बैंकर र कोरोना

‘ओहो ! घिमिरेजी, अफिस जान लाग्नुभएको ? हामी सुरक्षित बसेकालाई तपाईंले कोरोना सार्ने हुनुभो जस्तो छ । सधैं बैंकको जागिर भन्दै लखरलखर अफिस जानुहुन्छ ।’ बिहान नौ बजेतिर अफिस जान बाइक निकाल्दै थिएँ, एक छिमेकीले प्याच्च यसो भनिदिए । उनकी श्रीमतीले पनि त्यही कुरालाई मलजल गर्दै भनिन् – हजुरलाई त आनन्द छ है, सरकारी कर्मचारी भनेर बिदा पाउनु भएकै छ, अरुबाटै पो डर भो त ! उनीहरुले मतिर घृणाले भरिएको नजरले हेर्दै यसो भन्दा बार्दलीबाट उज्यालो अनुहार लगाएर मलाई ‘बाई’ गर्न पर्खेकी श्रीमतीको मुख अकस्मात अँध्यारो भयो । जहिल्यै एकछिन बाइकमा घुमेर मात्र मलाई अफिस जान दिने छोरी आव्यातिर पुलुक्क हेरें । मेरो मन अनयासै अमिलो भएर आयो । थुक घुटुक्क निलें । र, मन नलागे पनि खिस्स हाँसे जस्तो गरेर श्रीमतीलाई ‘बाई’ भन्दै बाइक स्टार्ट गरें । मनमा कुरा खेलिरहे बाटोभरि । हुन त मलाई यी छिमेकीले मात्रै यस्तो व्यवहार गरेका होइनन् । टोलभरिकै मान्छेबाट यस्तै भोग्दैछु । मलाई देख्नासाथ त्यसै परपर हुन खोज्छन् । वास्तवमै उनीहरु मसँग भौतिक दुरी होइन, मलाई तिरष्कार गर्न चाहन्छन् । सामाजिक दुरी अझ भनौं मानवीय दुरी राख्न उद्धत छन् । सिमित समय खोलिने खाद्यान्न पसलमा पनि यस्तै भोग्दैछु । ‘तपाई परै बस्नु है ! बैंकको कर्मचारीलाई नजिक आउन मनाही छ नि !’ किराना पसलेले भनेको यस्ता वाक्य सुन्नु मेरो दैनिकी बनेको छ अचेल । छिमेकी र नजिकका पसलेहरुले मात्रै कहाँ हो र ! कतिपय आफन्त पनि मबाट टाढिन खोज्दैछन् । ‘कस्तो क्षेत्रमा जागिर गरेको तिमीले, कोरोना हट्ने छाँटकाँट छैन, बरु नोकरी नै अरु क्षेत्रमा खोज’ भन्ने ‘सुझाव’ दिन थालिसके आफन्तहरु । । यस्ता सुझाव मेरा लागि सुझावभन्दा पनि मुटु प्वाल पार्ने बाण बन्न थालेका धेरै समय भइसक्यो । नौ बजेर तीस मिनेटमा क्लक इन (सिस्टमबाट हाजिर) गर्दै थिएँ । सहकर्मी दिपकजीले हस्याङ् फस्याङ् गर्दै सुनाए– घिमिरेजी, थाहा पाउनुभयो ? हाम्रै बैंकबाट अर्को बैंकमा गएका आकाशजी थिए नि, उनी त हिजो राति कोरोनाकै कारण वितेछन् । म ट्वाँ परें । साह्रै नमज्जा लाग्यो । कारोबार दश बजेदेखि मात्र शुरु हुने भएकोले आधि घण्टासम्म सबै स्टाफहरु चिया पिउँदै गफ गर्न थाल्यौं । ‘कोरोनाले बैंक र बैंकर परिवारका करिव दुईसय जना मरिसके, पन्ध्र–सोह्र हजार जति अझै संक्रमित छन् भन्ने सुनिन्छ । बैंकिङ क्षेत्र अब के होला ? अर्थतन्त्र के होला ? अब कता जाला ?’ लोन फाँटका विकाशजीले कुरा अगाडि वढाउँदै लगे । त्यत्तिकैमा सीएसडीकी रेसाजीले भन्न थालिन्– ‘आकासजीले त भर्खरै मात्र घर बनाउनु भएको थियो । करिब पचास लाख जति लोन छ भन्ने सुनेको थिएँ । त्यहि घर धितो राखेर अनि जागिरकै इन्कम देखाएर लिनुभएको थियो । त्यसमाथि त झन् भाउजु पनि नोकरी गर्नुहुन्न । परिवारको मञ्जुरी बेगर भगाएर विवाह गरेको हुनाले माइतीले पटक्कै सपोर्ट पनि गरेका छैनन् रे । हो, यस्तो परिवेसमा लोनको के हुन्छ ? यस्तो जोखिमको बेला पनि बैंकले आकाशजीलाई काम गर्न लगायो । अनि अब उनको मृत्यु हुँदा उनीप्रति आश्रित परिवारको भविष्य के हुन्छ ? ऋण तिर्न सकेन भनेर धितो जफत गरी परिवारलाई सडकमा ल्याइदिन्छ हो ?’ रेसाजीको तर्क र उदाहरण असाध्यै अमानवीय र असामाजिक थियो । एउटा सहकर्मीको नामै लिएर उसको मृत्यूको सम्भावना बारे रेसाजी खुलमखुल्ला बहसमा उत्रिएकी थिइन् । उनको कुरा सुनेर दिक्क लाग्यो । तर, कटु सत्य रेसाजी कुराको असाध्यै निकट थियो । त्यसैले होला, रेसाजीलाई कसैले केही पनि भनेन । हामी सबैको नजर एकसाथ म्यानेजर सरतिर सोझिएछ । हाम्रो मौन प्रश्नको जवाफ दिन थाले । मेनेजर सरले आफूलाई थाहा भएसम्म त्यस्तो कुनै नियम बनि नसकेको, तर चाँडै नियम बन्ला भन्ने आशय व्यक्त गरे । ‘अरु कुरा त्यस्तै हो, बचेर काम गर्नु, सेफ्टी फस्ट है, कसैलाई केहि भइहाल्यो भने मलाई कल गर्नु, म पर्सनल्ली मबाट हुने नभए आफैले, माथिबाट हुने काम रहेछ भने माथि कुरा गरेर भएपनि तिमीहरुको सुरक्षा गर्छु ।’ यस्तो डिप्लोम्याटिक जवाफ दिएर म्यानेजर सर आफ्ने केबिनतिर लागे । रेसाजीको गुनासो सकिएको रहेनछ । म्यानेजर सर गइसकेपछि भनिन्– हाम्रो बीएम त काममा चाहिँ अत्ति कडा तर, यस्ता कुरामा चाहिँ साहै नरम है । स्टाफको समस्या साह्रै बुझ्ने के । रेसाजीको ब्यांग्यमा आक्रोस पनि देखियो । दिपकजीले डर देखाउदै भने अँ, काममा लास्टै कडा, यस्तो कडा मेनेजर त कुनै बैंकमा नहोला, अहिले गाली गर्लान्, के के छ पेन्डिङ काम गरिहालुम है । अनि हास्दै सबै जना आ–आफनो डिपार्टमा लाग्यौं । म बैंकको पनि फ्रन्ट लाइनमा अझ भनौं, टेलरमा काम गर्ने स्टाफ । कस्टमरबाट आएको चेक, डिपोजिट भौचर र पैसा नियमित छोइरहनु पर्ने हुन्छ । त्यति मात्र कहाँ हो र, अशिक्षित, जेष्ठ नागरिक, हात काम्ने विरामी, हस्ताक्षर मिलाउन नसक्ने खातावालाले ल्याप्चे राखेका हुन्छन् पैसा भिक्न र राख्न । यस्ता कस्टमरको हात समाएर ल्याप्चे लगाइदिनु पर्छ । बृद्धभत्ता बाढ्ने बेलामा भत्ता लिन आउने हजार जना भन्दा धेरै ल्याप्चे