काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावलीलाई लिएर दाबी–विरोध प्रक्रिया जारी रहेको छ । प्रतिनिधि सूचीमा नाम छुटेको तथा हटाइएको गुनासो आएपछि पार्टीले दाबी–विरोधका लागि अतिरिक्त समय दिएको हो ।
महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि हिजो प्रतिनिधि सूचीमाथि दाबी–विरोध दर्ता गर्न समय दिइएको थियो । तर, राति ८ बजेपछि दाबी–विरोध फाराम वितरण कार्य रोकिएको थियो ।
रास्वपा नेता क्रान्ति शिखा धितालका अनुसार अहिलेसम्म दाबी–विरोधका फाराम वितरण गरिँदै आएको छ । त्यसपछि प्राप्त उजुरी तथा दाबी–विरोधमाथि सम्बन्धित समितिले छलफल गरी निर्णय गर्नेछ । निर्णय प्रक्रिया सम्पन्न भएपछि मात्रै प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिने धितालले जानकारी दिइन् ।
अन्तिम नामावली प्रकाशन भएपछि मात्रै महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र उपलब्ध गराइने निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । उक्त कार्ड प्राप्त गरेका प्रतिनिधिलाई मात्रै मतदान अधिकार हुने ती सदस्यले जानकारी दिए ।
महाधिवेशनमा देशभरका जिल्ला तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधिहरू सहभागी हुन चितवन आएका छन् । तर, प्रारम्भिक नामावली सार्वजनिक भएपछि केही प्रतिनिधिहरूले आफ्नो नाम सूचीबाट हटाइएको वा समावेश नभएको भन्दै गुनासो गरेका थिए । सोही गुनासो सम्बोधन गर्न पार्टीले दाबी–विरोधको व्यवस्था गरेको निर्वाचन समितिले जनाएको छ ।
रास्वपाले प्रतिनिधि सूचीलाई अन्तिम रूप दिएपछि महाधिवेशनका निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढ्ने जनाएको छ । प्रतिनिधि नामावली टुंगो लागेसँगै नेतृत्व चयन, केन्द्रीय समिति गठन तथा पार्टीको भावी कार्यदिशाबारे हुने छलफलले पनि गति लिने ती सदस्यले जानकारी दिए ।