अर्बौं खर्च गरेर मधेसको दलित बस्ती बनाउने गगनको वचन

सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही ४ का उम्मेदवार गगनकुमार थापाले मतदान केन्द्रहरूको अवलोकन गरेका छन् ।  काठमाडौं ४ मा बिहान मतदान गरी सर्लाही पुगेर उनले विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरेका हुन् ।  उनले सर्लाही जानुअघि काठमाडौं क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा अवसर दिएमा पाँच वर्ष सुशासनमा काम गर्ने बताएका थिए ।  त्यस्तै, उनले मधेसमा गएर आफूले राजनीतिक पूर्णता पाएकोसमेत बताएका छन् । पहाड र काठमाडौंका बारेमा जानेको भए पनि मधेसका बारेमा सिक्ने अवसर सर्लाही ४ ले नै दिएको उनले बताए ।  साथै सर्लाहीको अवस्था निकै नै गम्भीर भएको बताउँदै सुधार गर्ने कामहरु पहिलो वर्षदेखि नै थाल्ने वचनसमेत दिए ।  उनले सर्लाही गएरै आफूले सीमानामा मल ल्याउँदा भित्रबाट बल प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा पाएको जनाए । उनले उखु किसानको पहिलाको जस्तो अनुदान काट्ने कल्पना पनि गर्न ससकेको पाठ त्यहीँ गएरमात्र सिकेको बताए ।  उनले सरकारमा बस्दै गर्दा अरुको बजेट काटेर भए पनि मधेसको दलितको घर फेर्ने कुरा पहिलो वर्षमै गर्ने बताए । उनले भने, ‘अरबौं पैसा लागोस् । बरु मन्त्रालय काटौं । मैले त्यहाँ गएर के देखेर आएँ भने मान्छे अहिले पनि यस्तो अवस्थामा पनि बसिरहेको रहेछ भन्ने कुरा थाहा थिएन भन्ने पनि एकदमै लज्जाको विषय हो ।’

कुन नेताले कहाँबाट गरे मतदान ?

काठमाडौं । आज देशभर प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान अहिले जारी छ । देशभर शान्तिपूर्वक वातावरणमा भइरहेको निर्वाचनमा विभिन्न नेताहरूले आ-आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । कतिपय नेताहरूले मतदान गरिसकेका छन् भने कतिपय नेताहरू मतदान केन्द्रमा पुग्ने क्रम जारी रहेको छ ।  कसले कहाँबाट गरे मतदान ? सुशीला कार्की  प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छिन् । कार्कीले काठमाडौं–५ स्थित धापासी फैमाल्चुली मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।  ओमप्रकाश अर्याल गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । उनले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट मतदान गरेका हुन् । ललितपुर ३ स्थित सानेपाका बासिन्दा गृहमन्त्री अर्यालले सानेपाको टीका विद्याश्रम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । गगनकुमार थापा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं-४ मा मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् । काठमाडौं-४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो । यसपालि थापा सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । काठमाडौं-४ छाडेर सर्लाही-४ मा उम्मेदवारी दिएपछि यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ । केपी शर्मा ओली एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । ओली झापा क्षेज्ञ नम्बर ५ बाट उम्मेदवार छन् । पुष्पकमल दाहाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् । उनले क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् । उनले आफैलाई भने मत दिन पाएनन् । प्रचण्ड रुकुम–पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । सोही मतदान केन्द्रबाट राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मतदान गरेका छन् । माधवकुमार नेपाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ बाट मतदान गरेका छन् । उनले गौरमा रहेको रामजानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा नेपालले मतदान गरेका हुन् । नेपाल रौतहट क्षेत्र नम्बर–१ बाट उम्मेदवार समेत छन् । विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रबाट मतदान गरेका हुन्। ईश्वर पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतदान गरेका छन् । नेता पोखरेलले बिहान ८ बजे टोखा नगरपालिका वडा नम्बर ६ स्थित हात्तीचोक बुथमा मतदान गरेका हुन् । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौं–३ को उपत्यका खानेपानी लिमिटेडको महांकालचौरमा रहेको केन्द्रमा मतदान गरेका हुन् । रवि चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले आफूलाई भने मतदान गर्न पाउँदैनन् । मतपत्र खसालिसकेपछि उनले मतपेटिकामा ढोगेका थिए । बालेन्द्र शाह रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं महानगरपालिका-९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।  रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै झापा–५ को उम्मेदवार बनाएको छ ।  रामवरण यादव पूर्वराष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन् । उनले धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ५ स्थित बिपी कोइराला मावि, सपहीमा रहेको मतदानस्थलमा पुगेर मतदान गरेका हुन् । विद्यादेवी भण्डारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छिन् । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिकरुपमा जनमत लिइनु सकारात्मक भएको बताइन् । झलनाथ खनाल पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका– ९ रम्फोकको राष्ट्रिय आविमा मतदान गरेका छन् । यसअघि यही क्षेत्रबाट निर्वाचनमा उठ्दै आएका पूर्वप्रधानमन्त्री खनाल यसपटको निर्वाचनमा भने उम्मेदवार होइनन् । बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । भट्टराईले गोरखाको पालुङ्टार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण मावि केन्द्रमा सवा ९ बजे मतदान गरेका हुन् । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् । आज बिहान ७ बजे नै घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । घिसिङ काठमाडौं–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् । हर्क राई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले मतदान गरेका छन् । राइले धरान–१८ स्थित कार्मेल बोर्डिङ स्कुलमा पुगेर उनले मतदान गरेका हुन् । धरान उपमहानगरपालिकाका पूर्वप्रमुखसमेत रहेका राईले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । जनार्दन शर्मा प्रगतिशिल लोकतान्त्रीक पार्टीका जनार्दन शर्माले रुकुम–पश्चिमबाट मतदान गरेको छन् । उनले यमुनानन्द नमुना माध्यमिक विद्यालय, सेरीगाउँस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनी रुकुम–पश्चिममा उम्मेदवार पनि हुन् । वर्षमान पुन नेपाली कम्युनिस्ट पार्टीका नेता तथा उम्मेदवार वर्षमान पुनले मतदान गरेका छन् । उनले रोल्पाको बाल उदय माध्यमिक विद्यालय मदिचौरमा मतदान गरेका  हुन् । पुन यसअघि पनि रोल्पा क्षेत्र  १ बाट  विजयी भएका थिए । राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । उनले झापाको हल्दिवारी गाउँपालिका– १ वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  नारायणमान बिजुक्छे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरबाट मतदान गरेका छन् । भक्तपुर नगरपालिका–५ स्थित श्री विद्यार्थी निकेतन मावि भक्तपुर मतदान केन्द्रबाट  मतदान गरेका हुन् । शंकर पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा सदस्यका लागि मतदान गरेका छन् । उनले आज बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ केन्द्रमा मतदान गरेका हुन् । विप्लव विगतमा चुनाव बहिस्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् । यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् । विप्लवले परिवर्तन गाउँपालिका–३ थुनिकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गरेका हुन् । मतदान गर्न उनी बुधबार जन्म गाउँ इरिबाङ पुगेका थिए । पछिल्लो समय कपिलवस्तु बस्दै आएका उनी चुनावी प्रचारको समयमा समेत रोल्पा आएका थिए । सुहाङ नेम्वाङ  नेकपा एमालेका केन्द्रीय सदस्य तथा इलाम क्षेत्र नम्बर २ का एमाले उम्मेदवार सुहाङ नेम्बाङले मतदान गरेका छन् ।  उनले इलामको महेन्द्र रत्न बहुमुखी (मरब) क्याम्पस केन्द्रबाट मतदान गरेका हुन् । स्थानीय एमाले नेता कार्यकर्तासहित माला टीका लगाएर नेम्वाङ मतदान केन्द्र पुगेका थिए ।  बुवा सुवास नेम्वाङको निधन भएपछि भएको उपनिर्वाचनमा सुहाङ इलाम–२ बाट निर्वाचित भएका थिए । विष्णु पौडेल काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् । बिहीबार बुटवल–८ स्थित सडक विभागको मतदान केन्द्रमा उनले गरेका हुन् । उनी रुपन्देही- २ का उम्मेदवारसमेत हुन् । शेरबहादुर देउवा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले भने यो वर्ष मतदान गरेनन् । हरेक निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बन्दै आएका उनी यो वर्ष भने उम्मेदवार छैनन् । देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलाबाट मतदान गर्ने भए पनि यसपटक उनी मुलुक बाहिर रहेकाले मतदान गर्नबाट वञ्चित भएका हुन् । 

बागलुङको अस्थायी केन्द्रमा मतदान सकियो

ढोरपाटन । अस्थायी मतदान केन्द्र बागलुङ कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ । जिल्ला कारगारमा कायम रहेका ५५ जना कैदीबन्दीमध्ये ५३ जनाले मतदान गरेका हुन् ।      कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार दलका प्रतिनिधिसँग छलफलपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पठाइने छ ।      बागलुङमा २३० मतदान केन्द्र र एक लाख ९३ हजार ३८१ जना मतदाता कायम छन् ।