लगाउने खातावालाको हात समाएर चेक बिग्रन्छ वा सहि ठाउमा लाग्दैन भनेर औला छुनु पर्ने हुन्छ । डर त लाग्छ नि मलाई पनि । तर, पेशा र पेशागत धर्म ठूलो कुरा हो । म र म जस्ताले गम्भीर भएर बुझेका छौं र बुझ्नु पनि पर्छ । गुनासो यत्ति हो, खालि हामी बैंकरलाई मलाई गरे जस्तो तितो व्यवहार टोल समाजले नगरे हुन्थो । सातामा आलो पालो र हप्तामा दुई दिन हाम्रो शाखा खुल्ने सिमित समय हुनाले सेवाग्राही भिड झन बढी हुन्छ । भिडभाडमा चेक इन्ट्री गर्दै थिए । बाहिरबाट एक जना बृद्ध महिलाको अवाज मेरो कानमा ठोक्कियो । उनी गार्ड दाइसँग भन्दै थिइन्– बावु ! मेरो छोरा बिरामी छ, हस्पिटलमा छ, हतार छ, भित्र जान दिनु न…।’ गार्ड भन्दै थिए–तपाई भर्खर आउनु भएको, उहाँहरु आधा घन्टादेखि लाइनमै हुनुहुन्छ, उहाँहरु पछि तपाईको पालो हो । गार्डदाइका पनि आफ्नै दुःख छन् । अघिदेखि लाइनमा बसेका कस्टमरलाई पहिला पालो नदिने हो भने त्यहाँ अर्काे समस्या सिर्जना हुन्छ । उनी पहिला आउनेले पहिला सेवा लिन पाउने व्यवस्था मिलाउनै त्यहाँ बसेका हुन् । उनको ड्युटी नै त्यही हो । मलाई हतार छ, मलाई पहिला पैसा निकाल्न वा राख्न दिनुस् भनेर नभन्ने व्यक्ति को नै हुन्छ र ! मान्छे मेसिन होइन, ताकि जे कमाण्ड दियो, त्यही एक्सन होस् । मान्छेले नियमको पालना गर्नुपर्छ । र, उसले विबेक पनि बिर्सन हुँदैन । तर, विबेक प्रयोगमा पनि ओहोदाको भूमिका हुन्छ भन्ने सुनिन्छ धेरैजसो । त्यसैले होला, गार्ड दाइ नियमको कुरा गरिरहेका थिए पटक–पटक । मलाई त्यहाँ केही व्यवहारिक समस्या भयो जस्तो लाग्यो । कार्यकक्षबाट बाहिर आएँ । ती महिला नजिक गएर सोधेँ । ‘बाबु मेरो छोरा हस्पिटलमा छटपटाइरहेको छ, चाढै पैसा लिएर जानुपर्नेछ, कोरोनाले विरामी भएर अक्सिजन सिलिन्डर र दवाइ किन्नु छ ।’ उनी असाध्यै छटपटीमा थिइन् । चाढो पैसा निकालेर जान पाए आफ्नो छोरा बचाउन सकिन्छ भन्ने आश होइन विश्वास थियो उनमा । उनी लाइनमा पालो कुरेर बसेकाहरु, म र गार्ड दाइतिर पालैपालो हेर्दै छिटो पैसा निकाल्ने व्यवस्था मिलाइदिन याचना गरिरहेकी थिइन् । उनको कुरामा कन्भिन्स भएँ । ‘आमालाई धेरै समस्या भएको रहेछ, मानवीय नाताले पनि उहाँलाई पहिला पैसा निकाल्न दिऊँ है, यस्तो समस्या हामी जो कोहीलाई पनि पर्न सक्छ, तपाईहरुले पनि सहयोग गर्नुपर्यो ।’ मैले यसो भन्दा लाइनमा बसेका सबैले हुन्छ भने । ती बृद्धालाई भित्र बोलाएँ । भित्र पस्ने वित्तिकै पटुकाबाट गुजमुज्ज परेको खाली चेक निकालिन् । चेक भर्न आउछ ? मैले फेरि सोधे । आउदैन– उनले भनिन् । उनलाई एक लाख ५० हजार रुपैयाँ झिक्नु पर्ने रहेछ । मैले चेक भर्न जान्ने अर्काे मान्छेलाई (बैंकको कर्मचारी, त्यसमा पनि टेलरले भरसक नभर्नु भन्ने प्रचलन छ, जोखिमका हिसावले ) चेक भराएर खातामा इन्ट्री गर्दै थिए, खाता धेरै दिन नचलाएर इन एक्टिभ (डोरमेट) देखायो । खाता त धेरै दिन भएछ नचलाएको है आमा भन्दै एक्टीभ गर्न अर्को फर्म भराएँ । ल्याप्चे थिच्न लगाएँ । र, उनले भने अनुसार खुजुरा पनि वनाइदिए पचास हजार जतिको । सायद अटो भाडा, दवाई लगायतमा खर्च गर्न सजिलो हुन्छ भनेर चानचुन गरिएको होला मैले दिएको पैसा हातमा लिदै उनी मलाई धन्यवाद भन्न लागिन् । ‘बाबु धन्यवाद ! तपाई त कति सहयोगी, मर्म बुझ्ने, मेरो छोरा जस्तै, यस्तो कोरोनाको बेला पनि नडराइ आउनुभएको छ अफिस । बचेर काम गर्नु है । मेरो छोरा पनि तपाईहरु जस्तै कर्मचारी हो । पुलिसमा छ । काम गर्दा गर्दै कोरोना लाग्यो । तपाई त छोरा जस्तेैे । बाबुलाई नलागोस कोरोना ।’ म पनि उनलाई छोड्न बाहिरसम्म निस्किएँ । लाइनमा लागेकाहरुलाई र मलाई पनि धन्यवाद भन्दै उनी अटो चढेर गइन् । उनको खुसी देखेर मलाई पनि आत्मादेखि नै सन्तुष्टी पलायो । अफिस बिदा भएपछि घर आइपुगें । वाइक रोकेर गेट खोल्दै थिए भित्र राख्न । मन डराइरहेको थियो । छिमेकीले बिहान भनेको सम्झिरेको थिएँ । तर, हिजो अस्तिको जस्तो गरी ‘घिमिरेजी आउनु भयो ? कोरोना त ल्याउनु भएको छैन नि अफिसबाट’ भन्ने आवाज अहिले आएन । अनौठो लाग्यो । घरभित्र छिरें । श्रीमतीले ल नुहाउनु , म नास्ता वनाउछु भनिन् । म नुहाउन लागें । नास्ता खान डाइनिङ टेवलमा वस्दै गर्दा श्रीमतिले सुनाइन्– थाहा छ, त्यो पल्लो घरको छिमेकीको छोरालाई हस्पीटल लगेको छ नि दिउसो । के भएको नि ? मैले प्रश्न गरें । दिउसो खेल्दा लढेको, खुट्टा भाच्चियो सायद । हस्पीटलमा छन् । हत्तनपत्त नास्ता पनि खान छोडेर अस्ति तिमीलाई राख्न दिएको तलब देउ त भन्दै वाइक स्टार्ट गरें । कहाँ जान लाग्नु भएको ? किन चाहियो पैसा ? भन्दै उनी सोध्न थालिन । हस्पीटल, बच्चालाई हेर्न, सहयोग चाहिन्छ कि वुझ्न भन्न लागेँ । उनले फेरि भनिन्, भन्न त नहुने हो, तपाइलाई जहिल्यै प्याच्च प्याच्च भन्नेलाई के सहयोग गर्नु जस्तो लाग्छ एकमनले । तर, अरु त्यस्तै भए भनेर आफु पनि त्यस्तै हुनु भएन, ल लिनु पैसा, अनि पुगेपछि मलाई पनि खबर गर्नु है भनिन् । हस्पीटल पुगेपछि र उनलाई भेटेपछि सबै कुरा थाहा भयो । एउटा खुटा भच्चिएछ छोराको । अरु ठाँउमा पनि