बालबालिकाले असल सङ्गत कसरी थाहा पाउने ?
काठमाडाैं । जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् तर जसले आफ्ना भित्री मनका कुरा बुझ्न सक्छ र दुःखसुखमा साथ दिन्छ उही नै असल साथी हुने टीकापुरका विष्णु पाण्डे बताउँछन् । “साथीहरु धेरै हुन्छन्, हामीलाई कुन असल छ भन्ने थाहा हुँदैन”, पाण्डे भन्छन्, “जसले राम्रो कुरा सिकाउँछ, अगाडि बढ्न प्रेरणा दिन्छ त्यस्तो साथीसँग मात्र सङ्गत गर्नुपर्छ ।” परिवारमा पनि आमाबुबा, दाइ दिदीलगायतका धेरै सदस्य हुन्छन् । किशोर प्रायः दाजुभाइसँग नजिक हुन्छन् भने किशोरी दिदीबहिनीसँग नजिक हुन्छन् । परिवारमा जसले आफूलाई माया गर्छ, जसले आफूसँग साथीजस्तै व्यवहार गर्छन् उनैसँग नजिक हुने गरेको टीकापुर–३ की किशोरी अरुणा विक बताउँछिन् । “यो उमेरमा साथीजस्तै व्यवहार गर्ने आफन्त होस् भन्ने लाग्छ”, अरुणा भन्छिन्, “कुरा नबुझ्ने परिवारका सदस्यको नजिक जान मन लाग्दैन । अभिभावक पनि साथीजस्तै होस् भन्ने चाहना हुन्छ ।” घरमा किशोरावस्थामा पुगेका आफ्ना बालबालिकालाई सही बाटोमा हिँडाउन र उनीहरुलाई गलत बाटोमा जान नदिन उनीहरुसँग खुलेर कुरा गर्ने, उनीहरुका कुरा गम्भीर भएर सुन्ने काम गर्नुपर्ने अभिभावक जवालसिंह तिरुवाले बताए । “हरेक अभिभावकले छोराछोरीको सङ्गतका बारेमा ध्यान दिने र साथीभाइजस्तो व्यवहार गर्ने हो भने किशोरावस्थाका बालबालिकालाई गलत बाटोमा जानबाट जोगाउन सकिन्छ”, अभिभावक तिरुवा भन्छन्, “अधिकांश आमाबुबाले छोराछोरीलाई त्रासमा राख्ने तथा साना साना गल्तीमा गाली गर्ने गर्दा उनीहरुमा झन गलत धारण आउन सक्छन् ।” किशोरावस्थाका बालबालिकालाई सही मार्गनिर्देशन गर्न विद्यालयको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । विद्यालयमा शिक्षक शिक्षिकाले किशोरावस्थाका बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण गर्ने, उनीहरुलाई राम्रा नागरिकको उदाहरण दिएर शिक्षण गर्ने र राम्रो काम गर्न उत्प्रेरणा प्रदान गर्नुपर्ने त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायतको भनाइ छ । “बालबालिकाका ससाना कुरालाई पनि नियालेर ध्यान दिने र साथीजस्तै व्यवहार गर्ने हो भने यो अवस्थाका बालबालिका शिक्षकसँग नजिक हुन्छन् । अनि सबै कुरा शिक्षकसँग आदानप्रदान गर्ने गर्छन्”, प्रधानाध्यापक कठायतले भने, “किशोरावस्था एक संवेदनशील र परिवर्तनको अवस्था भएकाले पनि उनीहरु हरेक गोप्य कुरा अरुसँग बाँड्न चाहँदैनन्, त्यसैले उनीहरु यस्तो अवस्थामा एक सही र विश्वासिलो साथीको खोजीमा हुन्छन् जो तपाइँ, हामी हुन सक्छौँ ।” दशदेखि १९ वर्षको उमेरलाई किशोरावस्था भनिन्छ । यो उमेर समूहका व्यक्ति धेरै जिज्ञासु र चञ्चले हुन्छन् । उनीहरू कुनै पनि विषयमा सजिलै निर्णय गर्न सक्दैनन् । “बालबालिका सही मार्गमा हिँडे जीवन सुन्दर र सफल हुन्छ । किशोरावस्थामा बालबालिकालाई सही, गलतको पहिचान नभए जीवन दुःखदायी हुनसक्छ”, टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता धनराज विक भन्छन्, “किशोरकिशोरीले