आज महानवमी : तलेजु मन्दिर सर्वसाधारणका लागि खुला
काठमाडौं । प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको हो । वर्षमा एक पटक महानवमीको दिनमा मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड छ । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन आम सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्पराअनुसार आज सोही अवसरमा मन्दिर खुला गरिएको हो । तलेजु मन्दिरमा ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मुल चोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मुल मन्दिरमा फर्काइने प्रचलन छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन समितिले साइतअनुसार यात्रा गराइनेछ । महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत विधिवत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने परम्परा छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलीसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवीसास्त्रोक्त पाठ गरिन्छ । पशुबली नदिने र साकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवल समेतको बली दिइ पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तीथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्ववका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबली पनि दिने गरिन्छ ।
दशैँ मनाउन गाउँ फर्किनेको लर्को
काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँ मनाउन घर फर्किनेहरुको लर्को लागेको छ । शनिवार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरुमा घर जानेहरुको लर्को देख्न सकिन्छ । काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकी लगायतका क्षेत्रमा घर जानेहरु आफ्ना सरसामान बोकेर उभिरहेको देख्न सकिन्छ । दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्दछ ।
हराउँदै चर्खे पिङ, संरक्षणमा छैन चासो
बागलुङ । बागलुङ नगरपालिका(५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खेपिङ हालियो । चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिएको थियो । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो । गत वर्ष बनाइएको चर्खेपिङ अहिले फेरि हाल्ने तयारी भइरहेको साझखोलाका स्थानीय जुना न्यूरेले बताए । “यहाँ पहिले लिङ्गे पिङ थियो, गतवर्ष सामुदायिक वनको सक्रियतामा परम्पराको संरक्षण गर्ने उद्देश्यले लिङ्गेपिङको सट्टा चर्खेपिङ हालियो”, न्युरेले भने, “दश वर्षअघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको थियो, त्यसयता चर्खेपिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खेपिङ हाल्न थालिएको हो ।” न्यूरेका अनुसार लिङ्गे पिङभन्दा चर्खेपिङ महँगो हुन्छ । उनका अनुसार गत वर्ष सुनाखरी सामुदायिक वन उपभोक्ता समितिमार्फत २० हजार रुपैयाँमा काठ खरिद गरी पिङ तयार गरिएको थियो । लिङ्गे पिङ भने पाँच हजार रुपैयाँमै तयार गर्न सकिने उनको भनाइ छ । यस्तै बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दशैं तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो । दश वर्ष अघिसम्म हालिँदै आइएको चर्खेपिङ गाउँमा युवाको सङ्ख्या कम हुन थालेपछि हराउँदै गएको हो । सिगानाको कायमारेमा १० वर्ष अघिसम्म दशैं र तिहारमा हालिएको चर्खेपिङ लोप भएपछि पुन लिङ्गे पिङ हाल्न सुरु भएको थियो । दशैंमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङको महत्व बढेको पाइन्छ । पहिले लिङ्गे पिङमा प्रयोग हुने घाँस (बाबियो)को सट्टा अचेल डोरीको प्रयोग गर्न थालिएको छ । गाउँमा दशैं सुरु हुनु महिना अघिदेखि चर्खेपिङ बनाउनेको निकै उत्साह हुनेभए पनि पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण चर्खेपिङ लोप हुन थालेको हो । झन्डै दुई दशकअघि गाउँ–गाउँमा हुने मेला पर्वमा चर्खेपिङ अनिवार्य जस्तै थियो । तर अहिले यस्ता पिङको सङ्ख्या निकै कम भएको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठको भनाइ छ । “कतिपयले संरक्षणका लागि भए पनि चर्खेपिङ बनाउनुभएको छ, तर अहिले गाउँनैपिच्छे चर्खेपिङ देख्न पाइदैन”, श्रेष्ठले भने, “अब स्थानीय तहले चर्खेपिङ संरक्षण नगरे भविष्यमा चर्खेपिङ देख्न नपाउने अवस्था आउन सक्छ ।” गाउँका युवाहरु जम्मा भएर जङ्गलमा काठ काटेर चर्खेपिङ बनाउँदा निकै रमाइलो हुने भए पनि पछिल्लो समय गाउँमा युवाको सङ्ख्या कम भएपछि पिङ हाल्ने चलन पनि हराउँदै गएको उनको भनाई छ । चर्खेपिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यकपर्ने हुँदा पनि अहिले लोप हुँदै गएको हो । हिजोआज वनमा काठ काट्न नपाइने नियम लगाएपछि काठ अभावले चर्खेपिङ राख्न छाडेको स्थानीय हरि सुनारको बुझाइ छ । केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्गेपिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको रौनक नभएको उनको भनाइ छ । युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दशैंले ढपक्कै छोए पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह नदेखिएको सुनारको भनाइ छ । रासस