नागरिक लगानी कोषले ल्यायो सबै नेपालीलाई पेन्सन दिने कार्यक्रम, सामाजिक सुरक्षा कोषकोभन्दा फाइदा धेरै

काठमाडौं । नागरिक लगानी कोषले सबै नेपालीलाई पेन्सन दिनेगरी नागरिक पेन्सन योजना सुरु गरेको छ । कुनै पेशा व्यवसाय वा क्षेत्रमा आवद्ध भएका र नियमित आम्दानी गर्ने नेपालीलाई लक्षित गरी नागरिक पेन्सन योजना ल्याइएको हो । कोषले ल्याएको पेन्सन योजनामा आफ्नै बन्द व्यापार गर्नेहरु पनि सहभागी हुन सक्नेछन् । जागिर गर्नेहरुलाई पनि यो योजनाले समेट्ने कोषका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए । नागरिक पेन्सन योजनामा सहभागी भएकाहरुले पेन्सन योजनाबाट बाहिरिन पनि पाउने सुविधा राखिएको छ । कट्टेलका अनुसार पेन्सन योजनामा सहभागी भएका नागरिकको मृत्यू भएमा उसको श्रीमान वा श्रीमतीले पूरै पेन्सन पाउने व्यवस्था गरिएको छ । यस्तै, कोषमा जम्मा भएको रकमको ८० प्रतिशतसम्म ऋण लिन पाइने, मासिक ५ सय रुपैयाँदेखि आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सकिने, बैदेशिक रोजगारीमा हुनेले पनि यो योजनामा सहभागी हुन पाइने लगायतका सुविधा छन् । यस्ता छन् योजनाका विशेषताहरु सहभागिता यस योजना अन्र्तगत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । बचत गर्न सकिने सीमा यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रूपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक, वा वार्षिक रुपमा रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । यस्तो किस्ता बुझाउँदा मासिक ५ सय रुपैयाँभन्दा कम नहुने गरी बुझाउनु पर्नेछ । किस्ता रकम नियमित बुझाउनु पर्ने सहभागीले आफूले छनौट गरेको किस्ता अनुसारको रकम नियमित रुपमा बुझाउनु पर्नेछ । यसरी निर्धारण गरिएको किस्ता रकम समयमा दाखिला नगरेमा कोषले निर्धारण गरेको विलम्ब शुल्क तिरी किस्ता नियमित गर्न सकिने छ । योजनाबाट अलग हुने अवस्था बचतकर्ताको आय स्रोत गुमेमा वा असक्तताको कारणले आय आर्जन गर्न असक्षम भएमा वा वसाई सरी अन्य मुलुकमा गएको खण्डमा यस योजनाबाट अलग हुन सकिने छ । यसरी योजनाबाट अलग हुदा बचतकर्ताहरुले शर्त बमोजिम नियमित रुपमा बचत गरेको कम्तीमा २ वर्ष पुरा भएको हुनु पर्नेछ । यस्तो अवस्थामा बचतकर्ताको नाममा जम्मा रहेको साँवा रकम एकमुष्ठ भुक्तानी गरिनेछ । पेन्सन पाउन योग्य हुने अवस्था –पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । –बचतकर्र्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भूक्तानी लिन वा पेन्सनको रुपमा भूक्तानी लिन सक्नेछन् । –कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । पेन्सन गणना विधि सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् । पति वा पत्नीले पेन्सन पाउने – पेन्सन पाउन योग्य सहभागीले पेन्सन प्राप्त गर्न शुरु गरेपछि निजको मृत्यु भएमा मृतकको पति वा पत्नीलाई निजले पाइरहेको रकम वराबर नै पारिवारिक पेन्सन प्रदान गरिनेछ । तर, सहभागीसँग निजको अंशबण्डा भएको भए वा वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान गरिने छैन । –बचतकर्ताको निबृतिभरण शुरु भएपछि निज र निजको श्रीमान वा श्रीमति दुबैको मृत्यु भएमा कोषमा सम्बन्धित ब्यक्तिको नाममा बॉकी रहेको बचत रकम निजहरुको कानुनी हकदारलाई प्रदान गरिनेछ । – कुनै बचतकर्ताको निबृतिभरण प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको नजिकको हकवालालाई निजले जम्मा गरेको रकम, त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ रुपमा प्रदान गरिने छ । – नेपाल सरकार वा अन्यत्रबाट पेन्सन पाइरहेको व्यक्तिले कोषमा योगदान गरी निवृत्तिभरणको लागि योग्य भएमा कोषबाट पेन्सन लिन बाधा पर्ने छैन । योजनामा रकम जम्मा गर्ने विधि – सहभागी बचतकर्ताले जम्मा गर्नु पर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा बिद्युतीय भूक्तानीमार्फत जम्मा गर्न सक्ने छन् । बचतकर्ताले बैंकमा रकम दाखिला गरेपछि सोको जानकारी कोषलाई दिनु पर्नेछ । कोषद्वारा तोकिएको खातामा रकम जम्मा नभएमा उक्त रकमप्रति कोषको कुनै दायित्व रहने छैन । –कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपले उल्लेख गर्नु पर्ने छ । –रकम जम्मा गर्दा आफ्नो सही नाम र कोषले प्रदान गरेको परिचय नम्बर उल्लेख गर्नु पर्ने दायित्व सम्बन्धित बचतकर्ताको हुनेछ । गलत नाम वा परिचय नम्बर उल्लेख भई रकम जम्मा भएमा त्यसको जिम्मेवारी कोषले लिने छैन । कोषमा जम्मा भएको रकममा ब्याज तथा प्रतिफल दिइने – योजना अन्तर्गत कोषमा जम्मा भएको रकममा समितिले समय समयमा निर्धारण गरे अनुसार दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा ब्याज प्रतिफल प्रदान गरिने छ । सहभागीहरुलाई सापटी तथा अन्य सुबिधा – कोषले योजनाका सहभागी बचतकर्तालाई निजको नाममा जम्मा रहेको रकममा बढीमा ८० (असी) प्रतिशतसम्म सापटी प्रदान गर्न सकिनेछ । – जुनसुकै कारणले बचतकर्ताको मुत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई दश हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराइनेछ । – बचतकर्ताले कोषद्वारा तोकिएका प्राइभेट अस्पतालमा औषधी उपचार गर्दा लाग्ने खर्चमा छुट सुविधा प्रदान गर्न सकिने छ । – दुर्घटनामा परीे बचतकर्ता मृत्यु हुन गएमा निजको नजिकको हकवालालाई दुर्घटना वीमा बापत एक लाख रुपैयाँ प्रदान गरिने छ । सम्बन्धित सामग्री सबै नेपालीलाई पेन्सन दिने महत्त्वाकांक्षी कार्यक्रम संचालनको अन्तिम तयारीमा सीआईटी

