“मानवता हराएको मान्छे”
किन लोप हुँदैछन् आज सडकमा छापिएका पाइलाहरु, किन अस्तित्वमा छैनन् आज तिम्रो बचनका डोबहरु, घरको पप्पिले त राष्ट्रियता विर्षदैन स्वागत सजाउँछ पुच्छरको टुप्पोसँग, तिमी त मानवता जितेर कुर्सी रंगाएको मान्छे, किन सक्दैनौ मानवताको अस्तित्व जोगाउन ? एक्लो बच्चाझैं रोइरहेंछु म कुरीति रंगिएका पंचाजहरुसँग, तिमी त संस्कारी छु भन्थ्यौ धड्कन जोडिएका प्रेमीहरु झैं, ठूलो ऐनामा अनुहारको वास्तविकता टल्कदा छताछुल्ल भएको छ रहस्यको पर्दाफास, वास्तविकता अर्कै थियो हिजो आज नांगो आँखा टल्किएको छ, आजकाल तिमी अधुरो सपना देख्छौ रे ज्वाला दन्किएको सोफाको कुनाहरुमा, किन खेलाउँछौ मलाई अँध्यारो मैदानमा किन डस्छौ मलाई कोभ्राको नसामा, मेरो त रहर छेदन भएको आज नांगिएको छु समाजको अस्तित्वसँग, तिमीलाई प्रिय लाग्छन आँधिवेहरीका रातहरु छिद्रा छिद्रा भएका जीवनका साथहरु, म त निर्धा राँगाहरु झैं ट्रकमा खाँदिएको मान्छे, आफूलाई भाग्यमानी ठान्ने मुर्गाहरु झैं पैसाको मोलमा टाउको गिंडिएको मान्छे । बिराटनगर
भो नसुत डा. केसी ! (कविता)
भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौहरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त के भो यहाँ डकारेर सुत्नेहरुकै इज्जत छ, भो नसुत अब घुम्ने मेच माथी डा. केसी तिमी बलिको बोको बन्ने निश्चित छ, यो देशका काकाहरुलाई तिमी मरेकै मा फाइदा छ, भो नसुत अब निर्दाहरुको पक्षमा, उठ जुरुक्क डा. केसी जाउँ तिमी जनताको माझमा अनि उठाउ निमुखाले जीवन जीउने एजेण्डाहरु, तिमीलाई स्वागत गर्न पर्खिरहेछ गरिबको झुपडी, म गरिबको छोरो कसरी डाक्टर बन्न सकुँला र डा. केसी ? डाक्टर बन्न त धनीको कोखमा पो जन्म लिनु पर्छ हैन र ? तिम्रो इमानले यो देश चल्ने भए बेइमानले भिखारी बनेको कहाँ सुहाउँछ र यहाँ, भो नसुत डा. केसी तिम्रो इमानको खरानी दलिसके चण्ड मुण्डहरुले त्यो सुकिलो अनुहारमा, तिमी भीरको चिचिण्डो बन्नु अघिनै उठ जुरुक्क डाक्टर केसी शहरका भाग्यले ठगिएकाहरुलाई तिम्रो खाँचो छ, तिम्रो अस्तित्व मेटिदा गरिबको अस्तित्व अवश्य डग्मगाउने छ, तिमी उठेनौ भने म कसरी डाक्टर बनुँला र त्यसैले त तिमीलाई स्वागत गर्न पर्खिरहेछ गरिबको झुपडी । बिराटनगर
सार्थक राजनीति
हुन त नीतिहरुमा उत्कृष्ट हो राजनीति तर खै यहाँ त फोहोरी खेल बनाइएको छ । बुझ्न चाहेर पनि नसकिने जालझेलको पर्याय भएको छ राजनीति हाम्रो परिवेशमा ।।१।। हुनुपथ्र्यो चाणक्यको जस्तै निश्छल,स्पष्ट खेल बिर्सेर सबै झेल निष्कपट खेल्न कागलाई बेल झै नबनाउन लाग्नु छ यो खेललाई ? यहाँ त ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’जस्तै भएको छ राजनीति सोच्छु, आफ्नै बिराशत जोगाउन स्वार्थकै चङ्गुलमा फसेर धमिराले जस्तै बसेर देश खानेहरुसँग नसकिँदो रहेछ ।।२।। तन्त्र फेरिए पनि सोच उही छ अन्त त यसमा पनि भेटिन्छ, शिष्टता, नैतिकता भाइचारासँगै निःस्वार्थ सेवा तर खै अनौठो चाल चलिन्छ यहाँ सधै किन ? प्रश्न गर्दा राजनीति, राजनीति गर्नेल्यै पनि बुझ्दैनन् भन्ने उत्तर पाउँछु यो हुन्छ नै यस्तै वा बनाइयो म अवाक् हुन्छु ।।३।। मनन गर्छु राजनीति त विशाल वृक्ष झै शान्त सागर या सफा गगन झै भए पो ! अलग छैनन् यसबाट धेरै विषय यो विग्रिए असर देखिन्छ सबैमा मण्डेलालाई आदर्श मानेर लिङ्कनलाई पछ्याएर विचार मात्र होइन व्यवहार पनि माक्र्स, लेनिनकै झै भए पृथ्वीनारायणको दूरदर्शीता गान्धीको धैर्य,अठोट र सरलता विपिवाद या पुष्पलाल जे भनौँ सार्थक अनुशरण भए साच्चै राजनीति सार्थक बन्दो हो ।। नेतृत्व मै खोट पैसामा भोट भइन्जेल जनतालाई त चोटै न हो । अन्धभक्त नभइ कसैको धृतराष्टकै चालमा नचले जुवाडेको खेल होइन चेसजस्तै बनाउन सकिन्छ राजनीतिलाई नबनाउन साँढेको जुधाइ बाच्छाको मिचाइ जरुरी छ अब राजनीतिक खेललाई अनुकरणीय रोचक अनि निष्पक्ष बनाउन के यो सम्भव छैन ? ।। दाङसिङ,नुवाकोट हाल पोखरा–११ [email protected]