गाई किसानका पीडा : सरकार नुनपानी खुवाएर कहिलेसम्म बचाउने
काठमाडौं । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपालमा जारी लकडाउनका कारण पशुपालन किसान निकै पीडामा परेका छन् । उपत्यकामा उन्नत जातका गाई व्यावसायिकरूपमा पाल्नेको सङ्ख्या उल्लेख्य रहेको बेलामा कोरोना प्रभावका कारण पशुलाई खुवाउने दानादेखि पशुआहारको अभाव र दूध बिक्री नहुँदा किसान दोहोरो मारमा परेका छन् । ‘दूध उत्पादनका लागि घरमा केही गाई पाल्ने साना किसानभन्दा पनि करोडौं खर्चेर व्यावसायिकरूपमा गोठ (फार्म) सञ्चालन गरेर गाई पाल्ने किसानलाई यतिखेरे गाई पाल्नु न छोड्नु भएको छ ‘ उनले भने । चाँगुनारायण नगरपालिका–२ झौखेलमा डेस्टिनेशन एग्रो फार्म सञ्चालक प्रदीपराज पन्तले ठूला व्यावसायिक पशुपालकहरु यतिखेर निकै मारमा परेको बताए । नेपाल डेरी फार्मस् एशोसिएशनका अध्यक्षसमेत रहेका पन्तको झौखेलस्थित गोठमा ९० उन्नत जातका गाई छन् । तर गोठमा गाईलाई खुवाउने कुरा नभएपछि बचाउन मुस्किल परेको छ । लकडाउनका कारण आवश्यक दाना, दाना उत्पादन गर्ने कच्चा पदार्थ र भुसा आयात नभएपछि उपत्यकाका अधिकांश पशुपालक व्यवसायी निकै मर्कामा परेको उनको भनाइ छ । दुई चार गाई पाल्ने साना किसानलाई दैनिक खुवाउन घाँस तथा पिठो, ढुटोको समस्या कम भए पनि व्यावसायिकरूपमा गाई पाल्नेका लागि ठूलो समस्या भएको छ । साना किसानको दूध स्थानीयस्तरमा बिक्री गर्ने, दही तथा घ्यू बनाउने गरे पनि ठूला किसानको दूधसमेत बिक्री गर्ने ठाउँ नहुँदा उत्पादन नै घटा छ । अध्यक्ष पन्तले भने, “खुवाउने कुरा नै नभएपछि दूध उत्पादन पनि घटाएका छौं, उत्पादन भएको दूध पनि बिक्री गर्नसकेका छैनौं, सबै दूधलाई पनिर, घ्यू बनाउन उद्योग नै चाहिन्छ, फार्ममा सम्भव हुन्न, हामी किसान निकै मर्कामा पर्यौं ।” आफ्नो गोठका गाईबाट ६ सयदेखि ७ सय र अन्य साना किसानबाट उठाउने करिब ३ सय गरी दैनिक ९ सय लिटर दूध बिक्री गर्दै आएका पन्तले लकडाउनपछि साना किसानको दूध लिन छाडेका छन् भने आफ्ना गोठमा पनि दूध उत्पादन घटाएर २ सय लिटरमा झारेका छन् । उनले भने, “एकातिर खानेकुरा नभएर दूध घटेको छ, अर्कोतिर दूध बिक्री गर्ने ठाउँ नभएपछि उत्पादन नै घटाएका छौँ ।” सुन्दरीजलका बाबुराम कार्कीको पीडा त झन् ठूलो छ । गोठमा २८८ उन्नत जातका गाई छन् । तर खानेकुरा नहुँदा नुनपानी खुवाएर बचाउनुपरेको छ । लकडाउनपछि सर्लाही, बारा, पर्सा, रौतहटबाट भुसा आउन छाडेको छ, दाना उद्योग बन्द छन् । अलिअलि दाना र घाँस पाइए पनि निकै महङ्गो छ, न औषधि छ, न प्राविधिक छन्, उपत्यकामा चरन क्षेत्र छैन । “भोकले गाई कराएको सुन्दा मन भारी हुन्छ, आँखा रसाउँछ”, आफ्नो पीडा सुनाउँदै उनले भने, “यस्तै अवस्था रहे अब पलायन हुनुको विकल्प छैन, गाईलाई नुनपानी मात्रै खुवाएर कहिलेसम्म बचाउनु, कम्तीमा दाना र भुसामात्रै आउन सकेको भए पनि गोठका गाई भोकै त हुँदैनथे ।” ऋणको साँवाब्याज कसरी तिर्नेभन्दा पनि गाई कसरी बचाउने भन्ने चिन्ताले निकै पिरोल्छ उनलाई । दैनिक एक हजार ५ सय लिटर दूध बिक्री गर्दै आएका कार्कीले अहिले कतिपय गाईले दूध दिनै छाडेको र कतिपयले थोरै दूध दिने गरेको बताए । कतिपय मिठाई पसल र होटल बन्द भएपछि बजारमा दूध खपत हुन छाडेको छ । चाँगुनारायण–९ ताथलीमा ३५ गाईसहित बाख्रापालन गर्दै आएका एशोसिएशनका सचिव भानु पराजुलीको गुनासो पनि उस्तै छ । दैनिक सयलिटर दूध उत्पादन गर्दै आएको उनले उत्पादित दूधलाई घरघरमा बिक्री गरिरहेको भएपनि गाईलाई खुवाउने कुरा नहुँदा सास्ती खेप्नुपरेको बताए । आफ्नो गोठ अलि गाउँमा भएको र थोरै गाई भएकाले चोकर, ढुटो खुवाएर जेनतेन अहिलेसम्म धानेको बताउँदै उनले यस्तै अवस्था रहे उपत्यकाबाट व्यावसायिक गाई पाल्नेहरु पलायन हुनेछ भने । उपत्यकामा अहिले कम्तीमा २० व्यावसायिक गाईफार्म र सयौँको घरमा सानाकिसानले गाई पालिरहेका छन् भने दैनिक ३५ हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ भने उत्पादित दूध होटल, मिठाइपसल, चियापसल र घरहरुमा खपत हुँदै आएको व्यवसायी बताए । एशोसियसनका अध्यक्ष पन्तले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका मन्त्री, कृषि विभाग, अर्थ मन्त्रालय, योजना आयोगसम्म पुगेर २३ बुँदे माग राख्दा पनि सुनुवाइ नभएको बताए । एशोसिएशनले बैंकबाट लिएको ऋणको ब्याज दुई, कृषि उपज प्रशोधनमा पाँच र बिक्रीवितरणतर्फ सात प्रतिशत ब्याज कायम हुनुपर्ने, साँवा भुक्तानीको समय पछाडि सार्ने, सहुलियत ऋण प्रवाह गर्नुपर्ने, कर्जाको सीमा रकम अधिकतम १० करोड रुपैयाँ पुर्याउनुपर्ने र कर्जा भुक्तानी १५ वर्षको हुनुपर्ने माग राखेको छ । त्यसैगरी किसानको उत्पादन बिक्रीमा समस्या भए २५ प्रतिशत मुनाफामा सरकारले खरिद गर्नुपर्ने, विभिन्न औजार एवं एक सवारी साधन खरिदमा एक प्रतिशत मात्रै कर लाग्नुपर्ने, जस्तोसुकै अवस्थामा पनि सहज पशु आहारको आयात हुनुपर्ने, स्वदेशी उत्पादनमा सहुलियत दिनुपर्ने, कृषक मेसेनरी सामानमा ७५ प्रतिशत अनुदान दिनुपर्ने, गाईगोठ निर्माणमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्नुपर्नेलगायतको माग राखिएको अध्यक्ष पन्तले जानकारी दिए । रासस
भारतसँगका सीमावर्ती प्रदेशमा चौधरी फाउन्डेसनले वितरण गर्याे पीपीई र उपचार सामग्री
काठमाडौं । कोरोना भाइरस रोग (कोभिड-१९) रोकथाम र उपचारका लागि चौधरी फाउन्डेसनले सुदूरपश्चिम प्रदेशका धनगढी, डडेलधुरा, दार्चुला र बैतडी जिल्ला अस्पतालमा एन-९५ मास्क, स्यानिटाइजरसहितका व्यक्तिगत सुरक्षा (पीपीई) र उपचार सामग्री उपलब्ध गराएको छ । फाउन्डेसनले ठूलो संख्यामा नागरिक आवतजावत हुने भारतसँगका सीमावर्ती प्रदेशमा आफ्नो ध्यान केन्द्रित गरि उक्त स्थानमा साे सहयाेग गरेकाे हाे । त्यस्तै, कर्णाली प्रदेशका चौरजहारी (रुकुम पश्चिम) र कर्णाली प्रादेशिक अस्पतालमा पनि यी सामग्री हस्तान्तरण गरिएको छ । सुरक्षा सामग्री ग्रहण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहयोगका लागि फाउन्डेसनप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गरे । खाडी मुलुक, मलेसिया र भारतमा रोजगारीका लागि जानेको संख्या प्रदेश नं.