लकडाउनमा के गर्दै छन् नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोर ?
काठमाडौं । विश्वव्यापी महामारीकाे रूप लिइरहेकाे कोरोना भाइरसको माहामारी रोक्नका लागि नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउनका कारण ठूला उद्योगीदेखि सर्वसाधारण मजदुरसम्म घरमै बसिरहेका छन् । सधैँ अति व्यस्त र सक्रिय रहने उद्योगीहरु लकडाउनको समयमा के गर्दैछन् ? कसरी दिन कटाउँदैछन् ? नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरकाे दिनचर्या लकडाउनले बदलिएको छ । लकडाउनभन्दा अगाडि दिनमा १०/१२ घन्टा व्यस्त हुने अध्यक्ष माेर आजभोलि घरपरिवारसँग नै दिन विताइरहेका छन् । उनलाई लकडाउनको समयमा उपभोक्तालाई अतिआवश्यक वस्तु कसरी पुर्याउने भन्ने चिन्ता छ । ‘परिसंघ आवश्यक वस्तुको कसरी व्यवस्थापन गर्ने भनेर लागिरहेको छ । परिसंघका सबैसगँ फोनमा नै सम्पर्कमा रहेर छलफल गरिरहने गरेका छन् । सबै साथीहरुलाई निजी क्षेत्रले सरकारलाई सक्ने सयोग गर्न भरिहेका छन्,’ अध्यक्ष माेरले विकासन्युजसँग भने । याे समयमा उनले उद्योगीहरुको गुनासा सुन्ने र उनीहरूका समस्याका विषयमा छलफल गर्ने गरेका छन् । बहिर हिड्न नमिले पनि उद्योगीहरुको समस्या बुझेर काम गरिहरका छन् । पहिले प्रत्यक्ष यस्ता कुराकानी हुन्थे भने अहिले फोनबाट हुने गरेको छ । मोर अत्यावश्यक अवस्थामा भने बाहिर पनि निस्कने गरेको बताउँछन् । कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि सरकारले उद्योगीहरुसगँ बोलाएको छलफलमा भने जाने गरेका छन् । ‘फाेन आएको आएइ गर्छ । दिनमा नै ३/४ पटक फोन चार्ज गर्नु पर्छ । लकडाउनको समयमा सबैभन्दा धेरै फोन नै प्रयोग भइरहेकोले नै फोनको चार्ज चाडै सकिने गरेकाे छ,’ उनी भन्छन् । विश्वमा के भइरहेको छ भनेर बेलाबेलामा टिभी हेर्ने, अनलाइन पढ्ने पनि गर्ने गरेका छन् । यो बेला सेल्फ क्वारेन्टाइनमा बस्नु को विकल्प हुदैन । अहिले आत्मबल बढाउने बेला हो । कमजोर नबनौं । तर सरकारले यो बिपदका बेला गरेको आग्रहलाई पालना गरौं भन्ने उनकाे भनाइ छ ।
अचम्मको व्यापार गर्छिन् पूजा: गधाको दूधबाट साबुन र फेसप्याक बनायो, मनग्य कमायो
साथीहरु, तपाईंले धेरै प्रकारका बिजनेस आइडियाहरुको बारेमा सुन्नुभएको होला । तर आज जुन तपाईं यस आर्टिकलमा पढ्नुहुन्छ त्यो किसिमको बिजनेसका बारेमा न कहिल्यै सुन्नुभएको होला न त कहिल्यै देख्नुनै भएको होला । हामी जीवनमा गधालाई कुनै महत्व दिँदैनौं र साथै त्यो मानिसलाई गधाको संज्ञा दिने गर्छौं जो कुनैपनि काम नगरिकन यत्तिकै बसिरहन्छ । अर्थात् गधा हाम्रो लागि यूजलेस जनावर हो । तर यो तपाईं र मेरा लागि युजलेस हुन सक्छ, पूजा कौलको लागि भने कदापी होइन । पूजा कौलले गधाको महत्व बुझिन् । उनले जानिन् की गधाको दूध धेरै नै फाइदाजनक हुन्छ । उनले यस क्षेत्रमा जानकारी जुटाइन् र खोलिन् आफ्नै विजनेस र त्यसलाई नाम दिइन् ‘अग्र्यानिको’ । अग्र्यानिकोले गधाको दूधबाट ब्यूटी प्रोडक्ट बनाउँछ र बेच्ने गर्दछ । को हुन् पूजा ? पूजा भारतको महाराष्ट्र राज्य अन्तर्गत्को सोलापुरकी स्थायी वासिन्दा हुन् । पूजाले जब आफ्नो पढाई पूरा गरिन् तब उनका सामू दुई अप्शन थिए । एउटा थियो