देख्दा लाग्छ यो देशमा सरकार छैन (मुक्तक)
लेखक १.सर्प पाल्न सरकार यहाँ करोडौं छुट्याउँछ यथार्थ भुल्छ र भन्छ गोरु नि ब्याउँछ ।। सिटामोल नपाएर मर्नु पर्छ जनताले दङ्ग पर्छु कस्का लागि यी योजना ल्याउँछ ।।? २. सर्प पाल युवा फाल चमत्कार हुन्छ यस्तै यस्तै कदम चाल चमत्कार हुन्छ ।। जनताले बिरोध गर्न सक्छन् भ्रष्ट बन्यौ घाँस हाल मुख टाल चमत्कार हुन्छ ।। ३. राम्रा होइन हाम्रालाई छानिन्छ र पो त यहाँ गलतलाई सहि मानिन्छ र पो त ।। देशका लागि केही गर्न खोज्नेलाई पनि समर्थन होइन खुट्टा तानिन्छ र पो त ।। ४.सरकार भन्छ कतै पनि भ्रष्टाचार छैन समृद्धिको लहर छ कतै हार छैन ।। बिपत्तिमा मौन सत्ता जोगाउन मै ब्यस्त देख्दा लाग्छ यो देशमा सरकार छैन ।। ५.गुुजारा चलाउन मृत्युसँग खेलिरहनुु परेको छ हेर्नुुस् निमुुखाले समस्या झेलिरहनुु परेको छ ।। गन्तव्यहीन बन्दै छ जिन्दगीरुपी रथ तैपनि मन नलागे नि भ्रम साँचेर ठेलिरहनुु परेको छ ।। खनालगाउँ नुवाकोट, हाल पोखरा ११ [email protected]
वासुदेव अधिकारीको कविता सङ्ग्रह ‘बस्तीमा आगो’
काठमाडौं । स्रष्टाहरुले विषम परिस्थितिमा पनि रचनात्मक भई सामाजिक चेतना दिने सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले कोरोना महामारी र बन्दाबन्दीपछिको अवस्थामा खुल्ला रुपमा साहित्यिक गतिविधि हुन नसके पनि सञ्चार र प्रविधिको साहित्यिक रचनाको प्रकाशन र सम्प्रेषण गर्दै आएका छन् । धादिङ, नीलकण्ठ– ७ मा जन्मिएका कवि वासुदेव अधिकारीको पछिल्लो कवितासङ्ग्रह ‘बस्तीमा आगो’ यसैको एक उदाहरण हो । ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ का रुपमा समकालीन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशित सो ‘बस्तीमा आगो’ मा लामा र छोटा ६१ कविता छन् । सबै कोरोना महामारी र परिवेशसँग जोडिएका कविता हुन् । प्रखर व्यङ्ग्यचेतभित्र सरल र सन्देशयुक्त कविता लेख्न सक्ने साहित्यिक पत्रकारितामा पनि संलग्न कवि अधिकारीको सङ्ग्रहमा कोरोनाले विश्वव्यापी प्रभाव जमाउन सक्नुमा मानवीय क्रियाकलाप नै मुख्य जिम्मेवार रहेको अभिव्यक्त गरिएको छ । कवितामा सङ्क्रमित मानिसलाई गरिने असामाजिक र अपमानजनक व्यवहार अमानवीय भएको तथा महामारीबाट बच्न हरेक नागरिकले स्वास्थ्य सुरक्षाका लागि आफ्नो कर्तव्य पालना नगरी सरकार वा कुनै एक पक्षलाई मात्रै जिम्मेवार देख्ने प्रवृत्ति गलत रहेको कवितामा प्रकट गरिएको छ । रुघाखोकीका रुपमा अर्थ लगाइएपनि कोभिड –१९ संसारभर आगोसरी फैलिएको र यसको रोकथाममा सबैको एकताबद्ध र जिम्मेवार पहलका लागि सङ्ग्रहले आह्वान गरेको छ । हाल नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष कवि अधिकारीका यसअघि ‘समयका स्वरहरु’ (कविता), ‘मनको हरियो मनको गीत’ (गीत), ‘आफन्तलाई सम्बोधन’ (कविता), ‘युरोस्पर्श’ (कविता) (नेपाल भाषामा पनि अनुदित) र ‘गायब सभामुख’ (कविता) सङ्ग्रह प्रकाशित छन् । रासस
