काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्ने चर्चा अस्वीकार गर्दै त्यस्तो नीति, अभ्यास वा संस्थागत उद्देश्य नरहेको स्पष्ट पारेको छ ।
बुधबार महामन्त्री विपिनकुमार आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र पार्टी विधानअनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिक मात्रै पार्टी सदस्य बन्न पाउने व्यवस्था रहेको जानकारी दिएका हुन् ।
रास्वपाले प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांक सदस्यताका लागि आवेदन दिनेहरूको संख्या मात्र भएको स्पष्ट गरेको छ ।
पार्टीका अनुसार डिजिटल प्रणालीमा जोसुकैले सदस्यताका लागि आवेदन दिन सक्ने भए पनि आवेदन गर्नु र सदस्यता स्वीकृत हुनु फरक प्रक्रिया हुन् ।
विज्ञप्तिमा सदस्यता आवेदन, प्रमाणीकरण र अन्तिम स्वीकृति छुट्टाछुट्टै प्रशासनिक तथा प्राविधिक चरण भएको उल्लेख गर्दै प्रारम्भिक आवेदनलाई स्वतः सदस्यता स्वीकृत भएको मान्न नमिल्ने जनाइएको छ ।
रास्वपाले उमेर, नागरिकता तथा अन्य आवश्यक कागजात सम्बन्धित तहबाट प्रमाणीकरण भएपछि मात्रै विधान र कार्यविधिअनुसार सदस्यता प्रदान गरिने जनाएको छ ।
प्रारम्भिक चरणमा १८ वर्ष नपुगेका केही व्यक्तिले पनि आवेदन दिएको देखिए पनि उनीहरूलाई सदस्यता नदिइने स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा पार्टीले विधिको शासन, संविधानको सर्वोच्चता, सुशासन, पारदर्शिता तथा प्रचलित कानुनको पूर्ण पालना गर्न सदैव प्रतिबद्ध रहेको पुनः दोहोर्याएको छ ।

