निष्पक्ष निर्वाचनको वातावरण नबनेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष र विश्वासिलो निर्वाचनको वातावरण तयार गर्न नसकेको आरोप लगाएका छन् । झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको बासँग विद्यार्थी कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्लो समय लोकतान्त्रिक प्रक्रियामाथि नै प्रहार भएको टिप्पणी गरेका हुन्। सार्वभौम संसदलाई बलपूर्वक विघटन गरिएको घटनाले मुलुकलाई अस्थिरता र संकटतर्फ धकेलेको उनको भनाइ रहेको छ । अध्यक्ष ओलीले देश वर्तमानमा राजनीतिक अन्योलबाट गुज्रिइरहेको उल्लेख गर्दै त्यसबाट निकास दिन आफ्नो पार्टी चुनावी मैदानमा होमिएको बताए । ‘एमाले चुनावबाट भाग्ने पार्टी होइन, जनताको मतबाटै समाधान खोज्ने पार्टी हो,’ उनले भने । आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै उनले त्यसपछि देशमा देखिएका आर्थिक, राजनीतिक र प्रशासनिक समस्याको समाधान निकालिने विश्वास व्यक्त गरे ।  उनले युवापुस्तालाई लोकतान्त्रिक अभ्यास सुदृढ बनाउन सक्रिय भूमिका खेल्नसमेत आह्वान गरे ।

झापामा ओलीको नयाँ चुनावी कार्यक्रम ‘बासँग विद्यार्थी’ सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) झापाको दमकमा विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद सुरु गरेका छन् । ‘बासँग विद्यार्थी’ नाम दिइएको कार्यक्रम दमकस्थित होटल कोरोनेशनमा सुरु भएको नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले जानकारी दिए ।  कार्यक्रममा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका करिब तीन सय बढी विद्यार्थीको सहभागिता रहको उनले बताए । झापा निर्वाचन क्षेत्र नम्बर–५ का एमाले निर्वाचन प्रचार उपसमिति संयोजक समेत रहेका भण्डारीका अनुसार कार्यक्रममा विद्यार्थीहरूले उठाउने समस्या, जिज्ञासा र सुझावमाथि अध्यक्ष ओलीले प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।  निर्वाचन लक्षित भेटघाट अन्तर्गत आजको पहिलो कार्यक्रम नै विद्यार्थीहरूसँगको संवाद हो । विद्यार्थीसँगको छलफल सकिएलगत्तै अध्यक्ष ओली गौरादह नगरपालिका क्षेत्रमा मतदातासँग घरदैलो तथा समूहगत भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको छ । निर्धारित तालिका अनुसार उनले दिउँसो साढे १ बजे गौरादह–४ को खाङ्टामा स्थानीयसँग भेटघाट गर्नेछन् । त्यसपछि सोही वडाको मियाँ टोलमा पुगेर नागरिकसँग छलफल गर्ने कार्यक्रम रहेको भण्डारीले जानकारी दिए । मियाँ टोलको भेटघाटपछि ओलीले दिउँसो ३ बजे दुर्गाचोक–मजुवामा र साढे ३ बजे फकिरढिपमा मतदातासँग अन्तरक्रिया गर्ने तय भएको छ । समूहगत भेटघाटका क्रममा स्थानीय बासिन्दाका समस्या, गुनासा र विकाससम्बन्धी चासो सुन्ने तथा समाधानका विषयमा धारणा राख्ने कार्यक्रम रहेको एमाले नेताहरूले बताएका छन् । अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रमा टोल–टोल पुगेर प्रत्यक्ष संवादमार्फत जनताका आवाज सुन्ने अभियानलाई तीव्र बनाइरहेका छन् ।

उम्मेदवारको अनुहार अंकित टिसर्टमा होली खेल्न नपाइने, घरको कम्पाउन्डभित्रै रमाउन निर्देशन

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले उम्मेदवारको चुनावचिन्ह अंकित र अनुहार देखिने टिर्सट लगाउन नपाइने जनाएको छ ।   फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ को दफा १३(घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टि–सर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने भन्ने बेहोरा उल्लेख छ । निर्वाचन चिन्ह र उम्मेदवारका तस्बिर अंकित भेस्ट, टि–सर्ट, कमिज, गम्छा, लगायतका कपडाहरू प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराज रिजालले बताए । निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर धार्मिक तथा सांस्कृतिक रूपमा आ-आफ्नो घर कम्पाउण्ड भित्र अरू कसैलाई बाधा अवरोध नपर्ने गरी आफन्त, परिवारजन  साथीसंगीहरूसँग होली पर्व मनाउन उनले आग्रह गरेका छन् ।  उनका अनुसार सार्वजनिक स्थानमा भेला भएर तथा  मञ्च बनाई सांगितिक कार्यक्रमहरू गर्न पाइने छैन । त्यस्तै, मादक पदार्थको विक्री वितरण तथा सेवन गर्नेजस्ता कार्यहरू र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि गर्न पाइँदैन । आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरेर होली पर्व मनाउन पनि रिजालले अनुरोध गरेका छन् । अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा कानुनबमोजिम कारबाही गरिने उनले जानकारी दिए ।