भक्तपुरका फूल युरोप, अमेरिकासम्म

भक्तपुर । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याइ छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरका आँगन, डिलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरुले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोत समेत बनेको छ । भक्तपुरको गुण्डु सबैभन्दा बढी फूल खेती हुने गर्छ । यहाँका किसानले व्यावसायिक रुपमा आधा रोपनीदेखि पाँच रोपनीसम्मको क्षेत्रफलमा फूल खेती गरेका छन् । साउनदेखि टिप्न सुरु भएको मखमली र सयपत्री फूल अहिलेसम्म टिपिरहेका छन् । स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो ४० आना अर्थात साडे दुई रोपनी जग्गामा गरेको फूलखेती गरेको बताउँछिन् । एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट दुई लाखसम्म आम्दानी हुने बताउदै उनले असार महिनादेखि नै मखमली र सयपत्री फूल बिक्री गर्न थालेको बताउँछिन् । महिनामा चार पटकसम्म फूल टिप्न मिल्छ भने छ महिनाभन्दा बढी फूलले उत्पादन दिन्छ । असारदेखि मंसीरसम्म उत्पादन दिने मखमली फूल असार साउनदेखि टिपेर माला उनेर सुरक्षित राख्ने र तिहार अगाडिसम्म टिपेर उनेका मखमली फूलको माला तिहारका लागि स्वदेश र विदेशका लागि बिक्री गर्ने गरेको उनी बताउँछिन् । सयपत्री फूल पनि असार-साउनदेखि उत्पादन दिने गर्छ । मन्दिर र पूजाका लागि असारदेखि नै बिक्री हुने सयपत्री फूल मङ्सीर-पुससम्म पनि बिक्री गर्न सकिने उनको भनाइ छ । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर पनि बिक्री गर्ने गर्दछन् । सात आठवटा सयपत्री फूल राखेर मुठा पारेको फूल असार साउनमा एक मुठाको १५ देखि १८ रुपैयाँ सम्ममा बिक्री हुने गरे पनि अहिले तिहारका लागि भने २० रुपैयाँमा तीन मुठा बिक्री गरेको बस्नेत बताउँछिन् । फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गर्ने गरिएको छ । यसरी बिक्री गर्दा पाथीको ५० देखि ६० रुपैयाँसम्म र एक किलोको २५० रुपैयाँमा बिक्री गर्ने गरिएको छ । भारतबाट आउने मखमली र सयपत्रीलाई रोक्न सके नेपाल फूलमै आत्मनिर्भर गर्न सकिने उनको भनाइ छ । यहाँका कृषकले वर्षमा कम्तिमा पनि पाँचसय देखि १० हजारसम्म माला उनेर बिक्री गर्ने गरेका छन् । गतवर्ष घरबाटै रु २५ देखि ३५ मा बिक्री गरेको माला यसवर्ष पनि सोही मूल्यमा बिक्री भएको छ । घरमै आउने व्यापारीलाई बिक्री गर्दा मखमली फूलको एउटा माला २० देखि २५ रुपैयाँमा बिक्री हुने भए पनि बजारमा लैजादा व्यापारीलाई ४० रुपैयाँ सम्ममा बिक्री गर्ने गरिएको छ । यही माला खुद्रा बजार पुर्याउन सके ५० रुपैयाँ सम्म आउने गर्दछ । युरोप, अमेरिका पुग्छन् भक्तपुरका फूल अन्तर्राष्ट्रिय बजारमा यहाँका फूल माला पुग्ने गरेका छन् । सयपत्रीभन्दा मखमली फूल र माला अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेका छन् । पछिल्ला केही वर्षयता सयपत्री फूल पनि अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको छ । नेपालमा भारतीय फूलले बजार ओगटिरहेको बेलामा यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फूलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्याउन पाउँदा खुसी लागेको बताउँछिन् । उनले भनिन्, ‘विगत केहीवर्षदेखि मैले सम्पर्क व्यक्तिमार्फत अन्तर्राष्ट्रिय बजारमा पनि यहाँका फूल तथा माला पुर्रयाउने गरेको छु । मेरो उत्पादनले मात्रै नपुग्दा अरुको उत्पादन पनि खरिद गरेर विदेशका लागि फूल तथा माला पठाउँछु ।’ सम्पर्क व्यक्तिमार्फत यहाँको फूल तथा मालालाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायतका विभिन्न जिल्लामा पठाउने गरेको उनले बताउँछिन्। फूलको बजार स्वदेशदेखि विदेशसम्म रहेको र हरेक वर्ष विदेशबाट फूल तथा मालाको माग बढेको उनी बताउँछिन् । घरघरमै आउँछन् फूल किन्न व्यापारी दसैँ सकिएपछि घरघरमा फूल किन्न व्यापारीहरु आउने गरेकाले यहाँका कृषकलाई बजार पाउन सहज हुने गरेको छ । घरमा आउने व्यापारीलाई बजारमा भन्दा ३० देखि ४० प्रतिशत सस्तोमा फूल तथा माला बिक्री गर्ने गरेका छन् । गतवर्ष १२ सय माला व्यापारीलाई बिक्री गरेकी कृषक मिना नगरकोटीले यसवर्ष पनि फूल र मालाको माग धेरै भएको बताइन् । एक रोपनी जग्गामा फूलखेती गरेकी उनले यसवर्ष करिब १५ सय माला बिक्री गर्न माला गाँसेर बजार लान भ्याइनभ्याई भएको छ । गुन्डुमा आठ वर्षदेखि व्यावसायिक फूलखेती सुरु गरेकोे उनले माला खोज्न व्यापारीहरू गाउँ पसेपछि यहाँका बासिन्दाले पर्म लगाएर भए पनि माला उन्ने गरेको बताइन् । यहाँका बासिन्दाले दसैँ सकिएपछि माला गाँस्न पर्म लगाउने र खेताला लगाउने गरेका छन् । खेताला लगाउँदा एउटा मालाको पाँच रुपैयाँ ज्याला दिने गरेका छन् । ज्यालामा माला उन्न स्कुल सिध्याएका बालबालिका धेरै आकर्षित हुने गरेको उनको भनाइ छ । कतिपयले गाउँ पसेका व्यापारीलाई माला तथा फूल बिक्री गर्छन् भने कतिपयले व्यापारीसँग सम्पर्क गरी बजारमै पुर्रयाउने गरेका छन् । फागुनमा रोपेर असारदेखि उत्पादन मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसान मात्रै होइन, फूल खेती गर्नकै लागि जग्गा भाडामा लिएर यहाँ बसाइँ सरेर आउनेहरु पनि उत्तिकै बढेको गुण्डुका स्थानीयवासी एवं जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा बताउँछन् । उनका अनुसार गुण्डुमा मात्रै एक हजार पाँच सय घर परिवारले फूल खेती गरिरहेका छन् । कम्तीमा चार आनादेखि बढीमा पाँच रोपनीमा यहाँका बासिन्दाले फूल खेती गरेका छन् । धान खेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि धान खेतदेखि मकैबारी, भिरालो जमिन, खेतको आली, डिलमा जताततै फूलखेतीले ढकमक्क बनेको भन्दै उनले एकैपटक दोहोरो आम्दानी हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको बताउँछन् । फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको बेर्ना पनि लगाइन्छ । ‘‘मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल असारको अन्तिम वा साउनको पहिलो साताबाट टिप्न सुरु हुन्छ’, धेरैवर्ष फूलखेती गर्नु भएकी स्थानीय एवं जिल्ला समन्वय समिति भक्तपुरकी पूर्व उपप्रमुख सरिता कुँवरले बताइन् । फूलसँगै मकै र भटमास पनि फलाउन सकिने भएकाले कृषकहरु यसतर्फ आकर्षित भएको उनको भनाइ छ । एउटै जग्गामा एकै पटक मकै, भट्मास र फूल फुलाउन सकिने बताउँदै उनले व्यावसायिक रुपमा फूल खेती हुन थालेपछि धान खेतमै फूल खेती पनि बढेको बताउँछिन् । स्थानीय बासिन्दाले मात्रै नभई २०७२ को भूकम्प पछि विभिन्न जिल्लाबाट यहाँ आएर जग्गा भाडामा लिएर फूल खेती गर्नेहरु पनि धेरै थपिएपछि गुण्डुमा फूल उत्पादन बढेको हो । बाहिर जिल्लाबाट आएर फूलखेती गर्नेले १५० भन्दा बढी टनेलमा फूल खेती गरेको बताउँदै उनले फूलखेतीमा भक्तपुर आत्मनिर्भर रहेको बताउँछिन् । भारतबाट फूल नेपाल भित्रिदा यहाँका फूल भने विदेश पठाउन पाउँदा खुसी लागेको बताउँदै उनले सबै पालिकाले स्थानीयलाई प्रोत्साहन गर्न सके विदेशबाट फूल आयात गर्नै नपर्ने उनको भनाइ छ । नगरपालिकाद्वारा अनुदान गुण्डुमा फूलखेतीलाई प्रोत्साहन गर्न केही वर्षदेखि सूर्यविनायक नगरपालिकाले ८० प्रतिशत अनुदानमा कृषकलाई फूलको बेर्ना वितरण गर्दै आएको छ । नगरपालिका आफूले बेर्ना उत्पादन गरेर १० रुपैयाँ पर्ने एक बिरुवालाई दुई रुपैयाँमा कृषकलाई बेर्ना वितरण गर्दै आएको नगरपालिकाले यसवर्ष ४५ हजार बिरुवा वितरण गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिए । नगरपालिकाले वितरण गरेको बेर्नाबाट भने यसवर्ष उत्पादन दिन सकेन । ४५ हजार बिरुवा वितरण गरे पनि ८० प्रतिशत बिरुवा मरेको र बाँकी २० प्रतिशत बिरुवाबाट पनि उत्पादन नआएकाले नगरपालिकाले हावापानी र माटो सुहाउँदो बिरुवा ल्याउनु पर्ने किसानको भनाइ छ । विदेशबाट हचुवामा बिऊ ल्याएर उत्पादन गरेर बेर्ना दिनुभन्दा स्थानीय रैथाने सयपत्री फूलको बेर्ना उत्पादन गरेर बिक्री गर्नु उपयुक्त हुने किसानहरुको भनाइ छ । यता चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर माला उनेर बजारमा लैजान भ्याइनभ्याई भएको छ । बारीभरि लगाएको मखमली फूल टिपेट दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका बनमाला । विगतमा वनमालाहरुले मात्रै व्यावसायिक फूल खेती गर्दै आए पनि यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला केही वर्षदेखि वनमाला बाहेकका अन्य जातजातिले पनि फूल खेती गर्न थालेका छन् । वर्षौदेखि पुख्र्यौली पेशाको रुपमा फूलखेती गर्दै आएका स्थानीय श्याम वनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ हुने बताउँछन् । धेरै वर्ष यहाँ वनमालाले मात्रै फूल खेती गर्ने गरेको भए पनि अहिले धेरैले फूल खेती गर्न थाले पनि आफूहरुको आम्दानीमा असर नपरेको उनी बताउँछिन् । दश वर्षदेखि मखमली फूलको खेती गर्दै आएकी भएकी स्थानीय शोभा बालाले यहाँ दुईआना जग्गामा फूल खेती गर्नेले पनि एक याममा ४० हजार कमाउने गरेको बताउँछिन् । राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ । भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए यहाँ अहिलेको भन्दा दोब्बर आम्दानी हुने उनको तर्क छ । रोजगारीका लागि मलेसिया गएका श्रीमान् नेपाल फर्किएर पाँच वर्षदेखि श्रीमानले पनि फूलखेतीमै साथ दिएपछि उनी झनै उत्साहित बनेकी छन् । स्थानीय सन्तमाया बालाले पनि यसवर्ष रु ८२ हजारको माला उत्पादन गरेकी छन् । उनले भनिन्, ‘घरघरमै फूलको माला लिन आउनेलाई ४२ हजारको माला बेचियो, अझै ३५ हजार जतिको माला तयार छ, दुई दिनमै बिक्री हुन्छ ।’ किसानले बजारमा आफैँले माला लैजादा एउटा मालाको ४० देखि १०० रुपैयाँसम्म बिक्री गर्न सक्छन् भने गाउँमै लिन आउने व्यापारीले भने एउटा मालाको  ३० देखि ४० रूपैयाँसम्म दिने गरेको उनको भनाइ छ ।

