मजदुरको दुखेसो–रोगभन्दा भोक सहन गाह्रो
काठमाडाैं । चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो । जुरुक्क उठेपछि भारी बोक्ने काम शुरु हुन्थ्यो । यसरी बित्थे माझीका दिनहरु । दैनिक गुजाराका लागि भारी बोकेर उपत्यकामा भौंतारिएको धेरै वर्ष भइसक्यो तर उनलाई अहिलेको जस्तो सकस पहिले कहिल्यै परेको थिएन । “दिनदिनैको बन्दले केही गर्न पाएको छैन । आज २० दिन भयो दुई चार पैसा कमाइ पनि छैन । विकल्प नै केही नभएपछि के गर्नु भोकभोकै बस्नुपरिरहेको छ”, भक्तपुर थिमिस्थित शङ्खधर चोकमा भेटिएका माझीले मलिन स्वरमा दुःख पोखे । माझी थोत्रो ज्याकेट र पाइन्ट, धेरै दिन नुहाउन नपाएर जिङ्रिङ परेको कपाल, मुखमा कालो मास्क र फाट्न लागेको चप्पलमा देखिन्थे । उनका अरु मजदुर साथीहरु पनि सडकपेटीमा सुस्ताउँदै थिए । माझीले हामीलाई व्यथा पोख्न भ्याए । समस्या सबैको उही न हो, बीचबीचमा उनीहरु पनि थप्दै थिए । कसरी दिन काट्ने होला भन्ने नै थियो सबैको साझा चिन्ता । सकड खाली नै थियो । एकै छिनमा मानवसेवा आश्रमको गाडी हुँइकिएर आयो । माझीलगायत उनका मजदूरहरु साथीहरु र सडक पेटीमा बसिरहेका अरुको अनुहार उज्यालो भयो । सबै खुशी देखिए । लकडाउनको शुरूवातमा भोकभोकै परेका मजदूरहरुलाई केही दिनदेखि त्यही गाडीले खाना ल्याएर खुवाउने रहेछ । यसो हेर्दैगर्दा उनीहरु बसेकै सडकपेटीमा खाना आइपुग्थ्यो । आश्रमले यसरी नियमित खाना खुवाउन थालेदेखि उनीहरुको मुहारमा चमक देखिन थालेको रहेछ जुन आज पनि झल्कियो । “केही दिन भयो यसैगरी खाना बाँड्न ल्याउनुहुन्छ, खायो बस्यो, बेलुका पाटीमा गयो सुत्यो, यसरी चल्दैछन् हिजोआजका दिन”, माझीले सुनाए । शुरुका दिनहरुमा भोकभोकै पर्याैं उनले भने । कतिदिन त एक छाक खान पायौँ अनि धेरै दिन भोकै रहेको पीडा भुल्न नसकेको भन्दै अब त्यस्ता दिन नआएनी हुने भन्दै थिए । पछिल्ला केही दिन खान त पाएका छन् तर उनीहरुको मनले मानेको छैन । उनीहरु काम गर्न चाहन्छन् । तर पाएका छैनन् । सरकारसँग रासन माग्न पनि गएकै हो, तर मजदुरले पाएनन् । “सिफारिस लिएर गएको हो खोइ साहुहरुलाई दियो, हामीलाई दिएन” खाना खुवाउने आश्रमलाई धन्यवाद दिँदै माझीले थपे, “हजुर रोग लागेर त केही हुँदैनथ्यो भोक सहन सकिँदैन जस्तो लाग्नथाल्यो ।” उनले रोग लागेर पनि सबै जना मर्दैनन् भनेर आफूले सुनेको बताए । नजिकै रहेका अन्य सहकर्मीहरु भाइकाजी खत्री, रामबहादुर वाइवा, बाबुराम गुरुङ, प्रेम धिमाल, पूर्ण लामा सडकपेटीमै बसेर धमाधम खाना खाँदै थिए । खाना खानुअघि आश्रमले नै स्यानिटाइजरको व्यवस्था गरेको थियो । सामाजिक दूरी कायम गरेर खाना खुवाइएको थियो । बेखर्ची भएर सडकमै बस्न बाध्य धेरैजसोको काम भारी बोक्ने नै हो । नुवाकोटका पूर्ण लामाको कथा केही फरक छ जात्रा हेर्न चैत ९ गते उपत्यका भित्रिएको रहेछन् । तर बन्दाबन्दीले निस्कनै पाएनन् । चैत १० मा भेटघाट सकेर ११ गते