साँच्चै, केटी मान्छे लोभी हुन्छन्
यो सृष्टि उस्तो हो कि मेरो दृष्टि उस्तो हो । तर जे भन्छु देखेको भन्छु, भोगेको भन्छु अनि गरेको भन्छु । यो लेख्दै जाँदा पक्कै पनि मेरा हातले रोक्किने बाहाना खोज्लान् तर म सत्य लेख्न डगमगाउने भने छैन । शीर्षक हेरेरै बुझिसक्नुभयो होला भन्न खोजेको के हो भनेर । यो लेख्ने म स्वयम् पनि छोरी मान्छे हुँ । जन्मदैमा छोरी मान्छेले धेरै कुरा बोकेर आउने मौका पाउँछन् । जस्तै किः शङ्कालुपन, ईष्या, डाहा, नक्कल, लोभ आदि ईत्यादि । पश्चिमाको छोरीहरूको त थाहा भएन तर नेपाली छोरीहरूमा यो लोभ नामक तत्व भरिभराउ हुने गर्छ । महिलाको मुटुको तौल पुरुषको तुलनामा ५० देखि १०० ग्रामसम्म कम हुन्छ । तर महिलाको मुटुमा पुरूषको भन्दा ५० देखि १०० ग्राम लोभ बढि हुने गर्छ । मेरी आमा मेरा बाबाभन्दा लोभी हुनुहुन्छ । म आफै पनि मेरो दाजु भन्दा लोभी छु । एक प्रेमिका आफ्नो प्रेमीभन्दा लोभी हुन्छिन् । मावली जाँदा याद गर्नुभएको छ ? मामाभन्दा माइजू नै लोभी लाग्छ । दाजुभन्दा भाउजू लोभी । भाइभन्दा बुहारी लोभी । खासमा नेपाली समाजमा छोरी मान्छे लोभी हुन्छन् भन्ने कुरा ध्रुवसत्य जस्तै बनिसक्यो । महिला लोभी हुन्छन् भन्ने शीर्षक मात्रै बिकिरह्यो । तर किन ? र के का लागि ? लोभी हुन्छन् भन्ने कुराबारे कमैले मात्र विश्लेषण गरे । चेलिबेटीलाई वर्ष दिनमा माइती पुग्दा भएभरको पोको पारेर ल्याउ झै लाग्छ । माइतीकि भाउजू-बुहारीले गरगहना लगाए दाजुभाइले आफुलाई पनि दिए हुन्थ्यो भन्ने लोभ लाग्छ । खासमा लोभ हुनु राम्रो हो । इर्ष्या गर्नु चाहिँ गलत हो । लोभ भनेको आफ्नो बचाउनु हो, बचत हो । तर इर्ष्या भनेको अरूको नबचोस् भन्नू हो । छोरी मान्छेहरू लोभी होइनन् बचत गर्ने स्वभावका हुन् । हो एक महिला पुरूषको तुलनामा निकै लोभी हुन्छिन् । महिलाहरू घरको ईज्जत्, सम्मान, धन अनि भविष्यको लागि लोभी हुने गर्छन् । एउटी आमालाई, कसैले दिएको कुनै सामान वा खानेकुरा धेरै दिए हुन्थ्यो भन्ने कुराको लोभ लाग्छ ताकि घरका अरूको लागि पनि ल्याउन सकु । बाख्राको दाम्ला किन्ने लोभले आफ्नो पुरानो भएको फरिया च्यात्छिन् । सन्तानलाई संसार देखाउन पेट च्यात्छिन्, जवानी च्यात्छिन् । आमाहरू निकै लोभी हुने गर्छन् । पुराना साडीहरू फ्याक्दैनन् बरू त्यसैको डसना बनाउछन् । चुहिने बोतल काटेर गमला बनाउछन् । बढी भएका फल फ्याक्नुपर्ने तर उनी तिनै फलको अचार बनाउछिन् । हर्लिक्स सक्किएको बट्टा मिल्काउनुपर्ने तर उनी तिनैमा मह, घिउ अनि अचार राख्छिन् । साच्चै छोरी मान्छे लोभी हुन्छन् । र, मलाई लोभी हुन मनपर्छ । (गण्डकी, गोरखा)
