निषेधाज्ञा खुकुलो बनाउन व्यवसायीको आग्रह, अर्थतन्त्रलाई खस्किन नदिने ओलीको प्रतिवद्धता

काठमाडौं । व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री ओली र व्यवसायीहरुबीच भएको भेटमा व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरिएको बताएका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको बताए । जसले व्यापार गर्नु पर्दैन, जसले तलब खुवाउनु पर्दैन, जसको स्वतः तलब आइरहन्छ उनीहरुले मात्रै लकडाउन गर्नुपर्छ भनिरहेका छन् भन्ने विषयमा प्रधानमन्त्री ओली पनि सहमत भएको श्रेष्ठले बताए । ‘बजारमा जसको केही काम छैन, जसको तलब आफै सुरुसुरु आउनेहरु लकडाउन निषेधाज्ञा गर्न उल्टोउल्टो कुरा गरेको छ । उहाँले त्यसरी नै भन्नुभयो । गर्नै नहुने भिड गर्ने उसलाई निकै भिड गर्नुछ र सवा चार बजेको स्वास्थ्य मन्त्रालयको ब्रिफिङले सकारात्मक उर्जा दिनुको सट्टा नकारात्मक भयो भन्ने उहाँले पनि भन्नुभयो ।’, उनले भने । अबको दिनमा आर्थिक क्षेत्र चलायमान नभए कोरोनाले नभई भोकमरीले मृत्यु हुने स्थिति आउन सक्ने धारणा सबै व्यवसायीहरुले राखेको श्रेष्ठले बताए । अहिले नयाँ युवा पुस्ता जो व्यवसायमा लागेका छन उनीहरु निरुत्साहित हुने स्थिति आइसकेकोले सकारले छिट्टै नै पुनरउत्थान गर्नुपर्नेमा जोड दिइएको बताए । व्यवसायीले राजश्व, ब्याज, घरभाडा, अफिस भाडा, कर्मचारी र श्रमिकको तलब तिर्नैपर्ने तर आम्दानी शुन्य हुने स्थिति आएकाले आफुहरु समस्यामा परेको कुरा स्पस्टसँग राखेको श्रेष्ठले बताएका छन् । ‘लकडाउनको निरन्तरता चैतदेखि गएकोले हामीले राजश्व तिर्नै पर्ने, ब्याज तिर्नैपर्ने, घरभाडा तिर्ने पर्ने, अफिसको भाडा तिर्नै पर्ने, कर्मचारी र श्रमीक सै तिर्नुपर्नेलाई तिर्नुपर्यो तर पैसा चाहिं कहिंबाट उठन सेकन । त्यसकारण अहिले हामीलाई यति गाह्रो भइसक्यो की हामीले परिस्थितिलाई कसरी समाना गर्ने भनेर हामी एकदम नसक्ने अवस्थामा आइसकेका छौं ।’, उनले भने । सरकारले गत जेठ महिना सम्मको स्थितिलाई हेरेर बजेट मार्फत ५० अर्बको स्टिमुलस प्याकेज ल्याएकोमा अहिले लकडाउन लम्बिदै जाँदा त्यसले नपुग्ने भएकाले २ खर्बको प्याकेज ल्याउन सुझाव दिएको पनि श्रेष्ठले बताए । सरकारले पूँजीगत खर्च गर्न नसकेको रकम स्टिमुलस प्याकेजमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउन सहजिकरण गर्नुपर्ने श्रेष्ठको भनाई छ । त्यस्तै नेपाल राष्ट्र बैंकले ल्याएको पुनरकर्जा कोषलाई पुनरसंरचना गर्नुपर्ने र अन्य व्यक्तिगत एवं साधारण कर्जालाई पनि पुनरसंरचना गर्ने व्यवस्था मिलाउन अग्रह गरिएको उनले बताए । व्यवसायीहरु आफ्नो व्यवसायलाई निरन्तरता दिन पाए जस्तो सुकै परिस्थितिमा पनि सरकारलाई राजश्व र भ्याट तिर्न तत्पर रहेको कुरा समेत प्रधानमन्त्री ओलीलाई बताएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले व्यवसायीहरुसँग अर्थतन्त्रलाई खस्किन नदिने प्रतिवद्धता जनाएका श्रेष्ठले जानकारी गराए । व्यवसायी र प्रधानमन्त्री ओलीबिचको भेटमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा समेत उपस्थित थिए ।

सुरु भयो सबै नेपालीलाई पेन्सन दिने कार्यक्रम, मासिक ५ सय बचत गर्ने पनि सहभागी हुन पाउने