फर्कने सोच थियो उनकाे । तर १० गते साँझ सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर निस्किन नपाउने बन्दाबन्दी ‘लकडाउन’ को आदेश जारी गर्यो । राति मात्रै थाहा पाएका लामा उपत्यकामा अलपत्र परे। साथमा रहेको पैसा पनि केही दिनमा सकियो, खाना खान भौतारिए । अहिले कहिले पेटभर त कहिले आधी पेटमा दैनिकी चल्दैछ । विगत पाँच दिनदेखि भने पेटभर खान पाएको उनले सुनाए । काठमाडौंको कोटेश्वरमा एक सानो खाजा पसलमा कुक काम गर्ने रामेछापका वीरबहादुर खड्का पनि आफू कहिल्यै अभावमा परेको मान्छे नभए पनि यतिखेरको जस्तो समस्या कहिल्यै सामना गर्न नपरेको बताउछन् । लकडाउनलाई अघिपछिको बन्दजस्तै होला भन्ने ठानेका उनी मुलुक नै सुनसान बन्द भएपछि छक्क परे । मासिक १६ हजार रूपैयाँ तलब खाने खड्का अहिले बेखर्ची भएपछि सडकमै छन् । घर जान सकिने अवस्था रहेन । सरकारले राहत पनि दिएन । “राहत दिन्छ रे भनेर नागरिकता लिएर गएको दिएन”, खड्काले दुःख पोखे, “त्यही सडकमा डुल्ने, खाने, ठेला र प्रतिक्षालयमा सुत्ने अवस्थामा छु, दिन काट्नै पर्याे के गर्नु ?” उनलाई शुरुमा कोटेश्वरमा एउटा युवा क्लबले खाना दिन्थ्यो । अहिले सो आश्रमले खाना दिन थालेपछि भने सजिलो भएको सुनाए । खाना खुवाउन आइतबार साँझ मध्यपुरथिमि नगपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी सरिक भएका थिए । घरमा असहायको संरक्षण गरी सडक मानव र पशुपक्षीको सहयोग गर्दै आएको संस्थाले लकडाउनका बेला आफ्नो नगरपालिकामा आएर भोकाएका मजदूरलाई खाना खुवाएकामा उपप्रमुख मधिकर्मीले आश्रमको प्रशंसा गरे । उनले पकाउने चुलो नभएकालाई चामल दिँदा बेचेर खाने अवस्था रहेको भन्दै खानादिनु नै उत्तम विकल्प हो भने । चीनको वुहानमा गत डिसेम्बर ३१ मा शुरु भई विश्वव्यापी महामारीको रुप लिँदै गएको कोभिड–१९ को सङ्क्रमण विश्वका २१३ देशमा फैलिइसकेको छ । उक्त रोगबाट आजसम्म १८ लाख ५३ हजार १५५ नागरिक सङ्क्रमणमा परेका छन् । एक लाख १४ हजारले ज्यान गुमाइसकेका छन् । नेपालमा १२ जनामा यो सङ्क्रमण देखिए पनि फैलिएको भने छैन । यहाँ रोगको सङ्क्रमण नफैलिए पनि अप्रत्यक्षरुपमा देशभरका मानिस प्रभावित भएका छन् । कैयौं भोकै बस्नुपर्ने बाध्यता छ । यस्तो अवस्था देखिएकाले सरकारी निर्णयअनुसार स्थानीय तहबाट राहत वितरण जारी छ । पकाएर खाने ठाउँ नहुँदा मजदुरलाई राहत आकाशको फल झैं हुन्छ । राहत पाउनेमा पनि सम्पन्नको बाहुल्यता देखिने गरेको गुनासो गरिब मजदूरको छ । त्यसैले मजदूरलाई दैनिक खाना खुवाउनु नै प्रभावकारी ठानिएको छ । नेपालमा यसरी भोकै सडकमा पुगेकालाई विभिन्न संस्थाले राहत र खान खुवाउँदै आएको छ । यो क्रम उपत्यकामा पनि जारी छ । वितरण प्रभावकारी नहुँदा अझै कतिपय मजदूर भोकभोकै बस्नु परेको छ भने भोकभोकै पैदलै गाउँ फर्कन पनि कतिपय बाध्य छन् । भक्तपुरका विभिन्न ठाउँमा मानवसेवा आश्रम र नेपाल स्वयंसेवक सङ्घका