यो समयमा गलत सही थाह नपाउने हुन्छ, जसलाई पनि विश्वास गर्न सक्छन् । उनीहरुमा विभिन्न मानसिक समस्या देखिन सक्छन् ।” विकका अनुसार किशोरावस्थामा बालबालिकालाई विभिन्न खाले तनाव हुनसक्छ । कम उमेरमा देखिने मानसिक समस्याले उसको भविष्य अन्धकारतर्फ जानसक्छ । तनाव व्यवस्थापनका लागि उनीहरुले मनको कुरा खोल्ने वातावरण घर र विद्यालयमा हुनुपर्ने मनोसामाजिक परामर्शकर्ता विकको भनाइ छ । किशोरकिशोरी गलत सङ्गतजस्ता कारणले गलत बाटोमा लाग्ने जोखिम हुन्छ । उनीहरुलाई गलत कार्यमा लाग्नबाट जोगाउन सबभन्दा बढी सचेत अभिभावक हुनुपर्छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने लागुऔषध सेवन, बलात्कार, चोरीजस्ता अपराधमा समेत बालबालिकाको प्रयोग बढेको बताउँछन् । “बालबालिका गलत होस् या सही दुवै काम जिज्ञासु भएर गर्छन्, उनीहरुलाई सही गलतको पहिचान हुँदैन”, न्यौपाने भन्छन्, “यस्तो बेला उनीहरुलाई सुरक्षित स्थानसमेत थाहा हुँदैन । अभिभावक सचेत हुने हो अनि विद्यालयले पनि बालबालिकाको हरेक आनीबानीको निगरानी गर्नुपर्छ । उनीहरुका लागि घरमा पनि बालमैत्री वातावरण भएमा व्यस्त राख्न सकिन्छ ।” बालबालिकामा विभिन्न थरिका भावना गुम्सिएर रहेका हुन्छन् । ती भावना सही समयमा सही व्यक्तिसँग पोख्न पाइएन वा सही सञ्चार हुन सकिएन भने उनीहरुमा विकराल अवस्था सिर्जना हुन सक्ने समाजशास्त्री शिवचरण चौधरी बताउँछन् । “मनमै कुरा खेलाउने वा गुम्साएर राख्ने बालबालिका नकारात्मक बाटोमा हिँड्न सक्छन्”, समाजशास्त्री चौधरी भन्छन्, “बालबालिका गलत बाटोमा लागे घर, समाज र देशको विकासमा बाधा पुग्छ । घर संसार सुन्दर बनाउन सन्तान असल हुनुपर्छ, त्यसैले बालबालिकालाई सही सूचना दिने, सही मार्ग देखाउने जिम्मा सबैको हो ।” रासस
रूपाकाे व्यथाः दिनभरि घरको कामले फुर्सद हुन्न, तर श्रीमान् र ससुराले काम छैन बस्छिन् खान्छिन् भन्दा निकै पीडा हुन्छ
कैलालीको टीकापुरकी रुपा विकको घरमा आठ जनाको परिवार छ । चार बालबालिका छन्, उनीहरु विद्यालय उमेरका छन् । बाँकी तीन जना रुपाका श्रीमान्, देवर र ससुराले घरको काम छुनै मान्दैनन् । दिनभरि घरको कामले फुर्सद नपाउने रुपाको जीवनमा आराम भन्ने छैन । उनका आफ्ना सपना त परै जाओस्, घरको काममा कहिलेकाहीँ परिवारले सघाइदिए हुन्थ्यो भन्ने आशासमेत पूरा हुन सकेको छैन । “बिहान ४ बजेदेखि घरको काम थाल्छु, रातिको १० बजेमात्र सकिन्छ”, रुपाले भनिन्छ, “तर श्रीमान् र ससुराले कुरा गर्दा काम छैन, घरमै बस्छिन्, खान्छिन् भन्छन्, यस्तोबेला निकै पीडा हुन्छ ।” रुपाले गाईभैँसी पालेकी छिन् । उनले दूध बेचेको आम्दानी पनि श्रीमानले राख्छन् । “मैले दिनभरि काम गरे पनि आवश्यक खर्च मसँग हुँदैन”, उनले भनिन्, “मेरो कमाइमा पनि मेरो अधिकार छैन । म घरको काम गर्ने, बच्चा जन्माउने व्यक्तिजस्तै भएकी छु । पकाएर सबैको स्वाद पूरा गर्छु तर आफ्ना सपना सबै मारेकी छु ।” रुपाजस्तै, धनरुपा जैसीको घरमा पनि यस्तै छ । छोरा मानिसले काम गर्न हुँदैन भन्ने गलत अभ्यास उनको