चोट लागेको रहेछ । पैसा पनि आवश्यक रहेछ । उनले भने के गर्नु बैंकमा त पैसा छ नि, बंैकरले पनि भनेको हो नि एटिम लिनु भनेर । मोवाइल वैंकिङ सेवा लिनु भनेर । यो वाटो दिनमा दश चोटि हिडिन्छ किन चाहियो भनियो, अहिले आफूले खाता खोलेको बंैक र पैसा भएको बंैक तिन दिनमा (साताको दुइ दिन) निकोर्सि मात्र खुल्ने रहेछ । कोरोनाले र आलोपालो खुल्ने कारणले तर अहिले मलाई पैसा आवश्यक भयो । आफन्तजन, दाजुभाइ पनि यस्तो कोरोना को वेला हड्ने माहौल छैन नभए हेर्न आउथे हस्पीटल भन्दै फोनमा मात्र कुरा गर्छन् । उनी मलिन अनुहार लगाएर भन्दैथिए । ह्या, त्यती सानो कुरा, ल लिनु मसँग अहिले तीस हजार छ, काम चलाम, अरु पैसा मेरो खातामा छ । चाहिए एटिमबाट निकाल्छु । पछि तिर्नु होला भन्दै आश्वासन दिएँ । अनि बाबुलाई दुई तीन दिन राख्नु पर्छ तपाई भाउजु यतै हस्पीटलमा बस्ने होला, खाना के गर्नु हुन्छ ? सुत्न वस्न ओछ्यान तन्ना के छ ? म भरे आउदा खाना र अरु चाहिने सामान ल्याइदिन्छु भन्दै सहयोग गरे । र, दुई दिनसम्म म पनि हस्पीटल र घर गर्दै व्यस्त भए । परेको बेला त हो नि सहयोग गर्ने । दुई दिनपछि बाबुलाई घर ल्याइयो । मसँग कोरोना सर्छ कि भनेर टाढ टाढा हुने उनी केहि दिनपछि घरमै आएर पैसा फर्काउँदै निदाउरो अनुहार लगाएर सोफामा बस्दै भन्न थाले–तपाईलाई मैले कत्ति नराम्रो भने, कत्ति पेच हाने, कोरोना सार्नु हुन्छ भने, तपाईबाटै कोरोना सर्छ मात्र भनिनँ, अरु टोल भरिकालाई पनि तपाईबाटै सर्छ भनेँ । त्यति मात्र कहाँ हो र किराना पसलमा पनि हाम्रो टोलमा घिमिरेजी छन्, बैंकमा काम गर्छन् अति आवश्यकीय क्षेत्र हो, बच्नु है उबाट भनेर नकारात्मक कुरा सुनाए । मलाई माफ गर्नु होला । परेको वेला कोरोनाको डरले कोही आएनन् । तर, तपाईं आउनु भयो र सहयोग गर्नुभयो । तपाई र तपाई जस्ताले मलाई मात्र होइन, लाखौं सेवाग्राहीलाई उनीहरुकै लागि ज्यान जोखिमा राखेर सेवा भावले काम गर्नु भएको छ । अति आवश्यकीय क्षेत्र भनेको मैले बल्ल थाहा पाए । मलाई माफ गरिदिनु होला घिमिरेजी भन्दै उनी पश्चाताप गर्न थाले । मैले पनि कुरा मोड्दै र उसलाई असजिलो नबनाउन ह्या, छोड्नुस यस्तो कुरा, बरु सुन त मिठो चिया बनाउ न वरु चिनी अलि कढा हाल है भन्दै मेरो श्रीमती तिर हेर्दै भने । मिठो खायो भने सम्वन्ध कडा हुन्छ क्या, यसो भन्दै हामी तिनै जना हास्यौं । आज फेरि अफिस जाने बेलामा घरको गेटमा बाइक निकाल्दै स्टाट गर्दै थिए । उने छिमेकी आफ्नो बरन्डाबाट हास्दै भन्न थाले घिमिरेजी बैंक