काठमाडौं । सबै नेपालीलाई पेन्सन दिने गरी नागरिक लगानी कोषले नयाँ योजना कार्यान्वयनमा ल्याएको छ । मासिक ५ सय रुपैयाँ मात्रै जम्मा गरेर पनि यो कार्यक्रममा सहभागी हुन पाइनेछ । मासिक ५ सय रुपैयाँ बचत गर्न सक्ने सबै नेपालीलाई सहभागी गराउन मिल्नेगरी ‘नागरिक पेन्सन योजना’ कार्यान्वयनमा ल्याइएको कोषका डेपुटी एजुकेटिभ डाइरेक्टर डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए । ‘अहिलेसम्म कोषले सबै नेपालीलाई समेट्ने त्यस्तो विशेष योजना वा कार्यक्रम संचालनमा ल्याएको थिएन, नागरिकको सामाजिक सुरक्षामा सबैभन्दा प्रभावकारी हुने नागरिक पेन्सन योजना सुरु भएको छ, मासिक ५ सय रुपैयाँ मात्रै बचत गर्न सक्ने स्वरोजगार, गृहिणी तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु पनि यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ,’ डा. कट्टेलले विकासन्युजसँग भने । कोषले पहिलो चरणमा एकैपटक २५ सय जनालाई सहभागी गराउने योजना बनाएको छ । त्यसका लागि कुनै संस्थासँग कुराकानी भइरहेको र सो संस्थामा कार्यरत सबै कर्मचारीलाई नागरिक पेन्सन योजनामा सहभागी गराउन लागिएको पनि उनले जानकारी दिए । डब्बल पेन्सन पनि पाइने नागरिक पेन्सन योजनामा सहभागी हुनको लागि थप कुनै प्रतिबन्ध वा बन्देज छैन । नेपाल सरकारबाट नियमित पेन्सन खाने, सामाजिक सुरक्षा कोषमा सहभागी वा अन्य कुनै पनि प्रकारको सामाजिक सुरक्षा कार्यक्रममा सहभागी भएकाहरु पनि यो नागरिक पेन्सन योजनामा सहभागी हुन पाउने डा. कट्टेलले जानकारी दिए । ‘सरकारी कर्मचारीदेखि आफ्नै खेतबारीमा काम गर्ने किसानसम्म यो कार्यक्रममा सहभागी हुन पाउँछन्, सानो सानो व्यवसाय गरेर आम्दानी गर्नेहरुले पनि आफ्नो बचत अनुसारको पेन्सन योजनामा सहभागी हुन पाइन्छ, सरकारी पेन्सन वा सरकारले नै संचालन गरेको सामाजिक सुरक्षा कार्यक्रमबाट पेन्सन आउने गरेको छ भने पनि यो कार्यक्रममा सहभागी भएर पेन्सन लिन पाइन्छ,’ डा. कट्टेलले भने । कसरी सहभागी हुने ? कोषले बनाएको नागरिक पेन्सन योजनाको कार्यविधि अनुसार यस योजना अन्र्तगत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवाशीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । कति रकम जम्मा गर्नुपर्छ ? यो कार्यक्रम आफ्नै बचतबाट पेन्सन पाउने कार्यक्रम हो । आफूले जम्मा गरेको रकम लगानीबाट प्राप्त हुने प्रतिफल समेत जोडेर कोषले पेन्सन दिनेछ । यो कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिकरुपमा रकम बुझाउन सकिनेछ । यस्तो किस्ता बुझाउँदा मासिक ५ सय रुपैयाँभन्दा कम नहुने गरी बुझाउनु पर्नेछ । सहभागीले आफूले छनौट गरेको किस्ता अनुसारको रकम नियमित रुपमा बुझाउनुपर्नेछ । यसरी निर्धारण गरिएको किस्ता रकम समयमा दाखिला नगरेमा कोषले निर्धारण गरेको विलम्ब शुल्क तिरी किस्ता नियमित गर्न सकिने छ । बीचमा छोड्न पाइन्छ ? नागरिक पेन्सन योजनामा सहभागी भएपछि पनि कुनै कारणबस निरन्तरता दिन नसकिने अवस्था आएमा बीचमै छोड्न पाइने व्यवस्था गरिएको छ । बचतकर्ताको आय स्रोत गुमेमा वा असक्तताको कारणले आय आर्जन गर्न असक्षम भएमा वा वसाई सरी अन्य मुलुकमा गएको खण्डमा यस योजनाबाट अलग हुन सकिने छ । यसरी योजनाबाट अलग हुदा