घरमा पनि छ । धनरुपाका घरमा श्रीमान्सहित चार जना छोरा छन् तर उनीहरु आफ्ना लुगासमेत धुँदैनन् । “घरमा काम केही गर्दैनन्, पुरुषको काम पैसा कमाउने हो, घरको काम गर्ने होइन भन्छन्”, धनरुपाले भनिन्, “पानी पनि मुखनिरै लगेर दिनुपर्छ । यसरी सेवा गर्न कहाँ सकिन्छ ? तर बाध्यता छ । घरबार बिगार्नु छैन । सहेर बसेकी छु ।” महिला र पुरुष एक रथका दुई पाङ्ग्राजस्तै हुन् । दुवै मिलेर काम गरे मात्र सफल जीवन जीउन सकिन्छ । दम्पतीबीच हरेक कार्यमा सहकार्य हुनुपर्ने हो । यसो नहुँदा घर संसार चलाउन समस्या सिर्जना हुने गरेको अधिकारकर्मी महिला बताउँछन् । “घर चलाउन दुवैको समान महत्व हुन्छ, तर हाम्रो समाजमा यो काम पुरुषले गर्ने, यो काम महिलाले गर्ने भनेर एक प्रकारको गलत सिमाना थोपरिएको छ”, अधिकारकर्मी नयनतारा श्रेष्ठले भनिन्, “ यसले महिलामाथि हिंसा बढाएको छ । महिलाको प्रगतिमा बाधा पुगेको छ । त्यसैले त सबै विभेद अन्त्यको शुरुआत घरबाटै गरौँ भनिएको हो ।” युगले कैयौं कोल्टे फेरिसक्दा पनि किन महिलाहरूको भागमा भातभान्सा र चुलोचौका नै परिरहेको छ रु गृहिणी महिलाको त कुरै छोडौं, किन पुरुषसरह घरबाहिरको काममा खटिने र समानस्तरमा काम गर्ने ‘जागिरे’ महिलाहरू पनि घरभित्रको कामको भारी आफ्नो मात्रै थाप्लोमा बोक्न विवश छन् ? “नेपाली समाजमा प्रायः घरभित्रको काम महिलाहरूकै जिम्मा हो भन्ने सोचाइ छ र पुरुषहरूले खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने गरे इज्जत जान्छ भन्ने मानसिकता छ । तर यो मानसिकतालाई भत्काउने हिम्मत गर्नु त परकै कुरा भयो, झनै यसलाई जोगाउने र उकेरा दिने काम महिलाबाटै भइरहेको हुन्छ”, अधिकारकर्मी श्रेष्ठले भनिन्, “ हामीले घरबाहिर निस्केर पुरुषसरह पढ्ने, जागिर खाने हिम्मत त गर्यौं तर घरभित्रका कामको बाँडफाँट गर्ने हिम्मत अझै गर्न सकेका छैनौं । घरका पुरुष सदस्यलाई हामी भान्साको काम गर्न दिन चाहँदैनौं । कसैले आफूखुसी भान्साको काम गर्न खोज्यो भने पनि भन्छौं, त्यहाँ फोहोर भयो, त्यहाँ पानी पोखियो, त्यो यस्तो भयो, त्यो उस्तो भयो, भैगो म आफैं गर्छु।” गृहिणी महिलालाई भन्दा कामकाजी महिलालाई घर र नोकरीबीचको तालमेल मिलाउनुपर्दा बढी बोझ हुने गरेको शिक्षिका ललिता शाहीले बताइन् । “आर्थिक व्यवस्थापनलगायत घरको अन्य कामकाजमा पुरुषको सहयोग भए पनि घरको काम, भान्साको काम, सरसफाइ, चाडबाडका समयमा पुरुषले भन्दा पाँच गुना बढी महिला खटिनुपर्छ”, उनले भनिन् “घरपरिवारबाटै महिलालाई सहयोग गर्नुपर्छ । महिला खुशी भएमात्र घरमा शान्ति हुन्छ ।” समाज विस्तारै परिवर्तन हुँदैछ । विगतलाई हेर्ने हो भने अहिलेको पुस्ता पहिलेभन्दा परिवर्तन हुँदै गएको देखिन्छ । पहिलेभन्दा घरका अन्य कामकाजमा सहयोग गर्ने पुरुष पनि बढेका छन् । दूरसञ्चार कार्यालय टीकापुरमा कार्यरत ढुण्डीराज खरेल स्वास्थ्यकर्मी रहेकी श्रीमतीसँगै काममा साझेदारी गर्छिन् । खरेलकी श्रीमती तारा स्वास्थ्यकर्मी छिन् । टीकापुर अस्पतालमा कार्यरत श्रीमतीको घरमा आफ्नै निजी क्लिनिक