यात्रु घर पठाउने गाडीको व्यवस्था सरकारले नै गर्ने, कुन-कुन रूटमा चल्छन् ?
काठमाडौं । सरकारले काठमाडौंमा रहेकाहरुलाई घर आफ्नो जिल्लामा जाने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोली र पर्सी उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । स्रोतका अनुसार लकडाउनको कारण काठमाडौंमै रहेका नागरिकहरुलाई सरकारले स्कटिङ गरेर घर पठाउने छ । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । अब सरकारले उनीहरुको सहजका लागि दुई दिन गाडी उपलब्ध गराउने भएको छ । विभिन्न जिल्लामा जानका लागि सरकारले नै गाडीको व्यवस्था गर्ने स्रोतले बतायो । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले तयारी गरिरहेको छ । घर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको स्रोतले जानकारी दिएको छ । स्राेतका अनुसार उपत्यका बाहिरका सबै जिल्लामा केही सीमित गाडीहरूकाे व्यवस्था गरी घर पठाइने बताएकाे छ । हालसम्म गाडी कुन-कुन जिल्ला पठाइने हाे वा कुन-कुन रूटमा गाडी चलाइने हाे भन्ने यकिन खुलेकाे छैन । तर, यात्रुकाे संख्या हेरेर गाडी पठाउन सकिने बुझिएकाे छ ।
भारतमा अलपत्र परेकाको पीडा: रोगले भन्दा भोकले मरिन्छ की भन्ने डर , दुताबासको फोन नै उठ्दैन
भीमदत्तनगर । कोभिड—१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् । बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको बरौली र पवईस्थित ढावाको स्टाप कोठामा आश्रय लिइरहेका छन् । उनीहरुले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् । बरौलीमा होटलमा काम गर्दै आएका मेलौली नगरपालिका–४ का जगदीश भण्डारीले आफूहरु २२ दिनदेखि यहाँ अलपत्र परेको टेलिफोन मार्फत् जानकारी दिए । “एउटा सानो कोठामा १२÷१५ जना खादिएर बसेका छौँ ।” उनले भने, “साहुले मुश्किलले अहिलेसम्म खाना दिएको छ ।” होटल साहुले स्वदेश फर्किन दबाब दिइरहेकाले झन समस्यामा रहेको दुखेसो पोख्दै उनले भने, “नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन गर्याै, “दूतावासको फोन उठ्दैन ।” त्यसैगरी मुम्बैमै अलपत्र परेका मेलौली नगरपालिका–३ का सन्दीप चन्दले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको जानकारी दिए । “हुलिएर बसेका छौं । बाहिर कोरोनाको संत्रास धेरै छ ।” उनले भने, “अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षणलगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन ।” कोठाभित्र खादिएर बस्दा अन्य रोगको सङ्क्रमणको जोखिम रहेको बताए । “यहाँ लकडाउन खुल्नासाथ साहुले घर जान भनिरहेको छ ।” उनले भने, “हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौं ।” त्यसैगरी मुम्बैको पवईमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन् । बैतडीकै नरेन्द्र चन्दले मुम्बैमा धेरै नेपाली अलपत्र रहेको जानकारी दिए । “एक्कासी लकडाउन भयो, नेपाल टाढा भएकाले फर्किन सकेनौं।” उनले भने, “यहाँ रोगले भन्दा पनि भोकले मरिन्छ की भन्ने डर छ ।” भारतमै भए पनि क्वारेन्टाइनमा राख्न प्रबन्ध मिलाइदिन भारतीय सरकारसित आवश्यक समन्वय गरिदिन आग्रह गरे । “नेपाल–भारत सीमानामा त दुवै देशका नागरिकलाई व्यवस्थापन गरिएको भन्ने सुन्छौं ।” चन्दले भने, “हामी यहाँ रहरले होइन बाध्यताले मजदुरी गर्न आएका हौं ।” सुदूरपश्चिममेली नागरिकको सदियौंदेखिको रोजगारीको प्रमुख गन्तव्य हो, भारत । लकडाउनअघि र पछिको समयमा सुदूरपश्चिमका नाकाबाट एक लाख ४३ हजार नागरिक भारतबाट