जान लाग्नु भएको ? राम्ररी जानु होला है, आफ्नो त अफिस वन्द छ घर वस्दा वस्दा बोर भइसकें । अनि उनको श्रीमतिले पनि हास्दै भन्न थालिन् उहाँको त अति आवश्यकीय क्षेत्र हो, उहाँ त फ्रन्ट लाइनर हो, सवैको कहाँ भाग्य हुन्छ र फ्रन्टलाइनर भएर सेवा गर्नलाई । उनले यसो भन्दै गर्दा मेरो श्रीमती पनि आज उज्यालो अनुहार लगाएर हास्दै थिइन् । छोरी आव्या पनि वाइ–वाइ बाबा भन्दै हात हल्लाउदै थिइन् । म पनि आज फ्रन्ट लाइनर भएकोमा गर्व गर्दै थिएँ । वास्तवमै सवैले कहाँ पाउछन् र अति आवश्यकीय क्षेत्रमा काम गर्न, फ्रन्ट लाइनर हुन र सेवा गर्न ।

सामाजिक सञ्जालः फिलिङ ह्याप्पीले निम्त्याउँदैछ फिलिङ स्याड

खै, हजुर त कस्तो मान्छे …। अस्ति मेरो जन्मदिनमा पनि फेसबुकमा ह्यापीबर्थ डे बुढी भनेर दुई शब्द लेख्नु भएन् । मन्दिर त लानुभयो । फोटो पनि खिच्नुभयो तर फेसबुकमा राख्नुभएन ? हेर्नुत अरुका बुढाहरुले कत्ति आफ्नो र परिवारको फोटो राख्छन् । त्यो मेरो साथी छिन् नि शर्मिला, उसको बुढाले बुढाबुढीको कति फोटो राख्छन् । कत्ति माया है उनीहरुमा । कम्तिमा मेरो फोटो नराखे पनि छोरी आभ्याको त राख्नु नि हो । हजुर त खै कस्तो बुढा हो ? अचम्म । श्रीमतीले एकविहानै फतफताउदै चियाको कप डाइनिङ् टेवलमा राख्दा म झसंग भएँ । अनि श्रीमती रिसाएको भान भएर मैले फकाउँदै उसलाई मायालु पाराले भन्न थाले, फेसबुकमा फोटो राखेन भनेर नरिसाउन । माया त गर्छु नि औधी । जवाफमा उनले उल्टै खाउला झै गरेर मलाई हेर्दै भनिन्, माया मात्र गरेर हुन्छ ? जनाउनु पदैन ? जमाना देखावाको छ नि बुढा । म ट्वा परें र सोच्न थालें । आजका जमानामा धेरै मान्छे यस्ता छन्, जो नयाँ लुगा किने भने नयाँ लुगा लगाएर र फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिहाल्छन् । अलिकति घाम लाग्यो भने फिलिङ् गर्मी भन्दै, अलिकति जाडो भयो कि फिलिङ् कोल्ड भन्दै । आज मिठो र नौलो केही पकाए भने हत्तनपत्त फोटो अपलोड हुन्छ सामाजिक सञ्जालमा । र, आफनो सफलता र असफलता त्यही समाजिक सञ्जालमा पोस्ट भएको लाइक र कमेन्टबाट निक्यौल गर्छन् । छिमेकी को छ ? आफू बसेको घर वरपर कस्ता मान्छे छन् ? आफ्ना नातागोता इ्ष्टमित्र कहाँ छन् ? कसलाई आपत परेको छ ? यस्ता कुराहरुको रत्तिभर ख्याल नगरि एउटा दश एघार हजारको मोवाइलमा इन्टरनेट जोडेर नचिनेको मान्छेलाई साथी बनाएर घन्टौं कुरा गर्छन् र रमाउछन् भर्चुअल संसारमा । म सोच्छु, के मेरी श्रीमतीले भने झै म कस्तो मान्छे हो त ? मान्छेको आ-आफ्नो स्वाभाव