पनि छ । “म निकै व्यस्त हुन्छु । अस्पतालमा शल्यक्रिया कक्षमा ड्युटी हुन्छ । निकै थाकेर आउँछु, घर आउँदा श्रीमानले खाना पकाइसक्नु भएको हुन्छ”, ताराले भनिन्, “उहाँले भान्छामा चुलो बाल्ने, बच्चा हुर्काउने काममा सघाउने मात्र होइन लुगा धुने, घर सफा गर्ने सबै काम गर्नुहुन्छ । हाम्रो घरमा कुनै विभेद छैन ।” दुवै जना मिलेर काम गरेका कारण आर्थिक र सामाजिकरुपमा सफल भएको ढुण्डीराजको भनाइ छ । “हामीले मिलेर घरको काममा सहकार्य गरेका कारण सफल भएका हौँ । दुई छोरा डाक्टर पढाउन सक्यौँ, बुहारी पनि डाक्टर छिन्”, उनले भनिन्, “आफैँले काम गर्दा आर्थिक बचत हुनुका साथै स्वास्थ्य राम्रो भयो । श्रीमतीलाई सघाउन के को लाज ? म त गौरव गर्छु ।” दम्पती मिलेर घर चलाउनुपर्छ भन्ने चेतनाको विकास नभएकै कारण घरमा हुने हिंसा घटेको छैन । मिलेर घर चलाउँदा सहज हुन्छ भन्ने बुझाइको विकास हुन आवश्यक रहेको महिला अधिकारकर्मी कमला केसीको भनाइ छ । “कतिपय पुरुषलाई घरायसी काम वा बच्चाको रेखदेखमा सहयोग गर्दा उनीहरूका साथीभाइ अथवा घरका अन्य सदस्यले कुरा काट्छन् भन्ने पिर लाग्छ तर घरमा नसघाएकै कारण खुशी हराइरहेको पत्तै हुँदैन”, उनले भनिन्, “घरमा काम बाँडफाँट गर्ने परिवारबाट अरुले पनि सिक्नुपर्छ ।” रासस
पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको ८५ प्रतिशत काम सम्पन्न
पाेखरा । पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा सम्पन्न रङ्गशाला निर्माणका लागि विसं २०७५ पुसमा सम्झौता भएकामा सोही वर्ष फागुनमा शिलान्यास गरिएको रङ्गशालाको काममा ढिलाइ भएको छ । सम्झौता भएको आर्थिक वर्षभित्रमा रङ्गशाला सम्पन्न गर्ने भनिएको थियो तर यसबीचमा आयोजनाको हालसम्म चार पटक म्याद थप भए पनि कामले पूर्णता पाउन सकेको छैन । पछिल्लो पटक यही मङ्सिर मसान्तभित्रमा काम सम्पन्न गरेर रङ्गशाला हस्तान्तरण गर्नुपर्ने भए पनि अझै थप दुई÷तीन महिना समय लाग्ने देखिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जिनीयर प्रनिश ताम्राकारले बताए । गत वर्ष मङ्सिरमा पोखरामा सम्पन्न भएको १३ औँ सागअघिनै रङ्गशाला निर्माण गरिसक्नुपर्ने दोस्रो पटकको म्यादमा काम पूरा नभएपछि मैदान ‘कामचलाउ’ बनाएर सागको महिला फुटबल सोही रङ्गशालामा खेलाइएको थियो । सागपछि सोही आवमा काम सम्पन्न गर्ने गरी तेस्रो पटक म्याद थप भए पनि पूरा नभएपछि चालु आवको मङ्सिरसम्मका लागि चौथो पटक आयोजनाको म्याद थप गरिएको हो । थप अवधिमा समेत रङ्गशाला तयार नहुने निश्चित देखिएको छ । इञ्जिनीयर ताम्राकारले भिआइपी प्यारापिटको छाना छाउने, क्लडिङ (ग्राण्ड स्टाण्ड छोप्ने) र प्रि इञ्जिनीयरिङ भवन फिनिसिङ, पार्टिसन र सजावटको काम बाँकी रहेको बताए । यससँगै सम्झौतामा उल्लेख भएबमोजिम सडकको निर्माण कार्य पनि केही बाँकी छ । उनले भने, “प्यारापिट, मैदान, ट्र्याकसहित हालसम्म रङ्गशालाको ८५ प्रतिशत काम सकिएको छ । छाना र भवनका सामान आयो भने अबको दुई/तीन महिनामा सबै काम सकिन्छ । पूरै सामान आइनसक्दासम्म भन्न सकिने