२ मा ठूलो भएकाले यो क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा छ । त्यसैले त्यहाँका नागरिकको सुरक्षामा पनि हाम्रो ध्यान केन्द्रित छ । फाउन्डेसनले प्रदेश २ का मुख्यमन्त्री र सरकारसँग नजिकको समन्वय कायम गरी जनकपुर, वीरगन्ज, सप्तरी, महोत्तरी, रौतहट, सर्लाही, सिरहा अस्पताललाई थप सुरक्षा सामग्री उपलब्ध गराएको छ । सहयोग ग्रहणपछि प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले भारतबाट आएका नागरिकका कारण संवेदनशीलता बढेको भन्दै गुणस्तरीय सुरक्षा सामग्री उपलब्ध गराएकोमा फाउन्डेसनप्रति आभार व्यक्त गरे । ‘अहिलेको विपत्तिका बेला परीक्षण र सुरक्षा सामग्रीको व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको थियो । यस्तो बेला एक कदम अघि सरेर चौधरी फाउन्डेसनले नागरिक सुरक्षाका लागि उपलब्ध गराएका यी सामग्रीप्रति आभारी छौं,’ उनले भने । अझै पनि मुलुकभरिबाट ठूलो संख्यामा सुरक्षा सामग्रीको माग आउने क्रम जारी छ । हामीले सम्पूर्ण शक्तिका बाबजुद सबै ठाउँमा सामग्री पुर्याउन सकेका छैनौं । हाम्रा सीमितताबीच पनि स्वास्थ्य संस्थाहरूको आवश्यकता, पूर्वाधार उपलब्धता र सम्भावित जोखिमलाई ध्यानमा राखेर सकेसम्म धेरै सामग्री पुर्याउने प्रयास गरेका छौं । यही क्रममा नेपाल मेडिकल एसोसियसन, धुलीखेल अस्पताल, सशस्त्र प्रहरी बल मुख्यालयलगायत महत्वपूर्ण संस्थाका लागि पनि सुरक्षा सामग्री उपलब्ध गराएका छौं । फाउन्डेसन अध्यक्ष विनोद चौधरीले सामाजिक उत्तरदायित्व वहन गर्दै आफूहरूले नागरिक सुरक्षामा थोरै भए पनि योगदान गर्न पाउँदा सन्तोष लागेको बताएका छन् । ‘अहिलेको समयमा जसले जहाँबाट सक्छ, त्यहीँबाट कोरोनाविरुद्धको राष्ट्रिय अभियानमा साथ दिनुपर्छ,’ उनले भनेका छन्, ‘हाम्रो प्रयासमा प्रदेश सरकारहरूको ठूलो सहयोग रह्यो । स्वास्थ्य संवेदनशीलता बुझेर मुख्यमन्त्रीज्यूहरूले देखाउनुभएको समन्वयकारी भूमिकाप्रति हामी आभारी छौं ।’ अहिले सबैभन्दा बढी जोखिमयुक्त तीन प्रदेशका स्वास्थ्य संस्थाका लागि सुरक्षा सामग्री वितरण गरिएको भन्दै उनले स्वास्थ्यकर्मीहरू अब ढुक्कले परीक्षणमा संलग्न हुने अवस्था आएको उल्लेख गरे । ‘हामीले शुरुदेखि नै भन्दै आएका छौं कि हाम्रो पहिलो प्राथमिकता उपचार र परीक्षणमा सक्रिय चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा हो । साथै न्यूनतम उपकरण र पूर्वाधार भएका स्वास्थ्य केन्द्रलाई सबल बनाउने हाम्रो उद्देश्य हो,’ उनले भनेका छन् । फाउन्डेसनले यसअघि बुधबारमात्रै सरकारका स्वास्थ्यमन्त्री माननीय भानुभक्त ढकाललाई १ हजार ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको थियो । यसक्रममा फाउन्डेसनले त्यस्ता स्वास्थ्य केन्द्र छनोट गरेको छ, जहाँ न्यूनतम पूर्वाधार र दक्ष जनशक्ति छन् । त्यस्ता जनशक्तिलाई सहज र निर्भयका साथ स्वास्थ्य उपचारमा उत्प्रेरित गर्नका लागि सुरक्षा सामग्री उपलब्ध गराउनु प्राथमिक उद्देश्य रहेकाे फाउन्डेसनले जनाएकाे छ ।
