लकडाउनमा पशुपति : साधुसन्तलाई खाना अभाव, साँढे मन्दिर बाहिरै
काठमाडौं । पशुपतिनाथ मन्दिर तलको वाग्मती नदी छेउमा एक साधु ‘तिर्खा लाग्यो, कोही पानी त देऊ’ भन्दै कराउँदै थिए । वाग्मती किनारमा थौरै मानिस पनि बसिरहेका देखिन्थे । उनीहरु पट्यार र दिक्क मानेर बसेझैँ लाग्यो । आपसमा भलाकुसारी भने गरिरहेका थिए । अलिक नजिक जाँदा नदी किनारमा शव ठड्याएर राखेको देखियो । दुई तीन जनाले शवमाथि वाग्मतीको पानी छर्कदै थिए । धेरै अनुमान गर्नै परेन, उनीहरु दाहसंस्कारको तयारीमा थिए । तिनै मलामीतर्फ हेरेर साधु पानीका लागि गुहार्दै थिए तर मलामीलाई आफन्त गुमाएको पीडा । यस्तोमा ती साधुतर्फ उनीहरुको ध्यानै कसरी जाओस् । मङ्गलबार दिउँसो पशुपतिनाथ मन्दिर क्षेत्रमा पुग्दा एक प्रकारको सन्नाटा थियो । दर्शनार्थी कोही पनि थिएनन् । थिए त मलामी र तीन चार साधु । नदी किनारमा एउटा मात्र शव राखिएको थियो । किनारमा लहरै दाहसंस्कारका लागि बनाइएको स्थलमा दाउरा राखिएको थियो । अरु बेला दाउराका लागि कुर्नुपथ्र्यो । अहिले यहाँ लकडाउनमा दाहसंस्कार गर्न पहिलाको जस्तो शव ल्याइएको छैन । सरकारले दाहसंस्कारका लागि कुनै रोक त गरेको छैन । बरु दाहसंस्कारका लागि चाहिने स्रोतसाधनको पर्याप्त व्यवस्था गरेको छ । “किन हो कुन्नि लडकडाउन शुरु भएयता दाहसंस्कार गर्न पहिलाको जस्तै शव ल्याएको पाइन्नँ”, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशन डा घनश्याम खतिवडाले भने, “हामीले दाहसंस्कारको सबै चाँजोपाँजो मिलाइदिएका छौँ, कुनै कुराको कमी हुन दिन्नौं ।” वाग्मतीपारि जान खोज्दा साँढेले बाटो छेक्यो । अजङ्गको साँढे पुलमा उभिएको थियो । त्यसको अवस्था देख्दा निकै भोकाएको जस्तो देखिन्थ्यो । हत्तपत्त साँढेले बाटो छोडेन । नदीपारि पनि साँढे यत्रतत्र थिए । श्लेषमान्तक वनतर्फको बाटोमा गोबरैगोबर थियो । लकडाउनयता उक्त क्षेत्रमा सरसफाइ गरिएको छैन । उकालो चढ्दा बाटोमा अर्का साधु भेटिए । उनले नेपालीमा कुरा गर्न सकेनन् । भारतबाट आएका साधुले हिन्दीमै जवाफ फर्काए । लकडाउनपछि बाहिरबाट आएका साधुले पशुपतिनाथ मन्दिर क्षेत्र छाडेको उनको भनाइ थियो । “म पनि यहाँ धेरै बस्दिनँ, खानपिनको समस्या छ”, उनले भने । मृगस्थली पुग्दा पनि बाटोमा साँढे नै थिए । साधु बस्ने कुटियाभित्र तीन साँढे भेटिए । “लकडाउन शुरु भएपछि साँढे हामीसँगै कुटियामा बस्ने खाने गरेका छन्”, दिउँसोको भजनकीर्तनको तयारीमा रहेका योगी व्याघ्र वेदनाथले गुनासो गरे, “भगवान् शिवको बाहन साँढे (नन्दी)लाई नै पशुपतिनाथ मन्दिर पस्न मनाही गरिएको छ ।” साँढेलाई पशुपति मन्दिर परिसरमा पस्न नदिएकामा वेदनाथ मात्र होइनन् त्यहाँ रहेका अरु साधु पनि खुशी थिएनन् । उनीहरुले साँढे सधैँ भगवान् शिवको साथमा