काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सञ्चालन र देश विकासको राजनीतिक ‘खेल’ मा आफूहरू प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको बलियो सहयोगी बन्ने स्पष्ट पारेका छन् ।
रास्वपाको चितवनमा आइतबारबाट सुरू भएको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले राजनीतिक वृत्तमा फुटबलको रोचक विम्ब प्रयोग गर्दै यस्तो धारणा राखेका हुन् ।
प्रधानमन्त्री बालेन शाहको कार्यशैली र नेतृत्वलाई समर्थन गर्दै लामिछानेले चुनावअघि नै रास्वपाले सरकार सञ्चालनको बागडोर बालेनको हातमा सुम्पन भूमिका खेलेको स्मरण गरे ।
‘अब भटाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन शाहको हो,’ सम्बोधनका क्रममा लामिछानेले भने, ‘राजनीतिक घटनाक्रमका कारण झुक्किएर मेरो खुट्टामा बल आइपुग्यो भने पनि, त्यो बल पुनः उनकै खुट्टामा पास गर्ने जिम्मा मेरो भयो ।’
आफ्ना राजनीतिक आलोचकहरू प्रति आक्रामक रूपमा प्रस्तुत भएका लामिछानेले आफू सस्तो टिप्पणी र राजनीतिक दाउपेच भन्दा माथि उठिसकेको दाबी गरे ।
सत्ता र शक्तिको छिनाझपटीमा टिप्पणी गर्नेहरूलाई लक्षित गर्दै उनले भने, ‘यहाँ मुख मिठ्याउने र चुक्ली लगाउनेहरू धेरै छन् । म तिनलाई जवाफ दिन यहाँ बोलिरहेको छैन । म त इतिहासलाई जवाफ दिन खडा भएको हुँ ।’
आफू र प्रधानमन्त्री बालेन शाह वर्तमानका लागि मात्र नभई आगामी पुस्ताप्रति जवाफदेही हुनुपर्नेमा पन िउनले जोड दिए ।
‘भोलि जन्मने पुस्ताले पनि म र बालेनलाई प्रश्न गर्नेछन् कि तिमीहरूले पाएको यो सुनौलो मौका किन गुमाउन दियौ ?,’ उनले भने ।
उनले भविष्यमा उठ्ने त्यो गम्भीर प्रश्नको सामना गर्न र देश परिवर्तनको यो ऐतिहासिक अवसरलाई पूर्ण रूपमा सदुपयोग गर्न चाहेको पनि बताए ।