कोरोना कहरः भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा
न्यूयोर्क । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरु यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन छाडेका छन् । कारणः केही ठूला अस्पतालहरुले भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित बिरामीहरुको मृत्युदर बढी देखिएको जनाएका छन्, र कतिपय चिकित्सकहरुले केही निश्चित किसिमका बिरामीलाई यी मेसिनले हानि पुर्याएको भन्दै चिन्ता व्यक्त गरेका छन् । आफूहरुसँग विकसित उपचार पद्धति उपलब्ध भएपनि अमेरिकी चिकित्सकहरू भाइरसको सही उपचार पद्धति खुट्याउन प्रयत्नरत छन् । उनीहरू बिरामीहरुको लगातारको मृत्यु र आधारभूत स्वास्थ्य सामग्रीको अभावबीच मानिसका कथा र यथार्थपरक तथ्यांकमा निर्भर रहेका छन् । मेकानिकल भेन्टिलेटरहरूले बिरामीको फोक्सोमा खराबी आएपछि अक्सिजन दिन सहयोग गर्दछ । मेशिनको प्रयोग गर्दा बिरामीलाई बेहोस बनाउनु र घाँटीमा ट्युब छिराउनु पर्दछ । यस्ता बिरामीहरूको कुनै पनि बेला मृत्यु हुनु सामान्य हुन्छ, र श्वासप्रश्वासमा गरिएको यो सहयोगको यस्तो बेलामा केही अर्थ हुँदैन । सामान्यतया भन्नुपर्दा, विज्ञहरुका अनुसार श्वासप्रश्वासका ४० देखि ५० प्रतिशत गम्भीर बिरामीको भेन्टिलेटरमै मृत्यु हुन्छ । तर न्यूयोर्क शहरमा यिनै भेन्टिलेटरमा राखिएका ८० प्रतिशत वा सोभन्दा बढी कोरोनाभाइरस बिरामीहरूको मृत्यु भएको छ । अमेरिकन लङ एसोसिएसनका प्रमुख मेडिकल अधिकृत डा अल्बर्ट रिज्जोले अमेरिकामै सामान्यभन्दा बढी मृत्युदर रिपोर्ट गरिएको बताए । यस्तै रिपोर्टहरू चीन र बेलायतबाट पनि आएका छन् । एउटा बेलायती रिपोर्टमा यो संख्या ६६ प्रतिशत देखिएको छ । चिनियाँ शहर वुहानमा गरिएको एउटा सानो अध्ययनमा भेन्टिलेटरमा राखिएका बिरामीमध्ये ८६ प्रतिशतको मृत्यु भएको थियो । यद्यपी यसको कारण स्पष्ट भइसकेको छैन । यो रोगबाट संक्रमित हुनुअघि बिरामीको अवस्थामाथि पनि विचार गरिनु आवश्यक हुन्छ । कतिपय विज्ञहरुको भनाईमा बिरामीलाई कुन अवस्थामा भेन्टिलेटरमा राख्ने भन्ने सही समय पहिचान आवश्यक रहन्छ । तर धेरैजसो स्वास्थ्यकर्मीहरु भेन्टिलेटरको प्रयोग गर्दा बिरामीहरुको स्वास्थ्य अरु बिग्रन्छ वा यसले हानिकारक प्रतिरक्षा प्रणाली निर्माण गर्दछ भन्नेमा खासै जानकार छैनन् । त्यो अनुमान हो । तर विज्ञहरू भन्छन्, भेन्टिलेटरहरू बिरामीका लागि समयक्रममा हानिकारक हुन सक्दछन्, किनकि मेसिनको सहयोगमा उच्च–दबाबको अक्सिजनलाई बिरामीको फोक्सोमा रहेको सानो हावाको थैलीमा जबरजस्ती छिराइन्छ । टोरन्टो जनरल अस्पतालका श्वासरोग उपचारका विशेषज्ञ डा एडी फानले भन्नुहुन्छ, “मेकानिकल भेन्टिलेसन त्यति राम्रो होइन भन्ने हामी सबैलाई थाहा छ । पछिल्ला केही दशकमा पत्ता लागेको कुरा के हो भने मेडिकल भेन्टिलेटरले फोक्सोलाई बिगार्न सक्दछ – त्यसैले हामीले यसको प्रयोग गर्नुअघि विशेष सावधानी