पूर्वअर्थमन्त्री डा भेषबहादुर थापासहित ४ जना स्रष्टा सम्मानित

काठमाडौं । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, तनहुँले पूर्वअर्थमन्त्री डा भेषबहादुर थापासहित ४ जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहमा मञ्चले पूर्वअर्थमन्त्री डा थापालाई सरदार यदुनाथ खनाल सम्मान प्रदान गरेको छ ।  नेपाली भाषा, साहित्य, प्रजातन्त्र, आर्थिक विकास तथा परराष्ट्र नीतिमा पुर्‍याएको योगदानको कदर स्वरूप उनलाई कदरपत्रसहित २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा गीतल प्रतिष्ठान नेपालले नेपाल अधिराज्य तनहुँ वाङ्‍मय कृति पुरस्कार भारतको कोलकत्ताका लेखक डा. सत्य प्रकाश तिवारीलाई प्रदान गरेको छ । नेपाली र भारतीय साहित्यको सम्बन्ध प्रगाढ तुल्याउन योगदान गरेकामा उहाँलाई कदरपत्र र २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो । प्रतिष्ठानले क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कारबाट प्राज्ञ सरुभक्तलाई पुरस्कृत गरेको छ । साहित्य, कला र रङ्गमञ्चको उत्थान एवं श्रीवृद्धिमा गरेको योगदानको कदर स्वरुप उहाँलाई पुरस्कृत गरिएको हो ।  यस्तै, गीतल राष्ट्रिय पुरस्कारबाट स्रष्टा ओम रिजाललाई भाषा, साहित्य, कला र वाङ्‍मयको क्षेत्रमा उनको योगदान स्वरूप कदरपत्र र १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । साथै, गीतल प्रतिभा पुरस्कारबाट नारायण कैलाश सिग्देललाई ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

उपन्यासकार घिमिरे सम्मानित

काठमाडौं । नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौडाद्वारा आयोजित ‘दोस्रो नवसर्जक उत्सवमा’ लेखक तथा उपन्यासकार केशव घिमिरेलाई नवसर्जक प्रतिभा सम्मान प्रदान गरिएको छ । नयाँ लेखकहरुलाई हौसला र उनीहरूको साहित्यप्रतिको योगदानको कदर गर्दै दिइने यो पुरस्कार २०८१ मा बागमती प्रदेशबाट उपन्यासकार घिमिरेलाई दिएको हो । अग्रज स्रष्टाका रूपमा प्राध्यापक डाक्टर चुडामणि बन्धु, कोशी प्रदेशबाट चिन्तामणि निरौला, मधेश प्रदेशबाट सरोजप्रसाद शाह, बागमती प्रदेशबाट केशव घिमिरे, गण्डकी प्रदेशबाट रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट निशा पाण्डे, कर्णाली प्रदेशबाट शिवराज शाही र सुदूरपश्चिम प्रदेशबाट सुनिल बुढा ’कछुवा’ सम्मानित भएका छन् । साहित्य क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरे नवसर्जक प्रतिभाका उत्कृष्ट नवसर्जकका रूपमा चयन भएका छन । घिमिरे विगतका एक दशकदेखि कलम चलाउँदै आएका छन र उनको तीन वर्ष अगाडि नै ’रुपीका’ नामक उपन्यास बजारमा आइसकेको छ । प्रदेश स्तरीय छनोटमा केशव घिमिरे प्रथम स्थानमा छनोट भएको हुँदा उनलाई ’टिका ईश्वरी स्मृति नवसर्जक प्रतिभा सम्मान २०८१’ द्वारा सम्मान गरिएको हो। यस स्मृतिका संरक्षक गोकर्ण सुवेदी र जयन्ती अर्याल रहेका छन् । केशव घिमिरे विगतका लामो समयदेखि निरन्तर रूपमा लागि परेको र साहित्यलाई एक उचाइमा पु¥याउनको लागि उनले दिएको योगदानको कदर गर्दै यो सम्मान उनलाई अर्पण गरिएको हो । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका र नेपाली साहित्यका विभिन्न साहित्य संस्थाहरु, प्रज्ञा प्रतिष्ठान, वाङ्मय प्रतिष्ठान र अन्य विभिन्न साहित्यिक क्रियाकलापमा सक्रिय रूपमा अनवरत रुपमा लागि पर्दै आएका छन ।  

अर्थविद् डा चन्दको पुस्तक ‘किज अफ हाउ टु डेभलप नेपाल’ सार्वजनिक

काठमाडौं । अर्थविद् डा शेरजङ्गबहादुर चन्दको पुस्तक ‘किज अफ हाउ टु डेभलप नेपाल’ पुस्तक सार्वजनिक भएको छ । इन्डिगो इन्कद्वारा प्रकाशित उक्त पुस्तक आजदेखि बजारमा उपलब्ध गराइएको लेखक चन्दले जानकारी दिए । पुस्तकमा नेपाललाई आर्थिक समृद्धिको दिशामा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा रणनीति, नीति र उपायहरु सरल रूपमा लेखिएको जनाइएको छ । नेपालको दिगो विकासका लागि आवश्यक औद्योगिक प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास, वैदेशिक लगानी, भौतिक संरचनाको विकास तथा सञ्चार प्रविधिको सशक्तीकरणका विषय पुस्तकमा समेटिएको उनले बताए । साथै सहरी तथा ग्रामीण क्षेत्रको सन्तुलित विकास योजना, शिक्षा प्रणाली सुधार, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, प्रविधि तथा नवीनतम आविष्कारमा जोड समेत दिइएको लेखक चन्दले बताए । पुस्तकमा उद्योग र व्यापारको प्रवर्द्धन, नेपालमा साना तथा ठूला उद्योगको विकासका उपाय, सरकारी तथा निजी क्षेत्रको सहकार्य, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा निर्यात वृद्धिलगायतका विषय समेटिएको जनाइएको छ । मुलुकको विकासमा स्थानीय समुदायको संलग्नता र फाइदा, वैदेशिक लगानीको आकर्षण, लगानीमैत्री नीति तथा कानुनी सुधारसँग सम्बन्धित विषय पनि समेटिएका छन् । त्यस्तैगरी भौतिक संरचनाको विकास यसका लागि सडक, रेल, विमानस्थल तथा ऊर्जा क्षेत्रको विकासमा सार्वजनिक-निजी साझेदारीको भूमिका, प्रभावकारी नीति तथा कार्यान्वयन रणनीति समेटिएको पनि लेखक चन्दले बताए । सञ्चार तथा प्रविधिलाई समेटेर डिजिटल नेपाल अभियान तथा प्रविधिमा लगानी, इन्टरनेट तथा दूरसञ्चार पूर्वाधारको विस्तार तथा प्रविधिमा नवाचार तथा स्टार्टअप संस्कृति विकासबारे पनि पुस्तकमा समेटिएको छ ।