तिहारको लागि ४५ करोडको झिलिमिली बत्ती आयात, आयातअनुसार माग नभएको व्यवसायीको गुनासो

काठमाडौं । विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री,मखमली,गोदावरी फूल र दियो बत्ती पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग गरी तिहारलाई अझ विशेष बनाउने गरिन्छ । केही वर्षदेखि तिहारमा सबैभन्दा बढी विद्युतीय बत्तीहरुको प्रयोग गर्ने प्रचलन बढेको छ । तिहार लागेसँगै हरेक पसल तथा घरलाई झिलिमिली बनाउनको लागि झिलिमिली बत्तीको प्रयोग गर्ने गर्दछन् । विगतमा नेपालीहरुको माटोको दियो बालेर तिहारमा झिलिमिली बनाउने गर्दथे भने देशमा पर्याप्त विद्युत उपलब्ध भएसँगै विद्युतीय बत्तीहरुको प्रयोग गरिन थालेको छ । हरेक वर्ष विद्युतीय व्यवसायीहरुले बजारको मागअनुसार झिलिमिली बत्तीहरु आयात गर्ने गरेका छन् । तिहारमा हरेक वर्ष झिलिमिली माला लगायतका बत्तीहरुको माग बढेसँगै आयातमा पनि वृद्धि हुँदै आएको छ । तिहारमा हरेक वर्ष १० प्रतिशतले आयात वृद्धि हुँदै गएको व्यवसायीहरु बताउँछन् । तिहारको लागि गत वर्ष ३६ करोड बराबरका विद्युतीय दियो, मालाबत्ती लगायत झिलिमिली बत्तीहरु आयात भएकोमा यो वर्ष १० प्रतिशतले वृद्धि भएर लगभग ४० देखि ४५ करोड रुपैयाँ बराबरको बत्ती आयात भएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताए । अध्यक्ष देवकोटाले यस वर्षको तिहारका लागि करिव ४५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको उल्लेख गरे । उनले विशेषगरी तिहारमा लक्ष्मीपूजाको दिनसम्म झिलिमिली बत्तीको व्यापार हुने बताए । उनले आर्थिक मन्दीका कारण यस वर्षको तिहारमा आयात भएअनुसार झिलिमिली बत्तीको व्यापार धेरै नहुने अवस्था देखिएको बताए । उनले बजारको माग भन्दा बढी झिलिमिली बत्ती आयात भएको भन्दै बजारमा झिलिमिली बत्तीको माग गत वर्षको तुलनामा कमी रहेको बताए । उनले भने, ‘तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी माला बत्तीहरु मागसँगै व्यापार बढेको छ । त्यहीअनुरुप सप्लाई पनि भएको छ । विगत भन्दा माला बत्तीहरुको आयात पनि बढेर आएको छ । तर जुन अनुपातमा बत्तीहरुको आयात बढे पनि व्यापार भने बढ्न सकेको छैन । आर्थिक संकुचनको कारण घर निर्माणसँग सम्बन्धित व्यवसाय भएकाले घर निर्माण नभएकाले व्यापारमा कमी आएको छ । गत वर्षको तिहारमा ३६ करोड बराबरको तिहारको लागि झिलिमिली बत्तीहरुको आयात गरेका थियौं । त्यहीअनुसार बजारमा गएको थियो । गत वर्षको भन्दा आयात बढेर ४५ करोड बराबरको सामान आयात भएको छ । तर माग भने कम भएको छ ।’ उनले एउटै झिलिमिली बत्तीमा ७ प्रतिशतसम्म मूल्यवृद्धि भएको बताए । उनले भन्सारमा चीनबाट आयात भएका बत्तीहरुको सरकारले मूल्याङ्कन डलरमा गर्दा व्यवसायी र उपभोक्ता मर्कामा परेको बताए । उनले झिलिमिलि बत्ती विशेषगरी चीन र भारतबाट आयात हुने गरेको बताउनु भए । उनले ९० प्रतिशत बत्ती चीनबाट र बाँकी भारतबाट आयात हुने गरेको बताए ।

