प्रतिनिधि सभा आज बस्दै, सहकारी संशोधन विधेयक पारित गर्ने तयारी

चार महत्त्वपूर्ण विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ । आजको बैठकमा सरकारले तीन महत्वपूर्ण संशोधन विधेयक पारित गराउने तयारी गरेको छ ।

बैठकको प्रारम्भमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यसपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रधानमन्त्रीको तर्फबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सम्पन्न भएको प्रस्ताव प्रस्तुत गर्नेछिन् । उक्त विधेयकमाथि दर्ता भएका संशोधनहरू निर्णयार्थ पेश गरी अन्ततः विधेयक पारित गर्ने प्रस्ताव पनि आजको कार्यसूचीमा समावेश गरिएको छ ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सम्पन्न भएको प्रस्ताव पेश गर्नेछन् । त्यसपछि संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्दै विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइनेछ ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सम्पन्न भएको प्रस्ताव पेश गर्नेछिन् । संशोधनहरू टुंग्याएपछि उक्त विधेयक पनि आजै प्रतिनिधि सभाबाट पारित गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा सरकारले सार्वजनिक खरिद प्रणाली, सम्पत्ति शुद्धिकरण नियन्त्रण तथा सहकारी क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्थामा महत्वपूर्ण संशोधनलाई अन्तिम रूप दिने तयारी गरेको छ । 

Share News