नेता रिसाए भनेर होइन, जनता रिसाए भनेर चिन्ता गर्नुस्: सभापति थापा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता रिसाए भनेरभन्दा पनि जनता रिसाए भनेर चिन्ता गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले मंगलबार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले केन्द्रको चिन्ता नगरी जिल्लाका जनताको चिन्ता गर्न सुझाव दिए । पार्टीको साधारण सदस्यको महत्त्व ठूलो भएकाले त्यसको कदर र संरक्षण गर्नु सबैको जिम्मेवारी भएको उनको तर्क थियो ।  ‘फलानो नेता रिसाए कि, ढिस्कानो नेता रिसाए कि भनेर चिन्ता गर्न छाड्नुस् । पार्टीको चुनाव चिह्नमा भोट हाल्ने जनता किन रिसाए भनेर चिन्ता गर्नुस्’, उनले भने, ‘माथि, केन्द्र म मिलाउँछु । तल, जिल्ला तपाईंहरू मिलाउनुस् ।’ जनता रिसाएर यसपटकको चुनावमा नतिजा बिग्रिएको भन्दै उहाँले जनता सम्हाल्न आग्रह गरे ।  उनले २०८४ को चुनावमा उम्मेदवार माथिबाट नभइ तल्लो तहबाट छान्ने परिपाटीको विकास गर्ने बताए ।  ‘अँध्यारो कोठामा बसेर यो हाम्रो मान्छे, त्यो फलानोको मान्छे भन्ने दिन ग¥यो’, उनले भने, ‘अब गोरखा नगरपालिकाको मेयरको टिकट कसलाई दिने भन्ने निर्धारण गोरखा नगरपालिकाकै पार्टीले गर्नेछ । अब तल्लो तहको पार्टी सदस्यको अभिमतलाई संस्थागत गर्न चाहन्छौं । पार्टी सदस्यको शक्तिलाई कदर गर्न चाहन्छु ।’

मन्त्रीहरूको वरीयताक्रम हेरफेर, सुधन पाँचौं र महावीर आठौं स्थानमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ साल चैत्र १३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा नयाँ कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गरिएको हो ।  नयाँ हेरफेरअनुसार प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी आफैसँग राखेको छ भने डा. स्वर्णिम वाग्लेलाई अर्थ, शिशिर खनाललाई परराष्ट्र, विराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ र सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । त्यस्तै, सुनिल लम्साल पूर्वाधार विकास, सोविता गौतम कानून, न्याय तथा संसदीय मामिला, महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन र सिता वादी महिला, बालवालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।  अन्य मन्त्रीहरूमा प्रतिभा रावल (भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन), निशा मेहता (स्वास्थ्य तथा खाद्य स्वच्छता), सस्मित पोखरेल (शिक्षा तथा खेलकुद), खडकराज पौडेल (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), डा. विक्रम तिमिल्सिना (सूचना तथा सञ्चार), गिता चौधरी (कृषि, वन तथा पर्यावरण), गौरी कुमारी (उद्योग, वाणिज्य तथा आपूर्ति) र रामजी यादव (युवा, श्रम तथा रोजगार) रहेका छन् ।  मन्त्रिपरिषद् बिस्तार तथा हेरफेर लगत्तै राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । 

मन्त्री पुनको घोषणा- रातदिन काम गर्छु, तीन वर्षपछि युवालाई कुर्सी सुम्पिन्छु

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू बढीमा तीन वर्षमात्र मन्त्री पदमा रहने घोषणा गरेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री पुनले देश विकासका लागि आफू दत्तचित्त भएर लाग्ने बताए ।  ‘द्रुत गतिमा रातदिन काम गर्ने हो,’ मन्त्री पुनले आफ्नो कार्ययोजना सुनाउँदै भने, ‘रातदिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो । तीन वर्षपछि म मन्त्री हुँदिनँ ।’ उनले आफ्नो मुख्य उद्देश्य देशको प्राविधिक र नवप्रवर्तनको क्षेत्रमा बलियो जग बसाल्नु रहेको प्रष्ट पारे ।  आफूले आधार तयार गरेपछि नयाँ पुस्तालाई नेतृत्व सुम्पिने उल्लेख गर्दै उनले भने, ‘मन्त्रालयको जग बसालेर, यसलाई बलियो बनाएर नयाँ युवा भाइबहिनीहरूलाई अगाडि बढाउने हो ।’ नयाँ गठबन्धन सरकारको मन्त्रिपरिषद्को वरीयताक्रमअनुसार नवप्रवर्तनमन्त्री पुन आठौं स्थानमा रहेका छन् ।