मेहनत पछिको सफलता हो जीवन
विचित्रको छ समाज । कसैलाई धनको लोभ छ । कसैलाई पदको लोभ छ । कसैलाई अर्नौठौ सोख छ । म नजिक बसेर हेरिरहेको छु । कसैले मलाई माया गर्छन्, कसैले घृणा गर्छन्, कसैले सल्लाह दिन्छन् यसो गर र त्यसो गर भनेर, कोहि बिचरा यसको जिन्दगी भन्ने पनि छन् र कोही मेरै जिन्दगी देखेर जल्नेहरु पनि छन् । यो सामान्य मेरो जीन्दगी होईन म जस्ता आम मान्छेको जिन्दगीमा यस्ता मानिसहरु फेला परिरहन्छन् र यिनीहरुकै बिचमा जिबनलाई सहज किसिमले अगाडी बढाउनु छ । अथाहा सम्भावनाकाबीच जिवन विताईरहेका हामी सम्भावनालाई पनि शंकाको रुपमा लिएर जीवन गन्तव्यहिन बनाईरहेका छौं । कतिपयले आफनो जीवनमा खाली निराशा मात्र देखेर आत्महत्या तिर लम्कीरहेका छन्, कोही जीन्दगीमा केही गर्न सकिएन भनेर अरुलाई सुनाईरहका छन् भने कोही कुहिरोको कागजस्तो हराईरहेका छन् । र, अझ भनौं आउने पुस्ताहरुलाई जीवनको नकारात्मक कुराहरु उनीहरुको मानस पटलमा भरिदीएका छौ । मन सबैको छ, पीडा सबैका छ, दुःख सबैलाई छ,आशु सबैका बग्छन् तर आफ्नो मात्र देख्ने र म मात्रै अभागी रहेछु भनेर अरुलाई नहेरी जीवनदेखि हार मान्नु र दुःख पीडा पर्ने बित्तिकै तुरुन्तै निर्णय लिएर आफुलाई बर्बादी तिर धकेल्नु कदापी राम्रो होईन । द्रब्यसँग बिकाउ जमात छ सजिलो छैन जीवन जिउनलाई तर बिकल्प भने धेरै छन् त्यही बिकल्प जसले खोज्छ उ नै असली जिबन जिउनका लागी पहिलो हकदार हुन्छ । खुट्टा भएर पनि हिड्नलाई अरुले जोड दिनु पर्दछ भने आत्मबल र आत्मबिस्वासको कमि रहेको बुझ्नु पर्दछ । आफ्ना सोच बिचार र व्यवहार आफैमा लागु गर्न सकिएन भने जीवन जिउनुको कुनै अर्थ रहदैन । उदाहरणको लागी तपाई एउटा जेलमा गएर जेलमा बसेकाहरुलाई सोध्नुहोस् । त्यहा बस्ने प्राय जसो व्यक्तिहरूको भनाई मलाई फसाईयो, मेरो केही गल्ति छैन, उनीहरु सबै मिलि म माथी आक्रमण गरे, मैले मान्छे चिन्न गल्ती गरे, म सिधा भएको कारण मलाई फसाईयो भन्ने जस्ता जबाफ सुन्न पाईन्छ र यो जबाफ सुने पछि यस्ता निर्दोष व्यक्तिहरु एकै ठाउमा भेट्न कहाँ पाईन्छ र जस्तो हुन्छ । हो मानिस पनि त्यही मैले त गर्न खोजेकै थिएँ, घर परिवारले साथ दिएन,आर्थिक अभाव भयो भगवान पनि मेरो बिरुद्धमा लागे जस्तो भयो भन्ने जस्ता कुराहरु सुन्न पाईन्छ । के यी नै कारण हुन् त हामी सफल नहुनु र जिन्दगीबाट हार खानुमा रु कदापी होईन । आफ्ना बाबुआमाको