लकडाउनमा तनाब बढ्यो ? कम गर्न यस्ता छन् विज्ञका ५ टिप्स

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न विश्वभरका सरकारले लकडाउन गरेको कारण मानिसको सामान्य मानवीय गतिविधिलाई नै असामान्य बनाइ दिएको छ । हरेक दिन लाखौं संक्रमित भएको र हजारौं मरेको समाचारले धेरैको मन अत्तिएको छ । अहिलेको अवस्थामा घरमा बसेका धेरैले आफूलाई सुरक्षित महसुस गरेका छन् । किनभने यो रोगको एउटा मात्र बच्ने उपाय हो अरु मासिनसँगको शारीरिक दुरी । मानिसको थुकको छिट्टाबाट पनि सर्ने र हालसम्म कुनै पनि उपचार पत्ता नलागेको कारण मासिनहरु यो रोगसँग अत्तालिएका छन् । सारा दुनियाँ घरभित्र बस्दा फ्रन्ट लाइनमा बसेर ड्युटीमा खटिरहेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी होस वा अरु पेश व्यवसायका व्यक्तिहरु, उनीहरु सबैले आफूलाई सबैभन्दा धेरै असुरक्षित महसुस गरेका छन् । कोभिड–१९ को डरले धेरैले काम पनि त्यागेका छन् । तर अत्यावश्यक सेवामा संलग्न धेरैले काममा आउँदिन भनेर भन्न सकेका छैनन् । किनभने उनीहरुलाई अत्यावश्यक सेवा प्रवाह गर्नै पर्ने दायित्व छ । त्यस्ता अत्यावश्यक पेशामा संगलग्न धेरै व्यक्तिहरु अहिलेको अवस्थामा सबैभन्दा बढि तनावमा छन् । प्रस्तुत छ यस्ता अत्यावश्यक पेशामा संलग्न तथा घरमा बसिरहेका मानिसका लागि तनाव कम गर्ने उपाय के कस्ता हुन सक्छन् भनेर हामीले त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख मनोचिकित्सक प्राध्यापक डा. सरोज ओझासँग कुराकानी गरेर यो सामग्री तयार पारेका छौं । यो समय हरेक मानिसहरुको लागि एउटा निकै नै ठूलो चुनौती हो । त्यसमा पनि अत्यावश्यक सेवामा संलग्न जो कोहीको लागि यो समय निकै तनावपूर्ण रहेको छ । यो समयमा हामीलाई सबैभन्दा पहिला आफ्नो र आफ्नो परिवारको धेरै माया लागेको छ । तर, हामी कदापि नबिर्सौ कि हाम्रो यो सेवालाई इतिहासले पनि बिर्सने छैन । सारा संसार घरभित्र बसेको अवस्थामा हामीले गर्न पाएको पुण्यको कामलाई कसैले पनि चानचुने नसोचौं । सर्वप्रथम आफूले गरेको कामप्रति आफै गर्व गर्नुपर्छ । हामी आफूलाई सुरक्षित राख्दै अरुलाई पनि सुरक्षित राख्न सक्षम छौं । यो समयमा आफुमा भएको तनावलाई यसरी कम गर्न सकिन्छः १. सन्तुलित भोजन तनाव कम गर्नका लागि सबैभन्दा महत्वपूर्ण उपाय हो सन्तुलित भोजन । तपाईहरु धेरैलाई थाहा नहुन सक्छ तर सन्तुलित भोजनले तनावलाई कम गर्न निकै नै मद्दत गर्दछ । हामी हामीले खाएका खानेकुरा हौं । अर्थात हामी जस्तो खानेकुरा खान्छौं, हामी त्यस्तै बन्छौं भन्ने एउटा प्रख्यात भनाई रहेको छ । पर्याप्त पानी, फलफूल, स्वस्थ खानाले दिमागलाई शान्त राख्नको लागि धेरै मद्दत गर्दछ । यस्तो समयमा तनाव कम गर्न भन्दै रक्सी, सुर्ती, चुरोटको सेवनले झनै तनाव बढाउन सक्छ । त्यसैले सर्वप्रथम सन्तुलित आहारमा सबैभन्दा बढी ध्यान दिनुहोस् । २. शारीरिक व्यायम तनाव कम गर्ने अर्काे उपाय हो शारीरिक व्यायम । यसको लागि तपाईलाई घर बाहिरै गएर दौडिनु पर्छ भन्ने छैन । जिम जानुपर्छ भन्ने पनि होइन । तपाईले घरमा बिहानै उठेर