विश्वभर फैलिएको कोरोना भाइरस विरुद्ध खोपको परीक्षण अमेरिकाबाट सुरु, गर्ला त काम ?

काठमाडौं । अमेरिकाले कोरोनाको भारइरस विरुद्धको खोपको परीक्षण अमेरिकाबाट सरु गरेको छ । अमेरिकाले कोरोनाभाइरसको खोप पहिलो पटक परीक्षण शुरु गरेको हो । यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको हो । यो खोप पहिलोपटक सोमबार सियाटलकी ४३ वर्षीया महिलाले लिएकी थिइन् । विश्वभरका वैज्ञानिकहरु चाँडोभन्दा चाँडो कोरोनाभाइरसको खोप तयार गर्न लागि रहेका छन् ।

भरतपुरका किसन मगरले दाजुबाट पाए दोस्रोपटक नयाँ जीवन

चितवन । चितवनका एक युवकको हकमा दाजु पनि आमाको रुपमा उदाएका छन् । पहिलोपटक आमाबाट जीवन पाएका किसन मगरले दोस्रोपटक दाजुबाट नयाँ जीवन पाए । दुवै मिर्गौला फेल भएर भौंतारिइरहेका क्षेत्रपुरका किसनलाई उनका दाजु चन्द्रबहादुर रिंजालीले मिर्गौला दिएका हुन् । चार वर्षअघि किसनको मिर्गौलामा समस्या पत्ता लागेको थियो । बिग्रेको मिर्गौला जोगाउन गरिएका प्रयासहरु असफल भएपछि उनी जीवन र मरणको दोसाँधमा पुगिसकेका थिए । यही बेला दाजु चन्द्रबहादुर भाइलाई मृत्युको मुखबाट फिर्ता ल्याउन अग्रसर भए । भाग्यले पनि साथ दिएकै मान्नुपर्छ- चन्द्रबहादुरको मिर्गौला किसनलाई ‘फिट’ भयो । प्रचलित कानुन अनुसार नातागोता बाहेकका मान्छेले चाहेर पनि मिर्गौला दान गर्न नपाउने अवस्थामा दाजुको मिर्गौला ‘फिट’ भएपछि किसनमा बाँच्ने आस पलायो । तर राजधानीको अस्पतालमा तोकिएको मितिमा प्रत्यारोपण हुन नसकेपछि उनी फेरि निराश भए । ‘त्यसपछि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएँ । त्यहाँ पनि तीन महिना त्यत्तिकै बित्यो,’ किसन भन्छन्, ‘स्वदेशमा केही सीप नलाग्ने देखेपछि भारतको एम्स अस्पतालमा प्रत्यारोपण गर्ने तयारी सुरु भयो ।’ भारत जानुअघि डायलासिस गर्ने सिलसिलामा चितवनको पुरानो मेडिकल कलेज पुगेका किसनले त्यहीँ मिर्गौला प्रत्यारोपण हुने कुरा थाहा पाएको उनले सुनाए । पुरानो मेडिकल कलेजका चिकित्सक र विशेषज्ञसँगको परामर्शपछि त्यहीँ नै प्रत्यारोपण गराएको उनको भनाइ छ । ‘सबैभन्दा पहिला पुरानो मेडिकल कलेजका डा. प्रविण जोशीलाई भेटेँ । उहाँको सल्लाहमा प्रत्यारोपण विशेषज्ञ डा. राकेश बर्माको बायोग्राफी हेरेपछि उहाँबाटै प्रत्यारोपण गराउने निष्कर्षमा पुग्यौं,’ किसनले सुनाए । दाजुको मिर्गौला सफल प्रत्यारोपणपछि किसनलाई अंगदान गर्ने मान्छे परिवारमा भए मिर्गौला प्रत्यारोपण ठूलो होइन रहेछ भन्ने लागेको