राखी
कथा शिरानी माथी राखेको मोबाईलको धुन मेरोे कानमा गुन्जियो । अर्धनिन्द्रामै मोबाईल छामछुम गर्दै फोन उठाए । एक जना नारीको आवाज सुनियो । “दाइ तपाई कहाँ हो ? म त आई सकें त !” मैले अनकनाउँदै सोधेँ, अँ कहाँ जाने ? रिसाए जस्तो गरी उनले जवाफ दिइन् । ‘‘अझै उठ्नु भएको छैन ? अनि आज मन्दिर जाने भनेको हैन त । खुरुक्क उठ्नु । नुहाएर रेडी भइहाल्नु । नत्र म त बोल्दिन नि ।’’ मैले हस् भन्दै फोन राखेँ । फोन गर्ने ती नारी सगुन थिइन् । त्यो बिहान रक्षाबन्धनको दिन थियो । यहि दिन मेरो हातमा राखी बाँधेर दाजु बनाउने सगुनको ठूलो इच्छा थियो । फेसबुकमा हामी पुरानै साथी हौं तर उसको मेरो राम्रोसंग भेटघाट भएको धेरै समय भएको थिएन । भेट भएको केही दिनपछि उनले म्यासेन्जरमा सर नमस्कार भनिन् । मैले पनि नमस्कार फर्काए । उनले लेखिन– तपाई रिसाउनु हुन्न भने मेरो मनले स्वीकारेको कुरा भनुँ ? ‘‘म किन रिसाउनु ? भनन, के कुरा हो ?’’ च्याटमा जवाफ दिएँ। केही बेरपछि उनको जवाफ आयो । ‘तपाईसंग भेट भएदेखि मलाई केही गुमाएको वस्तु पाए जस्तो आभाष हुन्छ, किन–किन मेरो मनले तपाईलाई एउटै आमाको कोखबाट जन्मिएका दाजुबैनी हौं जस्तो महशुष गर्न थालेको छ । म त तपाईसंग भेटेर खुशी छु । एउटा अभिभावक पाएको छु । सर म तपाईलाई दाई भन्छु ल ?’ म ट्वाल्ल परेँ । आश्चार्य मानेँ । मनमनै सोच्न थालेँ । कस्तो खालको मान्छे रहिछ ! केही बेरपछि जवाफ दिएँ । ‘‘मलाई नयाँ नाता सम्बन्धहरू जोड्नु भनेको नाटक जस्तो लाग्छ । किन जोड्नु पर्यो नयाँ सम्बन्ध ? भएका सम्बन्धहरुलाई सुमधुर बनाउनु । तिमीले दाई भन्यौ भन्दै मैले बैनी भन्नै पर्छ भन्ने पनि छैन । ठट्टा नै गर्ने भएत जे–जे भन्दा पनि भयो ।’’ यति भनेर म किचेन तिर छिरें । फर्किदा सगुनले जवाफ पठाई सकेकी रहिछन् । लेखक ‘‘तपाईलाई नाटक लाग्ला तर मैले मनको कुरा भनेको हुँ । बैनी भन्नै पर्छ भन्ने बाध्यता छैन, तपाईलाई अप्यारो लाग्छ भने म पनि तपाईलाई दाई भन्दिन । मेरो मनमुटुले हजुरलाई दाईको रुपमा सजाई सकेको छ । म तपाईले जे भन्नु हुन्छ त्यही मान्छु तर तपाईसंग टाढिन सक्दिन । आफन्त भनेका सजिलोमा मात्र हुन, अप्ठ्यारोका लागि हैनन् । रगतका नाता भनेको कहरको हुँदो रहेछ, रहरको हैन । मनले भनोस वा नभनोस मुखले पुकार्न बाध्य भइन्छ । आफन्त, नातागोता धेरै होलान तर मेरो भवनालाई बुज्ने कोही छैनन् । मेरो भावना, दुःख, पीडालाई बुज्ने एक मात्र व्यक्ति तपाई मात्र हो । हामी बीच रगतको दाजु नभएता पनि तपाई मेरो हृदयले नै