प्रतिनिधि मिलेर अहिले भोकै रहेका मजदूरलाई खोजीखोजी खाना खुवाउन थालिएको हो । सङ्घका अध्यक्ष सन्तोष निरौलाका अनुसार शुरुका दिनमा सडकमा भएका कुकुरलाई खाना खुवाउन थालिएको थियो । सोही क्रममा सडकमा मजदूर भोकै बसेको फेला पर्यो । “दुई/तीन दिनदेखि खान नपाएको उनीहरुको दुखेसो सुन्यौँ, अब केही त गर्र्नै पर्यो भनेर आश्रममा खबर गर्याैं, अनि सबैको सल्लाहमा अभियान थालेका हौ”, निरौलाले अभियानको बारेमा जानकारी दिए । स्वयंसेवकले भोकाएका मजदूर कहाँकहाँ छन् भनेर खोजी गर्छन् । त्यसपछि मानवसेवा आश्रमले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर स्थानीय तहको समन्वयमा खान पकाएर वितरण गर्दै आएको छ । खानामा भात, दाल, तरकारी, सलाद दिने गरिएको छ । आश्रमले विगत सात वर्षदेखि मुलुकलाई नै असहाय सडक मानवमुक्त बनाउने अठोटका साथ सडकमा मागेरसमेत खान नसक्ने, वेसहारा, मनोरोगीको उद्धार गरी संरक्षणको अभियान चलाउँदै आएको छ । लकडाउनको अहिलेको समयमा आश्रमले दोहोरो अभिभारा ग्रहण गरेको छ । असहायको संरक्षणसँगै भक्तपुरका सडकमा भोको रहेका व्यक्तिलाई खाना खुवाउन थालेको छ । अन्य जिल्लामा आवश्यक सहयोग, समन्वय र सडक मानवको उद्धार गरिरहेको छ । आश्रममै खाना तयार हुन्छ र गाडीमा बोकेर जहाँजहाँ भोका मानिस छन्, त्यहीँ पुगेर खाना खुवाउने गरिएको छ । यतिबेला कोभिड– १९ को डरले गर्दा खाना खुवाउने क्रममा पनि सामाजिक दूरी कायम गरिन्छ । व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गरेर आश्रमका अभियानकर्मीहरु खाना दिन जान्छन् । हिजोआज दैनिक करिब ३ सय जनालाई बिहान बेलुकाको खाना खुवाइने गरिएको छ । आश्रमका अध्यक्ष रामजी अधिकारीले चैत २४ गतेदेखि नियमित खाना खुवाउने गरिएको बताए । उद्धार गर्ने अभियानसँगै विभिन्न परिस्थितिमा सकडमा रहेका मजदूरको अवस्था कमजोर देखिएकाले आश्रमको इच्छा कटौती गरेर खाना खुवाउन थालिएको अधिकारी बताए। सात प्रदेशका १४ जिल्लाका १९ शाखाबाट आश्रमले बेसहारालाई सेवा दिइरहेको छ । यसरी बेसहारा र सडकबाट उद्धार गरिएकामध्ये अहिले एक हजार १ सय जना संरक्षणमा छन् भने ६ सय बढीलाई परिवारमा मिलन गराइसकिएको जनाइएको छ । रासस
लकडाउनसँगै बजार नपाएपछि, फूल हेर्दै चित्त बुझाउँदै किसान
काठमाडौं । लकडाउनसँगै बजार नपाएपछि यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् । लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौं हो । त्यहाँ फूल जान छाडेपछि बारीमा नै सुकेर नष्ट हुन थालेको छ । कतिपयले त फूल बिक्री गर्न नपाएपछि काटेर फाल्नसमेत शुरु गरेको पश्चिम चितवनमा फूल व्यवसाय गर्दै आएका बद्री रानाले जानकारी दिए । उनले भने, “लकडाउनले बजार खुल्न पाएको छैन । फूल बजारमा जान नपाएपछि काटेर फाल्न शुरु गरेका छौं ।” उनले एक बिघा १० कट्ठामा फूल खेती गर्दै आएका छन् । ग्याडुलस जातको फूल लगाएका राना अहिलेसम्म एक