रहने धार्मिक कथन सुनाए । “साँढेलाई भोकभोकै र यसरी अलपत्र पार्न हुँदैन”, योगी वेदनाथले भने, “यो त सुहाउने काम भएन, मान्छेलाई पो रोक्ने हो, यी पशु कहाँ जान्छन् रु” उनले पशुपति क्षेत्रभित्रका साँढेलाई आहारको कमी भएको बताए । तिनीहरु भोकले पनि साधु भएको ठाउँमा आउने गरेको उनको भनाइ थियो । पशुपति क्षेत्रमा बस्दै आएका साधुसन्तलाई खाद्यान्न अभाव भएको उनीहरुले बताए । उनीहरुले कोषले आफूहरुको समस्याबारे चासो नदिएको गुनासो गरे । “कोषले लकडाउनपछि एक बोरा चामल उपलब्ध गराएको छ”, योगी वेदनाथले भने, “यतिका साधुसन्तलाई यसले पुग्छ ।” त्यही एक बोरा चामल पनि उनीहरुले प्रयोग गरेका छैनन् । “हामी भिखारी होइनौँ, यो चामल प्रयोग गर्दैनौँ, फिर्ता गछौँ, नभए परेवाले खान्छ”, उनले भने । यहाँ बस्दै आएका साधुसन्तले पहिला दर्शनार्थीले ल्याइदिएको खाद्यान्न तथा अन्य सामग्रीले खानपिनको जोहो गर्दै आएका थिए । अहिले कोही पनि नआउँदा उनीहरुलाई समस्या भएको छ । पहिलादेखिकै बचेको सामग्रीका भरमा उनीहरु बस्दै आएका छन् । यहाँका साधुसन्तले उल्टै भोकाएर आउनेलाई समेत खानाको प्रबन्ध मिलाउने गरेका छन् । “दिनहुँ ५० जनाभन्दा बढी भोकै छौँ भन्दै खाना खान आउँछन्”, योगी वेदनाथले भने, “भोकै आउनेलाई खुवाएर पठाउनै पर्यो ।” मृगबाटिकाभित्र ठूलो सङ्ख्यामा मृग राखिएका छन् । मृगबाटिकाभित्रै बोकासमेत राखिएको छ । मृग र बोकालाई समेत आहारको अभाव भएको साधुहरुले बताए । “हाम्रो त यो अवस्था छ, यिनलाई कसले हेर्ने ?” उनीहरु गुनासो गर्दै थिए । मृग र बोकाका लागि हरियो घाँसको व्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो । “मृगको खान्की नै हरियो घाँस हो, पिठो खुवाएर हुन्छ”, उनीहरुले आक्रोश व्यक्त गरे । कोषका कर्मचारीहरु नियमितरुपमा रेखदेख तथा अनुगमनका लागि नआउने गरेको उनीहरुको दुखेसो थियो । बाटोभरि यत्रतत्र फोहरैफोहर देखिन्थ्यो । कुहेको केरा र चना मात्रै थियो । राम मन्दिरबाट फर्कँदै गर्दा बाटोमा भोक मेटाउन मैतीदेवीबाट हिँडेर पशुपति क्षेत्र पुगेका काभ्रेपलाञ्चोक पनौती नगरपालिका–९ का कैलाश खड्का भेटिए । “डेरामा खानपिनको समस्या छ, खाना खान यतै आउँछौँ”, उनले भने। हिँडैरै घर जान पनि असहज भएको उनले बताए । गाउँलेको डरले घर नगएको खड्काको भनाइ छ । “बाहिरबाट रोग ल्याएर आयो भन्लान भन्ने डरले गएको छैन”, उनले भने, “बरु जसोतसो गरी लकडाउन यतै काट्छु ।” खड्कासँगै काठमाडौंमा मजदुरी गरी जीविकोपार्जन गर्दै अन्य दुई जना पनि खाना खान साधुसन्तकहाँ जाँदै थिए । कोषका कार्यकारी निर्देशक डा खतिवडाले साँढेलाई पशुपतिनाथ मन्दिरभित्र प्रवेशमा रोक लगाएको स्वीकारे । “लकडाउनपछि साँढेलाई मन्दिर परिसरमा जान दिएका छैनौँ”, उनले भने, “भित्र जताततै गोबर नै गोबर हुन्छ, फोहर सफा गर्न सकिन्नँ, यस्तो माहामारीमा कर्मचारीलाई घरबाट बोलाउन पनि भएन ।” लकडाउनअघि साँढेलाई मन्दिरभित्र पस्नबाट नरोकेको खतिवडाले बताए । साँढेले दुबो र बगैँचा नास गर्ने भएकाले पशुपतिका चारैतर्फका ढोका थुनेको उनले बताए । सरसफाइलाई ध्यानमा राख्दै साँढेलाई बाहिरै राखिएको खतिवडाको भनाइ छ । निर्देशक खतिवडाले पशुपति क्षेत्रमा रहेका साधुसन्त, बाँदर, मृग, साँढे, बोकालगायतलाई खानपिनको प्रबन्ध मिलाइएको बताए । “मृगबाटिकामा रहेका १५७ मृगका लागि पर्याप्त खानेकुराको व्यवस्था गरेका छौँ”, उनले भने, “पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले छाडेर गएका बोकालाई पनि मृग बाटिकामै राखेका छौँ, उनीहरुलाई खानेकुराको कमी छैन ।” बाँदरका लागि पवन सङ्घाइले एक दशकदेखि खानेकुराको व्यवस्था गर्दै आएको उनले जानकारी दिए । “उहाँले नियमित बाँदरको रेखदेख गर्दै आउनुभएको छ”, खतिवडाले भने । पशुपति क्षेत्रमा झण्डै ४० हजारको सङ्ख्यामा परेवा रहेको उनले जानकारी दिए । “दैनिक ३० पाथी जति चामल र मकै परेवालाई खुवाउने गरेका छौँ”, खतिवडाले भने । लकडाउनपछि पशुपति क्षेत्रको सरसफाइमा १० कर्मचारी खटाइएको छ । “पाँच–पाँच जनाको समूहले काम गर्ने गरेका छन्, लकडाउनका कारण कर्मचारी कटौती गरी काम चलाएका छौँ”, डा खतिवडाले भने । उनले दैनिक ३ सयदेखि ५ सय जनालाई खाना खाने प्रबन्धसमेत मिलाइएको बताए । रासस
२०७७ सालमा सिनेमाः रिलिज विद्युतीय उपकरणबाट, भुक्तानी डिजिटलाइज्ड
काठमाडौं । चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल संसारभर फैलिसकेको छ । जसबाट वैश्विक अर्थव्यवस्थामा गम्भीर असर पर्ने सरोकारवालाले बताइसकेका छन् । मानव सभ्यतालाई नै चुनौती दिन सफल कोरोना भाइरसले मानवको आधारभुत आवश्यकताको परिभाषालाई बलल्नु पर्ने अवस्थामा पुर्याएको छ । यो कहरको बर्तमान अवस्थामा मानव जीवनको प्रमुख आवश्यकता भनेको गाँस, बास, तथा पहिरनको साथै स्वास्थ्य शिक्षा तथा मनोरन्जन समेत संकटमा परेको छ । आशा गर्न सक्छौं कि केही समयपछि कोरोनासँग विजय प्राप्त गर्नेछौं । यो हाम्रो वर्ष २०७७ कोरोना भाइरस संक्रमणमाथिको विजयको वर्षका साथै मानव सभ्यताको नयाँ पदचापको पानीढलो बन्ने प्रवल संभावना समेत रहेको छ । केही समयपछि कोरोना कहर साम्य हुनेछ । मानवीय क्रियाकलाप दिन प्रतिदिन सामान्य हुँदै जानेछ । व्यापार व्यवसायले नयाँ पद्दतिवाट आफ्नो साम्राज्य फैलाउँदै जानेछ । वतर्मान परिस्थितिमा अन्य क्षेत्र जस्तै चलचित्र क्षेत्रपनि नराम्रोसँग प्रभावित भएको छ । अन्य सामान्य समयमा समेत व्यवसाहिक रुप धारण गर्न नसकेको आरोप लाग्ने गरेको, निर्माणमा प्रयोग भएको ८० प्रतिशत लगानी डुब्ने गरेको, दर्शकको अपेक्षा अनुरुप चलचित्र निर्माण हुन