बेलायतमा कोरोना भाइरसको प्रकोप बढेसँगै नेपाली समुदायमा त्रास
लन्डन । चीन, इटाली, स्पेन र अमेरिकाको तुलनामा बेलायतमा शुरुमा कोरोना भाइरसको प्रभाव नपरेजस्तो देखिए पनि पछिल्लो एक हप्तामा यहाँ पनि सङ्क्रमण दर ह्वात्तै बढेको छ । यसबाट यहाँको जनजीवन प्रभावित भएसँगै नेपाली समुदायमा पनि त्रास फैलिएको छ । यो हप्ता सङ्क्रमण हुनेहरूको सङ्ख्या एक्कासी आकासिएर ११ हजार पुगेको छ भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५ सय नाघेको छ । पछिल्ला पाँच दिनमा मात्र यहाँ प्रत्येक दिन क्रमशः ५७, ४८, ५६ र ८७ र ४३ जनाको मृत्यु भएको छ । यसरी एकाक्सी बढेको कोरोनाको प्रभाव शुन्यमा झार्न कम्तीमा पनि १२ हप्ता लाग्नसक्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताए । कोरोनाको प्रभाव बढे पनि यहाँ पूरा देशभर ‘लकडाउन’ गर्ने सोच भने सरकारले राखेको थिएन । त्यसैले गत हप्ताको शुक्रबारबाट केवल स्कुल, कलेज र विश्वविद्यालय मात्र बन्द गर्ने घोषणा गरेको थियो । नागरिकले अपनाउनु पर्ने सामान्य सावधानी समेत अवलम्बन नगरी पार्क एवं समुद्री किनारमा सयौँको सङ्ख्यामा भेला भएको र कोरानाका कारण बजारमा खाद्यान्नको कृत्रिम अभाव समेत देखिए पछि सरकारले यहि २३ मार्च देखि लकडानको धोषणा गरेकोछ । अब घरायसी सामान तथा औषधी किन्न बढीमा एकाघरका दुई जना मात्र घर बाहिर जान पाइने र दिनको एक पटक शारीरिक व्यायमका लागी बाहिर निस्कन पाइने भनिएको छ । त्यसैगरी काममा जान सार्वजनिक यातायात मात्रै सवारी साधनको विकल्प रहेको अवस्थामा बाहेक अन्य अवस्थामा सार्वजनिक यातायात नचढ्न अनुरोध गरिएको छ । त्यस्तै यहाँका सुपरमार्केटहरुमा पनि एक पटकमा पाँचजना मात्र भित्र छिर्न दिइएको छ । उनीहरुले बजारमा आफूले चाहेजति सामान किन्न पाएका छैनन् । एक परिवारलाई निश्चित परिमाणमा मात्र सामग्री किन्न पाउने नियम बनाइएको छ । बेलायतमा कति नेपाली छन् भन्ने खासै यकिन तथ्याङ्क त छैन, तर विभिन्न संस्थाहरूले आँकलन गरेअनुसार यहाँ करिब दुई लाखको सङ्ख्यामा नेपाली छन् । यीमध्ये बढी त भुतपूर्व गोर्खाका परिवारहरू अधिक छन् । भने त्यसपछि दक्ष सीपयुक्त नेपाली आएका छन् । त्यसपछिका धेरै विद्यार्थीहरू पर्दछन् । बासस्थानका हिसाबले अध्ययन गर्दा अधिकतम नेपालीहरु लण्डनभन्दा बाहिर बसोबास गर्ने गरेका छन् । भुपु गोर्खाहरूको बाक्लो बस्ती रहेका ठाउँहरू फानब्रो, क्यन्ट, अल्टरसट हुन् । यसबाहेक हन्सो, वयम्ली, ह्यारो लगायतका ठाउँमा पनि नेपालीहरुको बसोबास रहेको छ । बेलायतमा भुपु गोर्खा सैनिकहरूको हकहितका लागि भनेर खोलेका करीब आधा दर्जन संघसंस्थाहरु छन् । तर उनीहरूको प्रमुख एजेण्डा भने आँफूहरूको असमान पेन्सनमा मात्र केन्द्रित रहेको देखिन्छ । यतिखेर बृटिश नागरिकजस्तै बेलायतमा बस्ने नेपाली समुदायका मानिस पनि कोरोनाको