बचतकर्ताहरुले शर्त बमोजिम नियमित रुपमा बचत गरेको कम्तीमा २ वर्ष पुरा भएको हुनु पर्ने छ । यस्तो अवस्थामा बचतकर्ताको नाममा जम्मा रहेको साँवा रकम कोषले एकमुष्ठ भुक्तानी गर्नेछ । कहिले पाइन्छ पेन्सन ? पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । तर, कुनै बचतकर्ताले १५ वर्षको बचत नगर्दै ६० वर्ष उमेर पुरा भएको रहेछ भने त्यस्तो बचतकर्ताले निजले कोषमा जम्मा गरेको रकम र त्यसको व्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भूक्तानी लिन सक्नेछन् । कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । यसरी सहभागी हुने बचतकर्ता ६० वर्ष पुरा भए पछि पेन्सन पाउन योग्य हुने छन् । कति पाइन्छ पेन्सन ? सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् । पति वा पत्नीले जीवनभर पाउने, दुबै मरेपछि हकवालालाई पेन्सन पाउन योग्य सहभागीले पेन्सन प्राप्त गर्न शुरु गरेपछि निजको मृत्यु भएमा मृतकको पति वा पत्नीलाई निजले पाइरहेको रकम वराबर नै पारिवारिक पेन्सन प्रदान गरिनेछ । तर, सहभागीसँग निजको अंशबण्डा भएको भए वा वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान गरिने छैन । बचतकर्ताको पेन्सन शुरु भएपछि निज र निजको श्रीमान वा श्रीमति दुबैको मृत्यु भएमा कोषमा सम्बन्धित ब्यक्तिको नाममा बॉकी रहेको बचत रकम निजहरुको कानुनी हकदारलाई प्रदान गरिनेछ । कुनै बचतकर्ताको निबृतिभरण प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको नजिकको हकवालालाई निजले जम्मा गरेको रकम, त्यसको व्याज र प्रतिफल समेत एकमुष्ठ रुपमा प्रदान गरिने डा. कट्टेलले जानकारी दिए । नेपाल सरकार वा अन्यत्रबाट पेन्सन पाइरहेको व्यक्तिले कोषमा योगदान गरी निवृत्तिभरणको लागि योग्य भएमा कोषबाट पेन्सन लिन बाधा पर्ने छैन । ०.५ प्रतिशत शुल्क कोषले लिने कोषले योजना संचालन गरी न्यासधारी (ट्रष्टी) को रुपमा लगानी प्रवन्ध सेवा प्रदान गरेबापत कूल योजना कोष रकमको प्रत्येक आर्थिक वर्षमा ०.५ (शुन्य दशमलव पाँच) प्रतिशत वा कुल आयको ५ प्रतिशत जुन घटि हुन्छ सो रकम कोषले सेवा शुल्क वापत कट्टि गरी लिनेछ । कसरी जम्मा गर्ने रकम ? सहभागी बचतकर्ताले जम्मा गर्नु पर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा बिद्युतीय भुक्तानी मार्फत जम्मा गर्न सक्ने छन् । बचतकर्ताले बैंकमा रकम दाखिला गरेपछि सोको जानकारी कोषलाई दिनु पर्नेछ । कोषद्वारा तोकिएको खातामा रकम जम्मा नभएमा उक्त रकमप्रति कोषको कुनै दायित्व रहने छैन । कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपले उल्लेख गर्नु पर्ने हुन्छ । रकम जम्मा गर्दा आफ्नो सही नाम र कोषले प्रदान गरेको परिचय नम्बर उल्लेख गर्नु पर्ने दायित्व सम्बन्धित बचतकर्ताको हुनेछ । गलत नाम वा परिचय नम्बर उल्लेख भई रकम जम्मा भएमा त्यसको जिम्मेवारी कोषले लिने छैन । कति पाइन्छ व्याज र प्रतिफल ? यस योजना अन्तर्गत कोषमा जम्मा भएको रकममा समितिले समय समयमा निर्धारण गरे अनुसार दैनिक मौज्दातको आधारमा व्याज गणना गरी त्रैमासिक रुपमा ब्याज प्रदान गरिने कोषको भनाइ छ । योजना अन्तर्गत प्राप्त रकमको लगानीबाट भएको आम्दानीमा व्यवस्थापन शुल्क र आय आर्जन