व्यवसाय र सामाजिक काममा सँगसँगै कल्पना

काठमाडौं । धादिङ गजुरीकी कल्पना बस्नेतलाई समाज सेवा असाध्यै रुचिको विषय हो । उनले समाज सेवामै डेढ दशक बिताइसकिन् । कल्पना सकेसम्म महिलालाई अगाडि बढाउने र उनीहरूको जीवनस्तर उकास्ने खालको सामाजिक काममा खटिइरहन्छिन् । पुरुषप्रधान समाजमा जुनसुकै पेसा र क्षेत्रमा पनि पुरुषमात्रै अगाडि बढ्ने तर महिला सधैं पछाडि परेको देख्दा उनलाई सधैं मनमा च्वास्स भइरहन्थ्यो । लामो समय जागिर र पछि आफ्नै व्यवसायमा होमिएपछि भने कल्पनालाई महिला दिदीबहिनीलाई ‘फ्रन्टलाइन’ मा ल्याउनुपर्छ भन्ने महसुस भयो । अनि, कल्पनाले छानिन्, ‘लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन’ । यो यस्तो संस्था हो जसमा विभिन्न पेसा–व्यवसाय गरिरहेका २८ महिला संलग्न छन् । यिनै महिला दिदीबहिनी मिलेर स्थापना गरेको सिद्धार्थ एभरग्रिनको चार्टर प्रेसिडेन्ट हुन् कल्पना । उनले १५ वर्ष सामाजिक क्षेत्रमा काम गरिन् । समाजसेवा गर्दा छुट्टैखाले आनन्द महसुस हुने उनी बताउँछिन् । पछिल्लो समय पनि कहीँकतै आबद्ध भएर समाजसेवा गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी उनमा जागिरह्यो । समाजमा योगदान गर्न सिद्धार्थ एभरग्रिन रोजेको उनी खुसीसाथ सुनाउँछिन् । सिद्धार्थ एभरग्रिनमा उद्योग, व्यवसाय, सञ्चारमाध्यम, शिक्षा, प्रहरी सेवालगायत क्षेत्रमा आबद्ध महिला समेटिएका छन् । विशुद्ध सामाजिक कार्य गर्ने मनसायले यो संस्था दर्ता गरिएको हो । ‘विशुद्ध सामाजिक काम गर्ने मनसायले यो संस्था दर्ता गरिएको हो,’ कल्पना भन्छिन्, ‘यो एक समुदायमा आधारित संस्था भएका कारण यसले नेपाली कला, संस्कृति र समाजका अन्य विषयवस्तु संरक्षणलाई प्राथमिकता दिँदै आएको छ ।’ कल्पनालाई सामाजिक क्षेत्र होस् वा अन्य कुनै क्षेत्र, त्यसमा महिला नै अग्रसर हुनुपर्छ भन्ने लाग्छ । ‘पुरुषहरूमा जति योग्यता र क्षमता छ, त्यति नै योग्यता र क्षमता महिलामा पनि छ,’ कल्पना हौसिन्छिन्,’ ‘समाजमा हामीले धेरै जिम्मेवारी बहन गरेर नेतृत्व गर्दै आएका महिला र उनीहरूका योगदान पनि देखेका छौं । अवसर पाए जे र जस्तोसुकै काम गर्न सक्छौं भन्ने ठानेर पनि हामी महिलामात्रै मिलेर यो संस्था सञ्चालन गरेका हौं । हरेक महिलाको जीवनस्तर उकास्न र नेतृत्वदायी भूमिकामा अब्बल बनाउन हाम्रो संस्थाले काम गर्छ ।’ ००० वि.सं २०३७ सालमा धादिङ गजुरीमा जन्मिएकी हुन् कल्पना । सानै छँदा उनको घरमा आगलागी भयो । त्यसपछि उनको परिवार गजुरी बजार बसाइँ सर्यो । कल्पनाले गजुरी हाइस्कुलबाट विद्यालय शिक्षा अगाडि बढाइन् । सानैदेखि प्रष्टसँग आफ्ना कुरा राख्न सक्ने खुबी भएकी उनी पढाइमा अब्बल थिइन् । पढाइमा छात्रवृत्ति पनि पाइन् । पढाइबाहेक कल्पना विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिन्थिन् । ‘म स्कुलमा हुने सबै कार्यक्रममा भाग लिन्थेँ,’ उनी सम्झिन्छिन्, ‘नाच्ने, गाउनेदेखि विभिन्न खेलकुदका गतिविधिमा पनि भाग लिएर मैले धेरै पुरस्कारहरू जितेको अहिलेसम्म पनि ताजै लाग्छ ।’ वि.सं २०५४ सालमा एसएलसी (हालको एसईई) दिने तयारीमा थिइन् । परिवारमा बज्रपात आइलाग्यो । उनले बुबा गुमाइन् । उनका बुबा क्यान्सरका बिरामी थिए । बुबा गुमाएको १२ दिनपछि उनको एसएलसी परीक्षा थियो । बुबाको निधनबाट विक्षिप्त कल्पनाले जेनतेन परीक्षा दिइन् । बढाे तनाबका बीच एसएलसीमा उनले ‘सेकेन्ड डिभिजन’ ल्याइन् । एसएलसीपछिको पढाइ काठमाडौंबाट सुरु गर्ने योजना बनाउँदै थिइन् उनी । तर, उनलाई ब्रिटिस क्याम्प पोखराबाट कामको अफर आयो । त्यहाँ उनी दुई साताका लागि काम गर्न गइन् । ‘त्यहाँ काम गरेको पैसाले मैले आफ्ना लागि झुम्का पनि बनाएकी थिएँ,’ उनले विगत स्मरण गर्दै भनिन् । त्यहाँको काम सकिएपछि कल्पना उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आइन् । बागबजारको पद्मकन्या क्याम्पसमा आइए भर्ना भइन् । ‘मैले त्यहाँ साइकोलोजी विषय लिएर पढ्न थालेँ,’ उनी भन्छिन, ‘आइए सकिएपछि त्यही विषयमा मैले त्यहीँबाट नै स्नातक सकेँ ।’ तर, मास्टर्स (स्नातकोत्तर) भने कल्पनाले त्रिचन्द्र कलेजबाट सकिन् । ००० पद्मकन्यामा ब्याचलर (स्नातक) पढ्दै गर्दा वि.स २०५९ सालमा उनको धादिङ किरानचोकका राजेन्द्र बरालसँग विवाह भयो ।   विवाह भएको १५ दिन गाउँ बसेपछि कल्पना फेरि काठमाडौं फर्किइन् । माओवादी द्वन्द्वका कारण गाउँमा बस्न सक्ने स्थिति नभएपछि उनको परिवार नै बसाइँ सरेर काठमाडौं आयो । त्यो समय काठमाडौंमा बस्न त्यति सहज भने थिएन । एकजनाको कमाइले काठमाडौंको जीवनयापन सहज नहुने भएपछि कल्पनालाई जागिरको आवश्यकता पर्यो । ‘हाम्रो घर थिएन, कोठा भाडामा बस्थ्यौं,’ उनी भन्छिन्, ‘खर्चका हिसाबले पनि हामीलाई तत्कालै जागिर आवश्यक पर्यो । बच्चा जन्माउने योजना पनि भइसकेकाले जागिर निकै महत्वपूर्ण थियो ।’ घर व्यवहार चलाउनुपर्ने जिम्मेवारी पनि थपिएपछि कल्पना काम खोज्न थालिन् । त्यसपछि उनले बसुन्धाराको एउटा इन्स्टिच्युटमा पढाउन थालिन् । त्यहाँ उनले अर्थशास्त्र पढाउँथिन् । त्यहाँ काम गर्दै गर्दा उनको छोरी पनि जन्मिइन् । ‘काम त गर्नु नै थियो,’ उनी भन्छिन्, ‘छोरीको जिम्मेवारी पनि थपियो ।’ छोरीकै हेरचाहमा समय बिताइरहेकी कल्पनाले ‘भ्वाइस अफ चिल्ड्रेन’ ले भ्याकेन्सी खुलाएको थाहा पाइन् । उनले त्यहाँ अप्लाई गरिन् । उनको नाम पनि निस्क्यो । सन् २००४ मा उनी भ्वाइस अफ चिल्ड्रेनमा आबद्ध भइन् । ६ महिनाकी छोरी सासुआमाको जिम्मा लगाएर कल्पनाले उक्त संस्थामा जुनियर एजुकेटरका रूपमा काम गर्न थालिन् । त्यस संस्थामा काम गर्दा उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिइन् र मास्टर्स सकिन् । सन् २००५ मा कल्पनाका श्रीमान राजेन्द्रले साथीसँग मिलेर ब्रिलियन्ट एजुकेसन कन्सल्टेन्सी खोल्ने निर्णय गरे । राजेन्द्रले ट्राभल एजेन्सीलगायत अन्य काम छाडेर कन्सल्टेन्सीलाई प्राथमिकतामा राखे । कल्पना भने भ्वाइस अफ चिल्ड्रेनमै आबद्ध थिइन् । केही समयपछि राजेन्द्रले उक्त कन्सलटेन्सी एक्लै चलाउने निर्णय गरे । सुरुमा उनीहरूले यूके, अष्ट्रेलिया, यूएसए, क्यानडाको काम थाले । उनीहरूले सुरुमा काम थालेका देशका आफ्नै नीतिनियम र उतारचढाव भएका कारण भिसा लगाउन पनि गाह्रो भएको कल्पना सम्झिन्छिन् । ‘त्यति हुँदा पनि हामीले संघर्ष गर्न छाडेनौं,’ कल्पना भन्छिन्, ‘श्रीमानलाई मैले भरपुर सहयोग गरेँ । एकअर्काको साथ सहयोगबिना त माथि उठ्न कठिन नै हुन्छ ।’ कल्पना भने भ्वाइस अफ चिल्ड्रेनमा नै आबद्ध भइरहिन् र राजेन्द्रको बिजनेसमा पनि आफूले सकेको सहयोग जारी राखिन् । भ्वाइस अफ चिल्ड्रेनमा आबद्ध भएर काम थालेको १० वर्षपछि कल्पनाले सिनियर म्यानेजर पनि भएर काम गर्ने अवसर पाइन् । त्यहाँ लामो समय काम गरेपछि कल्पनालाई अब आफ्नो बिजनेस सम्हाल्नुपर्छ भन्ने लाग्यो । उनी सन् २०१४ मा भ्वाइस अफ चिल्ड्रेनबाट बाहिरिइन् । त्यहाँ काम छोडे लगत्तै कल्पनाले ‘ब्रिलियन्ट एजुकेसन कन्सलटेन्सी’ मा राजेन्द्रलाई सघाउन पूरा समय खर्च गरिन् । यसमा पनि उनले परिवार र श्रीमानको भरपुर सहयोग पाइन् । कल्पनाले जागिर खाँदा र आफ्नै व्यवसाय सञ्चालन गर्दा कुनै किसिमको रोकतोक भएन । ‘मेराे सासुआमाले पनि कुरा बुझ्ने भएकाले मैले उहाँलाई कुनै दिन बुझाउनु परेन,’ कल्पना भन्छिन्, ‘मलाई जन्म मेरो आमाले दिए पनि कर्म सासुआमाले दिनुभयो । मलाई कहिल्यै बुहारी हुँ भन्ने नै महसुस भएन ।’ बिहे गरेर घर भित्रिएपछि उनलाई सासुआमाले ‘तिमी पढेलेखेको मान्छे, यत्तिको मान्छेले घर बसेर समय खेर फाल्नु हुँदैन । बाहिर हिँड्नुपर्छ काम गर्नुपर्छ’ भनेर हौसला दिइरहन्थिन् । ‘म विभिन्न संघसंस्थामा कार्यरत हुँदा कहिले कामका कारण समयमा घर पुग्न ढिला हुन्थ्यो,’ उनी भन्छिन्, ‘म राति १० बजे घर पुग्दा पनि सासुआमा मलाई खाना खान कुरेर बस्नुहुन्थ्यो ।’ घरमा पनि कहिल्यै नरमाइलो महसुस नभएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मैले जहिले हौसलामात्र पाइरहेँ । ००० ब्रिलियन्ट एजुकेसन एन्ड करियर सर्भिसेस नेपालका प्रमुख र अग्रणी शैक्षिक परामर्शदाता कम्पनीमध्ये पर्छ । यसले विदेशमा आफ्नो करियर बनाउन इच्छुक विद्यार्थीहरू तथा युवा पुस्तालाई उत्कृष्ट सेवा दिँदै आएको छ । ब्रिलियन्टले शैक्षिक प्रोफाइल, वित्तीय अवस्था र अध्ययन उद्देश्यलगायत मापदण्डअन्तर्गत रहेर करियरको बाटो छनाेट गर्न सहयोग गर्दै आएको छ । संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, जर्मनी, न्यूजिल्यान्ड, जापान, बेल्जियमलगायत देशमा अन्तर्राष्ट्रिय गुणस्तरको अध्ययन गर्ने विद्यार्थीका निर्णयलाई मूर्तरूप दिन ब्रिलियन्टले सहयोग गर्ने गर्छ । त्यसैगरी ब्रिलियन्टले व्यवस्थापन, विज्ञान, इन्जिनियरिङ, बैंकिङ, वित्त, आइटी, एनिमेशन, मल्टिमिडिया, गेमिङ, आतिथ्य सत्कार, नागरिक उड्डयन, पर्यटन, डिजाइन, चिकित्सा, सौन्दर्य, हेल्थ केयर, खुद्रा, कला, कानुनसहित सबैभन्दा बढी मनपराइएका शैक्षिक क्षेत्रका कलेजमा ग्रेजुएसन र अन्डर ग्रेजुएसन अध्ययनबारे विस्तृत जानकारी उपलब्ध गराउँछ । विद्यार्थीहरूको अन्तर्राष्ट्रिय यात्रा अझै अगाडि बढाउन