चार मुक्तकः भ्रष्टहरु कै मनोमानी
१. केही दिनदेखि अविरल झरी छ पानी छ । अभावसँगै विपत्तिले धरापमा जिन्दगानी छ ।। लुट्न पल्केका हरुका लागि त सधै उस्तै हो देख्छु देशमा भ्रष्टहरु कै मनोमानी छ ।। २. बाढी पहिरोसँगै कयौँ सपना बग्यो आज प्रकृति नै निर्मम बन्यो के के लग्यो आज ।। चाहिँदा काम नदिने छाता–नाता उस्तै लाग्छ आश देखाइ आफन्तैले पुनः ठग्यो आज ।। ३. जथाभावी बाटो खन्यौ अनि भासिएँ म सर्वेसर्वा म हुँ भन्यौ अनि भासिएँ म ।। सदुपयोग होइन चरम दोहन भएपछि रक्षक नै भक्षक बन्यौ अनि भासिएँ म ।। ४. सह्यो प्रकृतिले अत्ति भएपछि यो उग्र भो विवेक गुमाइ जनले मास्दै गएपछि यो उग्र भो ।। अन्योन्याश्रित सम्बन्ध यो विर्सिएर फेरि स्वार्थ पूरा गर्नतिर लएपछि यो उग्र भो ।। [email protected]
कथाः बैंकर श्रीमती
ओ…हो… आजकल कम्ती गाह्रो छ बैंकको जागीर खानलाई ? त्यसमाथि पनि म परेँ महिला कर्मचारी । घर व्यवहार हेर्नै पर्यो, केटाकेटीको स्याहार सुसार गर्नै पर्यो, उनीहरुलाई होमवर्क गर्न सघाउनै पर्यो, स्कुल पुर्याउनै पर्यो, त्यसैगरी खाना पकाऊ, बुढाको लुगामा आइरन लगाऊ… । कहिलेकाहीँ त लाग्छ म एक असल बैंकर त हुन सकेँ होला तर परिवारलाई प्रशस्त समय दिन नसक्दा सायद म असल आमा चाहिँ हुन सकिन कि ? असल श्रीमती पनि पो हुन सकिन कि ? धन्न बुझ्ने र समझदार श्रीमान् अनि सासुससुरा परेका छन् र सजिलो भएको छ । सबैले मेरो जस्तो राम्रो र समझदार परिवार कहाँ पाएका हुन्छन् र ! आज दिउँसो लञ्च टाइममा शशीले उसको परिवार वारे मलाई सुनाउँदै थिइन् । उसलाई त घरमा कसैले पनि सघाउँदैनन् रे, अफिसबाट ढिलो गरी घर फर्कियो भने ‘कसैले नखाको जागिर’ भन्दै हकार्छन् रे, घरको काम सबै उसैले गर्नु पर्छ रे । यस्तो तालले त अब सकिँदैन… बरु जागिर नै छोड्छु भन्दैथिइन् । “जागिर भनेको पैसा मात्र होइन शशी… आत्मसम्मान पनि हो । जागिरे हुँदा त तिमिलाई घरका सदस्यले हेप्छन् भने गृहिणी मात्र भएर घर बस्दा झन् कति हेप्छन् होला ?” भन्दै मैले सम्झाएपछि बल्ल उसले चित्त बुझाई । हुन त शशीलाई सजिलै सम्झाइदिएँ मैले तर आफ्नै मनलाई सम्झाउन चाहिँ धेरै गाह्रो महसुस गर्दैछु । हुनत मेरा घरका सदस्यहरु उसका घरका जस्ता चाहिँ छैनन् । मेरा सासुससुरा अनि श्रीमान अलि बुझ्झकि र सहयोगी भएर केहि सजिलो चाहिँ पक्कै छ । नेपाली समाज आजसम्म पनि त्यत्ति उदार भइसकेको छैन । भान्साको कामकाज अझै पनि महिलाले नै पुर्ण रुपमा जिम्मा लिनुपर्ने अवस्था छ, छोराछोरीको लालनपालन महिलाले नै गर्नुपर्ने पुरुषवादि सोच हावी छ । सासु बुहारीका किस्साको अवस्था उस्तै छ । आजका बुहारी सोच्दछन् कि उसकी सासु खराब छिन् तर केहि वर्ष पछि त्यही बुहारी सासु बन्नेछिन् र आफ्नी बुहारीसँग सम्बन्ध राम्रो बनाउन सक्दिनन् । त्योवेला उसकी बुहारीका पनि गुनासा बेग्लै हुन्छन् । वास्तवमा, आज हामी आफ्ना सासुप्रति खराब धारणा बनाउँछौं तर भोलि कसैको सासु बन्छौं र उही गल्ती आफु पनि दोहोर्याउँछौं । अहिले अषाढ पन्ध्र गते पनि कटिसक्यो, हामी बैंकरको लागि यो नजिकिएको क्लोजिङमा समयको एक–एक महत्व छ । त्यसमा पनि म लोन फाँटको कर्मचारी भएदेखि झनै व्यस्त भएको छु । आज पनि साँवा र व्याजको लागि ऋणीहरुलाई कम्ति फोन गरिएन । ऋणीहरुलाई पनि बहाना भएको छ यो कोरोनाको । पसल खोलेकै छन्, भित्र भित्र व्यापार व्यवसाय पनि गरेकै छन्, थोरबहुत नाफा पनि गरेकै छन् । व्यापार हिजो पनि गरेका हुन्, भोलि पनि गर्नेछन् । कहिलेकाहिँ त लाग्छ जनताको पैसालाई ऋणको रुपमा खाएपछि