सबैलाई एउटै भ्याट लगाउँदा मूल्य बढ्छ : नरेशलाल श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चालु आर्थिक वर्षको बजेट महत्वकांक्षी रहेको बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’छलफल कार्यक्रममा बोल्दै स्रोत व्यवस्थापनको चुनौतिसहित आएको उल्लेख गरे । ‘पुँजीगत खर्च केवल २० प्रतिशतमात्र कायम रहेको देखिएको छ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘६ खर्ब भन्दा बढी वित्तीय घाटा सहितको बजेट आएको छ ।’ उनले कतिपय कुराहरू परम्परागत बाट रुपान्तरणकारी तर्फ बजेट जान खोजेको बताए । व्यक्तिगत आयकरको सीमा १० करोड पुर्याइनु सकारात्मक भएको बताएका छन् । उनी भन्छन्, ‘लगानी बोर्डले स्वीकृत दिइसकेको र अन्य निकायबाट दोहोरो स्वीकृति नचाहिने व्यवस्थाले सहज र झन्झटयुक्त लगानीको वातावरण प्रदान गरेको देखिन्छ ।’ स्युचाटारमा मुलुककै पहिलो एआई कम्प्युट सेन्टर निर्माण गर्ने विस्तार पनि स्वागतयोग्य भएको बताए । सुरूवाती चरणमा अनुदान, सहुलियतपूर्ण कर्जा तथा निजी क्षेत्रलाई सह लगानीमा जोड्दै स्टार्टअपलाई अगाडि बढाउने योजना महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताका लागि ५ प्रतिशत कर र शिक्षा तथा स्वास्थ्यमा लगाइएको करमा पुनर्विचार गरिनुपर्ने बताए । यसमा सरकारले स्पष्ट हुनुपर्नेमा जोड दिए । निजी क्षेत्र र उपभोक्तामाथि भार पर्ने हुँदा यसलाई संशोधन गर्नुपर्नेमा उनको भनाई छ । श्रेष्ठले विद्युतीय सवारीसाधनतर्फको कर बढाउँदा इभी गाडीको प्रयोग घट्न सक्नेतर्फ चिन्ता व्यक्त गरे । स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्ने बताए । उनले विगतमा बजेट र योजना राम्रो भएपनि कार्यान्वयनमा ढिलाइ हुँदा अपेक्षित सफलता हासिल गर्न नसकेको बताउँदै अहिले पनि राम्रा योजनालाई तत्कालै कार्यान्वयनमा लैजानुपर्ने औंलाए । महासंघले बजेटका लगि सुझाव दिँदा साना तथा मझौला व्यवसायलाई ५० लाख भन्दा माथिकोलाई भ्याटमा जाँदा व्यापार गर्ने क्षमता ह्रास आउने अवगत गराएको भन्दै यसमा बजेटले सम्बोधन नगरेको गुनासो गरे । उनले महासंघले सुझावमा ५० लाखको सीमा १ करोड पुर्याउन भनेको समेत सुनाए । उनले होटल व्यवसायलाई उद्योग सरह मान्यता दिएर सहुलियत दरमा विद्युत खपतको विषय कार्यान्वयनमा नआएको बताए । ‘भ्याट पनि समायोजन नहुने र सबैलाई एउटै भ्याट लगाउँदा मूल्य बढ्न जान्छ । यसले उद्योग सञ्चालन गर्नै समस्या आउँछ,’ उनले भने । उनले आईए र इआईएको नाममा व्यवसायले दुःख पाएको सुनाए । इआईए र आईएको नाममा सबै उद्योगहरूमा ढिलाई भइरहेको भन्दै उनले यसमा लचकता आवश्यक भएको बताए । करीब ५ सय परियोजना अहिले ठप्प भएको बताए । ‘वन नीति र वन आरक्षण नीतिका कारण आयोजनामा ढिलाई भएकाले यसमा सहजीकरण गर्नुपर्छ,’ उनले भने । होटललाई चाहिने पूर्वाधार बनाउँदा आयातित गर्ने वस्तुमा भन्सार छुटमा सहुलियत आवश्यक भएको बताए । ५ प्रतिशत दरले नै आयात गर्न पाउने सुविधा प्राप्त होस् भन्ने निजी क्षेत्रको भनाइ रहेको उनले स्पष्ट पारे । उपाध्यक्ष श्रेष्ठले हामीले विदेशबाट कच्चा पदार्थ ल्याउनुपर्ने भएकाले लागत बढी पर्ने गरेको र भारत र चीनको बजारसँग प्रतिष्पर्धा गर्न नसकेको बताए । सोही कारण यस्ता पदार्थ आयातमा सहुलियत आवश्यक परेको उनको भनाइ छ । उनी भन्छन्,‘कच्चा पदार्थ बाहिरबाट ल्याउँदा ढुवानी भाडा महँगो पर्न गइरहेको छ। सहुलियतमा ५ अर्ब दिने अघिल्लो सरकारको निर्णय थियो । तर त्यो अहिलेसम्म पाएनौं ।’ अहिले निर्यात घटेको र आयात बढेको भन्दै सरकारले खुला मनले निर्यातमा उदार नीति अवलम्वन गर्नुपर्नेमा जोड दिए ।