सरकारी जागिर खाने र अर्को थियो आफ्नै कुनै बिजनेस गर्ने । पूजाले दोस्रो अप्शन रोजिन् र त्यही क्षेत्रमा अनुसन्धान गर्न थालिन् । उनले थाहा पाइन् की मिस्रको रानी धेरै सुन्दर थिइन् र त्यसको कारण थियो गधाको दूध प्रयोग गर्नु । यसैबाट पूजालाई उक्त बिजनेस आइडिया फुर्यो । पूजा यो दावा गर्छिन् की अग्र्यानिकोले शत प्रतिशत शुद्ध चीज मात्र बेचिरहेको छ । गधाको दूधको फाइदा पूजा भन्छिन् की, उनले जब अनुसन्धान गरिन् तब यो थाहा पाइन् की गधाको दूधमा भिटामिन सी, ए, बी र ओमेगा थ्री जस्ता महत्वपूर्ण तत्वहरु हुन्छन् र ती सवै तत्वहरु छालालाई कोमल र सुन्दर बनाउनका लागि धेरै नै आवश्यक मानिन्छ । अनुहारमा देखापर्ने दागहरु हटाउन पनि यसले मद्दत गर्दछ । कसरी हुन्छ काम ? पूजाले ती किसानहरुसँग सम्पर्क गरिन् जो गधा पाल्ने काम गर्थे । गधाको दूध भारतमा प्रतिलिटर ३ हजार रुपैयाँ पर्दथ्यो । तर पुजाले किसानहरुसँग कुरा गरेर २ हजार रुपैयाँ प्रतिलिटरको हिसाबले दूध किन्न सुरु गरिन् र ब्यूटी प्रोडक्ट उत्पादन गर्न थालिन् । पूजा त्यो दूधबाट तयार गरिएको साबुन, फेसप्याक र हनी सोप बेच्छिन् । उनी अनलाइन र अफलाइन दुवै तरिका अजमाउँछिन् र दुवै बाटनै ग्राहक उनिसम्म आइपुग्छन् । पूजाका अनुसार उनको टार्गेट भनेको २५ देखि ५० वर्ष सम्मका महिलाहरु हुन् । ती महिलाहरु जो आफैंलाई सुन्दर बनाउनका लागि धेरै पैसा खर्च गर्छन् तर सही उत्पादन चाहिँ भेटेका हुँदैनन् । पूजाको योजना छ की उनी आगामी वर्ष सम्म लगभग एक सय जना गधा पालक किसानहरुसँग सहकार्य गर्न सकुन् र अन्य धेरै उत्पादनहरु पनि बजारमा ल्याउँदै अग्र्यानिकको क्षेत्रमा केहि ठूलो काम गरुन् । सजिलो भने थिएन पूजा भन्छिन् की उनले गरेको काम सजिलो चाहिँ थिएन । किनकी एउटा महिलाको नाताले यस प्रकारको काम गर्दा समाजले सजिलै पचाउँदैनथ्यो । शुरुशुरुमा विहान जब उनी दूध लिन जान्थिन् तब उनलाई आफैं पनि एकदम असुरक्षित महसुस हुने गरेको थियो । पूजा अगाडि भन्छिन् की यदि उनी पुरुष हुन्थिन् भने उनलाई पक्कै पनि यस प्रकारको डर लाग्दैन थियो होला । तर विस्तारै उनको त्यो डर हराउन थाल्यो र उनी अगाडि बढ्दै जान थालिन् । जब उनी आफ्नो आइडिया कसैलाई बताउँथिन् तब मानिसहरु हाँस्ने गर्थे तर जब उनी यसको फाइदाको बारेमा बताउँथिन् तब जोसुकै पनि उनको कामको तारिफ गर्दथे । पूजाको साथ उनका क्लासमेट ऋषभ यश तोमर पनि छन् । पूजाको भनाइ छ की साना शहरहरुका उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्छ ताकि सकारात्मक सन्देश फैलन सकोस् । आज पूजा धेरै खुशी छिन् र उनको व्यापार राम्रोसँग चल्न थालिसकेको छ । भइरहेको आम्दानीलाई पूजाले फेरी पनि यहि व्यापारमै लगाउने गरेकी छिन् र कम्पनीलाई अझै अगाडि बढाउन कोशिस गरिरहेकी छिन् । (ज्ञानीपण्डितडटकमबाट भावानुवाद गरिएको) तस्विर साभारः फोब्र्सडटकम
विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं
काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने, महामारीको प्रतिकारका लागि नयाँ सोच, विचार अगाडि सार्ने र सरकारलाई पनि सहयोग गर्ने उद्देश्यले स्वतन्त्र लेखन प्रतियोगिता गर्न लागिएको विकासन्युजको प्रवद्र्धक कम्पनी विकास मिडियाले जनाएको छ । स्वतन्त्र लेखन ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा केन्द्रीत हुनुपर्नेछ । यसमा कोरोना महामारीको विश्वव्यापी अवस्था, नेपालको अवस्था, यसबाट बच्ने उपायहरु, यस महामारीले विश्व समुदायमा ल्याएको चुनौतिहरु, नेपालमा अगाडि देखिएका चुनौतिहरु, यसले विश्वलाई दिएको सन्देशहरु, विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु, मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु, मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु, वातावरण र जीवजगत्मा पर्ने असर लगायतका विषयहरु समेट्नु पर्नेछ । स्वतन्त्र लेखनको साथ विषयबस्तु सँग मेल खाने फोटोहरु (कम्तिमा १ र बढीमा ५ वटा) पठाउनु पर्नेछ । यस प्रतियोगितामा इच्छुक नेपालीले आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कविता वा अन्य शैलीमा आफ्ना प्रस्तुती राख्न सक्नेछन् । यस खुला स्वतन्त्र लेखन प्रतियोगितामा सबै नेपाली नागरिकले भाग लिन पाउनेछन् । १८ वर्षभन्दा कम उमेरका तर नागरिकता लिन बाँकी रहेका विद्यार्थीहरुले पनि भाग लिन पाउनेछन् । प्रवासमा बसेको नेपाली नागरिकहरुले पनि यस प्रतियोगितामा भाग लिन पाउनेछन् । सकारात्मक सोच र सिर्जनात्मक स्वतन्त्र लेखनलाई उच्च प्राथमिकता दिइने छ । उत्कृष्ट लेखकलाई १ लाख पुरस्कार प्राप्त लेख रचनाहरुको तीन चरणमा छनौट हुनेछ । पहिलो चरणमा सम्पादकीय तहबाट प्रकाशन योग्य लेख रचना छनौट गरि विकासन्युजमा प्रकाशित गरिनेछ । दोस्रो चरणमा पाठकको प्रतिक्रिया, फेसबुक सेयर, ट्वीट तथा कमेन्ट र सम्पादकीय मूल्याङकनका आधारमा छनौट गरिनेछ । तेस्रो चरणमा स्वास्थ्य, साहित्य, आर्थिक लगायतका क्षेत्रमा प्रसिद्ध व्यक्तिहरु सहभागि विज्ञ समूहको मूल्याङकन, पाठक प्रतिक्रिया र सम्पादकीय मूल्याङकनको अङ्कभार जोडबाट छनौट हुनेछ । प्रतियोगितामा प्रथम हुने रचनाको लेखकलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिने छ । द्वितीय र तृतीय हुने लेखकहरुलाई ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ । फरक फरक विधामा उत्कृष्ट एक/एक जनालाई आकर्षक उपहार र प्रमाणपत्र प्रदान गरिनेछ । २०७७ असार २९ गते सोमबार भानु जयन्तीको दिन उत्कृष्ट स्वतन्त्र लेखनको छनौट, घोषणा तथा पुरस्कार प्रदान कार्यक्रम आयोजना गरिने भएको छ । सर्तहरु स्वतन्त्र लेखन कम्तिमा आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कम्तिमा १५०० र बढीमा ३००० शब्दको हुनुपर्नेछ भने अन्य प्रस्तुतिको लागि न्युनतम सीमा तोकिएको छैन । यसअघि अन्य माध्यममा प्रकाशन भइसकेका लेख/रचना स्वीकार्य हुने छैन । अरुको सिर्जना चोरी भएको पाइएमा त्यसको जिम्मेवारी लेखकले नै लिनुपर्नेछ । लेखकले आफ्ना सिर्जना माइक्रोसफ्ट वर्ड फाइलमा नेपाली भाषामा (फन्ट–प्रिति, साइज–१६ प्वाइन्ट) टाइप गरी [email protected] मा इमेल गर्नुपर्नेछ । २०७७ बैशाख ७ गतेसम्म इमेलमा प्राप्त स्वतन्त्र लेखनहरु प्राप्त भएको मिति/समयका आधारमा सूचिकरण गरी स्तरीय सिर्जनाहरु विकासन्युजको स्वतन्त्र लेखन विशेष पेजमा प्रकाशित गरिनेछ । पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।