अपनाउनु पर्दछ ।” डा फानले भन्नुभयो, मेसिनबाट दिइएको दबाबको मात्रा र श्वासप्रश्वासको संख्यालाई सीमित गरेर खतराहरूलाई कम गर्न सकिन्छ । तर केही चिकित्सकहरुले बिरामीहरूलाई सकेसम्म लामो समय भेन्टिलेटरमा नराखिएको बताएका छन् । र त्यसको सट्टा अन्य प्रविधिहरूको प्रयोगमा जोड दिइएको छ । न्यूयोर्क शहरमा केही हप्ताअघि निकै बिरामी परेका कोरोनाभाइरसका बिरामीहरूलाई नियमित रूपमा सास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राखिएको थियो, म्यानहट्टन अस्पतालमा काम गर्ने आपतकालीन चिकित्सक डा जोसेफ हब्बुसेले बताए । तर धेरैजसो अवस्थामा फिजिसियन चिकित्सकहरूले अन्य उपायहरू अपनाउन खोजेको पाइएको छ । तीमध्ये एउटा हो, बिरामीलाई विभिन्न तरिकामा राख्न र सुताउन । अर्को तरिका हो, नाकबाट ट्युब वा अन्य उपकरण घुसाएर बिरामीहरूलाई स्वाभाविक रुपमा बढी अक्सिजन दिए । केही डाक्टरहरूले फोक्सोको कम क्षतिग्रस्त भागहरूमा रक्त प्रवाह र अक्सिजन पु–याउन नाइट्रिक अक्साइड प्रयोग गरिरहेका छन् । “यदि हामीले उनीहरूलाई यिनै विधिबाट आराम दिलाउन सक्यौं भने यसको नतिजा पनि राम्रो हुनेछ,” ह्याबाउसले भने । भान्डर्बिल्ट विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा विलियम श्याफ्नरले भन्नुभयो, “कोरोनाभाइरसका बिरामीहरूलाई अन्य प्रकारका बिरामीहरूको तुलनामा लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्छ भन्ने भनाई छ ।” विज्ञहरू भन्छन्– ब्याक्टेरियल निमोनियाका बिरामीहरूलाई, उदाहरणका लागि, पनि भेन्टिलेटरमा एक वा दुई दिन भन्दा बढी राख्नु हुँदैन । तर कोरोनाभाइरसका बिरामीलाई भेन्टिलेटरमा “सात दिन, १० दिन, १५ दिन” राखिएको छ र उनीहरुकै मृत्यु भइरहेको छ,” न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यू कुमोले बुधबार आयोजित ब्रिफिङका क्रममा बताए । भेन्टिलेटरहरू छोटो समयमा आपूर्ति हुन निकै कठिन हुन्छ । विज्ञहरूले कोरोना पीडितको संख्या बढ्दै जाँदा चिकित्सकमाथि कसलाई भेन्टिलेटरमा राख्ने र कसलाई नराख्ने भन्नेमा द्विविधा उत्पन्न हुने बताउँछन् । न्यूयोर्क राज्य स्वास्थ्य आयुक्त डा होवार्ड जुकरले बुधबार अधिकारीहरूले उपचारका लागि भर्ना हुने हरेक बिरामीका लागि अन्य सम्भाव्य उपचार विधिका बारेमा खोज गरिरहेको बताए। तर उनले भने, “यो सबै प्रयोगात्मक नै हुनेछ ।” “भेन्टिलेटर उपचारात्मक होइन । बिरामीको शरीरको पुनः सुधार हुँदासम्मका लागि यो सहयोगी उपाय मात्र हो,” फ्लोरिडाको मियामी स्वास्थ्य प्रणाली विश्वविद्यालयका फोक्सो विशेषज्ञ डा रोजर अल्भारेजले बताए । नाइट्रिक अक्साइडको प्रयोग गरेर बिरामीलाई सकेसम्म कम भेन्टिलेटरमा राख्न सकिने पद्धतिका बारेमा उनले निकै सफलता हासिल गरे । ज्याचारी शेमटोबले आफ्ना ४५ वर्षीय श्रीमानलाई कोरोना संक्रमण भएपछि भेन्टिलेटरमा राख्नुपर्छ भन्दा आफूलाई निकै डर लागेको बताए। “भेन्टिलेटरमा राख्नु भनेको कहिल्यै पनि भेन्टिलेटर हटाउनु होइन भन्ने मलाई लागिरहन्छ ।” रासस/एपी