हराउँदै चर्खे पिङ, संरक्षणमा छैन चासो

बागलुङ । बागलुङ नगरपालिका(५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खेपिङ हालियो । चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिएको थियो । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो । गत वर्ष बनाइएको चर्खेपिङ अहिले फेरि हाल्ने तयारी भइरहेको साझखोलाका स्थानीय जुना न्यूरेले बताए । “यहाँ पहिले लिङ्गे पिङ थियो, गतवर्ष सामुदायिक वनको सक्रियतामा परम्पराको संरक्षण गर्ने उद्देश्यले लिङ्गेपिङको सट्टा चर्खेपिङ हालियो”, न्युरेले भने, “दश वर्षअघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको थियो, त्यसयता चर्खेपिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खेपिङ हाल्न थालिएको हो ।” न्यूरेका अनुसार लिङ्गे पिङभन्दा चर्खेपिङ महँगो हुन्छ । उनका अनुसार गत वर्ष सुनाखरी सामुदायिक वन उपभोक्ता समितिमार्फत २० हजार रुपैयाँमा काठ खरिद गरी पिङ तयार गरिएको थियो । लिङ्गे पिङ भने पाँच हजार रुपैयाँमै तयार गर्न सकिने उनको भनाइ छ । यस्तै बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दशैं तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो । दश वर्ष अघिसम्म हालिँदै आइएको चर्खेपिङ गाउँमा युवाको सङ्ख्या कम हुन थालेपछि हराउँदै गएको हो । सिगानाको कायमारेमा १० वर्ष अघिसम्म दशैं र तिहारमा हालिएको चर्खेपिङ लोप भएपछि पुन लिङ्गे पिङ हाल्न सुरु भएको थियो । दशैंमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङको महत्व बढेको पाइन्छ । पहिले लिङ्गे पिङमा प्रयोग हुने घाँस (बाबियो)को सट्टा अचेल डोरीको प्रयोग गर्न थालिएको छ । गाउँमा दशैं सुरु हुनु महिना अघिदेखि चर्खेपिङ बनाउनेको निकै उत्साह हुनेभए पनि पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण चर्खेपिङ लोप हुन थालेको हो । झन्डै दुई दशकअघि गाउँ–गाउँमा हुने मेला पर्वमा चर्खेपिङ अनिवार्य जस्तै थियो । तर अहिले यस्ता पिङको सङ्ख्या निकै कम भएको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठको भनाइ छ । “कतिपयले संरक्षणका लागि भए पनि चर्खेपिङ बनाउनुभएको छ, तर अहिले गाउँनैपिच्छे चर्खेपिङ देख्न पाइदैन”, श्रेष्ठले भने, “अब स्थानीय तहले चर्खेपिङ संरक्षण नगरे भविष्यमा चर्खेपिङ देख्न नपाउने अवस्था आउन सक्छ ।” गाउँका युवाहरु जम्मा भएर जङ्गलमा काठ काटेर चर्खेपिङ बनाउँदा निकै रमाइलो हुने भए पनि पछिल्लो समय गाउँमा युवाको सङ्ख्या कम भएपछि पिङ हाल्ने चलन पनि हराउँदै गएको उनको भनाई छ । चर्खेपिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यकपर्ने हुँदा पनि अहिले लोप हुँदै गएको हो । हिजोआज वनमा काठ काट्न नपाइने नियम लगाएपछि काठ अभावले चर्खेपिङ राख्न छाडेको स्थानीय हरि सुनारको बुझाइ छ । केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्गेपिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको रौनक नभएको उनको भनाइ छ । युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दशैंले ढपक्कै छोए पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह नदेखिएको सुनारको भनाइ छ । रासस

