कलेज पढ्दै गर्दा दिपेशको दिमागमा फुरेको ‘थुप्रै’ जुक्ति, पुस्तक व्यापारलाई यसरी जोड्यो प्रविधिसँग
काठमाडौं । पुस्तकको पारखी हुनुहुन्छ, तर पुस्तक पसलसम्म जान झन्झट लाग्छ ? यस्तो अवस्थामा बिना झन्झट तपाईंका रोजाईका पुस्तक हातैमा ल्याइदिने छ ‘थुप्रै’ ले । त्यो पनि एउटा फोनको घन्टी र एक क्लिकको भरमा । सन् २०१९ को फ्रेब्रुअरीबाट सञ्चालनमा इ–कमर्स वेवसाइट ‘थुप्रै’ ले पुस्तकसँगै इ–बुकको सेवा प्रदान गर्दै आएको छ । फोन, सामाजिक सञ्जाल र ‘थुप्रै’ को वेवसाइटका माध्यमबाट आफूलाई आवश्यक परेको किताब अर्डर गर्न सकिन्छ । ‘थुप्रै’ को क्याट्लगमा नयाँ तथा पुराना गरेर ३ हजार पुस्तकको लिस्ट छ । त्यसमा २ हजार ५ सय अहिले उपलब्ध छन् । खुलेको २ वर्ष पुग्नै लाग्दा थुप्रै पाठकहरुको मन जित्दै ‘थुप्रैै’ फैलिदैछ । नेपालका कुना–काप्चादेखि विदेशमा रहेका नेपाली पाठकहरुलाई इ–बुकको सेवा दिदै आएको छ । ‘थुप्रैै’ को एप्स आइओएस र एन्ड्रोइड गरेर दुबै अहिलेसम्म ४० हजार बढी डाउनलोड भइकेको छ । इ–कमर्स वेवसाइट ‘थुप्रैै’ को कथा रोचक छ । भनिमण्डल, ललितपुरका दीपेश आचार्य कलेज पढ्दा कोर्ष बाहिरका पुस्तक पढ्नमा रुची राख्थे । विशेषगरी नन्–फिक्सनमा रुची राख्ने दिपेशले चाहेकै बेला पुस्तक किन्न पाउ“दैनथे । बजार जाँदा मोटरसाइकल पार्किङ नपाएर अर्को समस्या झेल्नुपथ्र्यो । उनले यसको विकल्पबारे सोच्न थाले । त्यो बेला नगन्य मात्रामा इ–कमर्स साइट थिए । भएकाहरुले पनि अंग्रेजी पुस्तक मात्रै डेलिभरी गर्थे । हरेक समस्यालाई अवसरमा परिणत गर्न सकिन्छ भन्ने कुरालाई दिपेशले व्यवहारमै उतारिदिए । आफूले भोगेको समस्या अरूले भोग्न नपरोस् भन्ने उनको चाहना त छँदै थियो, सँगै यो क्षेत्रमा व्यापार पनि गर्न सकिन्छ कि भनेर उनी अर्काे खोजीमा लागेका थिए । दिपेशको त्यो कदममा कलेजकै साथी खोले सिमल, चितवनका राजु गोतामले साथ दिए । दीपेश र राजुको चिनजान बालकुमारीस्थित एनसीआईटी कलेजमा पढ्दा भएको थियो । सन् २००८ मा भेटिएका दुई साथी पछि गएर व्यापारिक साझेदार बन्न पुगे । ‘हाम्रो कुरा मिल्थ्यो, सफ्टवेयर र संगीतमा दुबैको रुची उस्तै, दुबै जना फुटबल खेल्ने, हेर्ने गथ्र्यौं, त्यो बेला हाम्रो रुची नमिलेको भए यहाँसम्म आइपुगिदैनथ्यो,’ राजुले सम्झिए । पाल्पामा जन्मिएका, भैरहवामा हुर्किएका र कलेज जीवन काठमाडौंमा बिताएका दीपेश र चितवनका राजु कम्प्युटर, प्रोडक्टमा रुची राख्छन् । नेपालमै त्यो पनि सूचना तथा प्रविधि क्षेत्रमै अझ प्रष्ट रुपमा भन्ने हो भने सफ्टवेयर डेभलपमेन्टमा काम गर्ने चाहना थियो दुबैको । आफ्नो सपना पूरा गर्न उनीहरुले सन् २०१३ मा एउटा कम्पनी खोले । अकोर्ड सोलुसन्स नामको त्यो कम्पनीमा सुरुमा दिपेश एक्लै थिए । पछि कलेजका