तीजले होटल तथा पार्टी प्यालेसमा चहलपहल, सुन र कपडा व्यापार भने न्यून

चितवन । तीज पर्वले यहाँको बजार चलायमान बनाएको छ । वर्षातका कारण सुनसान रहेको बजार क्षेत्र तीज अघिदेखि नै चलायमान बनेको हो । मुख्य गरी कपडा, कस्मेटिक, सुन, ब्युटीपार्लर, पार्टी प्यालेस, होटल क्षेत्रमा चहलपहल बढाएको हो ।   ठूला साना यातायातका साधनको चहलपहल बढ्दा यातायात व्यवसायी पनि लाभान्वित भएका छन् । व्यवसायीले सोचेजस्तो व्यापार भने हुन नसकेको बताएका छन् । गाउँगाउँमा पसल खुलेका र अनलाइनबाट व्यापार हुने भएकाले मुख्य बजार क्षेत्रका पसलको व्यापार भने विगतजस्तो छैन ।   अघिल्ला वर्षहरुमा तीजमा दर खाने समय लामो हुँदा होटल तथा पार्टी प्यालेसहरुको व्यापार राम्रो हुने गरेको भए पनि अहिले सोचेअनुसार नभएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले बताए । उनले भने, 'होटलहरुमा व्यवसाय खासै छैन, पार्टी प्यालेस भने केही चलेका छन् ।' अघिल्ला वर्षहरुमा दर खाने मिति पछि हुने हुँदा केही व्यवसाय उकासिने गरेको भए पनि अहिले तीज छिट्टै आएका कारण अपेक्षाकृत रुपमा व्यापार नभएको उनको भनाइ छ ।   साउन महिनामा चोखो खाने भएकाले भदौ लागेपछि मात्रै तीजको चहलपहल भएको हो । आम नागरिकसँग क्रयशक्ति कम हुँदा पनि व्यवसायमा सोचेजस्तो हुन नसकेको उनको भनाइ छ ।   अनलाइन व्यापार राम्रो भए पनि पसलहरुको व्यापार कम भएको कपडा व्यवसायीको गुनासो छ । कपडा व्यवसायी सङ्घका अध्यक्ष गुणराज पौडेलले पछिल्लो समय अनलाइनमा ५०० रुपैयाँ देखि एक हजार रुपैयाँसम्मका साडी पाउने भएपछि उपभोक्ता त्यतै केन्द्रित भएको बताए । उनले भने, 'अघिल्ला वर्षहरुमा रु १०/२० हजार बोकेर बजार आउने ग्राहक अहिले रु दुई–तीन हजार लिएर आउने गरेका छन् ।'   अघिल्ला वर्षहरुको जस्ता तडकभडक नहुँदा पनि व्यवसायमा सोचेजस्तो नभएको उनले बताए । उनले थपे, 'रमाउने उमेरका युवायुवती विदेश पलायन हुनु र खर्च गर्ने क्षमता समेत घट्नुले व्यवसायमा समेत प्रभाव परेको देखिन्छ ।' आर्थिकमन्दीका कारण मान्छेको चाप भए पनि खरिद गर्ने ग्राहक खासै नभएको उनले बताए ।    न्यू लोकमान एण्ड सन्स (सुनचाँदी पसल)का सञ्चालक ज्ञानेन्द्रमान शाक्य बजारमा चहलपहल बढे पनि व्यापार निकै घटेको बताउँछन् । उनले भने, 'मानिसलाई खान मुस्किल छ, कसरी सुन किन्नु ?' सुनको मूल्य निकै बढेकाले पनि व्यापारमा कमी आएको उनको भनाइ छ । सुन लगाउँदा जोखिम बढेको भन्दै उनले ‘फटाहा र प्रशासनको आँखा पर्छ’ भनेर पनि सुन लगाउने घटेको बताए । पहिलेको तुलनामा ८० प्रतिशत व्यापार घटेको शाक्यले बताए ।   उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ बजारमा मानिसको चहलपहल भए पनि अघिल्ला वर्षको जस्तो व्यापार हुन नसकेको बताउँछन् । उनले भने, 'चाडपर्व सुरु हुँदासमेत व्यापार अपेक्षाकृत रुपमा बजारमा हुन सकेन ।' चाडपर्व मनाउने युवा जनशक्ति विदेश जानुले व्यवसाय अपेक्षाकृत हुन नसकेको उनको अनुमान छ । अहिलेको आर्थिकमन्दीका कारण पनि व्यवसायमा असर देखिएको उनले बताए । रासस