र रुची हुन्छ । मलाई भर्चुअल संसारभन्दा वास्तविक संसार मन पर्दछ । तर, यो भनिरहँदा म सामाजिक सञ्जाल नचलाउने चाही होइन् । फेरि सामाजिक सञ्जालमा मेरो अफिसका कार्यालय सहयोगीदेखि उच्च लेवलका कर्मचारी पनि साथी छन् । नातागोता मात्र होइन्, नेतादेखि पत्रकार लगायत सबैथरिका साथीहरु गरि करिब एक हजारभन्दा धेरै छन् । मैले फिलिङ गर्मी भन्दै, फिलिङ कोल्ड भन्दै वा मोटर साइकल किने भने फिलिङ ह्यापी भन्दै नितान्त निजी कुरा सामाजिक सञ्जालमा राखे भने मैले आफनो स्तर बढाए कि घटाए ? मेरा हजारौं साथीमध्ये कतिलाई मेरो निजी कुरासँग सरोकार नहुन पनि त सक्छ । बरु मैले निजी कुराभन्दा आफू बसेको ठाउको नौलो कुरा, जानकारी र शिक्षाप्रद कुरा राख्दा त्यसले समाजलाई केही भएपनि फाइदा दिन्छ जस्तो लाग्छ । सायद यही सोचले होला, म र मेरो श्रीमतीको अक्सर यहि कुरामा ठाकठुक परिरहन्छ । हामी किन भर्चुअल संसारमा अनावश्यक समय दिएर रमाइरहेका छौं ? के यो चलाएर अनावश्यक व्यस्त हुनुभन्दा यसलाई सीमित चलाएर ज्ञान वा जानकारीको लागि मात्र चलाएर बाँकी समय यसमा खेर नफाल्दा हुन्न ? बरु आफ्नो करेसाबारीमा तरकारी रोप्नु राम्रो होइन् ? बरु फूल लगाउनु राम्रो होइन ? अध्ययन गर्नु राम्रो होइन ? छिमेकीसँग टोल विकासका कुरा गर्नु राम्रो होइन ? यस्तो कोरोनाको समयमा मृत्युसँग लडिरहेको मानिसले कोरोनाको कारणले मेरो फलानो मरे, हार्दिक श्रद्धाञ्जली भनेर राख्नुभन्दा मर्ने मरिगए भनेर यसो हौशला दिने र हिम्मत दिने कुरा राख्नु राम्रो होइन ? नेतालाई गाली गरेको कुरा राख्नुभन्दा यो नेताले यो काम राम्रो गर्यो, यो पक्ष राम्रो छ, यसो गर्नु पर्छ भनेर राख्नु राम्रो होइन ? कुनै समाजसेवीले यो काम राम्रो गरे भनेर किन सकारात्मक कुरा राख्न हिचकिचाउँछन् भर्चुअल संसारका प्रयोगकर्ताहरु ? आफूले पोष्ट गरेका कुरा कस-कसले पढ्छन् भन्ने ख्यालै नगरि अरुले गाएको गितलाई, अरुले दिएको डाइलगलाई अनावश्यक टिकटक बनाउनुभन्दा आफ्नै वरिपरि लुकेर रहेका मानिसहरुको प्रतिभालाई उर्जागर गर्दै सामाजिक सञ्जालमा राखे हुँदैन ? म यस्तै यस्तै सोच्दै थिएँ । यत्तिकैमा अचानक श्रीमती हस्याङ्फस्याङ् गर्दै मलाई सुनाउन थालिन्, थाहा छ, हिजो त्यो परको आशा दिदीकोमा चोरी भएछ नि ? म छक्क पर्दै भन्न थाले, अनि घरमा कोही थिएनन् ? जवाफमा उसले, होइन आशा दिदी सपरिवार घुम्न जानु भएको थियो, फेसबुकमा घुमेको फोटो थियो…। अनि मैले भन्न थाले, देख्यौं चोरहरुले पनि त फेसबुक चलाउछन् नि । घुमेको