साथी अमूल्य आचार्यसँगै राजु पनि जोडिए । क्रमशः १५ जना स्टाफ पुगे । त्यहीबीच दिपेशको मनमा पुस्तकको व्यापार गर्ने सोच आयो । छोटो र सजिलो नाम खोज्दै जाँदा नाम जुऱ्यो, ‘थुप्रैै’ । जुन थुप्रै सोलुसन्स प्राली अन्तरगत सञ्चालन हुने गर्छ । पहिल्यै कम्पनी खोलिसकेकोले सबै कुराको सेटअप छदैं थियो । नयाँ सामानहरु किन्नु पर्ने आवश्यकता थिएन । देश, विदेशमा कसले कसरी अनलाइनबाटै पुस्तकको व्यापार गरिरहेका छन् ? सफल र असफल दुबै खाले उदाहरणबारे प्रशस्त अध्ययन, अनुसन्धान गरे । ‘सफल कथाले पाठ सिकाउँछ, असफल कथाले त्यो बाटोमा नजाऔं भन्ने ज्ञान दिन्छ,’ राजुले सम्झिए । सुरुमा थुप्रैमा १० लाख रुपैंयाँको लगानी भएको थियो । अहिले वेबसाइट, एप्स, अडियो, इ–बुक, डेभिलरी एप्स निमार्णको खर्च जोडेर ५० लाख रुपैंयाँ लगानी पुगिसकेको छ । यसैका लागि मात्र स्टाफको संख्या पनि ८ पुगिसकेको छ । काठमाडौंको बुद्धनगरमा कार्यालय राखेर सुरु भएको थियो थुप्रै । ‘सुरु सुरुमा त दुबै जना पुस्तक डेलिभरीमा पनि हिड्यौं, हामीसँग सिमित स्रोत साधन थियो, स्टाफले नभ्याउँदा आफै पनि डेलिभरीमा गयौं,’ लजालु, कम बोल्ने स्वभावका राजुले सुनाए । थुप्रैले ब्राण्ड स्थापित गर्नका लागि सांगितिक कार्यक्रम, नाटक र कन्सर्टका लागि इ–टिकेट पनि उपलब्ध गराउँदै आएको छ । ‘अहिले त नामै नसुनिएका पुस्तकहरुको पनि अर्डर आउँछ, जुन प्रकाशन हुनै छाडेका हुन्छन्,’ दिपेशले भने । नयाँ ग्राहक बनाउँन र कम्पनी चलाउन सुरुमा निकै छुट पनि दिए उनीहरुले । डेलिभरी गर्ने एक जना स्टाफ भएकोले सबैतिर पुग्न गा¥हो थियो । सोसल मिडियामा प्रशस्त मार्केटिङ गरियो । यो व्यवसायमा उनीहरु रमाउदै गए । सञ्चालक दीपेशका अनुसार सोसल मिडियाबाट, (फेसबुक, ट्वीटर, इन्स्टाग्राम) फोन, वेवसाइट र मोबाइल एप्सबाट अहिले दैनिक रुपमा झण्डै ३० वटा अर्डर आउने गरेको छ । लकडाउनमा इ–बुक पनि राम्रो अर्डर आयो । एप्समै पढ्न मिल्ने इ–बुक डाउनलोड पनि गर्न मिल्छ । तर, अरुलाई पठाउन मिल्दैन । यो हार्डकपी भन्दा सस्तो पनि हुन्छ । पुस्तकको सबैभन्दा राम्रो कारोबार हुने समय भनेको दशैं अगाडीको समय हो । यसपाली भदौ, अशोजमा मात्रै ३ सय किताब बेचेको सह–सञ्चालक राजुले बताए । उनका अनुसार लकडाउनमा पनि पुस्तकको राम्रो कारोबार भयो । ‘थुप्रैै’ को मासिक कारोबार कति हुन्छ ? ‘हाम्रो कारोबार एकाउन्टिङ सफ्ट्वेयरमै हुन्छ । दुबै कम्पनीको यति नै भनेर हिसाब गरिएको छैन,’ दीपेशले ‘व्यवसायिक’ जवाफ फर्काए । अब अडियो बुकमा पनि थुप्रै सोलुसन्सले अब पुस्तकहरु अडियो भर्सनमा पनि उपलब्ध गराउने छ । पढ्नभन्दा सुन्नमा रुचि राख्नेका लागि अडियो भर्सन ल्याउन लागिएको हो । ‘गत डिसेम्बरमै रिलिज गर्ने योजना थियो, अब आधिकारिक