फर्किएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टको भनाइ छ । नेपाल–भारत सीमामा करिब एक हजार ५ सयको हाराहारीमा नेपाली क्वारेन्टाइन बसेका छन् । कञ्चनपुरमा भने सिमावर्ती भारतीय बजार बनवासा र टनकपुरमा गरी २३५ जना नेपाली क्वारेन्टाइनमा रहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले जानकारी दिए । “हाम्रो भारतीय पक्षसित सधैं सम्र्पक र समन्वय हुँदैन ।” उनले भने, “त्यहाँ आश्रित नेपालीलाई राम्रै व्यवस्थापनमा राखिएको छ । र त्यहाँ रहेकाबाट कुनै गुनासो पनि आएको छैन ।” सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले सीमा सुचारु भएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई कहाँ, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पछि छलफल हुनसक्ने बताए । “सीमा क्षेत्रमा आवागमन रोक्न यहाँका खुलानाका समेत सशस्त्र प्रहरी थप परिचान भएको छ ।” उनले भने, “जो जहाँ छौँ, त्यही सुरक्षित बसौं भन्ने सोच राख्नुपर्छ ।” बझाङमा लकडाउन उल्लङघन गरी धार्मिक मेला सञ्चालन भएपछि नियन्त्रणमा लिइएका चार वडाध्यक्षसहित नौ लाई प्रहरीले थप छानविन र कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बझाङ पठाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षण गणेश वमले नियन्त्रणमा लिइएका वडाध्यक्षसहित नौ जनालाई सङ्क्रमण रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मेला सञ्चालनमा आरोपमा नियन्त्रणमा लिइएका वडाध्यक्षसहितको छानविन भइरहेको जानकारी दिए । रासस
जोखिमसँग जुध्दैछ बागलुङ, विदेशबाट आएका सबै निगरानीमा
काठमाडौं । नेपालमा कोभिड–१९ को पाँचौं सङ्क्रमित भेटिएको बुधबार १३ दिन पुग्यो । यही चैत ४ गते बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया ती युवती जिल्लाको भने पहिलो सङ्क्रमित हुन् । दुर्भाग्य, युवतीमा सङ्क्रमण देखिएको छ दिनपछि सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भयो । जुन नेपालको छैठौँ कोराना भाइरस सङ्क्रमणको घटना हो । एक साताको अन्तरमा भेटिएको यो सङ्क्रमण भने आयातित हो । बेल्जियमबाट दोहाहुँदै कतार एयरको क्यूआर ६५२ मा नेपाल आएका दुवैमा कोभिड–१९ को सङ्क्रमण फेला परेको हो । सोही विमानमा आएकी काठमाडौंकी युवतीमा कोरोना देखिएपछि बागलुङकी युवती र महिलामा कोरोना जाँच गरिएको थियो । भाग्यवस सङ्क्रमितसँगै एउटै विमानमा यात्रा गरेका बागलुङका अन्य दुई पुरुषमा भने कोराना भाइरस देखिएन । यतिमात्र होइन, सङ्क्रमित युवती र महिलाका परिवार तथा आफन्तमासमेत कोरोना भाइरस परीक्षण ‘नेगेटिभ’ आयो । जिल्लामा हालसम्म सम्भावित १८ जनामा कोरोना भाइरस जाँच गरिएकामा दुई जनामा मात्र सङ्क्रमण भेटिएको छ । बुधबार पनि थप १० जनाको ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाइएको छ । न्यून परीक्षणकाबीच समुदायमा सङ्क्रमण फैलिने जोखिमबाट भने बागलुङ मुक्त छैन । सङ्क्रमित व्यक्तिका परिवार र भौतिक सम्पर्कमा आएका व्यक्तिमा कोरोना परीक्षण ‘नेगेटिभ’ आउनुलाई भने सुखद् मानिएको छ । यसबीचमा सरकारले सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी बागलुङमा दु्रत जाँच (¥यापिड टेस्ट) गर्ने निर्णय गरेको छ । यस्तो जाँचबाट समुदायमा सङ्क्रमणको अवस्था पत्ता लाग्ने विश्वास गरिएको छ । सरकारको यो निर्णय भएको पाँचौ दिन बुधबार स्वास्थ्य मन्त्रालयबाट प्राविधिक टोली आइपुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बुधबार साँझ आवश्यक उपकरणसहित प्राविधिक