प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमा विवादका सम्बन्धमा दिएको पछिल्लो अभिव्यक्तिको विरोधमा त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा उत्रिएका विद्यार्थीले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै क्याम्पस परिसरमा प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।  प्रदर्शनका क्रममा विद्यार्थीले राष्ट्रियताको रक्षा र सीमा सुरक्षाको माग गर्दै विभिन्न नाराहरू लगाएका थिए । उनीहरूले ‘हाम्रो भूमि हाम्रो शान, ज्यान दिन्छौँ दिन्नौँ दान’, ‘ग्रेटर नेपाल भन्थ्यौ, चुच्चे नक्शा पनि नरहला जस्तो छ’ र ‘राष्ट्रियतामाथि प्रहार सहँदैनौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।  विद्यार्थीले प्रधानमन्त्रीको अभिव्यक्तिले वीर पुर्खाहरूको बलिदानको अपमान गरेको ठहर गर्दै उक्त कदमप्रति माफी माग्न माग गरेका छन् । साथै, लोकतन्त्रमा प्रधानमन्त्रीको पदीय मर्यादा र जिम्मेवारीको स्मरण गराउँदै प्रदर्शनकारीहरूले ‘यो लोकतन्त्र हो प्रधानमन्त्री, र्याप र जोकतन्त्र होइन’ भन्दै आलोचनासमेत गरेका छन् ।  तस्बिरहरु : अनुप प्रधान

१६ हजारको जागिरबाट यसरी करोडौंको मालिक बनिन् तुलसी

काठमाडौं । तुलसा अधिकारी भन्ने तुलसी अधिकारीलाई बिहीबार ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । बिहीबार जिल्ला अदालत, ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । उनलाई केही दिनअघि थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो । उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि तुलसीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । हनी ट्र्याप अर्थात् आपराधिक लाभ र ठगीको कसुरमा कुमार चिमोरियाले दिएको जाहेरीको आधारमा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरण समेतमा मुद्दा भएको थियो । तुलसाले चिमोरियासँग पहिले सम्बन्धमा रहँदाका अन्तरंग फोटो र भिडियो गोप्यरूपमा रेकर्ड गर्ने गर्थिन् । पछि त्यही फोटो र भिडियो देखाएर पटक–पटक सार्वजनिक गरिदिने धम्की दिँदै रकम लिने गरेकी थिइन् ।  रकम नदिए पुरुष अर्थात् पीडितको श्रीमती, परिवार तथा आफन्तसमेतलाई भनिदिने धम्की दिने र कतिपय अवस्थामा फोटो र भिडियोसमेत देखाएर धम्काउने गरेको खुलाइएको छ ।  चिमोरिया कामको शिलशिलामा बुटवल गइरहन्थे । सामान्य चिनजान थियो सुरुमा उनीहरूको । तुलसीले आफ्नो बारेमा बताएपछि चिमोरियाले उनलाई नजिक बनाए । नजिक मात्र बनाएनन्, काम खोजेर जीवनयापन सहज हुने वातावरणसमेत बनाइदिए । बुटवलदेखि ललितपुर ग्वार्कोको मेगा मोटर्समा काममा लगाइदिए उनले । उनले १६ हजार ५ सय रुपैयाँ तलबको काम पाइन् । त्यसपछि काठमाडौं आएकी तुलसीले ग्वार्कोको मेघा मोटर्समा ३ महिना काम गरिन् । तुलसीले २०७७ मंसिरमा २३ हजार ७६० रुपैयाँ, पुसमा २९ हजार ७०० रुपैयाँ र माघमा १६ हजार ७१० रुपैयाँ कमाएकी थिइन् । अधिकारीले आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण गरी ललितपुरको भैंसेपाटीमा ४ करोड रुपैयाँभन्दा बढी रकमको घर खरिद गरिसकेकी छन् । उनले २०८२ असार १० गते ललितपुरको सैंबु–४, भैंसेपाटीमा ४ आना क्षेत्रफलमा बनेको घर कम्तीमा ४ करोड रुपैयाँमा खरिद गरेकी हुन् ।  ललितपुरमा घर किन्नुभन्दा करिब ६ महिनाअघि मात्रै तुलसी अधिकारीले रुपन्देहीको बुटवलमा समेत घडेरी किनेको थिइन् । तुलसाले २०८१ माघ २४ गते सुनवल ४, बुटवलमा कित्ता नम्बर ४१८ को १० धुर जग्गा ५ लाख रुपैयाँको लिखत गरेर किनेको थिइन् । चीनमा पनि कम्पनी स्थापना यता नेपालमा कम्पनी लगातार घाटामा गइरहँदा तुलसीले चीनमा समेत कम्पनी खोलेर व्यवसाय गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले हुन्डीमार्फत रकम लगेर कम्पनी खोलेको खुलेको छ ।  भैंसेपाटीमा उनले ४ करोड रुपैयाँ पर्ने घर खरिद गरिसकेकी छन् । ललितपुरमा घर किन्नुभन्दा करिब ६ महिना अगाडि मात्रै अधिकारीले रुपन्देहीको बुटवलमा समेत घडेरी किनेको थिइन् । उनले २०८१ माघ २४ गते सुनवल ४, बुटवलमा कित्ता नम्बर ४१८ को १० धुर जग्गा किनेकी हुन् । यस्तै, उनले छोरीलाई चीनको एक विद्यालयमा वार्षिक १५ लाख रुपैयाँ शुल्क तिर्ने गरी अध्ययन गराइरहेकी छिन् । 

धनगढी उपमहानगरपालिकामा दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड संकलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको प्रथम १० महिनामा ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।      सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दूध सङ्कलन गर्दै आएको आयोजनाले सङ्कलित दूधलाई प्रशोधन गरी पनिर, आइसक्रिमलगायत उत्पादन स्थानीय बजारमा बेचेर उक्त रकम आर्जन गरेको आयोजनाका प्रमुख निराजन भट्टराईले जानकारी दिए । आयोजनाबाट उत्पादित दुग्धजन्य पदार्थ धनगढी, अत्तरिया, डडेल्धुरा, दिपायल र टीकापुर बजारमा बिक्री हुँदै आएको छ ।       हाल दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन गर्दै आएको आयोजनाले कञ्चनपुरको बेलौरी, कैलालीको लम्कीको गुलरा तथा टीकापुरको वसन्तामा आफ्नै सङ्कलन केन्द्र सञ्चालन गरेको छ । रासस