रुपमा हामी यो काम गर्छौं,’ दिपेशले योजना सुनाए । सुरुवातमा २० वटा जति चर्चित र लोकप्रिय किताब अडियो किताबका रुपमा उलब्ध हुनेछन् । एप्समा एउटा बेग्लै सेक्सन हुनेछ जहाँ फिजिकल, इ–बुक र अडियो बुक उपलब्ध हुनेछ । केही अघि सुजिव शाक्यको अर्थात परिवर्तन किताब इ–बुक र अडियो पनि उपलब्ध गराएको थियो । लेखकले नै वाचन गरेका अडियो बुकमा उपलब्ध छ । कम्पनीले इ–बुकमा उपलब्ध किताबलाई नै अडियो बुकमा लैजाने तयारी गरेको छ । यसमा नेपालय, सांग्रिला प्रकाशन, कथालय, किताब पब्लिसर्स जस्ता प्रकाशन गृहका धेरै किताबहरु छन् ।
राष्ट्रिय कविता महोत्सवमा नुवाकोटकी भैरवी भूगोल प्रथम
काठमाडौँ । राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम भएका छन् । उनको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले द्वितीय स्थान हासिल गरेको छ । सोलुखुम्वुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईँको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिने छ । प्रतियोगितामा सहभागी ५०२ कवितामध्ये उत्कृष्ट ३० कवितालाई प्रतिस्पर्धाका लागि छनोट गरिएको प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं सञ्चार संयोजक शशी लुमुम्बूले बताइन् । कविता प्रतियोगिताका निर्णायकमा डा हेमनाथ पौडेल, स्नेह सायमी र प्रभा भट्टराई रहेका थिए । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्दै कविता महोत्सवले साहित्यप्रतिको आकर्षण र महत्वलाई उजागर गर्ने बताए । उनले यस खालका कार्यक्रमले ओझेलमा परेका प्रतिभालाई प्रस्फूटन गर्न सहयोग पुर्याउने धारणा राखे । कला, साहित्य र संस्कृतिको विकासले अन्य क्षेत्रको विकासका लागि पनि सहयोग पुर्याउने मन्त्री भट्टराईले उल्लेख गरे । सो अवसरमा मन्त्री भट्टराईले राष्ट्रिय कविता महोत्सवमा २०४६ देखि २०७६ सम्मका पुरस्कृत कविताको सङ्ग्रहको विमोचन तथा विभिन्न कर्मचारीलाई प्रज्ञा दीर्घ सेवा र प्रज्ञासेवा पदक प्रदान गरे । प्रज्ञा (प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्यसचिव जगतप्रसाद उपाध्यायले मन्तव्य राखेका थिए ।
हराएको छोरो
(गजल) भोक हराएको छैन अझै निद्रा हराएको छैन तिमीले छोड्दा कत्ति पनि मन दुखाएको छैन। तिमीलाई दियो सम्झेको थिएँ तर सलाई रहेछौं तिमीले जस्तो मैले अरुको दिल जलाएको छैन। हिजो ऊ मेरो छानो उडाउदा खुब रमाएको थियो आज उसैको घर जल्दाखेरि म रमाएको छैन। वर्षौ वर्ष भइ सक्यो देशमा शान्ति आएको पनि तर बा भन्नुहुन्छ,हराएको छोरो अझै आएको छैन। तपाईं आहा भन्नुहुन्छ शहरको झिलिमिली देखेर हेर्नुस् त कर्णालीले अझै सिटामोल पाएको छैन। कसरी बिश्वास गरुँ? एक गाँस दिन्छ भनेर उसले जो कसौंडी रित्तो पारिसक्दा पनि अघाएको छैन। झापा -गौरादह