१० महिनामा १६.७४ अर्ब उठ्यो राजस्व, २ महिनामा ३२ प्रतिशतको दबाब
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन काठमाडौं । नेपालगन्ज भन्सार कार्यालयले १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएकामा गत वैशाखसम्म १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रुपैयाँ अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको हाे । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार लक्ष्य पूरा गर्न २ महिनामा ३२ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ । भन्सार कार्यालयको मासिक लक्ष्य अुनसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्कलन हुनसकेको छैन । तर पछिल्लो २ महिना चैत र वैशाखमा भने राजस्व सङ्कलन बढेको छ । चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ । गत आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने त्यसको अघिल्लो आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको प्रमुख पौडेलले बताए । नेपाल-भारत सीमाको जमुनाहनाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात-निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको प्रमुख पौडेलको भनाइ छ । नेपालगन्ज भन्सारमा चालु आवको साउन महिनामा १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ लक्ष्य रहेकामा ७४.१४ प्रतिशत अर्थात् १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ, भदौमा १ अर्ब ९३ लाख ६४ हजार रुपैयाँ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड १० लाख ९ हजार रुपैयाँ सङ्कलन भएको छ । त्यसैगरी, असोजमा १ अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रुपैयाँ रहेकामा ८७.८३ प्रतिशत अर्थात् १ अर्ब ७४ करोड १६ लाख ५ हजार रुपैयाँ, कात्तिकमा २ अर्ब १२ करोड ६१ लाख ३० हजार रुपैयाँ लक्ष्य रहेकामा ७२.३० प्रतिशत अर्थात् १ अर्ब ५३ करोड ७० लाख ८२ हजार रुपैयाँ, मङ्सिरमा १ अर्ब ९६ करोड ३६ लाख १४ हजार रुपैयाँ लक्ष्य रहेकामा ८३.४५ प्रतिशत अर्थात् १ अर्ब ६३ करोड ८५ लाख १० हजार रुपैयाँ तथा पुसमा २ अर्ब ३ करोड ४५ लाख २१ हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ६९ करोड ४४ लाख १३ हजार रुपैयाँ सङ्कलन भएको छ । यस्तै माघमा ८८.२४ प्रतिशत रहेकामा १ अर्ब ७० करोड १ लाख ८२ हजार रुपैयाँ, फागुनमा १ अर्ब ९३ करोड ३८ लाख १९ हजार रुपैयाँ लक्ष्य रहेकामा ८८.३२ प्रतिशत अर्थात् १ अर्ब ९३ करोड ३८ लाख १९ हजार रुपैयाँ, चैतमा २ अर्ब १७ करोड ८१ लाख ९६ हजार रुपैयाँ लक्ष्य रहेकामा ९८.३७ प्रतिशत अर्थात् २ अर्ब १४ करोड २५ लाख ५४ हजार रुपैयाँ र वैशाखमा २ अर्ब १५ करोड ८५ लाख २ हजार रुपैयाँ लक्ष्य रहेकामा ८५.३८ प्रतिशत अर्थात् १ अर्ब ८४ करोड २८ लाख २१ हजार रुपैयाँ सङ्कलन भएको प्रमुख पौडेलले बताए । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत, माघमा ७५.१३ प्रतिशत, फागुनमा ७३.६८ प्रतिशत, चैतमा ८२.५४ प्रतिशत र वैशाखमा ७७.७२ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।
पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने
काठमाडौं । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुन सक्ने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य हिमाली र पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक/दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम तातो लहर चल्ने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मी बढ्ने सम्भावना रहेको छ । आज राति कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने, पहाडी क्षेत्र तथा मधेश प्रदेशमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ । साथै, तापक्रम थप बढ्ने सम्भावना रहेकाले महाशाखाले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका बासिन्दालाई आगामी तीन दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न महाशाखाले सुझाव दिएको छ ।
तराईका २१ जिल्ला तातो लहरको चपेटामा, जोगिन विभागको अनुरोध
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहरसम्बन्धी बिहीबार (आज) विशेष बुलेटिन जारी गर्दै तराईका केही जिल्लामा सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न ४ः०० बजे तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभिन्न १४ जिल्लामा सतर्क रहन र अन्य सात जिल्लामा अध्यावधिक रहन अनुरोध गरेको हो । जारी विशेष बुलेटिनमा आगामी तीन दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा योभन्दा बढी रहने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार आज भैरहवामा भने ४१ डिग्री तापक्रम मापन भएको छ भने नेपालगञ्जमा ४० डिग्री छ । मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै ठाउँमा आगामी तीन दिनसम्म मध्यम तातो लहर हुने पनि महाशाखाले जनाएको छ । ‘कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ । त्यसैले गर्मीबाट जोगिने उपाय अपनाउनु होला’, विभागको सूचनामा उल्लेख छ । महाशाखाले गर्मी अत्यधिक बढिरहेकाले विशेष ख्याल गर्न सबैमा अनुरोध गरेको छ । विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी बर्दघाट(सुस्तापश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्नसक्ने भएकाले सतर्क रहने अनुरोध गरेको छ । त्यस्तै, कञ्चनपुर, कैलाली, नवलपरासी बर्दघाट(सुस्तापूर्व, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई सूचना अध्ययावधि सूचना हेर्न अनुरोध गरिएको मौसमविद् पुडासैनीले बताए । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनेलगायत लक्षण देखिनसक्ने भएकाले सोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजान र चर्को घाममा बाहिर ननिस्किन तथा हल्का लुगा (सुतीका कपडा) लगाउन मौसमविद् पुडासैनीले अनुरोध गरे । उनका अनुसार बाहिर निस्कँदा टाउको छोप्न टोपी लगाउन नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्नेछ ।