लाखभन्दा बढीको फूल काटेर फालेको बताउँछन् । फ्लोरीकल्चर एशोसिएशन नेपाल चितवनका अध्यक्ष प्रकाश पन्त अहिले फूल खेती गर्ने किसान चिन्तित बन्न थालेको बताए । उनका अनुसार व्यावसायिकरूपमा गरिएको फूल खेती ग्याडुलस र गोदावरी बारीमा नै सुक्न थालेका छन् । पन्तले जिल्लामा छ बिघाभन्दा बढीमा लगाइएको ग्याडुलस र गोदावरी फूल नष्ट भएको जानकारी दिए । एक बिघाको फूल बिक्री गर्दा १५ लाख रुपैयाँ हाराहारी आम्दानी हुने भए पनि ती सबै नष्ट हुने अवस्थामा पुगेको उनले बताए । अधिकांशले जग्गा भाडामा लिएर महँगोमा खरिद गरेको बीउ र गोडमेलमा धेरै खेताला लगाउने हुँदा व्यवसायी मारमा परेको उनको भनाइ छ । पन्तको दुई बिघामा ग्याडुलस र आठ कट्ठामा गोदावरी फूल रहेको छ । उनले भने, “अब ऋण कसरी तिर्ने त्यही चिन्तामा हामी छौं ।” बैंकबाट ऋण लिएर व्यवसाय गरेका किसानलाई बैंकको ब्याज तिर्नसमेत समस्या परेको उनको गुनासो छ । उनले भने, “बीउ महँगो छ । उत्पादन भएको वस्तु बिक्री गर्न पाइएको छैन । चिन्ता थपिएको छ ।” उनले राज्यले फूल व्यवसाय गर्ने किसानलाई सहयोग गर्नुपर्ने बताए । रासस
सुदूरपश्चिमका मुक्त हलिया परिवारलाई साँझ बिहानको छाक टार्न मुस्किल
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न देशमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्त हलिया परिवारलाई परेको छ । सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने मुक्त हलिया परिवारलाई साँझ बिहानको छाक टार्न निकै मुस्किल भएको छ । दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई लकडाउनका कारण काम नपाइँदा समस्या भएको छ । मुक्त हलिया हरि दमाईले ज्याला मजदुरी गरेर ल्याएको रकमले खरिद गरिएको खाद्यान्न सकिएपछि छिमेकीसँग मागेर गुजारा चलाएको बताए । “छिमेकीको घरमा समेत भण्डारण गरिएको अन्न सकिन थालेपछि उनीहरुले समेत दिन छाडेका छन् । खाद्यान्न नपाइने अवस्था आएकाले भोकै बस्नुपर्ने भएको छ”, उनले भने । स्थानीय तह र विभिन्न दातृ निकायले राहत सामग्री बाँड्दै आए पनि मुक्त हलिया परिवारले राहत सामग्री पाउन सकेका छैनन् । “कोरोना भाइरसको सङ्क्रमण हुनबाट जोगिन घरबाट बाहिर ननिस्कन भनिएको छ”, मानध्वज लुहारले भने, “घरभित्र खानका लागि केही छैन, भोकै बस्न सकिँदैन । गाउँमा गएर मागेर ल्याउनुपरेको छ । गाउँमा समेत स्थानीय बासिन्दाले दिन नमान्दा भोकभोकै परिवारसँग बस्नुपर्ने भएको छ ।” राष्ट्रिय मुक्त हलिया महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर सुनार देश लकडाउन भएको १९ दिन बितिसक्दा मुक्त हलिया परिवार राहतको पर्खाइमा रहेको बताए । सरकारले राहत वितरणसम्बन्धी कार्यविधि निर्माण गरी निश्चित मापदण्डका आधारमा अतिविपन्न परिवारलाई स्थानीय तहमार्फत एकद्वार प्रणालीबाट राहत वितरणको कार्य भइरहेको छ । “राहत पाउनेमा थोरै नगण्य मात्रामा मुक्त हलिया परिवार समेटिएका