सरकारलाई जवाफदेही र जनतालाई सचेत बनाउन जिम्मेवार पत्रकारिता आवश्यक
काठमाडौं । लोकतन्त्रलाई सुदृढ बनाउन जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी पत्रकारिता अपरिहार्य रहेको नागरिक समाजका प्रतिनिधिहरुले बताएका छन् । सम्पादक समाज नेपालद्वारा आइतबार काठमाडौंमा आयोजित ‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’ विषयक अन्तरक्रियामा सहभागीहरूले सुशासन, पारदर्शिता र समाज रूपान्तरणका लागि सञ्चार क्षेत्रको भूमिका सधैं निर्णायक रहनेमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले स्थानीय सरकारका नीति, कार्यक्रम र सेवा प्रवाहलाई प्रभावकारी रूपमा जनतासम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए । ‘सूचनाको सम्प्रेषणका विभिन्न माध्यम भए पनि सञ्चार क्षेत्रको भूमिका अग्रस्थानमा छ’, उनले भने, ‘सरकारलाई जवाफदेही र जनतालाई सचेत बनाउने सशक्त माध्यम नै सञ्चार क्षेत्र नै हो ।’ प्रवक्ता मानन्धरले यथार्थ समाचार संप्रेषण गर्ने संचार माध्यामलाई आवश्यक सहयोग गर्न काठमाडौं महानगर पालिका प्रतिबद्धता रहेको बताए । कार्यक्रममा नेपाल बार एशोसिएसन काठमाडौं जिल्लाका अध्यक्ष अधिवक्ता सुवोध वाबु चिलुवाल, ई. उमेश गुप्ता र नेपाल रेडक्रस सोसाइटीका काठमाडौंका कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँगै व्यावसायिक आचरण, सत्यपन र सन्तुलित प्रस्तुतिकरणमार्फत जनविश्वास कायम राख्नुपर्ने धारणा राखे । संचार माध्याममा समाचर आउनु पूर्व नै सामाजिक संजालले दिने घटना विवरणले आमनागरिक यथार्थ समाचार प्राप्त गर्नबाट वन्चित भएको उनीहरुको भनाइ छ । पछिल्लो समयमा केही गलत समाचारका कारण देशमा नराम्रा घटनाहरु पनि भएकाले यस तर्फ ध्यान दिनलाई सामाजिक व्यक्तित्वहरुले आग्रह गरे । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष शोभा अर्यालले गुणस्तरिय पत्रकारिताका लागि संचार गृहहरु सक्षम हुनु पर्नेमा वर्तमान सरकारले सरकारी विज्ञापन प्रकाशनमा लिएको नीतिका कारण धराशायी बन्न पुगेको उल्लेख गरे । अध्यक्ष अर्यालले अध्ययनले मात्र दक्ष पत्रकार बन्न नसक्ने भएकोले कार्यस्थलमा खटिने पत्रकारहरुलाई प्रशिक्षित गर्न सकेमा समाचारको स्तर एवं सत्यतामा वृद्धि हुने बताए । समाजका महासचिव श्यामकाजी डोटेलले वर्तमान परिवेशमा सञ्चार क्षेत्रका लागि प्रविधि र बदलिँदो प्रवृत्ति मुख्य चुनौतीका रूपमा देखापरेको औंल्याए । डिजिटल माध्यमको तीव्र विस्तारसँगै पत्रकारहरूले नयाँ प्रविधिलाई आत्मसात् गर्दै आफ्नो दक्षता, क्षमता र प्रतिस्पर्धात्मकता अभिवृद्धिमा जोड दिनुपर्ने उनले स्मरण गराए । तर, सञ्चार क्षेत्रको गरिमा कमजोर बनाउने गैरव्यावसायिक र अव्यवस्थित