मलाई माया गर्ने मान्छे…
मलाई माया गर्ने मान्छे सतायर नजाउ मलाई माया गर्ने मान्छे सतायर नजाउ बाटोमा तिमीसँग भेट होला तर्किएर नजाउ मलाई माया गर्ने मान्छे सतायर नजाउ जिन्दगीका अनेक यात्राहरु पार गर्नैपर्छ सुख, दुःखका सबै पलहरु स्वीकार गर्नैपर्छ मेरा यी हातहरुले पौरख गरि खान देउ मलाई माया गर्ने मान्छे सतायर नजाउ बाटोमा तिमीसँग भेट होला तर्किएर नजाउ मलाई माया गर्ने मान्छे सतायर नजाउ गोबिन्द राज ओझा (राजन) दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
मलाई सेतोदेखि डर लाग्छ
तपाईं कालोदेखि डराउनुहुन्छ कालो झन्डा मन पराउनुहुन्न सेतो विचार बोक्नुस् न सेतो देखाएर कालो कर्ममा रमाउनुहुन्छ मलाई त अचेल सेतोदेखि डर लाग्छ ।। सेताहरुले शोषण गरेको पढेको छु सेताहरुले शासन गरेको सुनेको छु।। सेता हात्ती पाल्न गाह्रो परिरहेछ देशलाई काला विचार बोकेर सेता प्रचार गर्नेहरु द्वैध चरित्र भएका ए सेता ब्वाँसाहरु हो मलाई सेतोदेखि डर लाग्छ ।। सेतै कपडामा बेरेर जब बालाई घाट पुर्याइयो सेतै वस्त्रमा फर्काइयो रुवाउदै घाटबाट मलाई सेतै वस्त्रमा जब आमाको मुर्झाएको मुहार र शिथिल तन देखेँ पहिलो पटक मलाई सेतोदेखि डर लाग्न थालेको हो यसपछि ।। विद्यालय जान सेतो सट लगाइदिँदै गर्दा छोरो रुन्छ अचेल ज्ञान आर्जनका निम्ति रमाउँदै जानुपर्ने हो स्कुल हामीले स्कुलका नाममा जेल बनायौँ सायद छोराछोरी सेतोमा सजिएर स्कुल जान मन गर्दैनन् गह्रौं झोलाजस्तै मन लिएर जान्छन् उनीहरु जब लेखिएका काला अक्षरहरु मेटाएर सेतोले आफ्नो प्रभुत्व जमायो अर्कै लेख्न मिल्ने बनाइदियो मलाई सेतोदेखि डर लाग्छ अचेल ।। सेता परेवाहरु मन पर्छन् सेता फूलहरु मन पर्छन् सेता किताबका पानाहरु मन पर्छन् सेतो हिमाल मन पर्छ सेतै फुलेको काँस मन पर्छ बाच्छाले चप्पचप्प दूध चुस्दा उसको मुखका निस्केको सेतो फिँज मन पर्छ तर मन पर्दैनन् सेता झन्डामुनि बसेर कालो बारुदको अहङ्कार प्रदर्शन गर्नेहरु । सेता दन्तलहर देखाएर सेतै पहिरनमा सजिएकी तिमीले सेतै गुलाफ दिएको केही दिनपछि तिमी बेखबर भयौ अचेल मलाई सेतोदेखि डर लाग्छ ।। सेतो चामल,सेतै पिठो सेतो चिनीको असर जब सुने तब कालो खाद्यान्नको फ्यान बढ्दै छन् सर्वत्र छलछाम छैन कालोसँग जस्तो हो उस्तै देखिन्छ मात्र कालोमाथि अनेक लाञ्छना लगाइएका हुन् सेता सपनाको पछि लाग्दा सेतै पर्दा पछाडि, सेतै विस्तारामा लुटिएकी हो ऊ सेता सपना देखाएर सेता बिटाले कालाधन्दा गर्नेहरु देखेपछि सर्वत्र मलाई सेतोदेखि डर लाग्छ ।।
वसन्त चौधरीले पाए ‘छिन्नलता गीत पुरस्कार’
काठमाडाैं । कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा चौधरीले साे पुरस्कार पाएका हुन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए । चाैधरीले भाषाका ६ वटा र हिन्दी भाषाका २ वटा गरी उनले आठवटा एल्बम ल्याइसकेका छन् । कविता रचनामा विशेष रुचि भएका चौधरीले नेपाली संस्कृति र कलाको विस्तारमा विश्वका २१ वटा सहरमा गीत तथा कविताका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका छन् । नेपाली गीतसंगीतप्रति श्रद्धाभाव राखी देश सेवामा समर्पित रहेका चौधरीको गीतकारिताको उच्च सम्मान गर्दै २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’बाट उनलाई सम्मान गरिएको छिन्नलता गीत पुरस्कार गुठीले जनाएको छ । सो समारोहका बीच गुठीले २०७६, २०७७ र २०७८ सालका छनौट भएका स्रष्टा तथा सर्जकहरुलाई छिन्नलता गीत पुरस्कार तथा सम्मानहरु पनि प्रदान गरेको थियो । २०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाएकी छिन् भने विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिएको छ । यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बालाई सम्मान गरिएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाएकी छिन् । २०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भू राई पुरस्कृत भएका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाएकी गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिए ।