निर्वाचन आयोगमा ४१ राजनीतिक दलले बुझाए घोषणापत्र
काठमाडौं । निर्वाचन आयोगमा ४१ दलले पार्टीको घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन् । आयोगले शुक्रबार (आज) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४१ वटा दलले पार्टीको घोषणापत्र बुझाएको जानकारी दिएको हो । आयोगले फागुन ४ गते अगाडि नै घोषणापत्र बुझाउन भने पनि दलहरूले अहिलेसम्म पनि घोषणापत्र बुझाइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिइन् । उमेदवारहरूको हकमा भने जिल्ला तहको निर्वाचन कार्यालयमा बुझाउन सक्ने व्यवस्था रहेकाले पूर्ण विवरण आउन बाँकी रहेको उनले बताइन् । सहायक प्रवक्ता पुनले प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रको सबै मतपत्र छपाइ सम्पन्न गरी प्याकिङको काम सकिएको र समानुपातिकतर्फ सुदूरपश्चिम, कर्णाली, कोसी प्रदेशमा ढुवानी गरिसकेको पनि जानकारी दिइन् ।
शिक्षामा २० प्रतिशत लगानी गर्ने कांग्रेसको प्रतीज्ञा
काठमाडौं । नेपाली कांग्रेसले कुल बजेटको २० प्रतिशत रकम शिक्षामा लगानी गर्ने प्रतीज्ञा गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रित गर्दै निकालेको प्रतीज्ञापत्रमा शिक्षामा २० प्रतिशत लगानी गर्ने जनाएको हो । त्यस्तै, विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउने अवस्थाको अन्त्य गर्दै नयाँ वर्षमा नयाँ पुस्तक उपलब्ध गराउने प्रतिज्ञा गरेको छ । कांग्रेसले विद्यालय शिक्षा ऐन एक वर्षभित्र पारित गर्ने जनाएको छ । अस्थायी, स्थायी, राहत, ईसीडी शिक्षकका समस्या समाधान गर्दै निजामती कर्मचारी सरह सुविधा तालिम उपलब्ध गराउने प्रतीज्ञापत्रमा उल्लेख छ । सबै उमेरका नागरिकलाई प्रविधिमैत्री र जीवन उपयोगी आजीवन सिकाइ पद्धति निर्माण गर्ने लक्ष्य छ भने सामान्य शिक्षा र प्राविधिक शिक्षालाई एकीकृत गर्दे युवालाई रोजगारी र उद्यमशीलताका लागि आवश्यक सीप प्रदान गर्ने पनि उल्लेख गरिएको छ । कांग्रेसले कुनै पनि नेपालीले आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने ध्येयले कांग्रेसले सहुलियतपूर्ण दरमा ऋण उपलब्ध गराउने प्रतीज्ञापत्रमा उल्लेख छ । यसका लागि शैक्षिक अवधिभरिको व्याज सरकारले बेहोर्ने व्यवस्था गर्ने उल्लेख छ । नेपालको उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, सार्वजनिक नीति निर्माण, सामाजिक रूपान्तरण तथा ज्ञान आधारित अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसले विद्यमान पाठ्यक्रममा भएका कमीकमजोरीलाई हटाइ नयाँ पाठ्यक्रम परिमार्जन गर्ने बताएको छ । एक्काइसौं शताब्दीको सृजनशील सिकाइ अवधारणा अनुरूपको पाठ्यक्रम शिक्षण सिकाइ मूल्यांकन पद्धतिलाई रूपान्तरित गर्ने कांग्रेसको योजना छ । परम्परागत घोकन्ते र परीक्षा प्रणालीबाट सिकाइमा आधारित शिक्षामा रुपान्तरण गर्ने, विद्यालयको सिकाइ सीप, उद्यमशीलता, डिजिटल सीप, वित्तीय साक्षरता अनिवार्यजस्ता विषयहरू समावेश गर्ने भनेको छ ।
पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’: युवालाई स्वदेशमै राख्ने एमालेको योजना