नसकेको, जस्ता समस्याले गाँजेको नेपाली सिनेजगत यो कोरोनाको कहरबाट झन थलापरेको छ । कोरोना संक्रमणपछि विश्व बजारसँगै नेपालमा पनि हरेक क्षेत्रमा डिजिटल कारोबार बढ्ने सम्भावना देखिन्छ । नेपाली चलचित्र क्षेत्रले पनि चलचित्र प्रदर्शनको परम्परागत अवधारणा परिवर्तन गरी प्रविधिमैत्री नयाँ अवधारणामा जाने सम्भावना देखिन्छ । अहिलेसम्मको सिनेमाको व्यापारलाई हेर्दा विषेशत निर्माता मात्र समस्यामा पर्ने गरेको देखिएको थियो । कोरोनाबाट सिर्जित मानसिकताहरु जस्तै भिडभाडमा नजाने, सामाजिक दुरी कायम गर्ने, लगायतका कारणले चलचित्र निर्माता मात्र नभएर वितरक, प्रसारक, प्राविधिक, कलाकार लगायत समग्र क्षेत्र नै समस्यामा पर्ने देखिन्छ । यो समस्याको सामाधानको लागि अन्य क्षेत्रले जस्तै चलचित्र क्षेत्रले पनि केही नयाँ विधि र प्रक्रिया अबलम्बन गर्नुपर्ने आवश्यकता सरोकारवाले महसुस गरेका छन् । वर्तमानको कहरबाट औधोगिक क्षेत्रलाई माथि उक्लिन धेरै समय नलागे पनि मनोरञ्जन उद्योगलाई भने १ देखि २ वर्षसम्म लाग्न सक्नेछ । चलचित्र निर्माता तथा कलाकाल दीपकराज गिरी नेपाली चलचित्र वितरणको परम्परागत प्रणालीमा पुनरबिचार गरी नयाँ अबधारणामा नजाने हो भने नेपाली कला साहित्य र पहिचान समाप्त भएर सांस्कृतिक अतिक्रमणको चपेटामा परिने खतरा रहेको बताउँछन् । ‘म सानो छदा गाडीमा हिन्दी गित बज्थे, पार्टी वा विहेमा हिन्दी गित नै घन्किन्थे, हलहरुमा हिन्दी सिनेमा नै चल्थे, अहिले यी सबै ठाउँमा नेपाली गित र नेपाली चलचित्रको उपस्थिति बलियो भएको छ, अहिले फेरि हामी संकटको संघारमा छौं, विदेशी चलचित्रहरु हाम्रा कार्यालय वा निवासहरुमा आइरहेका छन्, हाम्रा चलचित्रहरु फिल्म हलमा मात्रै छन्, यो परम्परागत प्रणालीमा सुधार गरेर हामी पनि नेपालीका घर वा कार्यालयमा पुग्न सकेनौं भने नेपाली चलचित्र उद्योगको अवस्था दयनीय हुन सक्ने सम्भावना छ,’ गिरीले भने । नेपाली चलचित्रले पनि डिजिटल प्लेटफर्म प्रयोग गरेर चलचित्र प्रदर्शन गर्ने र डिजिटल भुक्तानी लिने प्रणालीमा आवद्ध हुनुपर्ने उनको भनाइ छ । विश्व बजारमा चलचित्र प्रदर्शनको लागि नेटफ्लिक्स जस्ता प्लेटफर्म तयार भएर सोही अनुसार नेपाली चलचित्र पनि प्रदर्शनको अवधारणा आउन सक्ने निर्माता तथा निर्देशक निश्चल बस्नेछ बताउँछन् । तर, यसका लागि अहिलेको पूर्वाधारले नपुग्ने र नयाँ बन्नुपर्ने उनको भनाइ छ । ‘थिएटरमा गएर फिल्म हेर्नुको मजा घर वा कार्यालयमा बसेर डिजिटल प्लेटफर्मबाट हेरेर लिन सकिदैन, तर डिजिटल प्लेटफर्मबाट फिल्म प्रदर्शन गर्न नै सकिदैन वा यो विकल्प नै होइन भन्ने कुरा होइन, यसका लागि भुक्तानी प्रणालीलाई सहज बनाउनु आवश्यक देखिन्छ,’ निर्माता तथा निर्देशक बस्नेतले भने । डिजिटल प्लेटफर्मबाट फिल्म प्रदर्शन गर्नको लागि भुक्तानी प्रणाली सहज, कम खर्चिलो र सबैको पहुचमा पुग्न आवश्यक रहेको उनको धारणा छ । अहिले संचालनमा रहेका डिजिटल भुक्तानी मध्यस्थकर्ता सेवा प्रदायकले लिने कमिसन धेरै भएको र सोही कारण फिल्म हेर्ने दर्शक तथा निर्मातालाई नोक्सानी हुने र मध्यस्थकर्ता सेवा प्रदायकले बढी फाइदा लिने अवस्थामा पुनरावलोकन हुनुपर्ने उनको भनाइ छ । निर्मात्री तथा अभिनेतृ दिपाश्री निरौला पनि अबको नेपाली चलचित्रको भविष्य डिजिटल प्लेटफर्ममै रहेको रहेको बताउँछिन् । तर, यसका लागि डेटा सुरक्षा मुख्य चुनौतिको रुपमा देखापरेको उनको भनाइ छ । ‘नेपालमा पनि फिल्म प्रदर्शन गर्ने केही डिजिटल प्लेटफर्म संचालनमा छन्, तर त्यसमा राखिएको फिल्म पाइरेसीको चपेटामा परेका उदाहरण पनि बढ्न थालेका छन्, त्यसैले पाइरेसी रोक्ने र भुक्तानी प्रक्रियालाई सहज बनाउने हो भने अबको एकमात्र विकल्प डिजिटल प्लेटफर्म नै हो जस्तो देखिन्छ,’ निरौलाले भनिन् । चलचित्र मनोरञ्जन मात्र नभएर, कला, साहित्य, संस्कृति समेतको जर्गेना तथा प्रचारप्रसारको माध्यम भएकोले यो क्षेत्रको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् । हाल प्रयोगमा रहेको वितरण प्रणलीमा केही सुधार गर्नुपर्ने, प्रविधिको प्रयोगसँगै डिजिटल माध्यमलाई व्यवस्थित तथा सुरक्षित गरिनुपर्ने, चलचित्र क्षेत्रमा सिनेमा हलको ठूलो भुमिका तथा महत्व भएकोले सुरक्षित तवरले हलसम्म दर्शक तानिने वातावरण बनाउन यो क्षेत्रसँग सम्बन्धित सबैले विशेष पहल गर्न जरुरी रहेको अधिकारीको भनाइ छ । यस्तै राज्यले पनि चलचित्र क्षेत्र नतङ्ग्रिदासम्म सिनेमाको उत्पादन, प्रसारण, तथा वितरणमा लगाइएको कर छुट गरेर सिनेजगतलाई धरासायी हुनबाट जोगाउनुपर्ने अधिकारी बताउँछन् । चलचित्र वितरक प्रचन्डमान श्रेष्ठको मत भने अलिक फरक छ । कुनैपनि क्षेत्रको बजार सधै एकनास नभएर उचारचढाब हुने भन्दै उनले २०७२ को भुकम्पपछि पनि मनोरञ्जन उद्योग चाढै नै पुनस्थापित भएको बताए । संकटको बेलामा नै मानिसलाई मनोरन्जनको आवश्यकता हुने भएकोले दर्शकले सिनेमा हेर्ने तर त्यसको लागि स्तरीय चलचित्र भने बन्नुपर्ने उनको धारणा छ । यो कहरपछि सिनेमा हेर्ने प्रबृत्तिमा भने केही परिवर्तन आउने, सिनेमा हलसम्म पुग्ने दर्शकहरु डिजिटल माध्यमहरुमा केन्द्रित हुने हुनाले डिजिटल माध्यमको उचित नियमन तथा व्यवस्थापन हुन सकेन भने चलचित्र निर्माताहरु चरम घाटामा जाने तथा नेपाली चलचित्र क्षेत्र नै खतरामा पर्न सक्ने वितरक श्रेष्ठको मत छ । विश्वभर संक्रमण फैलिरहेको कोरोना भाइरस संक्रमणले नेपालीलाई पनि डिजिटल कारोबारमा अभ्यस्त बनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट तथा मोबाइल बैंकिङ कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गरिरहेका