मानवीय प्रवृत्तिलाई समयमै सुधार गर्न आवश्यक रहेको उनले स्पष्ट गरे । पत्रकारिताको मूल्य, मान्यता र आचारसंहितालाई व्यवहारमा कार्यान्वयन गर्न सकेमात्र पेसागत मर्यादा सुदृढ रहने उनको भनाइ छ । सम्पादक समाजको अध्यक्ष पुरु रिसालले पत्रकारिता स्वभावतः जिम्मेवार र संवेदनशील पेसा भएकाले यसलाई अझ सजग, सचेत र व्यावसायिक अनुशासनका साथ निरन्तरता दिनुपर्ने बताए । सत्यतथ्यमा आधारित, सन्तुलित र उत्तरदायी सामग्री प्रस्तुतिकरणमार्फत नै पत्रकारिताको विश्वसनीयता जोगाउन सकिने उनले बताए । काठमाडौं महानगर पालिका वडा नं. १७ को सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रशिक्षक तोया गौतमले प्रस्तुतिकरणमार्फत डिजिटल प्रभाव, सामाजिक सञ्जालको तीव्र विस्तार तथा अनलाइन सञ्चारमाध्यमको बढ्दो बाहुल्यताका विषयका कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै उनले डिजिटल युगमा सूचना प्रवाहको गति तीव्र बनेसँगै तथ्य परीक्षण, स्रोतको विश्वसनीयता र सामग्रीको गुणस्तर झनै महत्त्वपूर्ण बन्दै गएको उल्लेख गरे । अनलाइन पत्रकारिताको प्रतिस्पर्धी परिवेशमा व्यावसायिकता, जिम्मेवारी र विश्वसनीयतालाई सन्तुलित राख्नु नै मुख्य चुनौती रहेको उनको प्रस्तुतिकरणमा औंल्याइएको थियो । यसक्रममा समाजका उपाध्यक्ष जुनारबाबु बस्नेतले सामाजिक सञ्जालका कारण मूलधारका सञ्चारमाध्यम समस्यामा पर्दै गएको टिप्पणी गरे । गोरखापत्र दैनिकका सम्पादकसमेत रहेका उनले नागरिकको अपेक्षालाई समाचारमा प्रमुख प्राथमिकता दिन आवश्यक रहेकामा उनले जोड दिए । सम्पादक समाज नेपालले अभियानका रुपमा आयोजना गरेका ‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’ विषयक यो दोस्रो कार्यक्रम हो । यस अघि गत फागुनमा नुवाकोटका संचारकर्मीहरुलाई समटेर विदुरमा अन्तरक्रिया आयोजना गरेको थियो । समाजले पहिलो चरणमा वागमतीका सबै जिल्लामा यो ‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’अन्तरक्रिया कार्यक्रम गर्ने बताएको छ ।
तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व
दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँअन्तर्गत नौवटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ । सङ्गठन विस्तारअन्तर्गत रास्वपाले जिल्लाका दश पालिकामध्ये नौ पालिकामा नयाँ नेतृत्व चयन गरिएको जनाएको छ । अधिवेशनअन्तर्गत व्यास नगरसमितिमा चूडामणि दाहाल, भिमाद नगरसमितिमा उत्तम सुवेशी, भानु नगरसमितिमा विष्णु पोख्रेल, देवघाट गाउँसमितिमा बलबहादुर क्षेत्री, आँबुखैरेनी गाउँसमितिमा राम श्रेष्ठ, बन्दीपुरमा शम्भु श्रेष्ठ, घिरिङमा प्रेम थापा, शुक्लागण्डकी नगरमा हरिबहादुर खड्का र म्याग्दे गाउँ समितिमा मनोज अधिकारी सभापति चयन भएका छन् । अब ऋषिङ गाउँ समितिमा अधिवेशन हुन बाँकी रहेको छ । रास्वपाले आगामी असार ७ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेकाले त्यसअन्तर्गत देशभर सङ्गठन सुदृढीकरण अभियान चलिरहेको छ । तनहुँमा पनि सोही अभियानअन्तर्गत वडा र पालिका तहमा नेतृत्व चयन तथा सङ्गठन पुनःसंरचनाको काम भइरहेको रास्वपा जिल्ला सभापति विश्व बास्तोलाले जानकारी दिए । रासस