अवस्था छैन ।” राष्ट्रिय खेलकूद परिषद्(राखेप) र एमए कन्स्ट्रक्सन तथा ग्रेट स्र्पोट्स इन्फ्रा(जेभी)बीच एक अर्ब २८ करोड लागतमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौताबमोजिम हालसम्म साधारण, विशिष्ट तथा अतिविशिष्ट गरी १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट तयारी अवस्थामा छ । मैदान तथा ट्र्याकको काम पनि सकिएको छ । निर्माण कम्पनीका प्रबन्धक दीपक बरालले कोरोना महामारी, विभिन्न प्रतियोगिता तथा बाहिरबाट सामान आउन ढिलाइलगायतका कारणले रङ्गशाला निर्माणको काममा ढिलाइ भएको बताए । भिआइपी प्यारापिटको छानोका सबै सामग्री भारतबाट आउनुपर्ने भएकाले सामान नआउँदा काम रोकिएको उनको भनाइ छ । अघिल्लो आवमा सम्पन्न कामको समेत अझै भुक्तानी नपाएको गुनासो निर्माण कम्पनीको छ । “कोरोनालगायतका कारणले ढिलाइ भएको छ तर हामीले काम गरिरहेका छौँ । अघिल्लो वर्षको कामको भुक्तानी नपाए पनि सामान अर्डर गरेर भारतबाट आउन शुरु भएको छ”, बरालले भने, “सामान आएपछि प्राविधिकसमेत उतैबाट आउनुपर्दछ तर उनीहरु अहिलेको सङ्क्रमणको समयमा आउन चाहिरहेका छैनन्, अब हामी छिटो सम्पन्न गर्नुपर्दछ भनेर लागि परेका छौँ ।” रङ्गशालामा सुविधासम्पन्न प्यारापिटसहित चेञ्जिङ रुम (कपडा फेर्ने कोठा), खेलाडी बक्स, कन्फरेन्स हल, मिडिया बक्सलगायतका सुविधा हुनेछन् । प्रि इञ्जिनीयरिङ भवनमा चेञ्जिङ रुमसहित कन्फरेन्स हललगायतका सुविधा रहने परियोजनाका इञ्जिनीयर पुरुषोत्तम बरालले जानकारी दिए । तीन हजार ५०० सिट थप हुने निर्माणाधीन रङ्गशालाको दर्शक क्षमता तीन हजार ५०० थप गरेर २० हजार पुर्याउने भनिए पनि त्यसका लागि अहिलेसम्म सम्झौता नभएको निर्माण कम्पनीले जनाएको छ । अघिल्लो सम्झौताअनुसार १६ हजार ५०० क्षमताको प्यारापिट तयार भएको र क्षमता विस्तार गर्न सकिने अवस्था रहे पनि थप गर्नेबारेमा हालसम्म राखेपसँग लिखित कुनै सम्झौता भइनसकेको बताइन्छ । निर्माण कम्पनीले मौखिक आग्रहका आधारमा आफूहरुले फ्रान्समा ‘ग्राण्ड स्टाण्ड’ माग गरिसकेको जनाएको छ । “खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा तथा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले पटकपटक प्यारापिटको क्षमता बढाउने भनेका छन् । सोही आधारमा हामीले उहाँहरुको मौखिक आग्रहमा सामान अर्डर गरिसकेका छौँ । यसका लागि थप सम्झौता हुन बाँकी छ”, निर्माण कम्पनीका प्रबन्धक बरालले भने । रङ्गशालाको पश्चिमपट्टी एक हजार तथा पूर्वमा दुई हजार ५०० सिट थप गर्ने योजना रहेको बताइएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले प्यारापिटको क्षमता बढाउन आवश्यक रहेको बताए । यसबीचमा राखेप बोर्डको बैठक नबसेकाले त्यसबारेमा निर्णय नभए पनि आफूहरु क्षमता बढाउनुपर्दछ भनेर लागिरहेको उनको भनाइ छ । विसं २०३९ मा निर्माण गरिएको रङ्गशालाको विशिष्ट कक्ष विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पोखरा रङ्गशालाभित्र अन्तर्राष्ट्रिस्तरको रङ्गशाला नयाँ निर्माण थालनी गरिएको थियो । रासस