खुरुक्क तिर्नु नि… कत्ति फोन गरेर सम्झाउनु पर्ने होला । शशीले “टेलरको हिसाव मिल्यो… नगद थन्क्याऊँ ?” भनेर वेलुकी ६ बजेतिर सोध्दै गर्दा ल्याण्डलाइनमा फोन वज्छ । फोन एकजना प्रतिष्ठित ऋणीको हुन्छ । उताबाट आवाज आउँछ, “म्याडम, मेरो स्टाफ ऋणको किस्ता र व्याज लिएर आधा घन्टामा आउँदैछन् है… एकछिन बैंक बन्द नगर्नू होला ।” म “हुन्छ” भन्दै फोन राख्छु र शशीलाई उक्त कुरा सुनाउँछु । शशी भित्ताको घडि हेर्दै मलिन अनुहार बनाउँछिन् । मलाई थाहा छ उसको पिडा, आज पनि ऊ ढिलो गरी घर पुग्नेछिन् र घरमा गालि खानेछिन् । हुन त म पनि ढिलै घर पुग्ने पक्का भयो तर मैले गाली चाहिँ खानु पर्दैन । सबै काम सिध्याएर साँझ ७ वजे म र शशी सँगै बागवजारको अफिसबाट निस्कन्छौं । मेरो श्रीमान् मलाई लिन बाइकमा पर्खिरहेका हुन्छन् । सशी भने कपन जाने माइक्रो चढ्न भन्दै लुरुलुरु न्यूरोडतर्फ लाग्छिन् । मलाई नमिठो लाग्छ… म सोच्छु शशीले माइक्रो पाउँछिन् कि पाउँदिनन् होला यति राति ! कपन उत्रेर पनि घर पुग्नका लागि उसले २० मिनेट जति हिँड्नु पर्छ रे । कति बजे खाना पकाएर परिवारलाई खुवाउँदी हुन् कुन्नी ! शशीका वारे नानाथरी सोच्दै गर्दा मेरा श्रीमान चाहिँ मलाई भनिरहेका हुन्छन्, “थाहा छ तिमीलाई ? आज आमाले तिमीलाई मिठो लाग्ने तरकारी पकाउनु भएको छ नि ।” म बदलामा मुसुक्क हाँस्छु । बुहारीको बाटो नहेर्ने बरु आफैं भान्सा सम्हाल्ने मेरी सासूको सम्झना आउँछ… केटाकेटीलाई कथा र चुट्किला सुनाएर हेरचाह गर्ने ससुराको सम्झना आउँछ… अनि जति ढिलो भएपनि हौसला दिने, मलाई बुझ्ने र सधैं बाइक लिएर अफिसको गेटमा झर्को नमानि मलाई पर्खिरहने श्रीमानको याद आउँछ… । वास्तवमा मेरो परिवार प्रति मलाई गर्व लाग्छ । सबै बैंकर महिला कर्मचारीहरुको मेरो जस्तै सहयोगी परिवार भए कति राम्रो हुन्थ्यो होला… कति सजिलो हुन्थ्यो होला… । कोटेश्वरको खुला बाटोमा बाइक हाँक्दै गरेका श्रीमान प्रतिको माया अचानक बढेर आउँछ र अगाडि सर्दै टाँसिएर अँगालो हाल्छु… छातीमा तातो महसुस हुन्छ… श्रीमानले जिस्किँदै भन्छन्, “के भयो आज मेरो प्यारो बैंकर श्रीमतीलाई ?” म उसको कानमा साउति मार्दै भन्छु, “मलाई हरेक कुरामा सहयोग गर्ने प्यारो पतिलाई थ्यांक यू एण्ड लभ यु ।” मैले यति भनिनसक्दै श्रीमानले बाइकको एक्सिलिरेटर बटारिसकेका हुन्छन् र म पनि उसलाई बेस्सरी समाउँछु । [email protected]
आर्थिक क्रान्ति….हावा… क्रान्ति
मेरो सरकार देश विकास गर्छु भन्छ आर्थिक क्रान्ति गर्छु भन्छ हरेक चोटि आउछ जनताको घर दैलोमा र सपनाँंग भोट साट्दै सुनिश्चि गर्छ……सिंहदरबारको अखडा कृषकलाई मल दिन्छु भन्छ वेरोजगारीलाई जागिर दिन्छु भन्छ शहरका मान्छेलाई घर भाडा छुट भन्छ गाउका मान्छे, मान्छेनै होइन भन्छ उत्पदन बढाउने कुरा गर्छ तर गाडी, लुगा, धान, मकै जौ, कोदो…… नुनदेखि सुनसम्म हल्लादेखि सल्लाहसम्म कि उत्तर कि दक्षिणबाट आयात गर्छ आर्थिक क्रान्ति गर्छु भन्छ उ कहिल्यै सार्वजनिक बस चडदैन् कहिल्यै ग्यास, पेटेलपम्पको लाईनमा बस्दैन कहिल्यै जनता भएर बाच्दैन उसलाई सोझा जनता ठग्न पाए पुगो उ वर्षमा एक दिन टोपी लगाएर रास्ट्रियताको कुरा गर्छ ट्वीटमा फोटो हाल्छ एउटा चाउचाउ बाडेर राहतको कुरा गर्छ फेसबुकमा फोटो हाल्छ, अनि……… गमलामा धान रोपेर मनाउछ धान दिवस मनाउँछ यूट्वमा भिडियो पोष्ट गर्छ फगत यस्तै छ मैले सोचि सोचि ध्यान दिएर जिताएको देश विकास गर्ने आर्थिक क्रान्तिको सरकार आर्थिक क्रान्ति…. आर्थिक क्रान्ति ….हावा… क्रान्ति [email protected]