प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कालापानी र लिपुलेक नेपालकै भूभाग रहेको बलियो प्रमाण आफूहरूसँग सुरक्षित रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले राष्ट्रियता र सीमा सुरक्षाका सवालमा सरकार सम्झौताहीन रहने प्रष्ट पारे ।
सम्बोधनका क्रममा सीमा विवादलाई लिएर चासो र आपत्ति जनाउँदै उनले देशको सार्वभौमिकता रक्षाका लागि वर्तमान नेतृत्व दृढ रहेको जिकिर गरे ।
पछिल्लो समय सीमा समस्या समाधानका लागि तेस्रो पक्षको संलग्नता हुन सक्ने भनी बजारमा चलेका हल्ला र चर्चाको प्रधानमन्त्री शाहले खण्डन गरे ।
‘हामीले कालापानी–लिपुलेकको मुद्दामा ब्रिटिस सरकारलाई मध्यस्थकर्ता राख्न खोजेका हौँ भन्ने कुरा सत्य होइन, हामी त्यसो गर्दैनौँ,' उनले भने, 'हामीसँग आफ्नै ऐतिहासिक तथ्य र प्रमाणहरू छन् । त्यसैले मेरो राष्ट्रियता र देशप्रतिको निष्ठामाथि कसैले पनि आशङ्का गर्नु पर्दैन ।’
राजनीतिक स्थायित्व र दलहरूभित्रको आन्तरिक लोकतन्त्रबारे बोल्दै प्रधानमन्त्री शाहले विगतको प्रवृत्तिको आलोचना गरे । पहिलेका राजनीतिक दलहरूमा विचार र नीतिको सट्टा गुट र उपगुट बनाउने गलत अभ्यास निकै मौलाएको उल्लेख गर्दै उहाँले अहिले देशको राजनीतिक वातावरण लयमा आउँदै गरेको दाबी गरे ।
'विगतमा जे(जस्ता गुट र उपगुट बनाउने राजनीतिक अभ्यासहरू भए, त्यसले देशलाई फाइदा गरेन,' प्रधानमन्त्री शाहले थपे, ‘तर अहिले परिस्थिति फरक छ । राज्यका संयन्त्र र सुरक्षा लगायतका सबै कुराहरू पूर्ण नियन्त्रणमा छन् । जनताले कुनै पनि कुरामा चिन्ता लिनुपर्ने आवश्यकता छैन ।’
महाधिवेशनमा बोल्दै उनले सरकार देश र नागरिकको हितलाई केन्द्रमा राखेर अघि बढिरहेको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे ।