नयाँ वर्षको प्रतिज्ञा र मानसिकता परिर्वतनको यात्रारम्भ
मानिसमा निहित सोच तथा विश्वासहरूले उनीहरूको व्यवहार तथा क्रियाकलापहरूलाई प्रत्यक्ष तथा परोक्षरूपमा प्रभावित पार्ने गर्दछन् । मानिसमा विद्यमान मानसिकताका आधारमा कुनै विषय वा प्रसङ्गमा कस्तो दृष्टिकोण राख्ने वा परिस्थितिहरूलाई कसरी स्वीकार गर्ने तथा प्रतिक्रिया दिने भन्ने कुरा निरन्तर रूपमा निर्धारण भैरहेको हुन्छ । जसका आधारमा मानिसहरूका शिक्षा, पेशा, व्यक्तिगत विकास, सामाजिक सम्बन्ध आदिमा नियमित तथा निरन्तर रूपमा तरंग पैदा हुन्छ । मानिसहरुका प्रतिक्रिया वा व्यवहारका आधारमा अन्तरनिहित मानसिकतालाई मुख्यरूपमा निश्चित वा स्थिर तथा विकासशील गरी दुई तरिकाले विभाजन गर्न सकिन्छ । क) निश्चित मानसिकता निश्चित मानसिकता भएका मानिसहरूले आफ्ना क्षमता, बौद्धिकता आदि जन्मजात तथा निश्चित रहन्छन् भन्ने कुरामा विश्वास गर्ने गर्दछन् जसबाट उनीहरूमा नयाँ कुरा सिक्न तथा आफूलाई परिस्थिति अनुकूल ढाल्न वा सुधार गर्नमा अनिच्छा पैदा हुने गर्दछ । जसकारणले उनीहरू सदैव चुनौती र असफलताको भयबाट जीवन व्यतित गरिरहेका हुन्छन् । आफूसँग अपरिचित विषयवस्तु, कार्य वा परिस्थिति उत्पन्न हुनासाथ प्रतिकूलताको तीब्रता महसुस गर्दै सहजै हार स्विकार गर्ने अवस्थाहरु पनि सृजना हुने गर्दछन् । उपलब्धी तथा सफलता मानव भाग्यमा जन्मदेखि नै निर्धारण हुने भएकोले जीवनका प्रयत्नका कारणले मात्रै परिवर्तन सम्भव ल्याउंदैन भन्ने धारणाको गहिरो प्रभावका कारणले स्थिर मानसिकताका मानिस प्रायः असफलताको डर, चुनौतीबीच असहजता, संघर्षमा सन्देह, पुरातन वा परम्परागत विचारमा अडिगता आदिका शिकार हुने गर्दछन् । ख) विकासशील मानसिकता व्यक्तिमा निहित क्षमता तथा बौद्धिकतामा समय, अभ्यास अनि प्रयत्नसँगै विकास हुदै जान्छ भन्ने सोंच राख्ने मानिसहरूलाई विकासशिल मानसिकतामा राख्ने गरिन्छ । यस्ता मानिसले चुनौतीको सामनालाई अवशरका रूपमा स्वीकार गर्दछन् र असफलताहरूलाई सिकाइका माध्यमका रूपमा देख्छन् । सदैप नयाँ कुरा सिक्ने कुरामा प्रेरित भैरहने यस्ता मानिस अनवरत कडा परिश्रम, अभ्यास, सकरात्मक सोच तथा निरन्तर सुधारको बाटोमा अग्रसर भैरहेका भेटिन्छन् । व्यक्तिमा विकास हुने मानसिकताले उसको जीवनको दिशा निर्धारण गर्नमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । निश्चित वा स्थिर मानसिकताले परिवर्तनलाई सदैव बहिष्कार गर्दछ भने विकासशील मानसिकताले सदैव परिर्वतनलाई सिकाइको प्रमुख आधारका रूपमा बुझिरहेको हुन्छ । लक्ष्य प्राप्तिका लागि मानसिकतालाई पनि सोहीअनुरूप ढाल्न सक्यो भने मात्र आशातित सफलता हासिल हुन सक्छ अन्यथा भाग्यलाई दोष लगाउँदै टाउकोमा हात लगाउनुको विकल्प रहँदैन । मानिसमा विकास भैरहेको वा बनिसकेका मानसिकता परिवर्तन गर्नै नसकिने भने होइन । नियमितरूपमा स्वपरीक्षण गर्दै आफ्ना दृष्टिकोणहरुमा परिवर्तन ल्याउन अभ्यासरत मानिसले आफ्ना यथास्थिति केन्द्रित मानसिकतालाई जित केन्द्रित मानसिकताले प्रतिस्थापन गर्न सक्षम रहन्छन् । अपेक्षित परिणाम र त्यसका लागि आवश्यक क्रियाकलापका निम्नानुसारका समीकरणीय बोधपश्चात आपश्यक अभ्याससहित नयाँ वर्षसँगै लिइने प्रतीज्ञाहरूमा आफ्ना मानसिकता परिर्वतनको यात्रारम्भ गर्न सक्दा पक्कै पनि उपलब्धीको प्रभावकारिता अनि आयातन ठुलो हुनेछ । १) सफलता = (धैर्य + निरन्तरता) सफलता प्राप्त गर्नका लागि केवल एउटा प्रयत्न वा एक पलको प्रयास कहिल्यै पनि पर्याप्त हँुदैन । यसका लािग धैर्य र प्रयत्नको निरन्तरताको दरकार पर्दछ । केवल अथक प्रयास र संर्घषले मात्रै मानिसलाई अन्ततः लक्ष्यमा पुर्याउने भएकोले जस्तोसुकै परिस्थितिमा धैर्य राख्दै आफ्नो यात्रा निरन्तर राख्नाले मात्रै सफलताको स्वाद चाख्न पाउँछ । २) उपलब्धी = (आत्मविश्वास + मेहनत) आत्मविश्वास र परिश्रमको उपर्युक्त सन्तुलनबाट अपेक्षित सफलता हासिल हुन सक्छ जसका लागि सर्वप्रथम सफलताको अपेक्षाकर्ताले आफ्ना क्षमतामा विश्वास राख्दै कडा मेहनत गर्दा लक्ष्यमा पुग्न सकिन्छ । बिना परिश्रम प्राप्त हुने सफलताको दिगो नहुने भएको आत्मविश्वासका साथ प्राप्त गरेको सफलताको सन्तुष्ठि अधिक हुन्छ । ३) प्राप्ती = (सकारात्मक सोंच + परिश्रम) सकारात्मक सोंच र कडा परिश्रमको तालमेलले मानिसलाई लक्ष्य प्राप्त गर्न सबलता प्रदान गर्दछ । जब मानिस आफ्ना कामहरुमा सकरात्मक तरिकाले परिश्रम गर्न थाल्दछ त्यसपछि सफलताको यात्रा अत्यन्तै प्रभावकारी बन्दै जान्छ । सकारात्मक सोचबाट मानसिकतामा सुधार आउँछ भने परिश्रमले आफ्नो फल आर्जन गर्न भएकोले यस्तो प्राप्तिको स्वाद अत्यन्तै मीठो हुने गर्दछ । ४) नेतृत्व = (अवशर + तयारी) आवश्यक तयारीको उपस्थितिमा हमेशा अवसरले सफलतालाई आकर्षित गर्ने गर्दछन् । जुन मानिस सदैव हरेक कुरामा तयार रहन अभ्यासरत रहन्छ अवसरहरूले पनि उसैलाई पछ्याउँदै नेतृत्वको शिखरमा पु¥याउने गर्दछ भने बिना तयारीमा हासिल भएको नेतृत्वले अक्सर बाँदरको हातमा नरिवलको भावनालाई चरितार्थ गर्ने बाहेक अन्य केही गर्न सक्दैन । ५) परिणाम = (विचार + कर्म) मानिसले जीवनमा हासिल गर्ने परिणाम उसको विचार अनि उसले गर्ने विभिन्न कर्मको योगफलका रूपमा उत्पन्न हुने गर्दछन् । विचारमात्रै वा कर्ममात्रैबाट पनि केही न केही परिणाम उत्पन्न त हुन सक्छन् तर अपेक्षित परिणामका लागि दुबैको उपस्थिति अपरिहार्य छ । सही विचार र उचित कर्मले निश्चिय नै उत्पन्न हुने परिणामलाई सकरात्मक बनाउने छन् । ६) चरित्र = (विपत्ति + संघर्ष) सुनको शुद्धता खारेपछि मात्रै थाहा भए झैं जीवनका कठिनाइ र संर्घषले सदैव मानिसको चरित्रलाई बलियो बनाउछ । त्यसैले अधिक प्रतिकूलताहरूसँगको सामना खदिलो चरित्रको आधार स्तम्भ हो । कठिन समयमा जुन सीप वा ज्ञान हासिल हुन्छ त्यसले सदैव जीवनमा सबलता प्रदान गर्ने गर्दछ । त्यसैले प्रतिकूलता तथा संघर्षलाई जिताइ वा सिकाइका रूपमा दिन सक्दा मानिसको चरित्र तथा मानसिकता दुबैमा सकरात्मक बल प्राप्त हुन्छ । ७) तयारी= (सपना + योजना) लक्ष्य प्राप्तिको सपना देख्नु मात्रै पर्याप्त हुँदैन, यसलाई प्राप्त गर्न आवश्यक योजना बनाउनु पर्ने हुन्छ । जसमा के कस्ता गतिविधि वा क्रियाकलाप गर्ने, कहिले गर्ने, कुन दिशामा अग्रसर बन्ने, कति परिश्रम गर्ने, कस्तो ज्ञान, सीप वा संगति हासिल गर्ने आदिजस्ता पक्षहरूको मेहेनतका साथ आँकलन तथा अनुसरण गर्न सक्दा पक्कै पनि सफलता हासिल गर्ने तयारी परिपक्क बन्न सक्छ । ८) प्रगति = (समय + प्रतिवद्धता) हरेक मानिससँग समयको सीमा हुन्छ । जसले उपलब्ध समयको सहि सदुपयोग गर्दै लक्ष्य प्राप्तिमा प्रतिबद्ध हुन्छ उसको मात्रै प्रगति सुनिश्चित हुन्छ । जसले यसलाई तालमेल गर्न सक्दैन उसको जीवन केवल गुनासो मात्रै शेष रहने गर्दछ । ९) जीवन शिक्षा = (अनुभव + शिक्षा) शिक्षाले सदैव सैद्धान्तिक ज्ञान दिन्छ भने अनुभवले त्यसलाई व्यावहारिक बनाउने भएकोले आर्जित अनुभव र शिक्षालाई एकीकृतरूपमा सदुपयोग गर्दा जीवन उपयोगित शिक्षा प्राप्त हुन्छ । जीवन उपयोगी शिक्षाको प्रचुरतासँगै जीवनका कठिनाइहरूसँगै डटेर जुधून् तथा अवसरहरूको भरपूर सदुपयोग गर्न सक्षमता वृद्धिमा टेवा पुग्छ । १०) व्यक्तिगत विकास = (आत्म आलोचना + सुधार) आत्म आलोचनाले मानिसलाई आफ्ना कमजोरीहरूको सुक्ष्म परीक्षण गरी सुधारका रणनीतिहरू बनाउन मार्गदर्शन गर्दछ जसबाट हिजोभन्दा आज क्रमिकरूपमा व्यक्तिगत विकासहरू देखिन थाल्दछन् । आत्म आलोचना र सुधारको प्रक्रियाले मानिसको व्यक्तिगत विकासमा ठूलो भूमिका खेल्ने गर्दछ । यो निरन्तर सुधारको प्रक्रियाले मानिसलाई जीवनभर विकास गर्न मद्दत गर्दछ । ११) अहंम = (१/सफलता) मानिसलाई महान तथा तुच्छ सम्म बनाउन सक्ने विशेषता बोक्ने भएकोले अहंमले जीवनमा दोधारी तरबारको काम गरिरहेको हुन्छ । यो समीकरणले मानिसहरूलाई साँचो सफलता अहंमता बढाउनमा होइन, विनम्रता स्विकार गर्नमा छ भनेर सतर्क बनाउने काम गर्दछ । जब सफलता एक हुन्छ मानिसको अहंमता शून्यमा झर्दा मात्रै मानिसको बृहत्तर वृद्धि तथा समृद्धिको मार्ग खुल्ने छ । १२) आत्मविश्वास = विश्वास / वास्तविकता हरेक क्रियाकलापहरू सम्पादन गर्दा मानिसहरूमा आत्मविश्वासको आवश्यकता पर्दछ जुन उसको विश्वास र बास्तविकता बीचको सन्तुलनबाट निर्माण हुने गर्दछ । विश्वासको अधिकताबाट अहंकारको जन्म हुन सक्छ भने वास्तविकताको बोधको कमीले क्षमताको सही सदुपयोग नहुन सक्छ । त्यसैले मानिसको विश्वासलाई वास्तविकतासँग मिलान गर्दा स्वस्थ अनि सबल आत्मविश्वास विकासमा टेवा पुग्छ । १३) खुशी = (अनुभव–अपेक्षा) × कृतज्ञता मानिसका खुसीहरू केवल बाह्य परिस्थितिहरूमा मात्रै निर्भर नभई अपेक्षा तथा वर्तमान परिवेशको बोध, प्रशंसा एवं कदर गर्ने क्षमतामा पनि निर्भर गर्दछ । यस समीकरणले मानिसलाई आफ्ना अपेक्षाहरू व्यवस्थापन गर्न, अनुभवहरूलाई बढाउन तथा कृतज्ञता व्यक्त गर्न प्रेरित गर्दछ जसबाट सन्तुष्ट, सुखी तथा खुसी जीवनका लागि मार्गदर्शन हुन्छ । १४) असफलताको लचकता = ((प्रयत्न + सिकाइ)/(भय × २)) अपेक्षित सफलता प्राप्तिका लागि यात्रामा आउने प्रत्येक असफलताहरूले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले सफलताको अभिन्न अंगका रूपमा विफलताहरूलाई लिने गरिन्छ । त्यसैले असफलतालाई तिरष्कार गर्नेभन्दा पनि लचकता अपनाउने गर्दा जीवनमा प्रयास र सिकाइ मात्र होइन डर कम तथा सामना गर्दै निरन्तर जीतको तयारीमा जुट्न प्रेरणा मिल्ने गर्दछ । असफलताहरूलाई सिक्ने अवसरका रूपमा हेर्न सक्दा मानिस जीतका लागि थप बलियो बन्नुका साथै प्रतिकूलता बहन क्षमता विस्तारमा लचिलो बन्न सक्छ । १५) असाधारण सफलता = (जोश + दृढता + धैर्य) जीवनमा असाधारण सफलता हासिल गरिरहेका मानिसहरूको जीवनलाई नियालेर हेर्दा प्रायः सबै मानिसहरूमा हुने सामान्य गुणहरूकै प्रचुरता रहेको पाइन्छ । त्यसैले असाधारण सफलता हासिल गर्नका लागि पनि प्रेम, धैर्यता तथा दृढताको मिश्रणसहितको प्रतिभा र समयको साथ लक्ष्य प्राप्तिको निरन्तर प्रयास नै हो भनेर बुझ्दा सहज हुने देखिन्छ । १६) उत्प्रेरणा =(चाहना ×एकरूपता) मानिसका प्रत्येक क्रियाकलापहरूको प्रेरक शक्तिका रूपमा प्रेरणाले काम गर्छ जुन संधै स्थिर नरहन सक्छ । उत्प्रेरणालाई अविच्छिन्न राख्न बलियो इच्छा वा चाहना तथा एकनास प्रयासको आवश्यकता रहन्छ । यो उत्साह र निरन्तर प्रगतिको संयोजन हो जसले मानिसलाई अघि बढ्न हौसाइरहेको हुन्छ । १७) एकाग्रता = (व्यतित समय × तीव्रता) / विचलित अवस्था मानिसले जीवनमा आफ्ना पूर्वनिर्धारित लक्ष्यबाट विचलित हुने अनेकन क्रियाकलापहरू तथा परिस्थितिहरूको निरन्तर सामना गरिरहको हुन्छ जसबाट उसको एकाग्रता भंग भै लक्ष्य प्राप्तिमा अवरोध सृजना हुन्छ । त्यसैले मानवजीवनमा ध्यान एकाग्र गर्न सक्नु पनि एक मूल्यवान सीप हो । यो समीकरणबाट मानिसहरूलाई एकाग्रता भनेको केबल समयको खर्च मात्र होइन कि अपेक्षित कार्यमा तीब्रता कायम गर्दै ध्यान भट्काउने तत्वहरूलाई घटाउनु समेत हो भनेर बुझ्न सहजता प्रदान गर्दछ । १८) स्व:प्रेम = (करुणा + स्वीकृति) ×क्षमा जसले आफूलाई प्रेम गर्दैन उसले कसैलाई पनि प्रेम गर्नै सक्दैन । त्यसैले स्व:प्रेम व्यक्तिगत विकासको एक आधारस्तम्भ हो । यसबाट मानिसलाई आत्मदया, आत्म स्वीकृति तथा माफी भनेको एक स्वस्थ्य आत्मचित्रको आधार समेत निर्माण हुने गर्दछ । आफूलाई दया र समझदारीका साथ व्यवहार गर्दा मानिसलाई सकारात्मक एवं समृद्ध जीवनको मार्गदर्शन हुने गर्दछ । १९) लचकता =((प्रतिकूलता ×अनुकूलन) /( भय + शंका)) मानिसको जीवन प्रायः प्रतिकूलताका चुनाैतीहरूले भरिएको हुन्छ जसबाट बाहिर निस्कनका लागि मानिसहरूसँग रहने परिस्थितिजन्य लचकताको क्षमताले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । यस समीकरणबाट प्रतिकूलता सामना गर्दा अनूकुलनको क्षमता र भय अनि शंका घटाउन पर्ने आवश्यकतालाई प्रष्ट पार्दछ । लचिलोपन भनेको केवल कठिनाइ सहन गर्नु मात्र नभई त्यसको बाबजुत पनि समृद्धि हासिल गर्ने क्षमता विकास समेत हो । २०) दिगो सफलता = (जुनून + निष्ठा) × प्रभाव सफलताहरू केवल व्यक्तिगत उपलब्धीहरू मात्रै नभई मानिसहरूले संसारमा छोड्ने दीर्घकालीन प्रभावहरू समेत हुन् । त्यसैले दिगो सफलताको मापन मानिसहरूको जुनून, निष्ठा र वरपर देखिने सकारात्मक प्रभावका आधारमा समेत मापन हुने गर्दछ । त्यसैले सफलतालाई दिगो स्वरूप दिनका लागि वरपर सकारात्मक बाह्यता सृजना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ । माथिका प्रत्येक समीकरणले मानिसलाई विभिन्न महत्त्वपूर्ण पहलुहरूमा ध्यान केन्द्रित गराउन, जीवनका चुनौतीहरूसँग जुध्न, लक्ष्यहरू प्राप्ति गर्न, खुसी तथा सुखी बन्न आदिका बारेमा बढ्ने जागरणसँगै मानसिकता तथा परिणाममा परिवर्तन वा वृद्धि हुने कुराको संकेत गर्दछन् । समीकरणीय बोध तथा दैनिक जीवनमा नियमित अभ्यासबाट मानसिकताहरूमा सकारात्मक परिर्वतन आई जीवनलाई अधिक सफल तथा सुखी मार्गमा निर्देशित गर्न सकिने प्रमाणहरू पनि माथिका प्रसंङ्गमा भेटिन्छन् । । त्यसैले यस्ता सुत्रहरूलाई आत्मसात गरेर आफ्नाे आत्मगौरव, आत्मविश्वास, खुसी, विफलतामा विजय आदिमा नयाँ आयाम स्थापित गर्न सकिन्छ, जुन प्रत्येक नयाँ वर्षहरूमा गरिने प्रतिबद्धताहरूलाई कसिलो तथा प्रभावकारी बनाउने आधार समेत बन्न सक्छ । प्रायः नयाँ वर्षसँगै मानिसहरूले आफूमा केही न केहि परिर्वतन ल्याउने, बदल्ने अथवा सुधार गर्ने प्रतिज्ञा गर्ने प्रचलनहरूसमेत रहेका छन् तर धेरै प्रतिज्ञाहरू नयाँ वर्षको पहिलो महिनाको १५ दिनसम्म पनि कायम रहँदैनन् । फेरि अर्काे वर्षमा यस्तै प्रतिज्ञाहरू भइरहन्छन् । यस नयाँ वर्ष २०८२ ले हामी सबैलाई स्वस्थ तथा सबल मानसिकता प्रवर्द्धन एवं विकासका हरेक संकल्पहरूको सुक्ष्म बोधसहित अनवरत एवं अनुशासित कार्यान्वयनमा जुट्ने ऊर्जा थप्न सकोस्, सबैलाई हार्दिक मंगलमय शुभकामना ! (उल्लेखित विचारहरू लेखकका निजी भएकाले आवद्ध संस्थाको प्रतिनिधित्व गदैनन्)
पाँच वर्षसम्म वृद्धभत्ता नबढाउन सुझाव, उमेर सीमा पनि ७० वर्ष पुर्याउनुपर्ने
काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष बनाउनुपर्ने सुझाव दिएको छ । आयोगले उक्त ऐनमा व्यवस्था भएका भत्ताहरू बाहेक अन्य भत्ता बजेटमा घोषणा नगर्ने सुझाव दिएको हो । सामाजिक सुरक्षा ऐन २०७५ को दफा १५ मा रहेको भत्ता नपाउने अवस्थामा “नेपालको निजी क्षेत्रका प्रतिष्ठानबाट अवकाश प्राप्त वा विदेशमा काम गरी फर्केका नेपाली नागरिकले विदेशमा काम गरेको निकायबाट नियमित मासिक निवृत्तिभरण पाइरहेको व्यक्ति थप गर्ने सुझाव दिएको छ । आगामी ५ वर्ष सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्ने तत्पश्चात् मूल्यवृद्धिको आधारमा प्रत्येक दुई वर्षमा मात्र भत्ता वृद्धि गर्ने सुझाव आयोगले दिएको छ । यस्तै, सबै प्रकारका सामाजिक सुरक्षालाई राष्ट्रिय परिचयपत्र संग आवद्ध गरी सामाजिक सुरक्षा उपलब्धताको एकिकृत तथ्याङ्क तयार पार्ने, प्रदेश सरकार र स्थानीय तहले प्रदान गरेका सामाजिक सुरक्षाको पनि तथ्याङ्क एकिकृत रूपमा राख्ने, दोहोरो पर्ने गरी सामाजिक सुरक्षा उपलब्ध नगराउने र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सबै खालको सामाजिक सुरक्षाको एकिकृत तथ्याङ्क संकलन र व्यवस्थापनको जिम्मेवारी दिने प्रतिवेदनमा उल्लेख छ । सबै तलब तथा ज्याला भुक्तानीमा १.५ प्रतिशत सामाजिक सुरक्षा कर लगाई सामा सुरक्षा कोषमा जम्मा गर्ने र अनौपचारिक क्षेत्रका कामदारहरूलाइ योगदानमा आधारित सामाजिक सुरक्षामा आवद्ध गर्ने, ५ वर्षमुनि बालबालिकाहरूलाइ बाल भता हाल २५ जिल्लामा मात्र प्रदान गरिएकोमा गर घरपरिवारहरूमा उपलब्ध हुने गरी सबै जिल्लामा विस्तार गर्ने, गरिब घरपरिवार पहिचानको लागि गरिब परिचय पत्रलाई आधार बनाउने सुझाव दिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा व्यवस्था वृद्धि गर्न सामाजिक व्यवसाय र संघ संस्थाहरूलाइ उत्प्रेरित गर्ने स्वास्थ्य बीमाको हालसम्मको सिर्जित दायित्व भुक्तानी गर्ने र स्वास्थ्य बीमाको बढ्दो भार सम्बोधन गर्न स्वास्थ्यमा हानी गर्ने सुर्ती, चुरोट, मदिरामा स्वास्थ्य कर लगाएर बीमा कोषमा जम्मा गर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरेको छ ।
वायु प्रदूषणले संवैधानिक अधिकार हनन्, देखिन्छन् यस्ता समस्या
प्रगति ढकाल काठमाडौं । वायु प्रदूषणका कारण काठमाडौं उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्यान्हसम्ममा पनि पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो । प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरण विज्ञ तथा चिकित्सकले विशेष चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकार वालासँग भेट गरी प्रदूषणलाई कसरी रोक्ने ? र असर कम गर्ने विषयमा छलफल गरेका थिए । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कानुसार ०-५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१-१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहहरू–बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घ रोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिए । विपद् व्यवस्थापन तथा जलवायु विद् डा.धर्मराज उप्रेतीले पश्चिमी वायु कमजोर हुँदा बर्षा हुन पनि नसकेको र हावासमेत चल्न नसक्दा प्रदूषण जहाँको तहीँ थुप्रिएर पनि वायु प्रदूषण बढिरहेको बताए । ‘यो समयमा तापक्रम बढ्दै गएको छ, कृषि वस्तु बाल्ने, वन डढेलो, पानी नपर्दा सडकको धुवाँधुलो वातावरणमा गएर मिस्सिनु, पश्चिमी वायु कमजोर हुँदा पानी पर्न सकेन । पानी परेको भए वायुमण्डलमा थुप्रिएको प्रदूषणमा जमिनमा खस्थ्यो र प्रदूषण हट्थ्यो,’ उनले भन, ‘तसर्थ जलवायु परिवर्तनले पारेको असरका कारण पनि मौसमी अवस्थामा परिवर्तन आउने, वर्षा हुन नसक्दा सुक्खा बढ्ने तथा आगलागी बढ्ने, वायुमा रहेको प्रदूषण हट्न नसकी प्रदूषण बढाउँछ ।’ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसम विद् प्रतिभा मानन्धरले भने यो साता नै वर्षाको सम्भावना रहे पनि मौसम धुम्म नै रहने बताए । ‘बिहीबारदेखि हल्का हावा चल्ने सम्भावना छ । तर प्रदूषण हटाउने किसिमको हावा चल्दैन । पानी भने अर्को साता पर्ने सम्भावना पनि देखिन्छ । तर महाशाखाले पूर्वानुमान मात्र गर्ने भएकाले लामो समयमा पूर्वानुमान नमिल्न पनि सक्छ । किनकि त्यो बेलासम्ममा परिवर्तन हुनसक्छ,’ उनले भने । मानन्धरले वर्षा नहुँदा वातावरणीय प्रदूषण बढ्नुका साथै भिजिबिलिटी (पारदर्शिता) कम भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको बताए । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार चार वर्षयता हिउँदे वर्षा कम भएको प्रिमनसुन लागिसक्दा पनि राम्रोसँग वर्षा हुन नसक्नु, वन डढेलो तथा अन्य आगलागीका घटना बढ्नु, वातावरणमैत्री पूर्वाधार निर्माण हुन नसक्नु लगायत कारण प्रदूषण बढेको छ । ‘काठमाडौं कचौरा आकारमा पनि छ । पानी नपर्दा सतहमा रहेको प्रदूषण तल खस्न पाउँदैन र हावा पनि चलेको छैन । जसले गर्दा प्रदूषण उपत्यकामा नै थुप्रिएर बसेको छ,’ उनले भने । जेठसम्म वायु प्रदूषण उच्च विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै यस समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वायु प्रदूषणको मुख्य कारण उद्योग, कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणकार्यबाट उड्ने धुलो आदि रहेको विभागले जनाएको छ । विभागले वायु प्रदूषणको समयमा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने हुँदा बालबालिका, वृद्धवृद्धा, दमका बिरामी, गर्भवतीलाई बढी प्रभाव पर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । डढेलोको कारण प्रदूषण डढेलो विद् सुन्दर शर्माले यस वर्ष पनि हिउँदमा कम पानी पर्नु तथा प्रिमनसुन सुरु भएपछि पनि वर्षा हुन नसक्दा डढेलोको घटना बढेको र यसले वातावरणीय प्रदूषण बढाइरहेको बताए । ‘बुधबार मात्र २५३ स्थानमा डढेलो लागेको छ । मुलुक भर डढेलोको जोखिम रहे पनि विशेषगरी पर्सा, मकवानपुर, चितवन, बारा, उदयपुरलगायत ४५ जिल्लामा डढेलो बढी लागेको देखिन्छ । हामीसँग डढेलो नियन्त्रणका लागि पर्याप्त साधन नहुनु, युवाहरू नहुँदा आगो नियन्त्रण गर्ने जनशक्तिको अभावले अझै चुनौती छ । डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि नियन्त्रण हुँदैन,’ उनले भने । मुटुरोगीलाई बढी असर पछिल्लो समय बढिरहेको वायु प्रदूषणका कारण विशेषगरी मुटुरोगीलाई बढी असर गर्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताउँछन्, मुटुरोगी विशेषज्ञ डा रञ्जित शर्मा । ‘मुटुरोगीलाई प्रदूषणको समयमा श्वासप्रश्वासमा बढी समस्या हुने, हृदय घात हुनसक्ने, अनियन्त्रित रक्तचाप हुने, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमका रोगीले अझै सतर्कता अपनाउनुपर्छ,’ उनले भने, ‘प्रदूषणले जुनसुकै बेलामा पनि असर गर्ने भयो, तर बिहानको समयमा प्रदूषण बढी हुने भएकाले विशेषगरी मुटुरोग भएकाहरू घरबाहिर निस्कँदा ख्याल गर्नुपर्छ, आवश्यक पर्दा मात्र निस्किनुपर्छ । माक्सको प्रयोग गर्नुपर्छ ।’ आँखा समस्या तिलगङ्गा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा मुना कुँवरले प्रदूषित वायुमा हुने ब्याक्टेरिया वा भाइरसले आँखामा सङ्क्रमण गर्न सक्ने र जसले कन्जक्टिभाइटिस (आँखा पाक्ने रोग) जस्ता समस्या निम्त्याउन सक्ने र हावामा रहेका प्रदूषक तत्वहरूले आँसु बनाउने ग्रन्थिलाई असर गरी आँखा चिलाउने, पोल्ने र रातो हुने समस्या आउने भन्दै सतर्कता अपनाउन आग्रह गरे । ‘अहिलेको प्रदूषणले आँखा चिलाउने वा सुक्खा हुने हुँदा दृष्टि धमिलो देखिने समस्या देखिएको छ । प्रदूषणले आँखा चिलाउने, सुन्निने र अत्यधिक पानी बग्ने एलर्जीको प्रतिक्रिया निम्त्याउन सक्छ । यहाँ आउने बिरामी पनि आँखा पोल्यो भन्नुहुन्छ,’ उनले भने, ‘प्रदूषण बढी भएका ठाउँमा चस्मा वा सन ग्लास लगाउने, आँखालाई बारम्बार सफा पानीले धुने, प्रदूषण प्रभावित क्षेत्रमा कम समय बिताउने, सकेसम्म घर बाहिर ननिस्कने, आँखा सुक्खा भएमा औषधि प्रयोग गर्ने, पोषण युक्त खाना खाने र यदि समस्या बढ्दै गएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।’ छालामा पनि समस्या छाला रोग विशेषज्ञ डा प्रज्ज्वल पुडासैनीले प्रदूषणका कारण छालामा पनि विभिन्न प्रकारका समस्या निम्तिन सक्ने भन्दै यस्तो बेला उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिए । ‘प्रदूषण बढेको बेलामा केमिकल र धुलोका कणले छालामा एलर्जी गराउन सक्छ । जसले गर्दा छाला रातो हुने, पोल्ने वा दाग आउन सक्छन् । डन्डिफोर पनि आउन सक्छ । छालाको चमक हराउन सक्छ । प्रदूषणले छालाको रोग प्रतिरोधी क्षमता कम गर्न सक्छ, जसले गर्दा विभिन्न प्रकारका सङ्क्रमण हुनसक्छ । छाला सुक्खा हुने र चिलाउने समस्या आउनुका साथै छालाको क्यान्सरसमेत हुनसक्छ,’ उनले भने । यसैगरी पुडासैनीले वायु प्रदूषणका कारण घाम तथा हावामा धेरै समय बस्ने वा काम गर्ने व्यक्तिको छालामा बढी असर गर्ने र प्रदूषणका कारण कम उमेरमा नै छाला चाउरिएर बुढ्यौली पनजस्तो देखिने बताए । ‘छालालाई प्रदूषणबाट जोगाउन नियमित रूपमा सफा पानीले अनुहार सफा गर्ने, सकेसम्म घर बाहिर ननिस्कने, निस्किनै पर्दा सन क्रिम लगाउने, घर बाहिर निस्कँदा मास्क लगाउने र प्रदूषणबाट छाला जोगाउन उचित स्याहार आवश्यक छ । यदि छालासम्बन्धी समस्या लामो समयसम्म रहन्छ भने छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ,’ उनले भने । गर्भवती प्रभावित काठमाडौं नयाँबानेश्वर स्थित निजामती कर्मचारी अस्पतालका स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा जितेन्द्र परियारले वायु प्रदूषणका कारण सामान्य मानिसलाई भन्दा बढी गर्भवतीलाई असर गर्ने बताउँछन् । ‘गर्भवतीले धूमपान गर्न हुँदैन, जसरी धूमपानले बच्चाको वृत्ति विकासलाई असर गर्छ, त्यसरी नै प्रदूषणका कारण पनि गर्भमा रहेको बच्चालाई असर गर्छ । प्रदूषण न्यूनीकरणका लागि राज्यले नीति नै बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । यस्तो बेलामा सकेसम्म गर्भवतीहरू घर बाहिर ननिस्कने, निस्कन पर्दा माक्सको प्रयोग गर्नुपर्छ,’ उनले भने । जनचेतनासहित आपत्काल घोषणा गर्न सुझाव वातावरणविद भूषण तुलाधरले प्रदूषण वृद्धिको अवस्था हेरेर आपत्कालीन अवस्था घोषणा गर्न सरकार अब तयार हुनुपर्ने बताए । ‘अहिले कतिपय बेलामा वायु प्रदूषणको अवस्था तीन सय एक्युआई कटेको छ । तीन सय कट्ने बित्तिकै विपद्को अवस्था घोषणा गर्नुपर्ने मापदण्ड छ । अहिले प्रदूषणको अवस्था घटबढ हुँदा घोषणा गर्नु पर्दैन । तर प्रदूषण बढ्दो छ । कसरी सतर्कता अपनाउने ? व्यापक जनचेतनासहित प्रदूषण बढिरहेमा आपत्कालीन अवस्था पनि घोषणा गर्नुपर्छ,’ उनले भने । स्वच्छ वातावरणको हक खोइ ? वातावरण कानुनका विज्ञसमेत रहनुभएका वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले संवैधानिक सर्वोच्चता भएका मुलुकमा स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक कार्यान्वयन नहुँदा मानवअधिकार नै हनन भएको भन्दै टिप्पणी गरे । ‘यतिबेला एकदमै प्रदूषण बढिरहेको छ । संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने हक दिए पनि नागरिकले मौलिक हकको प्रत्याभूति गर्न पाइरहेका छैनन्,’ उनले भने, ‘अनि संविधानमा व्यवस्था भएको मौलिक हक राज्य सञ्चालकका लागि मात्र हो त ? नागरिकले खै प्रत्याभूति गर्न पाएका ? अब न्यायिक निष्पक्षतामा अनुसन्धान हुनुपर्दछ ।’ नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हक प्रत्याभूति गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा (१) मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक व्यवस्था गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा (२) मा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षति बापत पीडितलाई प्रदूषणबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चित गरिएको छ । धारा ३० को उपधारा (३) मा राष्ट्रको विकाससम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानुनी व्यवस्था गर्न यस धाराले बाधा पुर्याएको मानिने छैन भनी उल्लेख छ । संविधानको भाग ४ मा उल्लेखसित राज्यका नीतिमा वातावरणीय सन्तुलन, पर्यावरणीय दिगो विकास, प्राकृतिक प्रकोपबाट हुने क्षतिको न्यूनीकरण गर्न पूर्वतयारी, उद्धार, राहत एवं पुनःस्थापना, प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्धन र उपयोग, वातावरण अनुकूल विकास, विकासमा सहभागिता अभिवृद्धिलगायत व्यवस्था समेटिएको छ । नीतिगत व्यवस्था कस्तो छ ? काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि सरकारले निर्धारण गरेको एक्युआइको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्य योजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्य योजनामा उल्लेख छ । राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरण गर्न जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारको रणनीति छ । प्रमुख सहर, औद्योगिक प्रतिष्ठान लगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ्कन गरिने रणनीतिमा उल्लेख छ । ‘औद्योगिक तथा अन्य क्षेत्रबाट निस्कने प्रदूषित पानीको प्रशोधनको व्यवस्था गरिने छ । उद्योग र अन्य व्यवसायहरूबाट निष्काशन हुने प्रदूषण युक्त धुवा, धुलो, पानीलाई व्यवस्थित गर्न वातावरणमैत्री प्रविधि कार्यान्वयनमा ल्याइने छ,’ नीतिमा उल्लेख छ, ‘घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्न शौर्य चुलो, विद्युतीय चुलो, बायोग्यास, सुधारिएको चुलो, चिम्नीजस्ता उपकरणको प्रवर्द्धन गरिने छ । ऊर्जा किफायत भवन निर्माणमा जोड दिइने छ ।’ काठमाडौं उपत्यकाको वायु साँच्चिकै हानि कारक र यसको गुणस्तर खस्किने क्रम तीव्र रूपमा निरन्तर बढिरहेको सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदन आइरहेका छन् । सार्वजनिक ‘इन्भारोमेन्ट परफर्मेन्स इन्डेक्स २०१८’ को १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको छ । वातावरण विभागले उपत्यकालाई लक्षित गरी धुलिखेल, पुल्चोक, रत्नपार्क, त्रिवि कीर्तिपुर, सैँवु, सैनिक विद्यालय भक्तपुरमा प्रदूषण मापन केन्द्र स्थापना गरेको छ । सेन्ट्रल सिस्टममा डाटा जाने र सर्वसाधारणले प्रदूषण अवस्थाको जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ । दीर्घकालीन रणनीति आवश्यक वातावरणविद भूषण तुलाधरले बर्सेनि हिउँद र प्रिमनसुनको समयमा वातावरणीय प्रदूषण बढिरहेको भन्दै न्यूनीकरणका लागि मुलुक भर प्रदूषण न्यूनीकरणसम्बन्धी दीर्घकालीन रणनीति आवश्यक रहेको र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । ‘अहिले प्रदूषण बढिरहेको बेला तत्काल के गर्ने भनेर सरकार तयार हुनुपर्छ । डढेलो नियन्त्रण गर्ने, खुला ठाउँमा आगो लगाउन नदिने, जनचेतना अभिवृद्धि, धुवाँ निकाल्ने सवारीसाधनलाई कडाइका साथ कारबाही गर्ने लगायत काम गर्नुपर्छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा चाहिँ विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने, सुधारिएको चुलोलाई प्राथमिकता दिने गर्नुपर्छ । वायु गुणस्तर कार्ययोजना मुलुक भर तत्काल बनाउनुपर्छ ।’ राष्ट्रिय जनगणना २०७८ मा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइँठा बाल्ने गरेको देखाउँछ । ‘घरभित्रको प्रदूषणले महिला तथा बालबालिकालाई अझै बढी प्रभाव पार्छ,’ तुलाधरले भने, ‘नेपालमा वार्षिक ४८ हजार ५०० जनाको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।’ प्रदूषण नगर्न निर्देशन वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई अबदेखि प्रदूषण नगर्न निर्देशन दिए पनि कडाइका साथ कारबाही भने गर्न नसकिएको बताए । ‘जसले प्रदूषण गर्नुभएको छ, प्रदूषण नगर्नका लागि हामीले निर्देशन दिएर सुझाव दिएका छौँ । प्रदूषणलाई कारबाही भने गर्न सकिरहेका छैनौँ । वातावरणीय प्रदूषण न्यूनीकरणका लागि निर्देशन नमान्नेलाई कारबाही पनि गर्छौँ,’ उनले भने । महानिर्देशक सुवेदीका अनुसार प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराइनेलाई निर्देशन गरेर सुझाव दिइएको छ । विभागले डढेलो लगाउने कार्य सार्वजनिक अपराध भएको हुँदा यस्ता कार्य नगर्न, घरायसी ठोस तथा प्लाष्टिक जन्य फोहर र कृषि जन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न सुझाव दिएको छ ।