रास्वपालाई लडाउने शक्ति यो युगमा जन्मिँदैन : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र एकता कायम रहेसम्म रास्वपालाई कमजोर बनाउने शक्ति कसैसँग नरहेको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले पार्टीलाई विभाजित गर्ने र कमजोर बनाउने प्रयास भए पनि त्यसलाई सफल हुन नदिने प्रतिबद्धता व्यक्त गरे । 'हामी आफैँ लड्यौं भने मात्रै रास्वपा लड्छ । तर, हामीलाई लडाउने शक्ति यो युगमा जन्मिँदैन', उनले भने । उनले पार्टीभित्र फाटो ल्याउने प्रयास हुने स्वीकार गर्दै पनि जनतासँग गरेका प्रतिबद्धता अक्षरशः कार्यान्वयन गर्ने बताए।  'लडाउने, ढाल्ने र फाटो ल्याउने प्रयास धेरै हुनेछन् । तर, नेपाली जनतालाई साक्षी राखेर रास्वपाले गरेका एक-एक प्रतिबद्धता पूरा हुनेछन्', उनले भने । 'हामीले पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल राखिसकेका छौं। झुकेर त्यो बल कतै मेरोतिर आयो भने फेरि त्यही खुट्टामा पास दिने जिम्मेवारी मेरो हुन्छ', उनले भने ।  उनले वर्तमान पुस्ताले प्राप्त राजनीतिक अवसरको सही उपयोग गर्नुपर्नेमा जोड दिँदै भविष्यका पुस्ताप्रति पनि जिम्मेवार हुनुपर्ने बताए । 'आज जन्मिएकाहरूले मात्रै होइन, भोलि जन्मिने पुस्ताले पनि मलाई र बालेनजीलाई सोध्नेछन्- 'तिमीहरूले यो अवसर किन गुमायौ ? त्यसैले यो अवसरलाई परिणाममा बदल्नुपर्छ', उनले भने । लामिछानेले रास्वपा विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको साझा प्रयासबाट बनेको पार्टी भएको उल्लेख गर्दै व्यक्तिगत पदभन्दा संगठनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । 'मलाई व्यक्तिगत रूपमा केही पनि चाहिएको छैन । संस्थापक सभापतिको हैसियतले मेरो अपेक्षा यति मात्रै हो- पदका लागि अस्वस्थ राजनीति र षड्यन्त्र नगरियोस्', उनले भने ।  महाधिवेशनबाट जो निर्वाचित भए पनि पार्टी नै विजयी हुने उनको भनाइ थियो । 'जसले जिते पनि घण्टी बोक्नेले जित्छ। जसले जिते पनि रास्वपाले जित्छ', उनले भने । 

कालापानी–लिपुलेकको प्रमाण छ, मेरो राष्ट्रियताप्रति आशंका नगर्नू : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कालापानी र लिपुलेक नेपालकै भूभाग रहेको बलियो प्रमाण आफूहरूसँग सुरक्षित रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले राष्ट्रियता र सीमा सुरक्षाका सवालमा सरकार सम्झौताहीन रहने प्रष्ट पारे ।  सम्बोधनका क्रममा सीमा विवादलाई लिएर चासो र आपत्ति जनाउँदै उनले देशको सार्वभौमिकता रक्षाका लागि वर्तमान नेतृत्व दृढ रहेको जिकिर गरे । पछिल्लो समय सीमा समस्या समाधानका लागि तेस्रो पक्षको संलग्नता हुन सक्ने भनी बजारमा चलेका हल्ला र चर्चाको प्रधानमन्त्री शाहले खण्डन गरे । ‘हामीले कालापानी–लिपुलेकको मुद्दामा ब्रिटिस सरकारलाई मध्यस्थकर्ता राख्न खोजेका हौँ भन्ने कुरा सत्य होइन, हामी त्यसो गर्दैनौँ,' उनले भने, 'हामीसँग आफ्नै ऐतिहासिक तथ्य र प्रमाणहरू छन् । त्यसैले मेरो राष्ट्रियता र देशप्रतिको निष्ठामाथि कसैले पनि आशङ्का गर्नु पर्दैन ।’ राजनीतिक स्थायित्व र दलहरूभित्रको आन्तरिक लोकतन्त्रबारे बोल्दै प्रधानमन्त्री शाहले विगतको प्रवृत्तिको आलोचना गरे । पहिलेका राजनीतिक दलहरूमा विचार र नीतिको सट्टा गुट र उपगुट बनाउने गलत अभ्यास निकै मौलाएको उल्लेख गर्दै उहाँले अहिले देशको राजनीतिक वातावरण लयमा आउँदै गरेको दाबी गरे ।  'विगतमा जे(जस्ता गुट र उपगुट बनाउने राजनीतिक अभ्यासहरू भए, त्यसले देशलाई फाइदा गरेन,' प्रधानमन्त्री शाहले थपे, ‘तर अहिले परिस्थिति फरक छ । राज्यका संयन्त्र र सुरक्षा लगायतका सबै कुराहरू पूर्ण नियन्त्रणमा छन् । जनताले कुनै पनि कुरामा चिन्ता लिनुपर्ने आवश्यकता छैन ।’ महाधिवेशनमा बोल्दै उनले सरकार देश र नागरिकको हितलाई केन्द्रमा राखेर अघि बढिरहेको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे । 

रास्वपा महाधिवेशनमा अमरेश सिंह किन अनुपस्थित भए ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आइतबार (आज)देखि चितवनको भरतपुरमा भव्य रूपमा सुरु भएको छ ।  संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका वरिष्ठ नेताहरू महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न भरतपुर पुगिरहँदा रास्वपाका सांसद अमरेशकुमार सिंह भने समारोहमा अनुपस्थित भएका छन् । पार्टीको यति ठूलो आन्तरिक उत्सवमा उनको अनुपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । सांसद सिंहले हालै प्रतिनिधिसभा बैठकमा आफ्नै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । संसदमा बजेटका प्राथमिकताहरूमाथि महत्त्वपूर्ण छलफल भइरहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायतका जिम्मेवार मन्त्रीहरू उपस्थित नभएको भन्दै उनले संसदमा आक्रोश व्यक्त गरेका थिए।  सरकारको क्रमभंगताको नारा व्यावहारिक रूपमा नदेखिएको र विगतमा स्वतन्त्र रहँदा आफूले उठाउँदै आएका एजेन्डाहरूलाई पार्टीभित्र पर्याप्त स्थान नदिइएको भन्दै उनी रुष्ट बनेका हुन् । विगतमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को कट्टर समर्थक रहेका सिंहको दृष्टिकोणमा अचेल ठूलो परिवर्तन आएको छ ।  गत वर्ष जनकपुरधाममा भएको रास्वपाको चुनावी सभामा ‘बालेन प्रधानमन्त्री नभए​ आत्मदाह गर्छु’ सम्मको अभिव्यक्ति दिएका सिंहले अहिले भने बालेनको कार्यशैलीप्रति कडा कटाक्ष गरेका छन् । सरकार चलाउनु र महानगर चलाउनु एउटै नभएको टिप्पणी गर्दै उनले भनेका थिए, ‘सरकार चलाउनु महानगर चलाउनुजस्तो सजिलो काम होइन ।’ सांसद सिंहको असन्तुष्टि केन्द्रमा मात्र सीमित नभएर तल्लो तहसम्म पुगेको छ । विशेष गरी मधेस प्रदेशको जलेश्वर र सर्लाही क्षेत्रमा रास्वपाका स्थानीय कार्यकर्ता र अमरेश सिंहका समर्थकहरूबीच विवाद बढ्दै गएको छ । सिंहविरुद्ध नाराबाजीसमेत भएको छ।