झापामा शल्यक्रियाबाट प्रसूति हुनेको सङ्ख्या उच्च

झापा । जिल्लामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेले जानकारी दिएकी छन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा १३ हजार १३८ जनाले बच्चा जन्माएका मध्ये ६८ दशमलव सात प्रतिशतले शल्यक्रियामार्फत शिशु जन्माएको उनले बताइन् । आव २०८०/८१ मा जिल्लामा ७० दशमलव पाँच प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएको कार्यालयको तथ्याङ्क छ । चिकित्सकका अनुसार स्वास्थ्यमा जटिलता नआएसम्म शल्यक्रियाबाट प्रसूति गराउनु उचित हुँदैन । तर, पछिल्लो समय शल्यक्रियाबाट शिशु जन्माउने सङ्ख्या बढेको बढ्यै छ । प्रश्रव पीडा सहन नसक्नु/नचाहनु, जीवनशैली, ढिलो विवाहलगायत कारण शल्यक्रियामार्फत प्रसूति गराउने सङ्ख्या वृद्धि हुनुको मुख्य कारण भएको न्यौपानेको भनाइ छ । 'निजी अस्पतालमा शल्यक्रियामार्फत नै प्रसूति धेरै हुने गरेको छ', उनले भनिन्, 'सरकारी अस्पतालमा अलि कम छ ।' विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डअनुसार प्रसूति गराउने कुल सङ्ख्याको १० देखि १५ प्रतिशत शल्यक्रियामार्फत हुनुलाई सामान्य मानिने बताउँदै नर्सिङ अधिकृत न्यौपानेले भनिन्, 'अहिले महिलाले स्वेच्छाले नै शल्यक्रियामार्फत प्रसूति गराउन चाहन्छन् ।' ‘नर्मल डेलिभरी’बाट जन्मिएको शिशु चाँडै बाहिरी वातावरणमा घुलमिल हुने न्यौपानेले बताइन् । 'शल्यक्रिया गरेर निकालिएको शिशुलाई वातावरणमा घुलमिल हुन समय लाग्छ', उनले भनिन्, 'शल्यक्रियाबाट जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या हुँदा एनआइसीयूमा राख्नुपर्ने अवस्था आउने गरेको छ ।'

टिकटकले नेपालमा सुरु गर्यो यौन दुर्व्यवहार सम्बन्धी ‘सर्च गाइड’

काठमाडौं । टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि नयाँ 'सर्च गाइड' सेवा सुरु गरेको छ । बिहीबार सार्वजनिक गरिएको यो सुविधा अन्तर्गत अब प्रयोगकर्ताहरूले यौन दुर्व्यवहारसम्बन्धी विषयमा खोज गर्दा आवश्यक सहायता र सुरक्षा सम्बन्धी जानकारीमा 'रिडाइरेक्ट' हुनेछन् । टिकटकको ‘ट्रस्ट एन्ड सेफ्टी’ विभागका आउटरीच तथा पार्टनरशिप म्यानेजर वास्कितो जटीले भने, 'टिकटकमा प्रयोगकर्ताको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । कठिन परिस्थितिमा प्रयोगकर्ताहरूलाई सही सूचना र सहायता स्रोतमा डोहोर्याउनु हाम्रो दायित्व हो ।' नयाँ सर्च गाइडमार्फत सेक्सुअल एसल्ट, एब्युज, जस्ता शब्दहरू खोज्दा स्थानीय हेल्पलाइन, प्रोफेसनल सहयोगदाताहरू, उजुरी गर्ने तरिका र टिकटकको 'सेफ्टी सेन्टर' मा रहेको यौन दुर्व्यवहार सहयोग पेज देखाइनेछ । उक्त पेजमार्फत यौन हिंसाका स्वरूपहरू (जस्तै : बाल यौन शोषण, सहमति बिना गरिने यौन क्रियाकलाप, बहकाउने व्यवहार) बारे जानकारी दिइनेछ । साथै, उजुरी प्रणाली, ट्रमा व्यवस्थापन, कानुनी सहयोग, पीडितको गोपनीयता, र पुनःस्थापनासम्बन्धी सहायता संस्थाहरूको डेटाबेस पनि समेटिएको छ ।