प्रधानमन्त्री बालेनलाई मेसेज पठाउने सचिव जगेडामा तानिए

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बिहीबारको निर्णयको मिति राखेर उनको सरुवा गरिएको हो ।

लामो समयदेखि शक्तिकेन्द्रसँग निकट रहेर राज्य संयन्त्रमा हालीमुहाली गर्दै आएका सचिव पुष्करलाई अतिरिक्त समूहमा राखिएको उच्च श्रोतले जनाएको छ । सरकारी सेवामा प्रवेश गरेयता उनी पहिलोपटक अतिरिक्त समूहमा सरुवा भएका हुन् ।

२०५९ सालको शाखा अधिकृत ब्याच नम्बर १८ का पुष्कर निजामती सेवामा प्रवेश गरेदेखि नै महत्वपूर्ण जिम्मेवारी र अवसर प्राप्त गर्ने अधिकारीका रूपमा चिनिँदै आएका छन् । स्रोतका अनुसार उनी प्रदेश सरकारमा नखटिई संघीय सचिव बनेका दुर्लभ अधिकारीमध्ये एक हुन् ।

हालै प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाइएको भनिएको एक सन्देश सार्वजनिक भएपछि सचिव पुष्कर थप चर्चामा आएका थिए । त्यसको केही समयपछि नै उनको सरुवा भएको प्रधानमन्त्री कार्यालय श्रोतले जानकारी दियो ।  यद्यपि सरकारले उनको सरुवाको औपचारिक कारण सार्वजनिक गरेको छैन ।

स्रोतका अनुसार सचिव पुष्करको सरुवासम्बन्धी निर्णय बिहीबार नै गरिएको भए पनि त्यसबारेको औपचारिक जानकारी सम्बन्धित निकायलाई क्रमशः पठाउने प्रक्रिया जारी छ ।
 

Share News