बच्चाहरूले छिट्टै सिक्छन् यी ५ खराब बानी, अभिभावकले कसरी राख्ने ख्याल ?
काठमाडौं । भनिन्छ- बच्चाहरू काँचो माटोजस्ता हुन्छन् । उनीहरूलाई जे सिकायो त्यहीं सिक्छन् । जुन परिस्थितिमा ढाल्यो, त्यसैअनुसार ढल्छन् भन्ने हामीले सुन्दै आएको कुरा हो । यो भनाइ सही पनि हो । बच्चाहरू आफ्नो वरपर जस्तो देख्यो, उस्तै गर्न खोज्छन् । उनीहरूलाई के राम्रो, नराम्रो थाहा हुँदैन । यस्तो अवस्थामा धेरै पटक बालबालिकाले देख्ने र सुन्ने कुरा उनीहरूको बानी बन्न पुग्छ । यस्तो अवस्थामा आमाबुवाले बच्चाको ख्याल गर्नुपर्छ । आफ्नो बच्चाको हरेक स-साना कुरामा अभिभावकले ध्यान दिने हो भने बच्चाले केही गलत गर्नबाट उसलाई जाेगाउन सकिन्छ । आउनूहोस् जानौं बच्चाले सजिलै सिक्ने यी ५ खराब बानी : आफ्नो गल्ती नस्वीकार्नु कुनै पनि बच्चाले के सही ? के गलत ? थाहै नपाइ काम बिगार्छन् । जानी-नजानी गल्ती स्वीकार गर्दैनन्। लाज वा सजायको डरले उनीहरू यस्तो गर्छन् । यदि तपाईंको बच्चाले आफूले गरेको गल्तीको जिम्मेवारी लिँदैन भने उसले झूट बोल्न सक्छ । जसले भोलिका दिनमा धेरै ठूला समस्याहरू निम्त्याउन सक्छ । महत्त्वपूर्ण कुरा याे हाे कि बच्चाले बिना डर आफ्नो गल्ती स्वीकार गर्न सक्ने शान्त वातावरण बनाउनु पर्छ । अभिभावकले भनेको नमान्नु भनेको नमान्नु पनि एक बानी हो । जुन बच्चाहरूले छिट्टै सिक्छन्। विशेषगरी जब ऊ भित्रबाट उत्प्रेरित वा खुशी महसुस गर्दैन । चाहे त्यो गृहकार्य होस् वा घरको काम । यसैगरी, जिम्मेवारीबाट जोगिने बानी, जसबाट छुटकारा पाउन धेरै गाह्रो छ । अरूको विचारलाई महत्त्व नदिनु प्रायः तपाईंले आफूलाई मन पर्ने मान्छे देख्नु भएको होला । उनीहरू आफूबाहेक सबैमा कमीकमजोरी पाउँछन् र उनीहरूको आफ्नै दृष्टिकोण मात्र महत्त्वपूर्ण देखिन्छ । यो खराब बानी हो । कतिपय बच्चाहरू पनि यस्ता कुरा धेरै चाँडै सिक्छन् । तपाईं आफ्नो बच्चालाई बाल्यकालदेखि नै राम्राेसँग सुन्न सक्ने बनाउनूहोस् । बच्चालाई अरूको निर्णय र दृष्टिकोण पनि सुन्ने बनाउनुपर्छ । धेरै गफ गर्ने कतिपय बच्चाहरू धेरै गफ दिने हुन्छन् । उनीहरूलाई आफ्नै परिवारको बारेमा गफ गर्ने बानी बढी हुन्छ । तपाईंको घरमा यस्तो बच्चा छ भने तपाईंले कुरा गर्दा ध्यान दिनुपर्छ । बच्चासँगै भएकोबेला कोसँग कुरा गर्ने ? के कुरा गर्ने ? भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । सरसफाइमा ध्यान नदिनु बच्चाहरू आफै सरसफाइ गर्न सक्दैनन् । उनीहरूलाई के फोहोर, के सफा पनि थाहा हुँदैन । अझ बढी फोहोरमै खेल्न उनीहरूलाई रमाइलो लाग्छ । अभिभावकले उनीहरूलाई यो फोहोर हो, यसमा खेल्न हुँदैन भनेर नसम्झाउने हो भने पछि उनीहरूलाई समस्या हुन्छ ।
साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो । ‘साताको मध्य र अन्त्यमा देशका तराई भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साताको सुरूमा देशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै साताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशका अधिकांश स्थानमा साताको अन्त्यमा तापक्रम घट्ने सम्भावना छ ।’ महाशाखाको मौसमविद् प्रतिमा मानन्धरले आगामी आइतबारसम्म मुलुकको विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसपछि सुधारहुँदै जाने बताए । कृषि तथा पशुपक्षी मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेतिर धान पाकिसकेकाले यदी ठूलो वर्षा भएमा धानलाई क्षति पुग्न सक्ने बताए। ‘त्यस क्षेत्रतिर जेठ मध्यबाट रोपाइँ सुरु हुन्छ, अब धान थन्काउने बेला भइसक्यो,’ उनले भने, ‘अहिलेको वर्षाले धान झर्ने, पाकेकोबाली समयमा थन्काउन नपाएमा उत्पादन घट्ने समस्या हुनसक्छ ।’ उनले यसवर्ष मनसुन सुखद रहँदा धान उत्पादन पाँच देखि सात प्रतिशतसम्म बढ्नसक्ने बताएका छन् । ‘यो वर्ष ९९ प्रतिशत हाराहारीमा रोपाइँ भएको छ, यस कारण उत्पादन करिब डेढ लाख मेट्रिकटनसम्म हुने अपेक्षा छ,’ उनले भने, ‘तर धान भित्र्याउने बेलामा मौसमले साथ दिनुपर्छ ।’ कृषि मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन अघिल्लो आव भन्दा चार दशमलव ३३ प्रतिशतले वृद्धी भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको थियो । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढी हो ।
महिला अधिकारकर्मी भन्छन्- तीजमा नाचेरमात्र हुँदैन, महिलाको हकअधिकारको आवाज पनि उठाउनुपर्छ
काठमाडौं । हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तिकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तिजलाई महिला सशक्तिकरणको रूपमा हेर्न थालिएको हो । नेपाल बार एशोसिएसनकी पूर्वउपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेम र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ । ‘आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ, श्रीमानका लागि व्रत बस्नेभन्दा पनि यो पर्वले परिवारमा आपसी सद्भाव कायम गर्छ, व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो, बस्नैपर्छ भन्ने पनि छैन, पारिवारिक भेटघाट, रमाइलो माहोल तयार हुन्छ, त्यो राम्रो हो,’ उनले भनिन्, ‘तीज महिलाले मात्रै मनाउनुपर्छ भन्दा पनि राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने भन्ने लाग्छ ।’ अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालको बुझाइमा महिलाको स्वतन्त्रताका दिनका रूपमा हिन्दू महिलाले मनाउँदै आएको राष्ट्रिय पर्व तीज हो । ‘पहिला अहिलेजस्तो सडक सुविधा थिएन, टाढा विवाह गरेर पठाउने चलन थियो, एक दिन तिजमा बोलाएर खुवाउनुपर्छ भन्ने थियौ, घरमा भोगेका पीडा माइतीघरमा आएर सासू, देउर, जेठानी, नन्द, आमाजुले दिएको दुःख गीतमार्फत गाउँथे, अहिले महिला सशक्तिकरणको राम्रो दिन बनेको छ,’ उनले भनिन् । यो पर्व मनाउँदै गर्दा महिला सचेत भएर निरंकुशताविरुद्ध, समाजमा भएका महिलामाथि हुने हिंसाविरुद्ध, सामाजिक रुपान्तरण र चेतनाका गीत गाउन