सदनमा भएको अमर्यादित व्यवहारबारे छानबिन गर्न समिति गठन

७ दिनभित्र प्रतिवेदन बुझाइने

काठमाडौं । प्रतिनिधिसभामा आइतबार आज भएको अमर्यादित व्यवहार र भौतिक क्षतिको घटनाबारे छानबिन गर्न सभामुख डीपी अर्यालले तीन सदस्यीय समिति गठन गरेका छन् ।

सोमबारको बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा बैठकमा केही सांसदहरूले अमर्यादित व्यवहार सिर्जना गर्दै भौतिक क्षतिसमेत पुर्याएको विषयमा जाँचबुझ गर्न समिति गठन गरिएको जानकारी दिए ।

संघीय संसद्का सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखाका प्रमुख गोपाल सिग्देल सदस्य रहेका छन्।

सभामुख अर्यालका अनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम (४) बमोजिम घटनाको थप जाँचबुझ गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी समितिलाई दिइएको छ। घटनासम्बन्धी मुचुल्का समेत तयार भइसकेको उनले जानकारी दिए।

सभामुखले समितिको प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए। नियमावलीको व्यवस्था अनुसार कुनै सदस्यले बैठकमा आपत्तिजनक वा ध्वंसात्मक व्यवहार गरेको वा बैठक कक्षमा भौतिक क्षति पुर्याएको प्रमाणित भएमा सभामुखले सम्बन्धित सदस्यलाई बढीमा १५ दिनसम्म निलम्बन गर्न तथा क्षतिपूर्ति भराउन आदेश दिन सक्नेछन्।

यद्यपि, त्यस्तो कारबाही अघि सम्बन्धित सदस्यलाई आफ्नो सफाइ पेश गर्ने अवसर दिनुपर्ने कानुनी व्यवस्था रहेको छ।

यसैबीच, सभामुख अर्यालले प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।

Share News