झा पनि नेपाल सद्भावना पार्टी, राजपा नेपाल हुँदै मनोनयनभन्दा केही समय पहिले कांग्रेस प्रवेश गरेर टिकट पाएका नेता हुन् । मधेशको समग्र राजनीतिक परिदृश्य मधेश क्षेत्रको निर्वाचनले पुराना नेता र नयाँ नेतृत्व, पार्टी, शीर्ष नेताहरू र भावी प्रधानमन्त्रीका दाबेदारहरूलाई आमनेसामने ल्याएको छ । सर्लाही, सप्तरी, धनुषा र रौतहट क्षेत्रमा यसपटक भेट्रान उम्मेदवारहरू मैदानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पूर्वमन्त्री राजेन्द्र महतोले पनि यसै प्रदेशबाट आफ्नो राजनीतिक भविष्य खोज्दैछन् । विशेषतः सर्लाही ४ र सर्लाही २ मा पुराना र नयाँ नेतृत्वको भीडन्तले मतदातामा उत्साह बढाएको मधेशका अर्का जानकार डा. शिवशंकर यादवले जानकारी दिए । सप्तरी २ र धनुषा ३ मा सहकर्मी तथा निवर्तमान सांसदबीचको द्वन्द्वले प्रतिस्पर्धालाई अझ रोचक बनाएको उनको दाबी छ । डा. यादवका अनुसार मधेश क्षेत्रको परिणामले आगामी संघीय सरकार गठनमा महत्वपूर्ण असर पार्ने सम्भावना छ ।