टोली बागलुङ आइपुगेको र बिहीबार बिहान यसबारेमा स्वास्थ्यकर्मीहरुलाई तालीम पनि दिइसकिएको जानकारी दिए । “जिल्लाका स्वास्थ्यकर्मीहरुसँग अभिमुखीकरण बिहीबार बिहान सकिएको र यससँगै दुई जनाको जाँच पनि शुरु भएको छ”, उनले भने । पहिलो चरणमा सङ्क्रमित व्यक्तिको बसोबास क्षेत्र, आफन्त र विदेशबाट आएका गरी करिब एक हजारमा कोरोना भाइरस परीक्षण हुने जनाइएको छ । ‘किट’को माध्यमबाट छोटो समयमा धेरै व्यक्तिको जाँच गर्न सकिने प्रमुख गुरौको भनाई छ । अब यो प्रविधिको माध्यमबाट सरकारको निर्णय बमोजिम र्यापिड जाँचको काम अघि बढ्ने उनले जानकारी दिए । द्रत जाँचका क्रममा परीक्षण ‘पोजेटिभ’ आएमा थप पुष्टिको लागि सङ्कलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने छ । चैत लागेपछि विदेशबाट झण्डै ९ सय जना जिल्ला भित्रिएका छन् । तीमध्ये न्यून सङ्ख्यामा मात्र ‘क्वारेन्टाइन’मा बसेका छन् । अधिकांश भने घरमै छन् । तर स्थानीय प्रतिनिधि तथा स्वास्थ्यर्मीहरुले यसरी घरैमा बसेकालाई पनि एकान्तबासमा बस्न र आफ्ना परिवार तथा समुदायमा भौतिक रुपमा नजिक नभइदिएर सावधानी अपनाउन अनुरोध गरिरहेका छन् । यस्तो छ अस्पतालको तयारी सरकारले सदरमुकाममा रहेको धवलागिरि अञ्चल अस्पताललाई कोभिड–१९ को उपचार हुने अस्पतालका रुपमा किटान गरेको छ । जिल्लाका दुई सङ्क्रमित यही अस्पतालममा उपचाररत छन् । कोरोनाको कहर शुरु भएपछि वर्षौँसम्म अलपत्र परेको सघन उपचार कक्ष (आइसीयू) निर्माणको कामले गति लिएको छ । कोरोना भाइरसका कारण जटिल अवस्थामा पुगेका बिरामीलाई ‘आईसियू’मा राखेर उपचार गर्नुपर्ने हुन्छ । कोरोना सङ्क्रमितलाई नै उपचार गर्नुपर्ने अवस्था आएपछि अस्पतालमा ‘आइसियू’ सञ्चालनका लागि मन्त्रालय र सम्बन्धित निकाय पनि दबावमा परेका थिए । अस्पताल विकास समितिका अध्यक्ष केवी रानामगरले ‘आइसीयू’का लागि चाहिने उपकरण र सामग्री खरिदका लागि मङ्गलबार बोलपत्र आह्वान गरिएको बताए । “प्रकृया अगाडि बढीसक्यो, अब संरचना निर्माणलगायतको काम तत्कालै शुरु हुन्छ”, उनले भने, “यथाशक्य छिटो सेवा शुरु गर्छौँ ।” सरकारले उक्त कामका लागि रु। एक करोड बजेट छुट्याइएको अध्यक्ष रानाले बताए । गण्डकी प्रदेश सरकारले पनि ‘भेण्टिलेटर’ लगायतका स्वास्थ्य उपकरण र सामग्री अस्पताललाई उपलब्ध गराएको छ । अस्पतालका प्रमुख चिकित्सक शैलैन्द्र बि पोखरेलले अस्पतालमा हाल चार वटा ‘आइसोलेटेड बेड’ रहेको जानकारी दिए । तीमध्ये दुईमा कोभिड–१९ का बिरामी उपचाररत छन् । अवस्था हेरेर ‘आइसोलेटेड बेड’ थप्ने योजनामा अस्पताल छ । प्रमुख चिकित्सक पोखरेलले ‘आइसीयू’ सेवादिन दक्ष जनशक्तिको खाँचो औँल्याए । अस्पताल व्यवस्थापन समितिले दक्ष जनशक्ति र उपकरण व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताएको छ । कोरोना सङ्क्रमितको जाँच र उपचारमा खटिने स्वास्थ्यकर्मीले यथेष्ठ तालीम र सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् । धवलागिरि अञ्चल अस्पताल कोभिड–१९ का बिरामी उपचार गर्ने तेस्रो अस्पताल हो । यसबाहेक काठमाडौंको टेकु र धनगढीको सेती प्रादेशिक अस्पतालमा उक्त रोगका बिरामी उपचाररत छन् । विदेशबाट आएका निगरानीमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सङ्कट व्यवस्थापन समितिका संयोजक गौलोचन सैँजूले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सबै पक्षसँग समन्वय र सहकार्य भइरहेको बताए । उनले ‘लकडाउन’ पालनादेखि सचेतनाका कार्यक्रम प्रभावकारी बन्दै गएको उल्लेख गरे । “शुरुका