ब्रिलियन्टले विभिन्न देशका आवश्यकताअनुसार विभिन्न भाषा कक्षा उपलब्ध गराउने काम पनि गर्ने गर्छ । जसबाट विद्यार्थीहरूलाई भाषागत सञ्चारसँगै शैक्षिक योग्यतामा अब्बल हुन मद्दत पुग्छ । यसका साथै ब्रिलियन्टले प्रत्येक भाषा परीक्षाका लागि विशिष्ट र मानकअनुसारका शैक्षिक सामग्रीसहित वास्तविक परीक्षणको तयारी पनि गर्ने गर्छ । ००० कन्सल्टेन्सीमा पढ्न आउने विद्यार्थी र अभिभावकको पनि भरपुर सहयोग मिलेको कल्पना खुसीसाथ सुनाउँछिन् । कन्सलटेन्सीमा पढ्न आउने विद्यार्थीलाई सल्लाह सुझाव दिँदा पनि ध्यान पुर्याउनुपर्ने अवस्था रहेको उनी बताउँछिन् । ‘कतिपय अभिभावकहरू तपाईंको कन्सलटेन्सीबाट मेरो छोराछोरी विदेश पठाउँछु भनेर खुसीसाथ आउनुहुन्छ,’ कल्पना सुनाउँछिन्, ‘धेरै प्रयास गर्दा पनि कुनै–कुनै विद्यार्थीको भिसा लाग्दैन । त्यतिबेला आफूलाई पीडा हुन्छ । विदेश जानकै लागि उहाँहरूले गर्नुभएको संघर्ष सानो हुँदैन । तर, हरेक कुरा कन्सल्टेन्सीको हातमा पनि हुँदैन । उहाँहरूको दुःख, मिहिनेत र खर्चको माया लागेर आउँछ ।’ पछिल्लो समय कल्पनाले अस्ट्रेलिया, क्यानडा र युएसए भ्रमण गरिन् । त्यहाँ उनलाई आफ्नो कन्सलटेन्सीबाट गएका विद्यार्थीहरूले राम्रो गरिरहँदा खुसी लागेको छ । ‘त्यहाँ उनीहरूसँग भेट्दा र उनीहरूले दिने सम्मानले पनि खुसी दिलाउँछ,’ उनी भन्छिन्, ‘उनीहरूले गरेको विश्वासले नै हामी पनि चलेका छौं ।’ ००० कल्पना आफ्नो कन्सल्टेन्सीले पहिले देश र त्यसपछि विदेशलाई राखेको बताउँछिन् । ‘हामीले हाम्रो कन्सलटेन्सीमा आउने विद्यार्थीलाई हाम्रो देशमा पनि राम्रा कलेज छन्, यहाँ नै पढ्दा पनि राम्रो हुन्छ भनेर सम्झाउँछौं,’ उनी भन्छिन्,’ ‘अब यहाँ आफूलाई पढ्न मन लागेको विषय छैन र जानैपर्ने छ भनेमात्रै विदेशका लागि तयारी गरौं भनेर सुझाव दिन्छौं । हामीले सकेसम्म आफ्नै देशलाई प्राथमिकतामा राख्ने प्रयास गर्छौं ।’ विदेश नै गएर पढ्छु भन्ने विद्यार्थीलाई पनि त्यहाँ पढाइ सिध्याएर डिग्री लिएपछि नेपालमै आएर केही गर्नुपर्छ भनेर सम्झाउने गरेको कल्पना बताउँछिन् । ‘देशलाई माया गर्नुस्, तपाईंहरूजस्तो जनशक्ति देशलाई नै चाहिन्छ । तपाईंहरू जत्तिको मान्छे विदेश पलायन हुँदा देशका लागि योगदान कसले गर्छ भनेर सकेसम्म सम्झाउँछौं,’ उनी भन्छिन् । जति पनि युवा विदेश पलायन भएका छन् र विदेशमा उनीहरूले जे जस्तो ज्ञान, सीप सिकेका छन्, त्यसलाई देशमा नै आएर खर्च गर्नुपर्ने कल्पनाको भनाइ छ । सरकारको पनि आफ्नै नीतिनियम भएको कल्पना बताउँछिन् । सरकारले पनि आफ्ना तर्फबाट गर्नुपर्ने काम धेरै छन् । देशमा नै सैद्धान्तिक, व्यावहारिक र वैज्ञानिक शिक्षा प्रणली विकास हुन जरुरी रहेको उनको तर्क छ । ‘अहिले नेपालमा पनि धेरै राम्रा सरकारी विद्यालय विकसित हुँदैछन्,’ उनी भन्छिन्, ‘देशलाई नै लक्ष्यित गरेर शिक्षा प्रणली विकसित गर्ने हो भने विदेश जानुपर्ने वाध्यता केही हदसम्म अन्त्य हुने देखिन्छ । हाम्रो देशमा जति शिक्षा सहर केन्द्रित छ, त्यही शिक्षा गाउँमा पनि उपलब्ध गराउने हो भने नेपालको शिक्षा प्रणाली राम्रो हुने निश्चित छ ।’