साउदीको जागिर छाडेर गाईपालन, मासिक २ लाखभन्दा बढी कमाइ

गाईपालनबाटै सफल बने पर्वतका नारायण जिसी

पर्वत । रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका एक युवाले मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । पर्वतको जलजला गाउँपालिका-८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका हुन् ।     

विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका जिसीको गोठमा १२ वटा गाई र एउटा भैँसी  छ । उनले दैनिक रूपमा ७५ देखि ८० लिटर दूध उत्पादन गरी बजारमा बिक्री गर्दै आएको जानकारी दिए । 'गाईपालन सुरु गरेपछि आठ वर्ष साउदी अरब गएर काम गरेँ, तर आफ्नै घरमा जस्तो कमाई नभएपछि पुनः फर्केर व्यवसाय विस्तार गरेको हुँ', उनले भने ।     

पछिल्लो पटक १५ लाख रुपैयाँ लगानी गरेर गाईपालनमार्फ दूध उत्पादन थालेका जिसीले यो व्यवसायबाट आफू सन्तुष्ट रहेको बताए । उनले दूध बिक्रीबाट वार्षिक २४ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको बताए । 

उनले दानापानी, घाँस, परालका लागि मासिक ६० हजार रुपैयाँ खर्च हुने गरेको बताउँदै खर्च कटाएर वार्षिक १७ लाखदेखि १८ लाख रुपैयाँसम्म बचत गर्ने गरेको जानकारी दिए । उनका अनुसार उत्पादित दूध बस्ती नजिकै रहेको सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको सङ्कलन केन्द्रमा बिक्री हुँदै आएको छ । 

सहकारीले प्रतिलिटर गुणस्तरका आधारमा न्यूनतम ९६ देखि ११० रुपैयाँसम्म रकम किसानलाई भुक्तानी दिने गरेको जिसीले उल्लेख गरे । घरबाटै बिक्री गरी पर्याप्त मूल्यसमेत पाउने भएकाले व्यवसायमा सोचेभन्दा बढी सफलता पाएको उनको भनाइ छ । 'नजिकैको सहकारीमा बिक्री हुने भएकाले बजारीकरणको समस्या पनि छैन, गुणस्तरका आधारमा मूल्य निर्धारण हुने भएकाले ढुक्क छु', उनले भने ।

जिसीले एकीकृत विकास कार्यालय र गाउँपालिकाको कार्यालय दुवै स्थानमा फार्म दर्ता गरेर सञ्चालन गर्दै आएको जानकारी दिए । गाईवस्तुका लागि दानापानी आफैँ तयार गर्ने, घाँसपराल आफ्नै खेतबारीमा उत्पादन गर्ने भएकाले नियमित खर्चसमेत कम हुने उनको अनुभव छ ।     

जिसीले आफ्नो फार्ममा परिवारका सदस्यले मात्र काम गर्दै आएका बताए । आफू, श्रीमती, छोराछोरीले नियमित रेखदेख गर्ने गरेको बताउँदै उनले हालसम्म बाहिरी कामदार राख्नु नपरेको उल्लेख गरे ।      

भनेजस्तो कमाई भएपछि जिसी हौसिएका छन् । उनले यो व्यवसायलाई विस्तार गर्ने योजनासमेत बनाएका छन् । अब गोठ तथा अन्य संरचना विस्तार गरी गाईभैँसीको सङ्ख्या २० पुर्याउने योजना रहेको उनले बताए । जिसीले पालिका र जिल्लामा रहेको भेटेरीनरी अस्पतालले प्राविधिक सहयोग गर्दै आएको जानकारी दिए ।

यसबाहेक दूध ढुवानीमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान पाउने भएपछि किसानलाई थप सहज भएको छ । आफूहरूलाई राज्यलेसमेत प्रोत्साहन गरेकाले यसतर्फ आकर्षण बढेको सञ्चालक जिसीले बताए । उनले आफूजस्तै विदेशमा गएर भौतारिने युवायुवतीलाई स्वदेशमै कृषि तथा पशुपालन गर्न सुझाव दिए ।     

पर्याप्त मात्रामा उत्पादन गर्ने हो भने बजारको अभाव नहुने बताउँदै जिसीले खाडी मुलुकमा पसिना बगाउनुभन्दा आधा कम कमाई भए पनि स्वदेशमै रमाउन आनन्द हुने अनुभव सुनाए । फर्से गाउँमा जिसी मात्र नभई अन्य ३५ जना युवाले व्यवसायी गाईभैँसी पालन फार्म सञ्चालन गर्दै आएका छन् ।     

यहाँको एउटै गाउँबाट दैनिक ८०० लिटर दूध उत्पादन हुने गरेको जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले किसानलाई प्रोत्साहनका लागि प्रतिलिटर दूध ढुवानीमा पाँच रुपैयाँका दरले अनुदान दिँदै आएको बताए । यसबाहेक भकारो सुधार, गाईभैँसीलाई बस्ने म्याट खरिद, दूध सङ्कलनका लागि क्यानलगायत सामग्रीसमेत कार्यालयले सहयोग गर्दै आएको उनले बताए । रासस 

Share News