कैलाली– ३ मा मतगणना सुरु

कैलाली ।  कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर- ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईंले यहाँ मतगणना सुरु भएको जानकारी  दिए । उनका अनुसार कैलारी गाउपालिका–३ बाट मतगणना सुरु भएको छ । यहाँ १ लाख ९ हजार १२२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार २९४ मत खसेको थियो । यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदानस्थल र १४७ मतदान केन्द्र रहेका थिए । यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा छन् ।   

रुपन्देही -२ : विष्णु पौडेलभन्दा रास्वपाका सुलभ खरेल ८ हजार बढी मतले अगाडि

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता कायम गरेका छन् । यस क्षेत्रमा नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल रास्वपा उम्मेदवारभन्दा निकै पछाडि देखिएका छन् ।  हालसम्म १५ हजार ४१३ मत गणना हुँदा खरेलले १० हजार ५१९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विष्णु पौडेलले २ हजार १९३ मत मात्र प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्ना पौडेलले १ हजार २०४ मत ल्याएका छन् ।  प्रारम्भिक मतगणनाको नतिजाले रुपन्देही-२ मा रास्वपाका खरेलले उल्लेख्य मतान्तरसहित अग्रता बनाएको देखाएको छ ।

सर्लाही- ४ मा रास्वपाका अमरेशकुमार सिंहको अग्रता

काठमाडौं । सर्लाही- ४ मा अमेरशकुमार सिंहले सुरुवाती अग्रता कायम गरेका छन् । उनले १ हजार ९०८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गगन थापाले ५३६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपाका रजनिस रायले ३७९ मत प्राप्त गरेका छन् ।