घरभित्रै गीत बजाएर नाच्ने, बिहान समयमा उठ्ने, आफूलाई मन लागेको गीत सुन्दै मनपर्ने खानेकुरा बनाउने, घर सरसफाई गर्ने जस्ता काम गर्न सक्नुहुन्छ । यसलाई अन्य सामान्य दिन जस्तो सोचेर काममा जानुहोस् । काममा पनि सकेसम्म एकैठाउँमा लामो समयसँग नबस्नुहोस् । किनभने लामो समय एकैठाउँमा एउटै काम घोरिएर गर्दा झनै तनाव बढ्छ । ३. २४सैं घण्टा समाचारको पछि नदौडिनुहोस् अहिलेको अवस्थाको बारेमा जानकार भएको राम्रो हो । तर, जतिबेला पनि कति जनाको मृत्यु भयो, कति संक्रमित भए, नेपालमा कति जनामा कोरोना देखियो भन्ने जस्ता समाचारहरुबाट टाढा बस्नुहोस् । कार्यालयमा हुँदा पनि कोभिड–१९ को बाहेक अन्य कुरा गर्नुहोस् । साथीहरुसँग अन्य समयको भन्दा धेरै हाँसिमजाक गर्नुहोस् । एकअर्काेको आत्माबल बढाउने प्रयास गर्नुहोस् । ४. केही समय विश्राम गर्नुहोस् यदि तपाई काममा हुनुहुन्छ र धेरै तनाव महसुुस गरिरहनु भएको छ भने केही समय कानमा एयरफोन हालेर केही आनन्द लाग्ने धुनहरु सुन्नुहोस् । र, केही समय शान्त भएर बस्नुहोस् । आँखा बन्द गरेर लामो लामो सास फेर्नुहोस् । धेरै पानी पिउनुहोस् । अनि एकैपटकमा धेरै काम गर्ने प्रयास नगर्नुहोस् । ५. समयमा सुत्ने, उठ्ने गर्नुहोस् दिमागलाई स्थिर अवस्थामा राख्नलाई मद्दत गर्ने अर्को उपाय हो समयमा सुत्ने र समयमा उठ्ने । समयमा सुत्ने र उठ्ने बानीले तपाईलाई तनाव मुक्त हुने धेरै सहयोग गर्छ । एउटा तालिका बनाएर समयमा उठ्ने, खाने, रमाईलो गर्ने र समयमा सुत्ने बानी बसाल्नुहोस् ।

अत्यावश्यक सेवामा चाहिँदैन, मनाेरञ्जनमा प्रयाेग गर्न पाइँदैन

काठमाडौं । सबै भन्दा धेरै मानिस बसोबास गर्ने काठमाडौंमा काठमाडौं जिल्ला प्रशासनले गत बुधबारबाट सवारी पास दिन छाडेको छ । सरकारले गत वर्षको चैत ११ गतेदेखि देशभर लकडाउनको घोषण गरेर थियो । लकडाउनको समयमा अति आवश्यक बस्तु आयात निर्यात गर्नका लागि काठमाडौं जिल्ला प्रशासनले सवारी पास दिने गरेको थियो । तर गत बुधबारबाट मृत्यु संस्कारमा जाने व्यक्ति बाहेक अन्य प्रयोजनका लागि सवारी पास दिन बन्द गरेको छ । सरकारकाे यस्ताे निर्णयले अत्यावश्यक सेवा प्रवाहमा समस्या भएकाे सराेकारवालाकाे भनाइ छ । तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग निर्देशक तथा प्रवक्ता रविन्द्र आचार्यले काठमाडौं जिल्ला प्रशासनले सवारी पास रोकेर ठिक गरेको बताए । पास नभएपनि अत्यावश्यक सेवाका सवारी साधन नराेकिने भएकाेले याे निर्णयले दुरूपयाेग राेक्न सहयाेग गर्ने उनकाे भनाइ छ । घर जानदेखि ससुराली जानसम्म सवारी पास लिएर हिड्नेहरु अब रोकिन्छन् भन्दै उनले सवारी पासको दुरुपयोग गर्नेहरुलाई पनि अब ट्राफिकले समाउने र याे निर्णयले भीड नियन्त्रणमा सहयाेग पुग्ने उनले बताए । ‘सरकारले तोकेका अति आवश्यक बस्तुहरु बोकेका सवारीहरुको पास नभए पनि पुलिसले रोक्दैन, गाडीकाे अगाडि अतिआवश्य बस्तु ढुवानी भनेर लेख्ने, तर सवारीमा अन्य बस्तुहरु बोकेर हिड्नेहरुलाई कार्वही पुलिसले गर्छ,’ आचार्यले भने । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वितरण हुँदै आएको सवारी पासको माग अत्याधिक बढ्नुका साथै सडकमा भीड हुन गई लकडाउनको पालना नभएको भन्दै सवारी पास दिन बन्द गर्नु उपयुक्त भएकाे उनकाे भनाइ छ । ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि अति आवश्यक बस्तु ढुवानीको लागि पास जिल्ला प्रशासनले दिने गरेको थियो । अब पुरानाे सवारी पास वा पास विना नै अति आवश्यक बस्तु बोकेको सवारीलाई पुलिसले रोक्दैन्, त्यसैले असर परेकाे छैन, ’ आचार्यले भने । पछिल्ला दिनमा कोरोनाको संक्रमण बढेसँगै सरकारले लकडाउन थप्दै जाँदा उपत्यकामा रहेका मानिसहरु घरभित्रै बसिरहेका छन् । लकडाउनको समयमा एम्बुलेन्स, अग्नि नियन्त्रक, अस्पताल, सुरक्षा निकाय, खानेपानी, फोहोरमैला संकलन, बिजुलीजस्ता आधारभूत आवश्यकता निरन्तर र निर्वाधरुपमा सरकारले सञ्चालन गरिरहेको छ । दैनिक जीवनयपनका लागि नभई नहुने सरकारले तोकेको अति आवश्यक वस्तु तथा सेवामा विनापास नै हिड्न सकिने छ । के के हो सवारी पास नभइ बोक्न पाउने अति आवश्यक बस्तु लकडाउन आफैंमा एउटा संकटको अवस्था हो । तर, पनि जीवनयापनका लागि नभई नहुने वस्तुको उपलब्धता हरेक नागरिकका लागि अतिआवश्यक हुन्छ । चामल, मकै, चिउरा, गहुँ पिठो, मैदा, दाल, नून, चिनी, चिया खानेतेल, घ्यू, दूध, तरकारी, मासु, फलफूल, मसला (जिरा, मरीच, अदुवा, धनिय र खुर्सानी), औषधि, औषधि जन्य बस्तु, लुगा धुने र नुहाउने साबुन, मट्टीतेल, डिजेल, पेट्रोल र हवाई इन्धनसमेत, रसायनीक मल,दाउरा तथा कोईला, लेख्ने र छाप्ने कागज, कापी, मसी सिसाकलम रु न्यूज प्रिन्टका समानलगायतका बस्तु सवारी पास विना नै ढुवानी गर्न सकिने छ । लकडाउनको कारणले अनलाइनबाट पनि घरघरमा नै हुन्छ अति आवश्यक बस्तुको आपूर्ति भइरहेको छ । लकडाउनको बेला अनलाइन व्यापारले पनि आपूर्तिमा सहजा हुदै गइरहेको छ । घरघरमा नै अति आवश्यक बस्तु आपूर्ति गर्ने प्रतिनिधि अनलाइन दराजडटकम लकडाउनअघिदेखि नै संचालनमा रहेको दराजले लकडाउनको समयमा बिगमार्टसँगको सहकार्यमा १५ सय रुपैयाँभन्दा माथिको सामग्रीहरुको अर्डर लिने व्यवस्था गरेको छ । दराज डककममा गएर अत्यावश्यक बस्तुको अर्डर गरेमा त्यस्तो सामान तपाईले भनेकै स्थानममा आइपुग्छ । भाटभटेनी सुपरमार्केट भाटभटेनी सुपरस्टोरले हाल काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, विराटनगर, भैरहवा र नेपालगञ्जमा होम डेलिभरी सेवा दिइरहेको छ । भाटभटेनीले टेलिफोन, भाइबर, अनलाइन जस्ता माध्यममा अएको अर्डर लिने र सामान डेलिभरी गर्ने गरिरहेको छ । भाटभटेनीमा फोन गरेर कम्तिमा ५ हजार रुपैयाँ बराबरको सामान अर्डर गर्नुपर्ने हुन्छ । सेल्सबेरी सेल्सबेरी डिपार्टमेन्ट स्टोरले पनि लकडाउनको समयमा घरघरमै सामानहरु पुराउने व्यवस्था गरेको छ । उपभोक्ताले मगाएका अतिआवश्यक बस्तु फुडमाण्डुडटकमले घरघरमा नै आपूर्ति गर्दिरहेको छ । जिभी एप जिभी एपबाट सजिलै आवश्यक सबै प्रकारको जेनरल मेडिसीन र मेडिकल उपकरणहरु अर्डर गर्न सकिन्छ । जिभी एपले पनि मेडिसीन र मेडिकल उपकरणहरु घरघरमा नै ल्याइदिन्छ ।

‘पाँच किलो चामलले कति दिन खानू सरकार ?’

