माननीय हुँ भन्दै ट्राफिक प्रहरी धम्क्याउने तामाङ पक्राउ

काठमाडौं । सिन्धुली क्षेत्र नम्बर १ को माननीयको हुँ भन्दै ट्राफिक प्रहरीलाई धम्क्याउने एक जना पक्राउ परेका छन् । बिहीबार सिन्धुली कमलामाई ७ का ३६ वर्षीय लोकबहादुर तामाङ पक्राउ परेका हुन् ।  उनले आफूलाई सिन्धुली क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य माननीय धनेन्द्र कार्की हुँ भन्दै झुटो परिचय दिने गरेका थिए ।  तामाङले ट्राफिक प्रहरीलगायत विभिन्न व्यक्तिहरूलाई फोनमार्फत दबाब दिने काम कारवाहीमा अनुचित प्रभाव पार्न खोज्ने गरेका थिए । अभद्र व्यवहारसमेत गरेको भन्ने बेहोराको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उज्वल कार्कीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय, सिन्धुलीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

थुनछेक बहसका लागि तुलसा अधिकारीलाई पुनः भोलि अदालत लगिने

काठमाडौं । टिकटकर तथा व्यवसायी तुलसा अधिकारीलाई अदालतमा हाजिर गराइएको छ । सोमबार अदालतमा उपस्थित गराइए पनि थुनछेक बहस हुन सकेन । जिल्ला प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले आज ललितपुर जिल्ला अदालतमा पेश गरिने पनि थुनछेक बहस हुन नसकेको जानकारी दिए । ‘अदालत खुलेपछि आजै पेश गरिएको थियो अधिकारीलाई,’ उनले भने, ‘विविध कारणले बहस हुन सकेन ।’ भोलि पुनः अदालतमा पेश गरिने मिश्रको भनाइ छ । अदालतमा उनीविरुद्ध आपराधिक विश्वासघात, आपराधिक लाभ ठगी र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाइएको छ । शनिबार राति १ बजे अधिकारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । इन्टरपोलमार्फत उनलाई प्रहरीले थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको हो । उनी केही समयदेखि चीनमा बसेर पत्थर तथा मुगाको व्यापार गर्दै आइरहेकी थिइन् ।

झापा इनर्जी प्लान्टमा आगलागी, करिब ६ करोडको क्षति

काठमाडौं । झापा इनर्जी प्लान्टमा आगलागी भएको छ । सोमबार दिउँसो झापा शिवसताक्षी नगरपालिका ४ फुलचोक रहेको झापा इनर्जी प्लान्टमा आगलागी भएको हो ।  आगलागी हुँदा विभिन्न मेसिनहरू जलेर अन्दाजी ६ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी सुमन बानियाले जानकारी दिए । के कारणले आगलागी भएको त्यसबारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ । दुधेका स्थानीय वर्षीय ५० को लाल प्रसाद सावा रहेको उनले जानकारी दिए । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल साथै स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासमा आगो निभाइएको उनले बताए ।