पुकारको दाजु हो । त्यो पनि तपाईलाई स्वीकारयोग्य छ भने । ००००० सगुनका लेखाईले मेरो मनमा दुविधा सिर्जना गरिदियो । उसका भावनाहरुलाई मैले मात्र बुज्न सक्छु भन्ने कुरा मलाई पत्यार लागेको थिएन । अझ कुनै कुनै बेला त ‘तपाई मेरो भगवान’ हो पनि भन्थिन् । उससंग मेरो गफ भन्दा अरु कुनै सहयोग लेनदेन भएको छैन । कसरी म उसका लागि विशेष मान्छे बन्न सक्छु ? मनमा धेरै प्रश्नहरु उब्जिन थालेका थिए । म उनले देखेको सपनाबाट उन्मुक्ति पाउने उपायहरु खोजिरहेको थिए । फेरी एउटा म्यासेज छोडिदिए । ‘‘तिमीले मेरो पृष्ठभूमिलाई राम्रोसँग चिनेकी पनि छौनौं होला । न त तिमीलाई मेरो अतित थाहा छ, न त जीवन भोगाईका केही पलहरु नै थाहा छ ? मलाई त तिम्रो पारिवारीक पृष्ठभूमि समेत केही थाहा छैन भने म कसरी तिम्रो दाइ हुन सक्छु ? नाता जोड्नु ठूलो कुरा हैन, टिकाउन सक्नु नै महानता हो । भावनाको नाताले निरन्तरता पाँउछ भन्ने कुनै ग्यारेन्टी छैन । लिक बिनाको रेल जुनसुकै बेला दुर्घटना हुन सक्छ । यदि यो यात्रा बीचमा नै टुट्छ भने, होस् यो नाटक किन गर्नु पर्यो ? मन मस्तिष्कमा बसिसकेको छापलाई मेटाउन गाह्रो हुन्छ । सगुनको मनमा पनि सौगात प्रतिको आफ्नोपन कहिले नमेटिने छाप बनिसकोको थियो । उसलाई झुक्किएर पनि सौगातबाट टाढा हुने मन थिएन । सौगातको दुःख र पीडालाई नजिकबाट नियाल्न चाहान्थिन् । सौगातले जे भने पनि मान्थिन् र विश्वास पनि गर्थिन् । सम्बन्ध जोड्ने नाटक नगरौ जस्तो सौगातको अभिव्यक्तिले सगुनको मन भारी भएर आउँथ्यो । मन भारी पारेर फोन गर्थिन र भन्थिन्–‘मैले तपाईलाई जे भने पनि नाटक जस्तो लाग्छ होला, मैले त मनको कुरा भनेको हुँ । मलाई बैनी भन्न सक्नु हुन्न भने नभन्नु । जबरजस्ती जोडेको नाताले निरन्तरता पाउन सक्दैन । सम्बन्धको आयु त्यहाँसम्मको हुन्छ, जहाँसम्म विश्वासको लहरा चुडिन्दैन । म विश्वासको लहरा कसिलो बनाउन चहान्छु । कदापि विश्वासघात गर्ने छैन । हजुर प्रति त्यही विश्वास भएर नै होला दाइ, जीवनका हरेक कुरा सेयर गरेको छु । मलाई मेरो जन्म दिने माता पिताको भन्दा नि हजुरको साथ प्यारो छ । म बुज्छु हजुरको पीडालाई, हजुरभित्र पनि रोदनहरु छन् । विश्वास नै लाग्दैन भने मैले के नै गर्न सक्छु । तपाईले गरेका बाजीहरु मैले जितेको छु । सगुनका भनाईहरुले मेरो पनि मनलाई पगाल्यो र मैले पनि उसलाई बैनी भनिदिएँ । रक्षाबन्धन नजिकदै थियो । त्यही दिन हातमा राखी बाँधेर दाजुबैनीको सम्बन्धलाई जीवन्त दिने हाम्रो सल्लाह भएको थियो । रक्षा बन्धनको दिन उनको पहिलो प्राथमिकता दाजुबैनीको सम्बन्ध जोड्नु थियो । शुद्ध सम्बन्धको लागि उनी आफू पनि नुहाएर निष्केकी थिएन । मलाई पनि पहिला उठेर नुहाउनु सम्झाइन् । ०००००