गर्दा लागेको वास्तविक खर्चहरु सोधभर्ना स्वरुप कट्टी गरी बाँकी रकममा १० प्रतिशत जोखिम लगानी जगेडा कोष, ५ प्रतिशत प्रतिफल समिकरण कोष र १० प्रतिशत सुरक्षा कोषलाई रकम छुट्याई बाँकी रकम सम्बन्धित सहभागीहरुलाई समानुपातिक हिसावले प्रतिफल बाँडिनेछ । सुरक्षा कोषमा रकम नभएको अवस्थामा भुक्तानी दिनु पर्दा वास्तविक खर्च शिर्षकमा खर्च लेखी भुक्तानी पाइनेछ । ऋण पाइन्छ ? कोषले योजनाका सहभागी बचतकर्तालाई निजको नाममा जम्मा रहेको रकममा बढीमा ८० (असी) प्रतिशतसम्म सापटी प्रदान गर्नेछ । यसरी प्रदान गरिने सापटी रकमको प्रतिशत संचालक समितिले समय समयमा तोकिदिए बमोजिम हुने कार्यविधिमा उल्लेख गरिएको छ । तर, बचतकर्ता योजनामा सहभागी भएको अवधि ५ वर्ष पुरा नभई त्यस्तो सापटी सुबिधा पाइदैन । र, एकपटक सापटी लिएको १ वर्ष पूूरा नभई पुनः अर्को सापटी पनि पाइदैन । बचतकर्तालाई प्रदान गरिने सापटी रकमको व्याजदर हिसाब गर्दा सहभागी बचतकर्तालाई निजले जम्मा गरेको रकममा प्रदान गरिने व्याज दरभन्दा १.५ ( एक दशमलव पाँच ) प्रतिशतसम्म प्रिमियम थप गरी व्याजदर कायम गरिने छ । त्यसरी सापटीमा लिने व्याजदरको निर्धारण समितिले निर्धारण गरे बमोजिम हुनेछ । सहभागी बचतकर्ताले आफूले लिएको सापटी रकमको साँवा तथा व्याज रकम तोकिएको बैंक खातामा जम्मा गरी कोषलाई जानकारी गराउन सक्नेछन् । मृत्यू संस्कार खर्च १० हजार जुनसुकै कारणले बचतकर्ताको मुत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई १० हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराइने कोषले जानकारी दियो । यस्तै, बचतकर्ताले कोषद्वारा तोकिएका प्राइभेट अस्पतालमा औषधी उपचार गर्दा लाग्ने खर्चमा छुट सुविधा प्रदान गर्न सकिने व्यवस्था पनि मिलाइने डा. कट्टेलले जानकारी दिए ।

१७ अर्ब डलरको मोबाइल गेम बजार, पब्जीको विकल्प भनिएकाे अक्षय कुमारको फौजी कस्तो छ ?

काठमाडौं । एक भारतीय कम्पनीले अभिनेता अक्षय कुमारसँग मिलेर ‘पब्जी जस्तै’ मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ । यो गेमको उदेश्य बजारमा खाली देखिएको स्थान भर्नु हो, जुन लोकप्रिय चिनियाँ एप पब्जीमाथि भारतले प्रतिबन्ध लगाएपछि सिर्जना भएको छ । बैंगलुरुमा रहेको एनकोर गेम्स नामक कम्पनीले यस्तो एउटा गेम बनाउँदैछ, जुन सिधै पब्जीको प्रतिस्पर्धी मानिएको छ । कम्पनीले यो गेमको नाम फौजी दिएको छ । यो गेम अंग्रेजी महिनाको आगामी अक्टोम्बरसम्ममा बजारमा आउने बताइएको छ । कम्पनीका सहसंस्थापक विशाल गोडलले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा यो गेमको नाम ‘फेयरलेस एण्ड युनाइटेड गार्ड्स (फौजी) रहेको बताए । उनका अनुसार यो गेम बनाउनका लागि केही महिनादेखि नै काम भइरहेको थियो । यो गेमको पहिलो लेवल गलवान उपत्यकामा आधारित रहेको उनको भनाइ छ । गलवान उपत्यकामा नै चीन र भारतका सैनिकबीच गत जुन महिनामा पहिलो पटक झडप भएको थियो । सो झडपमा भारतका कम्तिमा पनि २० सैनिकको मृत्यू भएको बताइएको थियो । त्यही समयदेखि वास्तविक नियन्त्रण रेखालाई लिएर भारत र चीनबीच तनाव भइरहेको छ । यही गतिरोधको बीचमा भारतले लोकप्रिय गेमिङ एप पब्जीसहित चिनियाँ कम्पनीले बताएका १ सय १८ अन्य मोबाइल