त्रासमा रहेका छन् । गत हप्ता मात्र लण्डनको ह्यारो बरोमा रहँदै आएका एक पूर्व गोर्खा लीलाबहादुर राईको कोरानाका कारण मृत्यु भएको आशङ्का गरिएपछि नेपाली समुदायमाा झनै त्रास फैलिएको हो । कतिपय समाचारले उनको मृत्यु कोरोनाका कारण नै भनेर लेखे पनि खासमा उनी लामो समय देखी निमोनियाबाट ग्रसित रहेको अस्पतालको रिपोर्टमा उल्लेख छ । यस्तै सोही बरोमा बस्दै आएकी श्रीमती भगवती रानाभाट कोरोनाबाट सङ्क्रमित भई उपचार पछि चौध दिनमा नर्थवीक पार्क अस्पतालबाट डिस्चार्ज भए। यस्तै बिहीबारसम्मको समाचारअनुसार लण्डनको साउथईष्टमा एक जना नेपाली कोरोनाको कारण सघन उपचार कक्षमा भर्ना भएका बताइएको छ । बेलायतमा कोरोनाको कारण नेपाली समुदायमा खास गरी सबैभन्दा बढी असर भुपु गोर्खा परिवारका ज्येष्ठ नागरिकमा परेको यहाँका नेपाली समुदायका नागरिकको अनुभव छ । त्यस्तै गत वर्षमात्र डिसेम्बर र यो वर्षको जनवरीमा भर्ना भएर पढ्न आएका विद्यार्थीहरूलाई यस महामारीको बढी प्रभाव परेको देखिन्छ । त्यसमा पनि भुपु गोर्खाहरू जसका आफ्ना सन्तान बेलायतमा छैनन् र एकल पुरुष र महिला छन् उनीहरु बढी मर्कामा परेको देखिएको छ । कोरोनाका कारण बाहिर जान कठिनाई हुने, कसैगरी बजारसम्म पुगे पनि खाद्यान्न आभाव हुने गरेको छ । कोरोनाको कारण लकडाउन नहुँदै चाहिने भन्दा बढी सामान थुपारिएको कारण सामान समेत पाइएको छैन । यहाँका व्यापारी र सरकारले पनि खाद्य सामग्री बजारमा प्रशस्त मात्रामा रहेको भनिए पनि ठूला सुपरमार्केटमा सामानको अभाव देखिएको छ । जसको उदाहरण ट्वाइलेट पेपरका लागि बजारमा नागरिकले लुछाचुँडी गरिरहेका ‘भिडियो क्लिप’ हरू सामाजिक सञ्जालमा हेर्न पाइन्छ । बेलायतमा कोरोनाको प्रकोप बढ्दै जाँदा पछिल्लो सयममा नेपाली विद्यार्थीहरूलाई यसको समस्या बढी देखिन थालेको छ । केही विद्यार्थीले त आँफुले पढ्ने विश्वविद्यालय बन्द भएको र काम पनि नगरेको हुँदा बस्न खानलाई पैसा नभएको भनिरहेका छन् । खासगरी गत डिसेम्बरमा पढ्न आएका विद्यार्थीहरूले अझै काम पाएका छैनन् भने कतिपयले भर्खर काम शुरु गर्न लागेको बताएका थिए । यसबीचमा प्रकोप बढ्न थालेपछि काम छोड्नु परेकोले झनै अफ्ठारोमा परेको बताउँछन् । यहाँको सरकारले पनि अत्यावश्यक सामग्री बाहेक कपडा स्टेशनरी लगायतका पसलहरू बन्द गर्न भनेपछि यस्तै ठाउँमा काम भएकाले पनि छाड्नु परेको छ । सरकारले पप रेष्टुरेन्टमा काम गर्ने कामदारलाई तलबको ८० प्रतिशत रकम दिने नीति केही दिनअघि घोषणा गरेको छ । तर तिनमा काम गर्नेमा नेपाली विद्यार्थी भने निकै कम छन् । एक त यहाँ कामै पाउन गाह्रो छ । अर्को कुरा कामै पाए पनि हप्तामा २० घण्टामात्र कामगर्ने अनुमति भएका कारण विद्यार्थीहरू निकै अफ्ठारोमा छन् । लण्डनभन्दा बाहिर रहेको हडलफिल्ड विश्वविद्यालयमा मात्र यो जनवरीमा एकसय भन्दा बढी विद्यार्थी आएका