लोटस ओभरसिजलाई ५० हजार रुपैयाँ जरिवाना, ८ कम्पनीलाई सुधारको निर्देशन

काठमाडौं । लोटस ओभरसिजलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार (जेठ २२ गते) गरेको बजार अनुगमनका क्रममा मध्यपुर थिमी नगरपालिका-२ स्थित लोटस ओभरसिजलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । 

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २०(२) बमोजिमको व्यवस्था पालना नगरेको पाइएपछि उक्त कम्पनीलाई ऐनको दफा ३८(ट) अन्तर्गतको कसुरमा दफा ३९(१)(घ) बमोजिम कारबाही गरेको विभागले जनाएको छ ।

अनुगमनका क्रममा विभिन्न ८ वटा उद्योग तथा व्यवसायलाई सुधारको निर्देशन पनि दिएको छ । विभागका अनुसार ललितपुर महानगरपालिका-१३ भनिमण्डलस्थित फेथ वक्र्स ब्याग्स एण्ड एक्सेसरिज प्रालि, जावलाखेलस्थित भूसाल फर्निसिङ्ग फ्लोरिङ्ग एण्ड फर्निचर, मध्यपुर थिमीस्थित अमृत हार्डवेयर, आशिष ट्रेडिङ सेन्टर र ग्लोबल ट्रेडिङ इम्पेक्सलाई सामान्य निर्देशन दिइएको छ ।

त्यस्तै, काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित प्राइम अटो स्पेयर्स, वडा नम्बर १५ चमतीस्थित आलिया सिलाई सेन्टर तथा वडा नम्बर २९ स्थित माछापुच्छ्रे फर्निसिङ्ग सेन्टरलाई पनि सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

Share News