काठमाडौं । नेकपा एमालेले वर्तमान राजनीतिक तथा संसदीय संकटको मुख्य कारण प्रधानमन्त्री बालेन्द्र शाहको जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्ति भएको आरोप लगाएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिकै कारण संसद् अवरुद्ध हुने अवस्था सिर्जना भएको दाबी गरे ।
उनले प्रधानमन्त्रीले सदनमा व्यक्त गरेको भनाइले राष्ट्रिय हित, कूटनीतिक सम्बन्ध तथा संसदीय मर्यादामाथि प्रश्न उठाएको उल्लेख गर्दै अहिले देखिएको राजनीतिक तनाव र संसदीय गतिरोधको जड त्यही अभिव्यक्ति भएको बताए ।
थापाले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने र संसद्प्रति जिम्मेवार बन्नुपर्ने धारणा राखे । उनले विवाद समाधानका लागि सरकारले गम्भीर पहल नगरे देश थप संकटतर्फ धकेलिन सक्ने चेतावनीसमेत दिए ।