भ्रममा बाँचेका नेपाली जसले कपाल काट्दा तिर्छन ८६२४ रुपैयाँ

काठमाडौँ । हरेक पुरुषलाई ढेड दुई महिनामा नियमित कपाल काट्नै पर्छ । नेपाली मात्र होइन, केही अपवाद बाहेक विश्वभर नै पुरुषले नियमित कपाल सैलुनमा गएर काट्छन्, छोट्याउँछन् । नेपालमा सामान्य सैलुनमा पुरुषको कमाल काट्दा १५० रुपैयाँ लाग्छ । दरवारमार्ग वा कमलादीमा खुलेको धेरै महँगा सैलुनहरुले पनि पुरुषको कपाल काटेको बढीमा १ हजार रुपैयाँ लिने गरेका छन् । अन्य कस्मेटिक बस्तु उपभोग गरेबाफत भने अतिरिक्त मूल्य पनि पर्छ । कपाल काट्दा विश्वमा सबैभन्दा बढी मूल्य तिर्नु पर्ने पनि नर्वेमा नै हो । वल्ड अफ स्ट्याटिक्सका अनुसार नर्वेमा एक जना पुरुषले कपाल काट्दा ६४ अमेरिकी डलर तिर्नुपर्छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार ८ हजार ६२४ रुपैयाँ हुन जान्छ । वल्ड अफ स्ट्याटिक्सका अनुसार कपाल काट्दा दोस्रो महँगो देश जापान हो, जहाँ ५६ अमेरिकी डलर तिर्नुपर्छ । तेस्रो महँगो देश डेनमार्क हो जहाँ ४८.२१ डलर तिर्नुपर्छ । त्यस्तै, स्वीडेनमा ४६.१३ डलर, अस्ट्रेलियामा ४६ डलर, अमेरिकामा ४४ डलर, स्वीजरल्याण्डमा ४२.९६ डलर, फ्रान्समा ३७.०५ डलर र क्यानडामा २४.२८ अमेरिकी डलर तिर्नुपर्छ । त्यस्तै, ब्राजिलमा ८.६७ डलर, भारतमा ५.२९ डलर पर्छ भने नेपालमा १.१३ डलर पर्छ । नेपालीहरु विदेशमा काम गर्छन, डलरमा कमाउँछन् र नेपाली रुपैयाँसँग तुलना गर्छन । अमेरिकामा काम गर्ने नेपालीले महिनामा ५ हजार डलर कमाउँछ । तर, तुलना गर्छ नेपाली रुपैयाँसँग र घरमा बुवा, आमा वा साथीभाईलाई सुनाउँछ ‘मासिक ६ लाख ६० हजार भन्दा बढी कमाउँछु ।’ तर अमेरिकामा एक मुठा साग किन्दा ५ डलर (६६० रुपैयाँ) खर्च गर्नु परेको, कपाल काट्दा ४४ डलर (५ हजार ८०० रुपैयाँ) तिर्नु परेको, कोठाभाडा १५०० डलर (१ लाख ९८ हजार रुपयाँ) तिर्नु परेको सुनाउँदैन ।

तनहुँको अत्रौलीमा भारी वर्षा, सतर्क रहन आग्रह

दमौली । तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीमा भारी वर्षा भएको छ । मङ्गलबारदेखि निरन्तर परेको वर्षाका कारण पछिल्लो २४ घण्टामा अत्रौलीमा अत्यधिक वर्षा भएको हो । जल तथा मौसमविज्ञ विभाग बाढी पूर्वानुमान महाशाखाले यस ठाउँमा अत्यधिक वर्षा भएपछि सतर्क रहन आग्रह गरेको छ । वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आसपासका सर्वसाधारणलाई आग्रह गरिएको छ । उक्त ठाउँमा पछिल्लो २४ घण्टाको अवधिमा १४७.८ मिलिलिटर वर्षा भएको छ । यो खतराको तह मानिन्छ । विभागले आज तनहुँको बन्दीपुरस्थित मस्र्याङ्दी, दमौलीस्थित सेती नदीमा उल्लेख्य पानीको बहाव बढ्ने जनाएको छ ।