थालेको उनको अनुभव छ । ‘समाज परिर्वतशील छ, महिलाका साझा सवालका विषयमा तीजलाई मनाउनुपर्छ, महिला एकजुट हुनुपर्छ, महिलाले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्ने विषयमा गीत गाउनुपर्छ,’ नेतृ हमालले भनिन् । महिलाले खाएर नाचेरमात्र पर्वको सार्थकता नहुने र महिलाको हकअधिकारको आवाज उठाउने, क्षमता अभिवृद्धि गर्ने र आयआर्जन गर्ने खालका काम गर्नुपर्छ भन्ने उनको ठम्याइ छ । सञ्चारकर्मी तथा महिला अधिकारकर्मी बन्दना राणाले तीज पर्वलाई समानता, सशक्तिकरण र सहअस्तित्वको उत्सवका रूपमा ९ वर्षदेखि ‘तीज उत्सव’ मनाउँदै आएकी छिन् । यस वर्ष उनले सुदूरपश्चिमको कञ्चनपुरमा तीज संवाद गरेकी छिन् । ‘तीज पर्वलाई महिला सशक्तिकरण, समानता, सद्भावको उत्सवका रूपमा मनाउनुपर्छ,’ संयुक्त राष्ट्रसङ्घको महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीड) कमिटीका सदस्य राणाले भनिन्, ‘नेपाली संस्कृतिको कुरीतिहरूलाई हटाउँदै संस्कृति र प्रथाको गर्व गर्दै राम्रो पक्षलाई अगाडि लैजानुपर्छ भनेर तीज संवाद मनाउन लागिएको हो ।’ उनलाई तीज पर्व महिला स्वतन्त्रताको दिनका रूपमा मनाउने तरिका राम्रो लाग्ने उल्लेख गर्दै भनिन्, ‘पितृसतात्मक सोंचका कारण महिलालले स्वतन्त्रता एकदम कम हुन्छ, सहरी महिलालाई मात्र हेरेर हुँदैन, गाउँगाउँमा महिलाको अवस्था अहिले पनि उस्तै छ, महिला पनि एक दिन माइत आउँन, आफ्ना आमा, दिदीबहिनी, साथीभाइसँग भेट्न पाउनु राम्रो हो ।’ महिला सशक्तिकरण र सद्भावका लागि पर्व असाध्यै राम्रो रहेको र गाउँगाउँमा धेरै महिला माइत जान पाउनु, दिदीबहिनी रमाउन पाउनु असाध्यै खुसीको कुरा भएको राणाको भनाइ छ । ‘एउटा वर्गले श्रीमानका लागि व्रत बस्ने भन्ने पनि छ, हुन त व्रत बस्दा स्वास्थ्य पनि राम्रो हुन्छ, तर लहैलहैमा व्रत बस्न जरुरी छैन, करकापमा व्रत बस्न भएन, महिला सशक्तीकरण, समानता र सदभावका दृष्टिकोणले पर्व असाध्यै राम्रो हो,’ उनले भनिन् । संस्कृतिविद् डा. शोभा ढुङ्गानाका अनुसार पहिला हिन्दू नारीले मात्र तीज मनाउने भए तापनि अहिले सबै धर्म, समुदायका महिलाले मनाउने गरेको र मुलतः महिलाको पुनःमिलनको पर्व हो । ‘महिलाबीच वर्षमा एक दिन भए पनि एकापासमा भेटघाट हुने अवसर मिलेको छ, संस्कृतिको प्रसार भएको छ, महिलाले खुसी साट्न पाएका छन् । केही विकृति पनि छ, त्यसलाई कम गरेर संस्कृति, स्वतन्त्रता दिवस र महिलाको पुनःमिलनको पर्वका रूपमा मनाउनुपर्छ,’ उनले भनिन् । डा. ढुङ्गानाका अनुसार परम्पराअनुसार श्रीमानको दीर्घायुको कामना गरी व्रत बस्ने, माइतमा आमा, दिदीबहिनीसँग भेटघाट गर्ने, दुःखसुखका भावना आपसमा बाँड्ने रूपमा मनाउँदै आए पनि स्वस्थानी व्रत कथाको सुरु भएपछि हरितालिका तिजको महत्व अझ बढ्दै आएको पाइन्छ । तीज पर्व महिलाको पर्व भएकाले आपसमा सौहार्दपूर्ण तरिकाले, तडभडक नगरी, महिलाको स्वतन्त्रता, सशक्तीकरण र समग्र महिलाको हितको विषयसँग पर्वलाई जोड्न जरुरी छ ।