‘नेपालको विकास विदेशी मोडेलले होइन, नेपाली सोच र माटोले सम्भव’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले नेपालको विकासका लागि विदेशी मोडेलको नक्कलभन्दा नेपाली माटो, भूगोल र यथार्थमा आधारित विकासको आफ्नै मार्ग आवश्यक रहेको बताएका छन् । 

‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता शाहीले विकास बाहिरबाट आयात गर्ने विषय नभई देशको आवश्यकता, सम्भावना र सामाजिक यथार्थअनुसार निर्माण गरिने प्रक्रिया भएको बताए ।

उनले अन्य देशमा सफल भएका विकासका मोडेल नेपालमा जस्ताको त्यस्तै लागू गर्न नसकिने उल्लेख गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालको आफ्नै विकास नीति र मार्ग तय गर्नुपर्नेमा जोड दिए ।

शाहीले नेपालमा विकासको मुख्य बाधा सम्भावनाको अभाव नभई कार्यान्वयन पक्ष कमजोर हुनु रहेको धारणा व्यक्त गरे । 

उनले प्राकृतिक स्रोत, जनशक्ति र भौगोलिक विविधताले नेपाललाई प्रशस्त अवसर दिएको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा अपेक्षित विकास हुन नसकेको बताए ।

उनले देशको वास्तविक आवश्यकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति निर्माण तथा योजनाको प्रभावकारी कार्यान्वयन गर्न सके नेपालले दिगो विकासको लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गरे । 


 

Share News