दिनमा भन्दा नागरिकहरु पनि सचेत भएको अवस्था छ, लकडाउनलाई थप कडा तुल्याएका छौँ”, प्रजिअ सैँजूले भने । देशभरमै पहिचान भएका नौमध्ये दुई सङ्क्रमित बागलुङमै भेटिएपछि उच्च सतर्कता र निगरानी बढाइएको उनको भनाइ छ । अस्पताल र स्वास्थ्यकर्मीले कोरोना विरुद्धको लडाईँमा अग्रभागमा रहेर खेलेको भूमिकाको जानकारी दिए । सुरक्षा प्रबन्ध र अन्य समन्वयकारी काममा स्थानीय प्रशासन सँधै साथ रहेको उनको भनाई छ । ‘जिल्ला कमाण्ड पोष्ट’कोसमेत नेतृत्व सम्हाल्नुभएका सैँजूले विदेशबाट जिल्ला भित्रिएका सबैलाई निगरानीमा राखिएको बताए । “अहिलेसम्मको तथ्याङ्क अनुसार विदेशबाट जिल्ला भित्रिने ७ सय ७८ जना रहेको पाइएको छ, सबैलाई घरमै एकान्तवास (होम क्वारेन्टाइन) मा बस्न अनुरोध गरेका छौँ”, प्रजिअ सैँजूले भने । उनका अनुसार विदेशबाट आएका कतिपय व्यक्ति स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा बसेका सबैको नियमित रुपमा स्वास्थ्य अवस्थाबारे जानकारी लिने र सुझाव दिने काम भइरहेको जिल्ला सङ्कटन व्यवस्थापन समितिले जनाएको छ । कोरोना फैलिएका देशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न नसकिएपछि निगरानी भने गरिएको समितिको जिकिर छ । विदेशबाट आएका जो कोहीमा पनि कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिए तत्काल जाँच गर्ने गरिएको छ । सङ्क्रमितको अवस्था सामान्य धवलागिरि अञ्चल अस्पतालमा उपचाररत दुवै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । पैँसट्ठी वर्षीया सङ्क्रमित महिलालाई पुरानै दम र उच्च रक्तचापको औषधि दिइएको र नयाँ समस्या केही पनि नरहेको चिकित्सकहरुको भनाई छ । अर्की १९ वर्षकी युवतीमा पनि अहिले कुनै लक्षण देखिएको छैन । दुवै सङ्क्रमितले छिट्टै निको भएर घर फर्कने विश्वास लिएका छन् । युवतीमा गरिएको दोस्रो परीक्षणमा पनि कोरोना भाइरसको रिपोर्ट भने ‘पोजेटिभ’ देखिएको छ । लगातार दुई पटकको परीक्षणमा ‘नेगेटिभ’ देखिएमा मात्र सङ्क्रमितलाई घर पठाइने चिकित्सिकले बताएका छन् । ‘तरकारी, दूध घरमै मगाउनुस्’ कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि जिल्लामा ‘लकडाउन’ थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूध जस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कडाइ गरिएको हो । अघिल्ला दिनहरुको तुलनामा आइतबारदेखि मानिसको हिँडडुलमा कमी आएको छ । पछिल्ला तीन दिनमा ‘लकडाउन’ अटेर गरी बजारमा हिँडडुल गर्ने करिब एक सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकालाई सम्झाइ बुझाइ गरेर छाडिएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । प्रहरीले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन सबैमा आग्रह गरेको छ । “दैनिक उपभोग्य वस्तुपनि फोनबाट घरमै मगाउन अनुरोध गरेका छौँ”, प्रहरी उपरीक्षक भट्टले भने, “लकडाउनको पालना गराउन हाम्रो तर्फबाट सक्दो प्रयास भइरहेको छ, उल्लङ्घन भए थप कडाइ गर्छौँ ।” कतार एयरवेजबाटै आएका दुई महिला बागलुङमा सङ्क्रमित भेटिए । उनीहरुसँगै आएका अर्का युवाको पनि पहिचान भयो यही जिल्लामा । अर्को कुरा अरु जिल्लाको तुलनामा बागलुङका धेरै नागरिक वैदेशिक रोजगारीमा छन् । त्यसैले विदेशबाट जिल्लामा धेरै भित्रिए होलान् भन्ने पर्यो र यसका कारण जिल्लामा कोरोनाका सङ्क्रमणको त्रास नै बढ्यो । तर अहिले अवस्था सामान्य भएको छ । सङ्क्रमितहरुको अवस्था सामान्य छ भने अरु थपिएका छैनन् । तर पनि बागलुङ जोखिमसँग भने जुध्दै नै छ । रासस