छन् । मोबाइल र इन्टरनेट कारोबारमा कुनै पनि प्रकारको शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले नेपालीलाई डिजिटल कारोबारमा बानी पर्न वाध्य बनाएको छ । यही डिजिटल कारोबारमा जगमा बसेर चलचित्र प्रदर्शनसम्मलाई पनि प्रविधिमैत्री बनाउन सकिने सरोकारवालाको भनाइ छ । तर, यसका लागि पेमेन्ट गेटवे सहज हुनुपर्ने, डेटा सुरक्षाको लागि पर्याप्त पूर्वाधार बन्नु पर्ने, कुनै प्रकारको कानुनी अड्चन वा विवाद सिर्जना भएमा न्यायिक निरुपणको लागि कानुनी संरचना तयार हुनुपर्ने सरोकारवालाको भनाइ छ । ‘पहिला चलचित्र बन्न थाले, त्यसपछि थिएटरको अवधारणा आयो होला, पछि टेलिभिजन आयो र अहिले मोबाइल आएको छ, अब चलचित्र थिएटर वा टिभीमा मात्रै होइन, मोबाइल मार्फत मान्छेका हातहातमा रिलिज हुने दिन आएका छन्, प्रविधिले दिएको यो अवसर हामीले पनि उपयोग गर्नुपर्छ, त्यसका लागि हामी तयार भएर रहनुपर्छ,’ दीपराज गिरीले थपे ।
मुक्तिनाथ विकास बैंकले विभिन्न स्थानका श्रमिकलाई वितरण गर्याे राहत सामाग्री
काठमाडौं । मुक्तिनाथ विकास बैंकले लकडाउनका कारण प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई राहत सामाग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गरेको हो । बैंकले सल्यानको त्रिवेणी गाउँपालिका, लुहाममा राहत सामाग्री सहयोग गरेको छ । उक्त राहत सामाग्री बैंकको लुहाम शाखाका शाखा प्रमुख सुदिन सिंहले त्रिवेणी गाउँपालिकाका प्रमुख मान बहादुर डाँगीलाई हस्तान्तरण गरेका थिए । यसैगरी, बैंकले श्रीनगरको क्षत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकामा पनि राहत सामाग्री सहयोग गरेको छ । बैंकको श्रीनगर शाखाका शाखा प्रमुख सुनिल रेग्मीले क्षत्रेश्वरी गाउँपालिकाका प्रमुख सन्तोष के.सी. र शारदा नगरपालिका उप-प्रमुख सावित्रा बस्नेतलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए । साथै, बैंकले सुर्खेतको विरेन्द्रनगर नगरपालिका-०५ मा पनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका विरेन्द्रनगर शाखाका शाखा प्रमुख खगेन्द्र मल्लले विरेन्द्रनगर नगरपालिकाका प्रमुख राज बहादुर गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् । यसका साथै,बैंकले काठमाडौंको टोखा नगरपालिका-०६, धापासीमा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकका बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले टोखा नगरपालिका-०६, का वडा प्रमुख महेश्वर के.सीलाई हस्तान्तरण गरेका थिए । बैंकले सहयोग गरेको राहत सामाग्री अन्तर्गत चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुनलगायतका सामाग्री रहेको छ । बैंकले लकडाउनको समयमा विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।