वैदेशिक रोजगारीका नाममा करोड बढी ठगेको अभियोगमा ५ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुुसरा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ४६ वर्षीय कृष्णकुमार खड्का, ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागिरथी (पराजुली) गौतम, काठमाडौं बूढानीलकण्ठ नगरपालिका–९ बस्ने सुनसरी घर भएका ३० वर्षीय प्रवेश पराजुली, काठमाडौं महानगरपालिका–६ बस्ने ३९ वर्षीय प्रज्वल आचार्य र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० बस्ने झापा घर भएकी ४७ वर्षीया निशा सिवालाई पक्राउ गरिएको हो । अभियुक्तमध्ये कृष्णकुमार र भागिरथीले क्रोएशिया, ग्रीसलगायत देश पठाइदिने भन्दै १४ जना पीडितबाट रु ५८ लाख ६८ हजार ठगी गरेको आरोप छ ।  प्रवेशले सर्बिया पठाइदिने भन्दै चार जना पीडितबाट १८ लाख ९० हजार, प्रज्वलले अमेरिका पठाइदिने भन्दै एक जना पीडितबाट ३१ लाख र निसाले कोरिया पठाइदिने भन्दै अर्का एक जना पीडितबाट १ लाख पाँच हजार लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो । पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा करुणा कटुवाललाई नियुक्त गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको बैठकको निर्णयबमोजिम पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ संशोधनसहितको धारा ४२ १ (च) अनुसार नेविसंघको अध्यक्ष पदमा धनकुटाकी करुणा कटुवाललाई नियुक्त गरेका हुन् । नेविसंघको कार्यकाल समाप्त भई संगठन स्वतः विघटन भएको अवस्थामा नयाँ नेतृत्व चयन गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । नवनियुक्त अध्यक्ष कटुवाललाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ११ बुँदे कार्यादेश तथा कार्यविवरण प्रदान गरिएको कांग्रेसले जनाएको छ ।

विद्यार्थी नेताको गिरफ्तारीप्रति कांग्रेसको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि हस्तक्षेप गर्दै विद्यार्थी नेताहरूलाई पक्राउ गर्नु निन्दनीय भएको कांग्रेसको ठहर छ । सीमासम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको विरोधमा नेविसंघका विद्यार्थीहरूले प्रदर्शन गर्दा उनीहरू पक्राउ परेका हुन् ।   पक्राउ पर्नेहरूमा राजकुमार बस्नेत, अुर्जन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डे रहेका छन् । कांग्रेसले पक्राउ परेका विद्यार्थी नेताहरूलाई अविलम्ब रिहा गर्न सरकारसँग जोडदार माग गर्दै लोकतान्त्रिक अधिकारको सम्मान गर्न आग्रहसमे गरेको छ ।