छन्”, उनले भने, “अधिकांश परिवार राहत पाउनबाट वञ्चित छन् । कठिन अवस्थामा लकडाउनको प्रत्यक्ष मारमा परेका मुक्त हलिया परिवारलाई प्राथमिकतामा राखी राहत वितरण गरिनु पर्दछ ।” धेरै मुक्त हलिया परिवार भोकभोकै बसेको खबर र गुनासो आएकाले तत्काल राहतको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । मुक्त हलिया परिवारलाई तीनै तहका सरकार, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायत सरोकारवाला सबैलाई दैनिक उपभोग्य वस्तु र सरसफाइका सामग्री उपलब्ध गराइदिनसमेत उनले आग्रह गरे । लकडाउनको पालनासँगै राहतका लागि समन्वय गर्न जिल्लास्थित मुक्त हलिया सङ्गठन, मुक्त हलिया अगुवाहरुलाई अध्यक्ष सुनारले भने । सुदूरपश्चिम क्षेत्रमा झण्डै १६ हजार बढी मुक्त हलिया परिवारको बसोबास छ । महाकाली अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर सहयोग कञ्चनपुरको भीमदत्त नगरमा रहेको महाकाली अस्पताललाई कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी अक्सिजन ग्यास सिलिण्डर सहयोग गरिएको छ । लायन्स क्लब अफ कञ्चनपुरले अस्पताललाई २५ ग्यास सिलिण्डर सहयोग गरेको हो । लायन्स क्बलले केही दिनअघि नगरपालिकाको छलफल कार्यक्रममा कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी अस्पतालमा अक्सिजन अभाव हुन नदिन १०० थान सिलिण्डर सहयोग गर्ने प्रतिबद्धता गरेअनुरुप पहिलो चरणमा अस्पताललाई क्लबले २५ ग्यास सिलिण्डर सहयोग गरेको हो । अन्य ७५ सिलिण्डर केही दिनमै सहयोग गरिने क्लबका अध्यक्ष माधवप्रसाद जोशीले बताए । अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले क्लबको सहयोगपछि अस्पतालमा अक्सिजन ग्यासको अभाव नहुने बताए । “कोरोना महामारीमा ग्यास अभाव हुने चिन्ता थियो । अब त्यस्तो हुँदैन । शनिबार २५ सिलिण्डर सहयोग गरिएको छ, अर्को दिन बाँकी सहयोग हुनेछ”, अध्यक्ष जोशीले भने । नगरपालिकाले समेत केही महिनाअघि अस्पताललाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको थियो । डेरामा बसेका विद्यार्थीलाई विद्यालयको खाद्यान्न डेरा गरी बस्दै आएका विद्यार्थीलाई कञ्चनपुरको भीमदत्तनगरमा रहेको महेन्द्र माध्यमिक विद्यालयले खाद्यान्न वितरण गरेको छ । विद्यालयले राहत कोष स्थापना गरी डेरामा बस्दै आएका विद्यार्थीलाई खाद्यान्न वितरण गर्न शुरु गरेको हो । शनिबार नौ डेरामा बस्दै आएका विद्यार्थीलाई राहत सामग्रीका रूपमा खाद्यान्न वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले बताए । विद्यालय व्यवस्थापन समितिको निर्णयअनुरुप खाद्यान्न सामग्री वितरण गरिएको उनको भनाइ छ । अध्यक्ष विष्टले सरकारी राहतको मुख ताक्नुभन्दा पनि विद्यालयले आफ्नै कोषबाट राहत वितरण गरेको बताए । उनका अनुसार जनप्रतिनिधि एवं सरकारी निकायको रहोबरमा चामल, दाल, तेललगायतका खाद्यान्नका साथै सुरक्षा सामग्री वितरण गरिएको छ । रासस