छ । ‘पहिले त बाँच्ने आसै मारिसकेको थिएँ, अहिले भने दिने मान्छे घरमा छ भने मिर्गौला प्रत्यारोपण ठूलो समस्या होइन रहेछ भन्ने लाग्यो,’ उनले भने । उक्त मेडिकल कलेजका प्राध्यापक डा. राकेश बर्माको नेतृत्वमा १० जनाको टोलीले किसनको मिर्गौला प्रत्यारोपण गरेको थियो । प्रत्यारोपणपछि त्यहाँका डाक्टर र नर्सको राम्रो हेरचाहका कारण आफू चाँडै ठीक भएको किसनले सुनाए । ‘करिब १५ दिन अस्पताल बस्दा डाक्टर र नर्सले निकै राम्रोसँग उपचार गर्नुभयो, छिनछिनमा सोध्ने गर्नुभयो,’ उनले भने । भाइलाई मिर्गौला दान गरेका चन्द्रबहादुर अहिले आफू र भाइ दुवैजना तन्दुरुस्त रहेको बताउँछन् । ‘अहिले म पनि राम्रो छु, र भाइ पनि राम्रो छ, चन्द्रबहादुरले भने । कलेजका प्राध्यापक डा बर्मा मिर्गौला प्रत्यारोपणमा ठूलो टिम सहभागी हुने बताउँछन् । किसनको प्रत्यारोपणमा पनि १० जना भन्दा बढीको टिम सहभागी थियो । उक्त अस्पतालले हालसम्म चारवटा सफल मिर्गौला प्रत्यारोपण गरेको प्रा.डा. बर्माले जानकारी दिए । अंग प्रत्यारोपणमा ४० वर्षका अनुभवती प्रा.डा. बर्माले राजधानीको वीर अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरी ६५० भन्दा बढी प्रत्यारोपण गरेका गरिसकेका छन् । प्रविधि र मानवीय स्रोतका हिसाबले मिर्गौला प्रत्यारोपणमा नेपाल विदेशभन्दा कम नभएको प्रा.डा. बर्माको दाबी छ । सेवाग्राहीले विश्वास गरे पुग्छ,’ हामी सक्षम छौं । वरिष्ठ अगं प्रत्यारोपण विशेषज्ञ प्रा.डा. राकेश वर्मा, प्रत्यारोपण फिजिशियन डा. माधव घिमिरे, प्रत्यारोपण एनेस्थेसियोलोजिष्ट डा. किरण अधिकारी, वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. राजेश कुमार यादव, वरिष्ठ युरोलोजिष्ट डा. सुदिप राज के.सी.,डा. प्रबिण जोशी, प्रत्यारोपण फिजिशियन डा. सन्तोष गुरुङ्ग, डा. सृजु वैद्य, डा. अनुराग सिंह लगायत चिकित्सकहरुको प्रत्यारोपणमा संलग्नता रहेको थियो । नेपालमा मृगौला कसरी बचाउन सकिन्छ भन्ने सचेतना न्युन रहेको र दिनदिनै मृगौला रोगीको संख्या बढिरहेको अवस्थामा यसको भरपर्दो उपचार प्रत्यारोपण नै हो, डाइलासिस होइन । तर नेपालमा वर्षेनी डायलाइसिस गराउनेको संख्या बढ्दो छ । काठमाडौं बाहिर यस अस्पतालमा सफल मृगौला प्रत्यारोपण भएको छ र यो चौथो पटक हो । त्यसैले, अब धेरै खर्च गरेर विदेश तथा काठमाडौं जानुपर्ने बाध्यता छैन मात्र सेवाग्राहीहरुले बुझ्नु र विश्वास गर्नु जरुरी छ, वरिष्ठ प्रत्यारोपण फिजिशियन डा. माधव घिमिरेले बताए ।