झापा । झापाको भद्रपुर नगरपालिका-५ स्थित नयाँबस्तीका विपन्न परिवारलाई अहिले बिहान बेलुकाको छाक टार्न धौधौ पर्न थालेको छ । कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपछि कामविहीन भएसँगै उनीहरुको दैनिकी अहिले कष्टकर बन्दै गएको हो । यहाँ करीब ३५ परिवारको बसोबास छ । उनीहरु सबैको आम्दानीको स्रोत ज्याला-मजदुरी हो । ‘लकडाउन भएको केही दिन त घरमा भएको पैसाले खाइयो’, उनीहरु भन्छन्, ‘बाहिर निस्किन मिल्दैन, काम नभएपछि के गरी खानू, दिनरात चिन्ता यही कुराको छ ।’ अन्य गाउँपालिका र नगरपालिकाको तुलनामा नयाँबस्तीबासीले थोरै राहत सामग्री पाएका छन् । लकडाउन घोषणा भएको आज २४ दिनका अवधिमा उनीहरुले पाँच केजी चामल, एकएक केजी दाल र नून, आधा लिटर तेल र एउटा साबुन मात्र पाएका हुन् । ‘चार/सात जनाको परिवारलाई पाँच केजी चामलले के हुन्छ ?’, स्थानीयवासी पूर्णिमा शर्मा भन्छन् , ‘राहत त पाइयो तर… ।’ यहाँका बासिन्दाले भने लकडाउनको पूर्णपालना गरिरहेको उनी बताउँछन् । जरुरी कामबाहेक कोही घरबाट ननिस्कने गरेको र काम पर्दा मात्र जाने गरेको उनले बताए । भद्रपुर ५ नम्बर वडाध्यक्ष बन्धु कार्कीले पहिलो चरणमा राहत वितरणका लागि वडामा एक हजार १२० विपन्न परिवारको नाम संकलन गरिएको बताए । ‘त्यसमा अलिक पछि राहत दिँदा हुने छनोट गरेर ८३० जनाको नामावली तयार गर्याैं’, वडाध्यक्ष कार्कीले भने, ‘नगरपालिकाले जम्मा २०० जनाका लागि मात्र राहत पठायो ।’ पहिलो चरणमा नगरपालिकाले १० केजी चामल, एकएक केजी दाल र नून, एक लिटर तेल र एउटा साबुन दिने निर्णय गरेर राहत पठाएको उनी बताउँछन् । ‘८३० जनाको नाम छ, आयो २०० जनाका लागि’, उनले भने, ‘उक्त परिमाणलाई आधा बनाएर चार सय जनालाई वितरण गर्याैं ।’ जनप्रतिनिधि र स्थानीय संघसंस्थाको सहयोगमा हालसम्म ७९९ परिवारलाई राहत वितरण गरिएको उनको भनाइ छ । स्थानीय बलभद्र युवा क्लबको सहयोगमा थप ६० परिवारलाई भर्खरै राहत दिइएको वडाध्यक्ष कार्कीको भनाइ छ । ‘जनताले विश्वास गरेर मत दिएका छन्’, उनले भने, ‘अहिले समस्या परेका बेला सहयोग गर्न सकिएन भने त्यसको अर्थ रहँदैन, सकेसम्म वडाबासीलाई राहत दिन्छु ।’ छिमेकी वडा नं ८ नम्बरले पहिलो चरणमा २७० परिवारलाई राहत दिएको छ । प्रतिपरिवार सात केजी चामल, दाल, नून एकएक केजी, एक लि तेल र एउटा साबुन दिइएको वडाध्यक्ष गौरव सुब्बाले जानकारी दिए । यसैबीच भद्रपुर नगरपालिकासँग सीमा जोडिएको मेचीनगरले ५० लाख रूपैयाँ, बिर्तामोडले ५० लाख रूपैयाँ र कचनवल गाउँपालिकाले ३० लाख रूपैयाँको कोरोना नियन्त्रण, रोकथाम तथा राहत कोष बनाएका छन् भने भद्रपुरले चाहिँ १५ लाख रूपैयाँको मात्र कोष स्थापना गरेको छ । न्यून रकमको कोष निर्माण गरिएकाले पनि भद्रपुरमा दाताको मुख ताक्नुपर्ने अवस्था रहेको स्वयम् जनप्रतिनिधि स्वीकार्छन् । ‘भौतिक पूर्वाधार विकासभन्दा पनि जनताको जीवन रक्षा अहिलेको मुख्य विषय हो’, वडाध्यक्ष कार्की भन्छन्, ‘तर कोषमा रकम वृद्धि गर्न नगरको ध्यान गएको छैन ।’