एपमाथि गत बुधबार प्रतिबन्ध लगाएको थियो । पब्जी (प्लेयर अननोन्स व्याटलग्राउण्डस्) गएको केही वर्षदेखि भारमा असाध्यै लोकप्रिय मोबाइल गेम बनेको छ । भारतीय युवामा यो गेमप्रति असाध्यै लगाव रहेको बताइएको छ । त्यसैकारण पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयप्रति सामाजिक संजालमा तिब्र आलोचना पनि भएको छ । आलोचकका अनुसार फौजीको मद्दतबाट भारतीय कम्पनी एनकोर गेम्स जनताको देशभक्तिकाको भावनामा भुलाउने प्रयास गरिरहेको छ । ‘यो मोबाइलबाट हुने कुल आम्दानीको २० प्रतिशत रकम भारतका लागि सहिद हुने सैनिक परिवारलाई प्रदान गरिनेछ,’ कम्पनीका सहसंस्थापक विशाल गोडलले भने । फौजी गेम बनाउनका लागि अभिनेता अक्षय कुमारको सहयोग रहेको बताइएको छ । यो गेमको फौजी नाम पनि अक्षय कुमारले नै राखेको कम्पनीले बताएको छ । अभिनेता अक्षय कुमारले पनि हिजो (गत शुक्रबार) फौजी गेमसँग सम्बन्धी ट्वीट गरेका छन् । यो गेम सुरु भएको केही दिनमा नै करिब २० करोड मोबाइल युजरले यो गेम डाउनलोड गर्ने कम्पनीको अनुमान छ । के हो पब्जी ? पब्जी एक लोकप्रिय मोबाइल गेम हो, जुन विश्वव्यापी रूपमा खेल्ने गरिएको छ । भारतमा पनि यसका प्रशंसकहरू धेरै छन् । यो गेम एक जापानी थ्रिलर फिल्म ‘व्याटर रोयल’बाट प्रभावित भएको हो, जसमा सरकारले विद्यार्थीहरूको एउटा समूहलाई जबरजस्ती मृत्युदण्ड दिन पठाउँछ । पब्जीमा, करिब १ सय खेलाडीहरू टापुमा प्यारासुटको सहायताले झर्छन्, हतियारहरू फेला पार्छन र एक अर्कालाई तबसम्म मार्छन्, जबसम्म तीमध्ये एक मात्र बाँकी हुन्छ । सुरुमा यो गेम दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोलले बनाएको हो । यसको डेस्कटप भर्सन दक्षिण कोरियाली कम्पनीले बनाएको थियो । पछि चिनियाँ कम्पनी टेनसेटले नयाँ नाम र केही परिवर्तनका साथ मोबाइल संस्करण बजारमा ल्यायो । विश्वमा पब्जी खेल्नेमध्ये भारतमा करिब २५ प्रतिशत रहेको बताइन्छ । चीनमा १७ प्रतिशत र अमेरिकामा ६ प्रतिशत प्रयोगकर्ता छन् । धेरै जनाले एकैपटक खेल्न मिल्ने यो खेलमा केही पैसा खर्च गर्नुपर्ने हुन्छ । र, नयाँ हतियार किन्नको लागि कुपन खरीद गर्नु पर्छ । गेम यस्तो तरिकाले डिजाइन गरिएको छ कि तपाईं जति धेरै खेल्नुहुन्छ, त्यति रमाइलो हुनेछ । थप खेल्नको लागि कूपन र हतियारहरू खरीद गर्नुपर्छ, जसले गेम अझ रोमान्चक बनाउँछ । यो गेममा फ्रि रुम पनि हुन्छ । यसका विभिन्न लेवलहरु छन् । फरक ठाउँमा बस्ने मानिसहरूले यो गेम एकै साथ खेल्न सक्छन् र एकैसाथ स्ट्रिमिङ पनि हुन्छ । गेम बजार सन् २०१९ मा विश्वभर १६ अर्ब ९० करोड अमेरिकी डलर बराबरको यस्तो गेमको बजार थियो । यसमध्ये चीनको मात्रै ४ अर्ब २० करोड अमेरिकी डलर बराबरको हिस्सेदारी रहेको बताइन्छ । दोस्रो स्थानमा अमेरिका, तेस्रोमा जापान र त्यसपछि बेलायत र दक्षिण कोरिया रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । यो तथ्यांक स्टाटिस्टाडटकमको हो । यो उद्योग भारतमा पनि तीव्र गतिमा विस्तार भइरहेको छ । तर अहिले पनि यो १ अर्ब डलरभन्दा कम छ । राजस्वको हिसाबले भारत विश्वको ५औं देशभित्र पनि पर्दैन । तर, बाँकी देशहरुका लागि निश्चय नै उदीयमान बजार हो । (बीबीसी हिन्दीको सहयोगमा)