छन् । तुलनात्मक रुपमा लण्डन भन्दा बाहिर बस्न डेरा भाडा सस्तो हुने गर्दछ । तर ती स्थानमा सुपरमार्केट थोरै हुने हुँदा सामान महङ्गो र पाउने सम्भावना समेत कम हुन्छ । सुनसरी घर भई हाल हडलफिल्ड विश्वविद्यालयमा ईन्जिनियरिङ पढ्ने एकजना विद्यार्थीले आफ्नो नाम नबताउने शर्तमा अब दोस्रो हप्तादेखि खान पनि समस्या हुने बताएका थिए । उनले ती क्षेत्रमा आफ्नोजस्तै अवस्थामा अरु कम्तीमा पनि ३० जना विद्यार्थी रहेको बताएका छन् । सरकारले पप रेष्टुरेन्ट, जीम, पार्क एवं स्कुलहरू बन्द गर्न भनेपनि पूर्ण रुपमा लकडाउन गरेको थिएन । दुई दिनअघिमात्र एकै दिनमा ५६ जनाको मृत्य भएपछि यहाँ सन्त्रास बढेको हो । बेलायतमा रहेका कतिपय नेपालीले दुख परेका नेपालीलाई हामी खाना र बास दिन्छौं भने पनि यसको समन्वयको अभाव छ । भुकम्पका बेला लण्डनमा रहेको नेपाली दुताबासले समन्वयात्मक भूमिका खेलेका कारण बेलायतका नेपाली संघसंस्थाहरूले साधारण मात्रामा भए पनि सहयोगमा जुटेका थिए । त्यो बेला पनि एनआरएनएले राज्यलाई नदिएर हामीलाई रकम दिनुस् भनेर समेत छुट्टै अभियान चलाएका थिए । यो पटक लन्डनस्थित नेपाली दुताबासले कोरोना प्रकोपसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति गठन गरेको छ । यसमा एक मूल समिति र थप पाँच वटा उपसमिति बनाई संयोजक र अन्य सदस्यहरू राखिएको छ । यो समिति र दूताबासको भुमिकाबारे दूताबासका प्रवक्ता एव नियोग उपप्रमुख सरदराज आरनले नेपाली समुदायका कसैले सहयोग गर्न चाहेमा ती व्यक्तिहरूलाई पीडितसँग समन्वय गराई सहयोग गर्न आग्रह गर्नेगरी मध्यस्थकर्ताको रुपमा काम गर्ने बताए। दूताबासले छुट्टै आर्थिक वा अन्य खाद्यान्न सहयोग गराउने कुनै योजना नरहेको पनि उनले जानकारी दिए । सरकारका अधिकारीहरूले राज्यको ‘फुड ब्याङक’मा आवश्यक खाद्यान्न छ भनेपनि बजारमा खाद्यान्यको अभाव भएपछि दुःख पाउने स्थिति झनै बढेको देखिन्छ । विशेषगरी लन्डनका सुपरमार्केटहरुमा वृद्धवृद्धाहरू खाली बास्केट हातमा लिएर घुमिरहेको देखिन्छ । व्यापारीहरूले कामदारहरू समेत अभाव रहेकोले पनि सामान आपूर्ति गर्न कठिनाई भइरहेको बताएका छन् । उनीहरुले अस्थाई कामदारको माग गरिरहेको देखिन्छ तर काम गर्न मानिसहरु त्यति तयार पनि देखिँदैनन् । आस्डा, लिडल, टेस्को, कोपलगायतका ठूला सुपरस्टोरहरूले कम्तीमा पनि ४ हजार जना अस्थाई कामदारका लागि विज्ञापन गरेका छन् । बजारमा औषधीको पनि अभाव हुँदैछ । औषधी बेच्ने सबै भन्दा ठूलो पसल बुड्सले आफ्ना नियमित ग्राहकलाई समेत औषधी पुर्याउन कठिन भएको बताएको छ । बुड्स जस्ता औषधी पसलहरूले निःशुल्क रुपमै घरमा औषधी पुर्याउन सहयोग गर्र्छौं भनेर बाचा गरे पनि त्यो काम पूर्ण रुपमा भएको छैन । औषधीको अभावका कारण पनि भुपु गोर्खाका बृद्धाबृद्धहरुलाई असर पर्ने सो समुदायका नागरिकले बताएका छन् । एकातर्फ अहिले कोरानाको दुरी कायम गर्न प्राथमिक स्वास्थ चौकीहरूले प्रत्यक्ष भटेर परामर्श दिन छोडेका छन् । फोनबाट चिकित्सक र नर्सले परामर्श दिँदा पनि अङ्ग्रेजी भाषाको समस्या छ । राज्यले दोभाषेको व्यवस्था गरे पनि अधिकांश दोभाषेहरू घरमै एकान्तवास (सेल्फ आइसोलेशन) मा छन् । सरकारले घरमा सेल्फ आइसोलेसमा बसेका र परिवारमा अरु कोही सदस्य नरहेकालाई सरकारका स्थानीय प्रतिनिधिहरु र काउन्सिलहरूलाई परिचालन गरी घरमै खाद्यान्य पुर्याउने योजना सुनाएको छ । तर त्यसले पनि नेपाली समुदायलाई सहयोग पुगेजस्तो देखिँदैन । प्रत्येक दिनको बढ्दो मृत्युका कारण अस्पतालमा शैयाको खाँचो बढ्दै गएको छ । त्यसैले यहाँका निजी अस्पतालले आफ्ना उपकरणसहित प्रयोगका लागि अस्पताल भवन दिएका छन् । सैनिकहरूले पनि आफ्नो अस्पताल दिने घोषणा गरेका छन् । पछिल्लो २४ घन्टामा लण्डनमा रहेका कतिपय खाली भवनहरुलाई अस्थाई अस्पतालका रुपमा परिणत गरिएको छ । अस्पतालमा कामदारको अभाव भए पछि यहाँका करिब ४ लाख पूर्व कर्मचारीहरूले स्वयंसेवकका रुपमा काम गर्न तयार रहेको भन्दै फारम भरेका छन् । यसकारण उपचारमा अब अलि बढी सुविधा हुने देखिन्छ । यस्तै सरकारले अब एक दुई दिन भित्रै प्रत्येक नागरिकका घरमा कोरोना भाइरस जाँचको लागि कीट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । जुन कीटको प्रयोगले पन्ध्र मिनेट भित्र कोरोनाको सङ्क्रमण भए नभएको थाहा हुने बताइएको छ । यो कीट प्रयोगका लागि दिइने परामर्शमा यहाँका नेपाली समुदायले व्यापक रुपमा स्वयंसेवक परिचालन नगरे पुनः नेपालीहरू यसको उपयोगमा पनि ढिला हुनेछन् । सन् २०१२ मा गरिएको एक अध्यायनले बेलायतमा रहेका नेपाली समुदाय दक्षिण एशियाका अन्य देशहरू भन्दा निकै कम मात्र अस्पताल जाने देखाएको थियो । यसरी कमैमात्र अस्पताल जानुको प्रमुख कारण अङ्ग्रेजी भाषा बाधक रहेको सो अध्ययनले देखाएको थियो । रासस
काठमाडौं उपत्यकामा लकडाउनको पूर्ण पालना
काठमाडाैं । कालिका खड्का कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको तेस्रो दिन काठमाडौं उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाएपछि ‘लकडाउन’को तेस्रो दिन आज काठमाडौँ उपत्यका निकै सुनसान देखिएको हो । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा गुडेको देखिन्छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सरकारले लकडाउन घोषणा गरेको तेस्रो दिन आज त्यसको पूर्णरुपमा पालना भएको छ । ‘पहिलो दिन धेरै नै उल्लङ्घन भयो, कतिले लकडाउनको अर्थ नबुझेर पनि हो कि, दोस्रो दिन केही कम उल्लङ्घन भयो तर आज पूर्णरुपमा पालना भएको छ’, उनले भने, ‘प्रहरीले ‘कृपया घरमै बस्नुस्’ भनेर उपत्यकाभरि माइकिङ गरिरहेको छ ।’ प्रहरीले उपत्यकाका ३२ ठाउँबाट माइकिङ गर्ने व्यवस्था गरेको छ । प्रहरीको भ्यानमा माइक राखेर सरकारको निर्देशनलाई पालना गर्न आग्रह गरिएको छ । ‘प्रहरीले टोलटोलमा गएर घरमै बस्नुस्, तपाईं र तपाईंको परिवारको सुरक्षाका लागि हो भनेर सचेतना जगाउने काम गरिरहेको छ’, प्रवक्ता बोगटीले थपे, ‘सरकारका लागि वा प्रहरीका लागि घरमा बस्नु भनेको होइन, आफ्नो ज्यान जोगाउनका लागि भनेर बुझाइरहेका छौं ।’ प्रहरीले पहिलो र दोस्रो दिन लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गरेको थियो । तर आज पूर्णरुपमा लकडाउनको पालना भएको हुनाले एकजनालाई पनि अहिलेसम्म पक्राउ गर्नु नपरेको प्रवक्ता बोगटीले जानकारी दिए । विश्वव्यापी रुपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी लकडाउनको घोषणा गर्यो । सरकारले बन्द गर्ने भनेपछि कफ्र्यु लगाउने शब्द सुनेका नागरिकले लकडाउनको अर्थ नबुझेर पनि केही मानिस घर बाहिर निस्किए । तर प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्न लागेपछि कति सचेत भएर घरमै बस्न थाले । सरकारले सङ्क्रामक रोग ऐन, २०२० जारी भएपछि देशैभर पहिलो पटक कार्यान्वयनमा आएको लकडाउनबारे नागरिक अनभिज्ञ हुँदा पहिलो दिन मङ्गलबार प्रहरी प्रशासनलाई बुझाउन निकै मुस्किल परेको थियो । नागरिक अनावश्यक हिँडडुल गर्न, जमघट हुन थालेपछि पक्राउ गर्नुपर्ने प्रहरीलाई बाध्यता नै भयो । लकडाउनमा अत्यावश्यकीय पसलबाहेक अरु सबै बन्द छन् । सरकारले दूध, पानी, खाद्यान्न, तरकारीलगायतका पसल खुल्ला राख्न आग्रह गरे पनि त्यस्ता अधिकांश पसल बन्द छन् । सरकारले अत्यावश्यकीय खाद्यान्न, तरकारी, फलफूल पसल खुला गर्न व्यवसायीलाई आग्रह गर्दा पनि त्यस्ता पसल पनि बन्द देखिएका छन् । रासस
शङ्कास्पद बिरामी बढेसँगै बागलुङमा कोभिड–१९ सङ्क्रमण रोक्ने तयारी
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न र फैलिन नदिन भएका प्रयासकै बीच मङ्गलबार बिहानै बागलुङमा एक्कासी त्रास छायो । गत सोमबार कतार एयरवेजमार्फत काठमाडौं आएकी एक किशोरीमा कोरोनाको सङ्क्रमण रहेको पुष्टि भएको समाचार काठमाडौँमा सार्वजनिक भएसँगै उनीसँगै एउटै जहाजमा आएका एक युवा जिल्लामा रहेको खबरले यहाँका स्थानीयमा भय उत्पन्न गर्यो । सरकारले उनीसँगै आएकाहरुको खोजी थालेको थियो । ती युवतीसँग कतारबाट सँगै आएका एक युवा बागलुङको ढोरपाटनमा रहेको पुष्टि भएपछि मङ्गलवार बिहान उनको खोजी शुरु भयो । त्यस लगत्तै ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीसहित स्वास्थ्यकमकर्मीको समूह उनको घरमै पुगेर ‘होम क्वारेनटाइन’ मा बस्न आग्रह गरेर फर्किएको छ । त्यसको केही समयमा ती युवासँग काठमाडौँदेखि बागलुङ आएका दुई जना युवाको विषयमा पनि खुल्न आयो । उनीहरु आफ्ना बुबाको काजकिरियामा रहेको खुलेपछि नगरप्रमुख नेपालीसहितको समूहले काजकिरिया सकिएपछि पनि १४ दिन नपुग्दासम्म एकान्तमा बस्न सुझाएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा मिलन मल्लले बताए । स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुपर्ने सुरक्षा कवच (प्रसनल प्रोटेक्टिभ इक्युपमेण्ट) को अभाव हुँदा बागलुङमा कोरोना भाइरसका शङ्कास्पद बिरामीको परीक्षणका लागि लिइने नमूना सङ्कलनसमेत प्रभावित भएको छ । सुरक्षा कवचको अभावका कारण गत चैत ५ गते फ्रान्सबाट कतारको हुँदै नेपाल आएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक महिलाको नमूना सङ्कलन गर्न नसकिएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । सोमबार काठमाडौंमा कोरोना सङ्क्रमणको पुष्टि भएकी महिलासँगै आएकी बागलुङकी महिलालाई पनि केही दिनदेखि ज्वरो आउने, रुघा लाग्नेलगायतका लक्षण देखा परेपछि उनको परिवार मङ्गलबार अस्पतालको सम्पर्कमा आएको थियो । काठमाडौंकी महिलामा सङ्क्रमण देखिएपछि परिवारले अस्पतालमा सम्पर्क गरेर उनी बिरामी रहेको जानकारी गराएको भए पनि कोरोना परीक्षणका लागि नमुना सङ्कलन गर्न कठिन भएको धौलागिरी अञ्चल अस्पतालका डा पुजन मल्लले जानकारी दिए । अस्पतालले सोमबारदेखि शङ्कास्पद बिरामी आउन थालेपछि सुरक्षा कवच तथा अन्य प्राविधिक सामग्रीको व्यवस्थापनमा लागेको छ । बुधबार मात्रै अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.शैलेन्द्र बि।पोखरेलले नेपाल सरकार स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग पहल गरेर पाँचथान सुरक्षा कवच प्राप्त गरेकाले बुधबार बिहानसम्म उनको घाँटीको स्वाब लिने काम हुने अस्पतालले जनाएको छ । यो भन्दा पहिले भारतको पट्नाबाट बागलुङ आएका एक जना शङ्कास्पद बिरामीको सोमबार घाँटीको स्वाब नमुना लिएर परीक्षणका लागि पठाइ सकिएको छ तर नतिजा आइसकेको छैन । कोरोना सङ्क्रमणले समस्या बढाएकै बेला बागलुङ बजारस्थित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर भने बन्द भएको सूचना आयो । अस्पतालले ढोकामै सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरेको जानकारी गराएको थियो । कोरोना भाइरस परीक्षण लगायतका सामग्री नभएकोले अस्पताल बन्द गरिएको सूचनामा उल्लेख छ । “हामीले ४ दिनअघिदेखि सामग्री मगाएका थियौँ, प्राप्त भएको छैन”, अस्पतालका अध्यक्ष सन्तोष रावलले भने । उनले सामाग्री आएमा तत्काल खुलाउन पनि सकिने बताए । सरकारी अस्पतालमा सामग्री र बीमाको कार्यक्रम हुने तर निजीमा नहुने भएकोले डाक्टर तथा कर्मचारीले पनि काम गर्न नमानेको उनको भनाइ छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले यस्तो अवस्थामा अस्पताल बन्द गर्नु राम्रो नभएको र निजी अस्पतालको दर्ता र कारवाहीको प्रकृया स्थानीय तहमा गएकोले खोल्न सुझाव मात्र दिएको बताए । “यस्तो बेलामा आकस्मिक सेवा मात्रै दिएको भएपनि राम्रो हुन्थ्यो” उनले भने । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले वर्तमान अवस्थामा कुनै जानकारीविना ढोकामा सूचना टाँसेर अस्पताल बन्द गर्नु अत्यन्तै गैरजिम्मेवारीपूर्ण काम भएको बताए । उनीहरुले किन अस्पताल बन्द गरेका हुन् स्पष्टीकरण सोधेर तत्काल कारवाही प्रकृया अगाडि बढाउने पनि उनले बताए । अस्पतालमा आउने सबै प्रकारका बिरामीको उपचार दिनुपर्ने बेला बन्द गर्ने काम मानवीयता बिरुद्धको भएको भन्दै जिल्लाभर नै विरोध भएको छ । सर्वसाधारणको चर्को बिरोध र सरोकारवालाको दवाव पछि अस्पताल प्रशासनले अस्पताल सञ्चालन हुने मङ्गलवार साँझ बताएको छ । विश्वव्यापी रुपमा कोरोना सङ्क्रमणको असर बढेसँगै विदेशबाट गाउँ फर्किएका ८ जनालाई यहाँको एक वडाले ‘होम क्वारेनटाइन’मा राख्ने भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीले विदेशबाट आएका आठ जनालाई होम क्वारेनटाइनमा राख्ने तयारी थालेको हो । वडा अध्यक्ष चित्रकला श्रीसको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले भारत, युएइ, कतार तथा जापानबाट घर फिर्ता भएकोहरुलाई १४ दिनसम्म आफ्नै घरमा अन्य व्यक्तिको सम्पर्क बाहिर रहेर बस्न आग्रह गर्ने निर्णय गरेको हो । कोरोनोको सम्भावित जोखिमलाई ध्यानमा राखेर क्वारेनटाइनमा राख्ने निर्णय गरिएको अध्यक्ष श्रीसको भनाई छ । सरकारले घोषणा गरेको लकडाउन पूर्ण रुपमा कार्यान्वयन गर्न सर्वसाधारणले अटेर गरेपछि यसलाई प्रभावकारी बनाउन बागलुङमा सेना परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकपछि बागलुङका प्रमुख जिल्ला अधिकारी गैलोचन सैंजुले मङ्गलबार आदेश जारी गर्दै सेना परिचालन गरे । आदेशमा निषेधाज्ञा जारी गरिएकाले त्यसलाई प्रभावकारी बनाउन नेपाली सेनालाई परिचालित हुन अनुरोध गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरी सोही ऐनको दफाको ६ को उपदफा २ बमोजिम नेपाली सेनाको अर्जुनबाण गण घोडाबाँधे ब्यारेकलाई परिचालित हुन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अर्जुनबाण गणका गणपति मिलनध्वज खाँडले आफुहरु प्रजिअको आदेशअनुसार परिचालित भएको पुष्टि गरे । कोरोना (कोभिड–१९) को सङ्क्रमणबाट जोगाउन देशभर लकडाउनको घोषणा गरेसँगै जिल्ला प्रशासन कार्यालय र यहाँका सरोकारवालाले क्वारेनटाइन निर्माणलाई तिब्रता दिएका छन् । बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित रामरेखा आधारभूत विद्यालयमा २० जना बिरामी अट्ने क्षमताको क्वारेनटाइन बनाउन लागिएको हो । यो बाहेक यहाँका केही विद्यालयका प्राङ्गडलाई आपतकालीन अवस्थामा प्रयोगमा ल्याउन सकिने जिल्ला सुरक्षा समितिले जनाएको छ । सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरस रोकथामको लागि आइसोलेसन वार्ड बनाउन सकिने व्यवस्था गरेसँगै रामरेखा आधारभूत विद्यालयमा २० जना क्षमताको क्वारेन्टाइन निर्माण थालिएको प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले जानकारी दिए । सदरमुकाम बाहिरका स्थानीय तहले पनि क्वारेन्टाइन निर्माण लगायतका कामलाई तिब्रता दिएका छन् । स्वास्थ्य संस्थाहरुलाई तयार राख्ने, आपतकालीन रेस्पोन्स् टिम बनाउने कामहरु भैरहेको पालिका प्रमुखहरुले विज्ञप्तीमार्फत जानकारी गराएका छन् । सदरमुकामको अञ्चल अस्पतालले दुई शैयाको ‘आइसोलेसन वार्ड’ बनाएको छ । तर केही शङ्कास्पद बिरामी देखा परेपछि थप व्यवस्थापनमा लागिएको अस्पताल विकास समितिका सदस्य शालिकराम शर्मा बताउनुहुन्छ । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण मुलुक नै लकडाउन भएको बेला काँठेखोला गाउँपालिकाले आफ्ना विपन्न जनतालाई राहत सहयोग उपलब्ध गराउने भएको छ । सवै आ–आफ्ना घरमा बस्नुपर्ने भएपछि बिहान बेलुका छाक टार्न समस्या भएका गाउँपालिकाभित्रका विपन्न जनतालाई खाद्यान्न राहत वितरण गर्न लागिएको पालिका अध्यक्ष अमर थापाले बताए । यो राहत दैनिक श्रमका आधारमा हातमुख जोर्ने नागरिकलाई मात्र रहेको उनले बताए । “पालिकाभित्रका विपन्न जनता, जसलाई लकडाउनका कारण बिहानबेलुका छाक टार्न समस्या छ उनीहरुलाई खाद्यान्न वितरण गर्न लागेका छौ” अध्यक्ष अमर थापाले भने । प्रारम्भिक राहतको रुपमा प्रत्येक परिवारलाई एक बोरा चामल र दाल दिने तयारी गरेको उनले भने। परिस्थिति हेरेर राहत र सहयोगको मात्रा बढाइने छ । खाद्यान्न राहत वडा अध्यक्षमार्फत विपन्न परिवारको घरमा नै पुराइने ब्यवस्था मिलाइएको छ । जिल्लामा कोरोना सङ्क्रमणको त्रास रहेको स्थानीय बताउँछन् । बागलुङ बजारमा व्यवसाय गर्दै आएका बलेवाका नन्दप्रसाद घिमिरेले “शान्त भएपछि व्यपार गरौँला यो बेला पसल बन्द गरेर घरैमा गएर बस्ने भन्दै लकडाउनको घोषणासँगै मङ्गलवार राती घर फर्किए । उनले जस्तै देशका ठूला शहर र जिल्ला सदरमुकामबाट गाउँमा फर्किनेहरुका कारण यतिबेला बागलुङका गाउँहरु भरीभराउ छन् । ‘दशैंमा भन्दा धेरै मान्छे गाउँमा छन्’ जैमिनी नगरपालिका–१ कुश्मीशेराका जीवन शर्मा भने । ठूला शहर र विदेशबाट समेत गरेर बागलुङका गाउँहरुमा दशौं हजार मानिस भित्रिएका छन् । बागलुङमा कोरोनाको त्रासका कारण भएका प्रभावका आलावा स्थानीय प्रशासनले बुधबार देखि सेना परिचालनको आदेश गरेसँगै रातारात हिँडेर बजार छेउका गाउँहरुमा पुग्नेहरुको सङ्ख्या समेत उल्लेख्य रुपमा बढेको देखिएको छ । यतिखेर भने बागलुङ बजार सुनशान बन्दैछ । सडकमा प्रहरी मात्र देखिन्छन् । अत्यावश्यक सेवा प्रवाह गर्ने पानी, दुध, खाद्यान्न, अस्पताल लगायतका क्षेत्रमा समेत लकडाउनको प्रभाव छ । त्यस्ता ठाउँ र पसल पनि आधामात्र ढोका खुलेको अवस्थामा देखिन्छन् । बजारमा सामान्य व्यपार व्यवसाय गर्नेदेखि कर्मचारीसम्म गाउँ फर्किएका छन् । यहाँका बजार क्षेत्रका स्थायी बासिन्दा बाहेक नगन्य रुपमा मात्रै सर्वसाधारण बजार क्षेत्रमा छन् । रासस