काठमाडौं । नेकपा एमालेले उच्च शिक्षाका लागि विद्यार्थी विदेशिने क्रम बढेकाले यसलाई रोक्न ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै” कार्यक्रमको अवधारणा ल्याएको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको घोषणापत्रमा एमालले बर्सेनि डेढ लाख बढी विद्यार्थी उच्च शिक्षा हासिलका लागि विदेशिने गरेकाले उनीहरूलाई रोक्न यो कार्यक्रम सार्वजनिक गरेको हो । एमालेले शिक्षा, विज्ञान र प्रविधिमा नीति, पूर्वाधार, लगानी, सुशासन र नवप्रवर्तन केन्द्रित योजनाहरू कार्यान्वयन गर्दै शैक्षिक क्यालेन्डरको पालना, रोजगारमुखी प्राविधिक शिक्षा मार्फत उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति घटाउने बताएको छ । यस्तै, एमालेले विद्यालय शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क बनाउँदै पूर्वप्राथमिक शिक्षासहित सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ । आर्थिक, भौगोलिक वा शारीरिक अवस्थाका कारण कोही पनि बालबालिका विद्यालय शिक्षाबाट र किशोर–किशोरी प्राविधिक वा उच्च शिक्षाबाट वञ्चित हुने अवस्था अन्त्य गर्ने एमालेको वाचा छ । शिक्षा प्रणालीलाई भर्ना र परीक्षाकेन्द्रित मात्र नराखी राष्ट्रप्रेम, उद्यमशीलता, सामाजिक उत्तरदायित्व, नवप्रवर्तनशील सोंच र राष्ट्रिय सामर्थ्य अभिवृद्धिमा योगदान गर्नसक्ने जनशक्ति निर्माणतर्फ अभिमुख गर्ने एमालेले जनाएकाे छ । यसका लागि समसामयिक, व्यवहारिक, नैतिक, राष्ट्रभक्तिमूलक र डिजिटल मैत्री पाठ्यक्रम तथा शैक्षिक सामग्री विकास गरिनेछ । त्यस्तै, एमालेले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता, वृत्तिविकास र मर्यादा अभिवृद्धि गर्दै उच्च योग्यताका उत्कृष्ट जनशक्तिलाई शिक्षण पेशामा आकर्षित गर्ने, विद्यालय शिक्षा ऐन र उच्च शिक्षासम्बन्धी ऐन जारी गर्ने बताएको छ भने विश्व विद्यालयमा देखिएका बेथितिको अन्त्य गर्दै प्राज्ञिक स्वायत्तता कायम गर्ने पनि उल्लेख छ । शैक्षिक पूर्वाधारमा राज्यको लगानी बढाउँदै विद्यालयमा सुरक्षित वातावरण, प्रयोगशाला, पुस्तकालय, खानेपानी, स्वास्थ्य, सरसफाइ, पोषणयुक्त दिवा खाजा तथा विश्वस्तरको सिर्जनात्मक र व्यावसायिक अध्ययनको व्यवस्था गर्ने, विद्यालय, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानलाई उत्तरदायित्वसहित स्वायत्त संस्थाको रूपमा विकास गर्ने वाचा पनि एमालेको छ । त्यस्तै, एमालेले राष्ट्रिय क्षमता, क्षेत्रगत आवश्यकता र अन्तर्राष्ट्रिय प्रवृत्तिका आधारमा प्राविधिक र साधारण शिक्षाको सन्तुलन मिलाउँदै मानव पूँजी निर्माण गर्ने, विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई एकीकृत गर्न सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रको सहकार्यमा विज्ञान पार्क, प्रविधि पार्क, नवप्रवर्तन केन्द्र, इन्क्युबेसन सेन्टर तथा ग्रामीण नवप्रवर्तनशाला स्थापना गर्ने, शिक्षा–अनुसन्धान–उद्यमशीलताको सम्बन्ध सुदृढ गर्दै युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उल्लेख गरेको छ । विद्यार्थी संख्या न्यून भएका सामुदायिक विद्यालय गाभ्ने योजना एमालेले लिएको छ । अहिले समस्याको रूपमा देखिएको शिक्षक दरबन्दी मिलान गर्ने, आवासीय व्यवस्था गर्ने तथा छात्रवृत्ति र सहुलियत कार्यक्रमलाई एकीकृत र प्रभावकारी बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ । उच्च शिक्षामा अनुसन्धान तथा विकासमा राज्यको लगानी बढाई ‘विश्वविद्यालय उद्योग सहकार्य’ विस्तार गर्ने नीति उसको छ भने प्राविधिक दक्षता, नैतिकता, देशभक्ति, उत्तरदायित्व र सामाजिक जिम्मेवारीबोधसहितका गुणवान् नागरिक उत्पादन गर्ने समावेशी र प्रविधिमैत्री शिक्षा प्रणाली स्थापना गर्ने उल्लेख छ ।