फोटो राखेपछि कोही छैन भनेर चोर्यो होला नि चोरले । अनि उनले फेरि सुनाइन् । थाहा छ, त्यो शर्मिलाको त डिर्भोस भएछ नि, आज फोटो राखेको थियो फिलिङ् स्याड भनेर । उनले यसो भनिरहदा मैले जिस्काउँदै उसलाई भने अनि शर्मिलाको त बुढाबुढीले फेसबुकमा सँधै फोटो राख्छन् भनेको होइन ? धेरै माया गर्छन् भनेको होइन ? मैले यसो भनिरहँदा उनी मलाई भन्दै थिइन्, त्यो त देखावा रहेछ बुढा । देखावातिर जानु हुँदैन रहेछ । बरु मेरो र छोरीको फोटो समाजिक सञ्जालमा नराख । तर, माया चाही यस्तै गरिराख है भन्दै मलाई अंगालो हालिन् । मैले पनि होइन, व्यक्तिगतभन्दा पनि तिमी र हाम्रो छोरीले समाजको लागि केही राम्रो गरेउ भने म हालिहाल्छु नि तिम्रो फोटो फिलिङ ह्याप्पी बुढी भन्दै भनेँ । अनि हामी दुवै जना हाँस्दै मोबाइललाई सोफातिर मिल्काएर कुटो बोकेर करेसाबारीतिर लाग्यौं ।

गुन (लघुकथा)

काठमाडाैं । बैगुनी छ मान्छे । कोभिड-१९ को नयाँ भेरियन्ट देखा परेसँगै आक्रान्त छ मुलुक । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ । नफर्कने बाटो लाग्नेहरु बढिरहेका छन् । त्यसको त आत्मबल र उपचारका कारण सङ्क्रमण मुक्त हुनेहरुको सङ्ख्या पनि कम छैन । ७२ वर्षीय प्रेममाया पनि ५ दिनको उपचार पछि निको भएर आज अस्पतालबाट घर जाँदै छिन् । खुसी हुनुपर्ने हो तर अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनी रोएको देखियो । एकदिन भेन्टिलेटरमा प्रयोग गरिएको अक्सिजन र उपचार खर्च तिर्ने बेला उनी रोएको देखेर डाक्टरहरुले भने ‘नरुनोस् हामी तपाईंको उपचार खर्च बरु मिनाहा गर्दिन्छौं ।’ यो सुनेर उनले भनिन्- ‘म यो पैसा तिर्न नसकेर रोएकी होइन बाबु । म लागेको पैसा तिर्न सक्षम छु । मैले तिरेको पैसाले बरु अरु कोही दुःखीले उपचार पाओस् ।’ ‘अनि किन रुनु भएको त ?’  नर्सको प्रश्नमा आमैले जवाफ दिइन् । ‘मैले ७२ वर्षसम्म प्रकृतिले दिएको वायु लिँदा कतै कहिल्यै एक रुपैयाँ पनि तिरिनँ । आज एकदिन अक्सिजन लिएको यति धेरै पैसा तिर्दै छु । प्रकृतिले कत्रो गुन लगाएको रहेछ हामीमाथि । भोलिका पुस्ताले प्रत्येक पल यस्तो महङ्गो ग्यासँ बोकेरै हिड्नुपर्ने अवस्था आउने हो कि भन्ने सम्झेर आँसु झरे बा ।’ यस्तो गुन बिर्सेर मान्छे प्रकृतिको दोहनमा लागेको पाउँदा दुःख लाग्छ । प्रकृतिको ऋण चुकाउन कम्तिमा प्रत्येक जन्मदिनमा एउटा वृक्षरोपण गरौं । अब चेतौँ है ! मेरो यही सन्देश छ सबैलाई । अन्तमा आमै मुस्कुराइन् । तारकेश्वर गापा-१ दाङसिङ नुवाकोट हाल पोखरा-११