हत्या आफै गर्ने अनि हो म टुहुरो हु मलाई माफी दिनुहोस् भन्न मिल्दैन । उखानै छ नी नक्कलमा पनि अक्कल चाहिन्छ अर्काको देखेर रिस र डाहले केही हुँदैन आफ्नै मेहनत र परिश्रममा भर गर्नुपर्दछ । जीवन थाक्नको लागी होईन त्यही थकाईकै बिचमा कामलाई निरन्तरता दिई विजय प्राप्त गर्नुनै जीवन हो । सपनाले मात्र जीवन चल्दैन । सपना नदेख्ने मान्छे त हाम्रा वरीपरी नै छैनन् । सबैले आ(आफनै इच्छा चाहाना अनुसार नै सपना देखिरहेका हुन्छन् । सपना पुरा गर्न सपनाको बाटोमा पनि हिडनु पर्दछ सपनासँगै कामको शुरुवात नगर्ने हो भने सपनाको कुनै अर्थ छैन । तसर्थ जे देख्नु हुन्छ, जे सोच्नुहुन्छ शुरु गर्ने सबैभन्दा राम्रो साईत आजै र अहिलेनै हो भनि शुरु गर्नुहोस् । आफ्नो भगवान आफै हो शक्ति कतै बाहिर लुकेर बसेको हुँदैन साईत पर्ने बित्तिकै दौडिएर आउने खालको । संसार तयार छ परिवर्तनको लागी मात्रै अब तपाई तयार हुनुहोस् । सुख, दुःख, घामपानी, पीडा, तनाब जीवनमा आईनै पर्दछन् तसर्थ शिखर चढने लक्ष्य लिएको मानिस लडे पनि अघि बढ्छ । हो, तपाई पनि त्यही मानिस हो, जोसँग सपनासँगसँगै सपनालाई पछ्याउने आट र अठोट छ । त्यसैले सपनालाई पुरा गर्न कर्म गरि जीवनलाई आनन्द तुल्य बनाउनुहोस् । बैंकर
वसन्त चौधरीका दुई काव्यसंग्रह लोकार्पण
काठमाडाैं । साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मे’ काव्यसंग्रह र ‘तिमी बिनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ । मंगलबार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमकाबीच चौधरीका दुई काव्यसंग्रह लोकार्पण भएको हो । काव्यसंग्रह लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सृजनशिलता नरोकिने बताए । उनले आफ्नो कवितासंग्रह ‘तिमीबिनाको म’ मा समाजमा भएका घटनाहरुको बारेमा चित्रण गरिएको बताए । ‘मन नयाँ कुराहरु सोचेर कहिल्यै थाक्दैन । न त विश्राम नै लिन्छ । हामी वरिपरि जे परिघटनाहरु भइरहेको हुन्छन् । यिनै परिघटनालाई शब्दमा बोलेर अभिव्यक्त गरिरहेका हुन्छौँ । काव्यकृति तिमी बिनाको ममा केही गुमाएका र केही प्राप्त गरेका घटनाहरु श्रृंखलित रुपमा राखेको छु,’ चौधरीले भने । चौधरीको ‘तिमीबिनाको म’ कविता संग्रहमा लामा र छोटा गरेर ८५ वटा कवितासंग्रहहरु संग्रहीत छन् । कवितामा आत्मपरकताको उदाहरणीय प्रयोग गरिएको छ भने कविता अंग्रेजी भाषामा रहेको छ । त्यस्तै हिन्दी भाषामा रहेको काव्यसंग्रह अनेक पल और मैं मा उनले आफ्ना जीवनका चिन्तनहरुलाई समेटेका छन् ।